+
+

डा‍. भट्टराईको पार्टीले बोलायो केन्द्रीय समिति बैठक

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १९ गते १४:५४

१९ साउन, काठमाडौं । पार्टी पुनर्गठन गर्ने निर्णय भएको आधा महिना बितिसक्दा पनि नयाँ पार्टीको स्पष्ट खाका दिन नसकेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई समूहले साउन २१ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ ।

२९ असारमा काठमाडौंमा बसेको जनता समाजवादी पार्टीको भट्टरार्ई पक्षीय केन्द्रीय समितिको विस्तारित बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवमा रुपान्तरण असम्भव भएको भन्दै नयाँ पार्टी बनाउने निर्णय गरेको थियो ।

भट्टराईको समूहले यसअघि दर्ता भएको पार्टीको नाम परिवर्तन गर्दै १२ साउनमा निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी दर्ता गरिसकेको छ ।

नयाँ पार्टी दर्ता भए पनि कस्तो र कुन खाले पार्टी बनाउने भन्नेबारे पार्टीकै नेताहरुबीच मत बाझिएको एक नेताले बताए । अगाडि कसरी जाने भन्ने सन्दर्भमा निर्णय लिन नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिको पहिलो बैठक बोलाएको हो ।

नेता गंगानारायण श्रेष्ठले अब कसरी अगाडि बढ्ने भन्नेबारे निर्णय गर्न बैठक बोलाइएको जानकारी दिए । बैठकमा भट्टराई पक्षमा लागेका जसपाकालीन केन्द्रीय सदस्यहरु सहभागि हुने छन् ।

बैठकमा केन्द्रीय समितिको विस्तार, पदाधिकारी निर्माण लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । यस्तै संघीय चुनावमा कसरी गठबन्धन गर्नेबारे पनि बैठकले निर्णय लिनेछ । ‘यो बैठकबाट पार्टी कस्तो बन्छ भन्ने एउटा खाका देखिन्छ,’ भट्टराईनिकट एक नेताले भने ।

जसपाबाट विद्रोह गरेका नेताहरु पार्टी निर्माण नहुँदै तितरबितर हुन थालेका छन् । कार्यकारिणी सदस्य प्रशान्त सिंहले बुधबार भट्टराईसँग राजनीतिक सम्बन्ध बिच्छेद गरेको घोषणा गरेका छन् । सिंहले फेसबुकमा लेखेका छन, ‘आउने दिनहरुमा नेपाल भित्र सफा र परिणाममुखी राजनीतिको निर्माण तथा बिकासमा म आफ्नो बल र क्षमताले पुगेसम्मको प्रयास गरी रहनेछु ।’

अर्का कार्यकारिणी सदस्य डम्बर खतिवडाले पार्टी अहिले आन्तरिक विवादमा फसेको र कुनै प्रष्ट कार्यदिशा नभएको बताए ।

नेपाल समाजवादी पार्टीमा अहिले तीनथरी सोचबीच संघर्ष भइरहेको छ । अहिलेको पार्टी नै भंग गरेर विभिन्न पार्टीमा जाने, पुरानै खालको एउटा पार्टी बनाउने र नयाँ बैकल्पिक शक्ति बनाउने सोच भएका नेताहरुबीच अन्तरसंघर्ष चलिरहेकोे छ ।

नेपाल समाजवादी पार्टीको अन्तरिम विधानमा केन्द्रीय समितिका दुई अध्यक्ष र संघीय परिषदका एक अध्यक्ष हुने व्यवस्था छ । भट्टराई आफू संघीय परिषद अध्यक्ष बनेर कार्यकारी दुई अध्यक्षमा महेन्द्रराय यादव र गंगानारायण श्रेष्ठलाई बनाउने सोचमा छन् ।

बैकल्पिक शक्ति बनाउनुपर्ने अडानमा रहेका खतिवडा, सिंह लगायतका नेताहरुले भने यो पुरानो जसपाकै फोटोकपी जस्तो मात्रै हुने र विद्रोहको औचित्य पुष्टि नुहने भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?