+
+

द भ्वाइस अफ नेपालको चौथो सिजन घोषणा, कोचमा राजेशपायल र प्रविशाको प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १९ गते १६:५६

काठमाडौं । हिमालय टेलिभिजनको गायन रियालिटी शो द भ्वाइस अफ नेपालको चौथो सिजनको औपचारिक घोषणा भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिइयो ।

आगामी महिनादेखि प्रसारण तयारी रहेको चौथो सिजनको कोचमा हेरफेर भएको छ । दुई जना नयाँ कोचको प्रवेश भएको छ भने दुई जनाले निरन्तरता पाएका छन् ।

राजेशपायल राई र प्रविशा अधिकारी नयाँ कोचको रुपमा चौथो सिजनमा जोडिएका छन् । प्रमोद खरेल र राजु लामाले कोचकै रुपमा निरन्तरता पाएका छन् । तीन सिजनसम्म कोच रहेका वरिष्ठ गायक दीप श्रेष्ठले यो सिजनमा विश्राम लिएका छन् ।

डिजिटल अडिसनमा सहभागी भएका ४१ हजार आवेदकमध्येबाट छानिएका १२० प्रतिभा ब्लाइन्ड अडिसनको तयारीमा जुटेका छन् ।

यसपटक विदेशमा बसोबास गर्ने नेपालीभाषीले पनि सहभागिता जनाएका छन् । भारत, थाइल्यान्ड, बर्मा, अस्ट्रेलिया र अमेरिकामा बसोबास गरिरहेका नेपालीभाषी प्रतिभाले पनि अडिसनमा भाग लिएको जनाइएको छ ।

हिमालय टीभीका अध्यक्ष धर्मराज भुसालले एक महिनामै प्रसारण हुने गरी कार्यक्रम निर्माण अगाडि बढ्ने बताए ।

ब्लाइन्ड अडिसनमा प्रस्तुति दिनेमध्ये ६४ जना प्रतिभाले ब्याटल राउन्डमा प्रतिस्पर्धाको मौका पाउने निर्देशक लक्ष्मण पौडेलले बताए । ‘यसपटक दुर्गम ठाउँका प्रतिभालाई प्राथमिकतामा राखेका छौं,’ पौडेलले भने ।

कोच प्रविशाले चौथो सिजनमा जोडिन पाउँदा उत्साहित भएको बताइन् । ‘अलिकति अनुभव र नर्भसनेस यसमा जोडिएको छ । चुनौती पनि उत्तिकै छ,’ उनले भनिन् । उनले द भ्वाइस अफ किड्स नेपालमा कोचको रुपमा काम गरिसकेकी छन् । कोच राजेशपायलले विदेश टुर र कार्यक्रमबीच समय व्यवस्थापन गरेर अघि बढ्ने बताए ।

चौथो सिजन हिमालय टीभीमा शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुनेछ ।

यसैबीच, पत्रकार सम्मेलनमा चौथो सिजनका मुख्य प्रायोजकसँग सम्झौता पनि भएको छ । टाइटल स्पोन्सरमा बजाज पल्सर मोटरसाइकल छ । पावर्ड बाई स्पोन्सरमा रेड पेस्ट, एनआइसी एसिया बैंक र पाथीभरा ज्वेलर्स छन् । को–स्पोन्सरको रुपमा रोहोतो सनप्ले, इलोइस हेयर रिमुभल क्रिम र मंगलदीप अगरबत्ती छन् ।

हिमालय टिभीका अध्यक्ष धर्मराज भुषाल ।

एसोसिएट स्पोन्सरको रुपमा सामसुङ मोबाइल, लेयर वाटगर्ल र जोय रहेका छन् भने एक्सक्लुसिभ मार्केटिङ पार्टनर एस मिडिया एण्ड मार्केटिङ छ । अध्यक्ष भुसाल र प्रायोजक प्रतिनिधिले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

भ्वाइस अफ नेपाल किड्स, हिमालय रोडिज र डान्सिङ स्टार्स नेपाल प्रसारण गरिरहेको हिमालय टेलिभिजनले चाँडै बिजनेस रियालिटी शो ‘सार्क ट्याङ्क’, नेपाल्स नेक्स्ट टप मोडल र मौलिक रियालिटी शो ‘लोकस्टार’ प्रसारण गर्ने भएको छ ।

तस्वीर : शंकर गिरी/अनलाइखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?