+
+

अन्तरिक्षमा किन हजारौँ स्याटेलाइट पठाउँदैछन् एलन मस्क ?

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १९ गते १८:०४

१९ साउन, काठमाडौं । विश्वका सर्वाधिक धनी व्यक्ति एलन मस्कको कम्पनी स्पेस एक्सले हजारौँ स्याटेलाइटहरु प्रक्षेपण गरिरहेको छ । स्पेस एक्सका कैयन् स्याटेलाइटहरु आकासमा देखिएको मानिसहरुले बताउने गरेका छन् ।

हजारौँ स्याटेलाइट अन्तरिक्षमा पठाउने स्पेस एक्सको यो काम वास्तवमा उसको स्टारलिंक परियोजनाको हिस्सा हो । यसको उद्देश्य अन्तरिक्षबाट पृथ्वीका दूर दराजका इलाकाहरुमा समेत इन्टरनेट सेवा पूराउनु रहेको छ ।

स्टारलिंक के हो ? कसरी काम गर्दछ ?

स्टार लिंकले स्याटेलाइटको एक ठूलो नेटवर्कको सहयोगमा इन्टरनेट सेवा प्रदान गर्दछ । यसको उद्देश्य हो दूरदराजका इलाकाहरुलाई तिव्र गतिको इन्टरनेटले जोड्नु ।

पोर्ट्समाउथ विश्वविद्यालयस्थित अन्तरिक्ष परियोजना व्यवस्थापक डाक्टर लुसिन्डा किंगका अनुसार विश्वका विभिन्न देशहरु, खासगरी अफ्रिकी मुलुकका मानिसहरुलाई यसबाट निकै फाइदा पुग्नेछ ।

स्टारलिंकका स्याटेलाइटहरु पृथ्वीको निकै नजिक अर्थात लो लेभल अर्बिटमा हुन्छन् । यसबाट जमिन तथा स्याटेलाइटको बीचमा तिव्र गतिको कनेक्सन दिनमा सहयोग पुग्दछ । तर कतिपय लो लेभल स्याटेलाइटमा पूरै विश्वभर कभरेज दिने भार पनि हुनेछ ।

स्टारलिंकले सन् २०१८ देखि हालसम्म ३ हजाार स्याटेलाइटहरु पृथ्वीको तल्लो कक्षमा पठाइसकेको बताइन्छ । पकिट लिंक वेबसाइटका सम्पादकीय निर्देशक क्रिस हलका अनुसार यो संख्या १० देखि १२ हजारसम्म पुग्न सक्नेछ ।

उनी भन्छन्, ‘स्याटेलाइटको प्रयोगबाट तपाइँ पहाड तथा मरुभूमिहरुसम्मै इन्टरनेट पूराउन सक्नुहुन्छ । यसले पृथ्वीमा इन्टरनेटका लागि कुनै ठूलो भौतिक संरचना बनाउनुपर्ने आवश्यकताको अन्त्य गरिदिनेछ । हामीलाई तार तथा अग्ला पोलहरुको आवश्यकता पर्नेछैन ।’

स्टारलिंकको इन्टरनेटको मूल्य कति हो ? कसले प्रयोग गर्छ ?

रिपोर्ट अनुसार हाल उपलब्ध इन्टरनेट भन्दा स्टारलिंकको इन्टरनेट निकै सस्तो चाहीँ हुनेछैन ।

कम्पनीले एक उपभोक्तासँगबाट ९९ डलर शुल्क लिनेछ । त्यस्तै इन्टरनेट जडानका लागि एउटा डिश तथा राउटर आवश्यक पर्नेछ, जसको मूल्य ५४९ डलर पर्नेछ ।

स्मरण रहोस् बेलायतमा हाल ९६ प्रतिशत मानिसहरु हाल तिव्र गतिको इन्टरनेट चलाइरहेका छन् । अमेरिका र युरोपेली युनियनमा चाहीँ ९० प्रतिशत घरमा यो सुविधा छ । यस्तोमा स्टारलिंकको इन्टरनेट ती मुलुकहरुमा खासै आकर्षणको विषय बन्ने देखिँदैन ।

ल्ण्डन विश्वविद्यालयको अन्तरिक्ष नीति तथा कानूनका प्राध्यापक सइद मोस्तेशार भन्छन्, ‘धेरैजसो विकशित देशहरुमा पहिलेदेखि नै राम्रो इन्टरनेट कनेक्सन छ । उनीहरु बजारको एक सानो हिस्सामा आम्दानीका लागि आश्रित छन् ।’

स्टारलिंकका अनुसार हाल उसको इन्टरनेटका ग्राहकको संख्या ४ लाख पुगिसकेको छ र ३६ देशमा उसका ग्राहक छन्। त्यसमध्ये धेरैजसो उत्तर अमेरिका, युरोप तथा अष्ट्रेलिया र एसियामा छन् । त्यसमा व्यापार तथा गार्हस्थ प्रयोगका लागि इन्टरनेटको प्रयोग गर्ने ग्राहक धेरै छन् ।

आगामी वर्ष अफ्रिका, दक्षिण अमेरिका र एसियाका त्यस्ता क्षेत्रहरुसम्म पुग्ने स्टारलिंकको योजना छ जहाँ हालसम्म गुणस्तरीय इन्टरनेट सेवा उपलब्ध छैन ।

क्रिस हलका अनुसार स्टारलिंकको इन्टरनेटको मूल्य अफ्रिकाका आम घरहरुका लागि महंगो भएतापनि ग्रामीण क्षेत्र स्कुल तथा अस्पतालहरुमा इन्टरनेट सेवा पूराउनका लागि यो निकै उपयोगी हुनेछ ।

युक्रेनमा कसरी सहयोग गर्दैछ स्टारलिंक ?

रुसी सेना युक्रेनमा अघि बढेसँगै त्यहाँको इन्टरनेट सेवा बन्द गरिदियो र सोसल मिडिया समेत ब्लक गर्ने कोसिस गर्यो ।

एलन मस्कले रुसी आक्रमण लगत्तै स्टारलिंकको सुविधा युक्रेनमा पूराए । करीब १५ हजार थान स्टारलिंक डिश तथा राउटर युक्रेनमा पठाइयो ।

क्रिस हलका अनुसार स्टारलिंकको सहयोगमा युक्रेनमा सरकारी कामकाज लगायतका विभिन्न काम भैरहेका छन् । रुसले यसलाई रोक्ने कुनै तरिका अहिलेसम्म पत्ता लगाउन सकेको छैन ।

स्टारलिंकको इन्टरनेटको प्रयोग युद्धको मैदानमा पनि भैरहेको छ । युक्रेनको सेनाले यसको प्रयोग सञ्चारका लागि पनि गरिरहेको छ, खासगरी हेडक्वाटर तथा मैदानमा लडिरहेका सैनिकबीचको सञ्चारमा ।

स्टारलिंक इन्टरनेटको तरंगलाई जाम गर्न नसकिने र यसलाई सेटअप गर्न केवल १५ मिनेट मात्र लाने किंग्स कलेज पनि लण्डनकी शोधकर्ता डाक्टर मरिमा मिरन बताउँछिन् ।

के स्टारलिंकका कारण अन्तरिक्षमा भिड बढेको हो ?

स्टारलिंकका प्रतिस्पर्धी कम्पनीहरु वन वेब तथा भिआर स्याट हुन् । यी दुबै कम्पनीहरु स्याटेलाइट इन्टरनेट सेवा प्रदायक कम्पनीहरु हुन् र त्यसका लागि पृथ्वीको कक्षको तल्लो भाग (लो अर्थ अर्बिट) मा हजारौँ स्याटेलाइट प्रक्षेपण गरिरहेका छन् ।

विज्ञका अनुसार स्याटेलाइटको संख्या बढ्दै जाँदा उनीहरु एक आपसमा अन्तरिक्षमा ठक्कर खाने जोखिम बढिरहेको छ । यी स्याटेलाइटका कारण अन्तरिक्ष असुरक्षित बनिरहेको छ । साथै तिव्र गतिका कारण त्यस्तो ठक्करबाट हुने क्षति पनि निकै ठूलो हुनेछ ।

हलैका दिनहरुमा स्टारलिंक स्याटेलाइटहरु अन्य स्याटेलाइटको निकै नजिक आएका घटना सार्वजनिक भएका थिए । त्यसमध्ये एउटा चाहीँ चीनको स्पेस स्टेसनसँग ठक्कर खाने अवस्थाको निकै नजिक पुगेको थियो ।

स्टारलिंक स्याटेलाइटले अन्तरिक्ष यात्रीहरुका लागि पनि समस्या सिर्जना गरिरहेको बताइन्छ ।

विज्ञहरुका अनुसार लो अर्थ अर्बिटमा धेरै स्याटेलाइटहरु हुँदा त्यसले यस्तो कक्षको प्रयोगलाई भविष्यमा जटिल बनाइदिनेछ । त्यहाँ रहेका स्याटेलाइटलाई माथिल्लो कक्षमा सार्न पनि गाह्रो हुन्छ । किनकी त्यहाँ पहिलेदेखि नै दिशा सूचक तथा टेलिकम स्याटेलाइटहरु रहेका छन् । बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?