+
+

सहकारीमा ‘कोप कार्ड’ सेवाको शुभारम्भ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २० गते १५:२५

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले सहकारी संस्थाहरुमा ‘कोप कार्ड’ सेवाको शुभारम्भ गरेको छ ।

विगत २० वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरुलाई एटीम कार्ड सेवा उपलब्ध गराउँदै आइरहेको एससीटीले अबदेखि सहकारी संस्थाहरुको पहिचान सहितको कोप कार्ड सेवाको शुभारम्भ गरेको हो ।

राष्ट्रिय सहकारी बैंक लिमिटेड र ग्लोबल आईएमई बैंक लिमिटेडबीचको सहकार्यमा राष्ट्रिय सहकारी बैंक लिमिटेडको २०औँ स्थापना दिवसको अवसर पारेर एससीटीले सहकारीहरुमा यो सेवाको शुभारम्भ गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले कोप कार्डको शुभारम्भ गरेकी हुन् । सार्वजनिक निजी र सहकारी क्षेत्रको सहभागिता मार्फत उपलब्ध साधन श्रोतको अधिकतम प्रयोग गरी तीब्र आर्थिक वृद्धि हासिल गर्न सकिने उनको भनाइ थियो ।

सहकारीको भूमिका र कारोवारलाई मध्यनजर गरी सहकारीहरुले पनि न्यूनतम लागतमा सहजै एटीएम कार्ड जारी गर्न सक्ने प्रविधि र प्रक्रिया मिलाइएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि एससीटीले १०० भन्दा बढी सहकारीहरुलाई कार्ड सेवा उपलब्ध गराइसकेको छ । सेवालाई थप प्रभावकारी बनाउन र सहकारीका सबै सदस्यलाई सेवा पुर्‍याउन राष्ट्रिय सहकारी बैंक लिमिटेडको सहकार्यमा बैंकमा आबद्ध सम्पूर्ण सहकारीहरुलाई एउटै ब्राण्डको कोप कार्ड जारी गरी सञ्चालनमा ल्याउन लागेको कम्पनीको भनाइ छ ।

कम्पनीले उपलब्ध गराउने कार्ड अन्तर्राष्ट्रिय स्तरको चिप कार्ड र कन्टाक्टलेश प्रविधिमा आधारित हुने र नेपाल तथा भारतका एटीएम/पोस जुनसुकै स्थानबाट सहजै चलाउन सकिने छ । यस कोप कार्ड ग्लोबल आईएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंक मार्फत सहकारीहरुले जारी गर्नेछन् ।

यस सहकार्य पश्चात सम्पूर्ण सहकारीहरुले सजिलै राष्ट्रिय सहकारी बैंक लिमिटेडमा सम्पर्क गरी कोप कार्ड जारी गर्न सक्नेछन् । सहकारीहरुले आफनो सदस्यहरुलाई कोप कार्डको वितरण गरे पछि सहकारीमा आबद्ध सदस्यहरुले आफ्नो सहकारीको खातावाट जुनसुकै बेला जहाँवाट पनि एटीएम मार्फत रकम निकाल्न सक्नेछन भने पोसको माध्यमवाट कुनै पनि सेवा वा वस्तु खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । यो सुविधाका कारण सदस्यहरुको सहकारी प्रति विश्वास बढ्दै जाने, नगद कारोबार कम भएर औपचारिक रुपमा बचत परिचालन हुने र वित्तीय सेवा २४ घण्टा उपलब्ध हुनेछ ।

यस सहकार्यले समग्र सहकारी क्षेत्रको भुक्तानी प्रणालीमा र विद्युतीय कारोवारमा पहुँच बढदै जाने र साधारण बैंकिङ कारोवारको लागि बैंक गइरहनु पर्ने बाध्यतावाट मुक्ति दिनेछ र सहकारीहरुको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले सहकारीमा प्रविधिको महत्व र उपयोगिताकाबारे प्रतिवेदन प्रस्तुत गर्दै यो सेवाले सहकारीहरुलाई अझ सवल बनाउँदै जाने विश्वास व्यक्त गरे ।

ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले ग्लोबल बैंकले यस सहकार्यमा सहभागी भई सहकारी क्षेत्रमा पनि केही टेवा पुर्‍याउन पाएकोमा खुशी व्यक्त गरे ।

स्मार्टच्वाइस टेक्नोलोजिजका अध्यक्ष सुमन पोखरेलले विद्युतीय भुक्तानी प्रणालीमा सहकारी क्षेत्र पनि जोडिनु सहकारी क्षेत्रकै समग्र सेवाको विविधिकरण हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?