+
+

औषधि कारखानामा काम लगाइदिने भन्दै ठगी, २७ महिला न्याय माग्दै प्रहरीमा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २३ गते १७:५२

२३ साउन, वीरगञ्ज । बर्दिबासबाट बाराको जीतपुर सिमरा उपमहानगरपालिका– १ सिमरा आई बसेकी २६ वर्षीया सपना परियार जागिरको खोजीमा थिइन् ।

जीतपुरमा होटल व्यवसाय गर्ने उनका काकाले एक व्यक्तिले कामका लागि मानिस खोजिरहेको खबर ल्याए ।

काकाले सपनालाई ती व्यक्तिसँग चिनजान पनि गराइदिए । उनले आफ्नो नाम, राजकुमार महतो भने, वीरगञ्ज महानगरपालिका–१४ मुर्ली घर भनी ठेगाना दिए । आफू नेपाल फर्मास्युटिकल्स लिमिटेड (एनपीएल) का सुपरभाइजर रहेको पनि बताए ।

‘एनपीएलमा प्याकिङको लागि केही महिला चाहिएको छ । अनुभव केही चाहिँदैन, नागरिकताको फोटोकपी, दुई प्रति पासपोर्ट साइजको फोटो र ३ हजार ५०० रुपैयाँ दिए हुन्छ’ महतोले भनेका थिए ।

शुरुमा उनले ५ जना आवश्यक रहेको बताए । सपनाले कामको खोजीमा रहेका पाँच जनासँग पैसा उठाएर उनले भनेजसरी नै कागजपत्र बुझाइन् । पछि उनले थप अरु पनि आवश्यक पर्‍यो भन्न थाले । ह्वाट्सएप र फोनमा राजकुमार र सपनाबीच कुराकानी हुने गरेको थियो । उनले आफू बसोबास गर्दै आएको पानी ट्याङ्की क्षेत्रका अन्य महिलासँग पनि रकम संकलन गरेर राजकुमारलाई बुझाइन् ।

तर २१ साउनदेखि शनिबार साँझबाट भने राजुकुमार भन्ने व्यक्तिले प्रयोग गर्ने ९८०८२०४८३७ नम्बरको मोबाइलमा सम्पर्क हुन छाड्यो । त्यसपछि बल्ल उनलाई आफू ठगिएको महशुस भयो । उनले अरु साथीलाई पनि फोन गर्न लगाइन उस्तै जवाफ आयो ।

आइतबार सबैजनाले एनपीएलको उद्योगमा गएर बुझ्दा ती युवक उद्योगको कर्मचारी नरहेको खुल्यो । त्यसपछि आफू ठगिएको बुझेका महिलाले इलाका प्रहरी कार्यालयमा जीतपुरसिमरामा पुगेर राजकुमारविरुद्ध जाहेरी दिए ।

जागिर पाउने आशामा सपनासँगै गायत्री दर्जी, दिलमाया दर्जी, सविता नेपाल, अमृता तामाङ, तिलकुमारी स्याङ्तान, सुजाता खुलाल, चन्दिका अधिकारी, शोभा देवकोटा, जमुना बजगाई, शुभद्रा बास्कोटा लगायत २७ जनाले ९४ हजार ५ सय रुपैयाँ राजकुमारलाई बुझाएका थिए ।

‘मैले राजकुमारको एनसीसी बैंकको खातामा ३१ हजार ५ सय, साथीहरुले २१ हजार र १० हजार ५ सय जम्मा गरेका छन्’ सपनाले भनिन्, ‘केही रकम उनले नगदै पनि लिएका छन् । २७ जनाको ९४ हजार ५ सय बुझायौं, उनी सम्पर्कविहीन छन् ।’

नम्रता पकुवालले आफू र अन्य साथीहरुको गरी साउन १५ गते २१ हजार राजकुमारको खातामा जम्मा गरेकी थिइन् । ‘जागिर पाउन त्यति सजिलो छैन, भित्री रुपमा राख्ने हो, तपाईंहरुको हितको लागि मात्रै म सहयोग गर्दैछु भनेर फकायो’, उनले भनिन् ‘विश्वासमा परेर साथीहरुसँग समेत पैसा उठाएर दिइयो । पैसा लिएर भागिदिएपछि मर्कामा परेका छौं ।’

ठगी आरोपीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए ।

‘कसैले कुनै पनि बहानामा ठगी गरेको छ र प्रहरीकोमा उजुरी आउँछ भने घटनाबारे अनुसन्धान हुन्छ’, उनले भने ‘यदि दोषी छ भने जुनसुकै व्यक्ति भएपनि पक्राउ गरेर कारबाहीको दायरामा ल्याउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?