१२ असार, काठमाडौं । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले अकुपाई बालुवाटार र इनफ इज इनफ आन्दोलन स्मरण गरेकी छन् । शुक्रबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले विगतमा युवाहरूले तत्कालीन समयमा गरेका विरोधका कार्यक्रमहरू सम्झिएकी हुन् ।
‘राष्ट्रिय झण्डा ओडेर अकुपाइ बालुवाटारको आन्दोलन चलिरहेको थियो । त्यो अकुपाइ बालुवाटारको आन्दोलन कहाँ पुगेको थियो भन्दा जतिबेला नाकाबन्दी थियो त्यो क्रस गरेर हामी आइरहेका थियौं त्यसपछि कोभिड १९ को महामारी थियो’ उनले भनिन् ।
अकुपाइ बालुवाटार आन्दोलन २०६९ सालमा भएको नागरिक आन्दोलन हो । यो आन्दोलन अन्तर्गत काठमाडौंको बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि धर्ना र प्रदर्शन भएका थिए ।
यसको सुरुआती कारण बलात्कार र हत्याको घटनामा न्याय माग्नु थियो । पछि आन्दोलनको दायरा फराकिलो हुँदै महिलामाथिको हिंसा, दण्डहीनता, लैंगिक विभेद र राज्यको जवाफदेहिताका मुद्दामा केन्द्रित भएको थियो ।
पछि नेपालमा इनफ इज इनफ भन्ने आन्दोलन पनि चल्यो । ‘तिनै पात्र हुन् जसले काँधमा र राष्ट्रिय झण्डा बोकेर इनफ इज इनफ आन्दोलन चलाइरहेका थिए’ सांसद झाँक्रीले भनिन् ।
तिनै मान्छे गत जेनजी आन्दोलनमा समेत सरिक भएको उनले बताइन् ।
तत्कमालीन सरकारले कोभिड–१९ महामारी व्यवस्थापनमा देखाएको कमजोरीको विरोधमा नेपालमा इनफ इज इनफ आन्दोलन भएको थियो ।
स्वास्थ्य सामग्री खरिदमा अनियमितता, पीसीआर परीक्षणको अभाव र क्वारेन्टिन व्यवस्थापनको आलोचनासहित सुरु भएको आन्दोलनका समयमा नागरिकहरूले त्यसबेला तत्कालीन सरकारसँग जवाफदेहिता, पारदर्शिता र सुशासनको माग गरेका थिए ।
यी दुवै आन्दोलनको कुनै राजनीतिक दलको प्रत्यक्ष नेतृत्व नभई युवाहरू र नागरिक समाजको सक्रिय सहभागितामा भएको आन्दोलन हो । यसलाई एमाले सांसद झाँक्रीले जेनजी आन्दोलनसम्म जोडेकी हुन् ।
गत भदौ २३ र २४ मा जेनजी आन्दोलन भएको थियो । आन्दोलनका क्रममा भएको क्षतिबारे बोल्दै उनले भनिन्, ‘सिंहदरबार प्रशासनिक केन्द्र जलाए, डाटाहरु जलाए, तथ्यहरु जलाए, न्यायालयको मुटु जलाए,’ राज्यका कार्यालय जलाएर त्यसलाई क्रान्ति भनिएको भन्दै उनले थपिन्, ‘त्यो कस्तो क्रान्ति थियो ?’
जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गरेर सरकारलाई बुझाएको भन्दै उनले उक्त प्रतिवेदन कार्यान्वयनको माग समेत गरेका छन्
प्रतिक्रिया 4