+
+

स्वस्थ बच्चा जन्माउन गर्भवतीले यी कुरामा ध्यान दिनुपर्छ

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०७९ साउन २५ गते ११:५०
फाइल तस्वीर

काठमाडौं । जब कुनै महिला गर्भवती हुन्छिन्, उनले सबैभन्दा पहिले सोच्ने कुरा भनेको बच्चा स्वस्थ जन्मियोस् । त्यसो त गर्भावस्था महिलाको लागि एकदमै जटिल समय हो । यो बेला स-साना कुरामा ध्यान नदिए निकै जोखिमपूर्ण अवस्थाको समेत सामना गर्नुपर्ने हुनसक्छ ।

त्यसैले, स्वस्थ बच्चा र स्वस्थ आमाका लागि यो संवेदनशील समयमा गर्भवती महिला र परिवारका अन्य सदस्यले विशेष ख्याल राख्नुपर्छ । स्वस्थ बच्चा जन्माउनका लागि गर्भवती महिलाले के के कुरामा ध्यान दिनुपर्छ भन्ने विषयमा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. ज्योति अग्रवालको सुझाव यस्तो छ ः

नियमित स्वास्थ्य परीक्षण

बच्चाको योजना बनाएपछि सबैभन्दा पहिला त महिलाले आफ्नो स्वास्थ्य जाँच गराउनुपर्छ । जाँच गर्दा स्वास्थ्यमा केही समस्या देखियो भने त्यसको राम्ररी उपचार गरेर बच्चा जन्माउने योजना गर्न सकिन्छ ।

गर्भवती महिला पहिलो पटक परीक्षणका लागि अस्पताल जाँदा नै थाइराइड र मधुमेहको जाँच गरिन्छ । थाइराइड र मधुमेह भएका महिलाहरूले पनि बच्चा जन्माउन सक्छन्, तर उपचारबाट रोगको अवस्था घटाएपछि मात्र । उनीहरुले यसपछि मात्रै गर्भधारणको योजना योजना बनाउनुपर्छ ।

बच्चाको योजना गर्नु बनाउनुअघि वा गर्भवती भइसकेपछि महिलाले नियमित परीक्षण गर्दा उनीहरू कुन स्थितिमा छन् र बच्चाको अवस्था के छ भन्ने कुराको जानकारी लिन सकिन्छ । त्यसैले नियमित परीक्षण गर्न छुटाउनु हुँदैन ।

अल्ट्रासाउन्ड

गर्भमा रहेको बच्चा विकलाङ्ग छ कि भन्ने कुरा थाहा पाउन अल्ट्रासाउन्ड गरिन्छ । गर्भवती भएको ६ हप्ताभित्र पहिलो अल्ट्रासाउन्ड गरिन्छ । पहिलो अल्ट्रासाउन्डले बच्चा पाठेघरभित्र बसेको छ कि छैन, कतिवटा बच्चा बसेको छ गर्भमा, बच्चाको मुटु राम्ररी चलेको छ कि छैन, तौल कस्तो छ लगायतका कुरा पहिलो अल्ट्रासाउन्डमा थाहा हुन्छ ।

त्यसपछि दोस्रो अल्ट्रासाउन्ड १२ हप्तामा गरिन्छ । यसमा ‘डाउन सिन्ड्रोम’को स्क्रिनिङ गरिन्छ । ‘डाउन सिन्ड्रोम’ जन्मजात अवस्था हो । जुन बच्चा गर्भमै हुँदा विकसित भइसकेको हुन्छ । यो एक खालको बौद्धिक तथा शारीरिक अपाङ्गता हो, जसका कारण बच्चाको शारीरिक तथा मानसिक अवस्थामा भिन्नता देखा पर्छ । बच्चामा हुन सक्ने बनावटी खराबी पनि यो समयमा पत्ता लगाउन सकिन्छ ।

१८ देखि २२ हप्ताभित्रमा अर्को महत्त्वपूर्ण एनोमली स्क्यान गर्नुपर्छ । बच्चामा कुनै बनावटी खराबी छ वा छैन भनेर हेर्नु र त्यसको पहिचान गर्नु यसको मुख्य उद्देश्य हो । टाउकोदेखि खुट्टासम्म सबै एक–एक अंगमा भएको खराबी यो स्क्यानमा हेरिन्छ ।

खानपानमा ध्यान

गर्भवती महिलाले खानपानमा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ । गर्भावस्थामा कुनै पनि खानेकुरा पेटभरि खानु हुँदैन । समय–समयमा थोरै थोरै गरेर खानुपर्छ । जंकफुड र प्याकेट फुड भन्दा पनि घरमै बनेको ताजा खानेकुरा खानुपर्छ ।

पिरो, अमिलो र पचाउन गाह्रो हुने खानेकुरा खानु हुँदैन । खाना खाएपछि आधा घण्टा हिंडडुल गर्नुपर्छ । बेलुकाको खाना सुत्नु भन्दा दुई घण्टा अघि खानुपर्छ । हरियो सागपात, फलफूलको सेवन बढी मात्रामा गर्ने र प्रोटिन भएको खाना जस्तै उम्रेको गेडागुडी, दूध, दही, माछा, मासु आदि अन्य बेला भन्दा अलि बढी खानुपर्छ ।

सप्लिमेन्ट’को सेवन  

गर्भवती हुने योजना बनाएका महिलालाई केही ‘सप्लिमेन्ट’ दिने गरिन्छ । अनिवार्य रूपमा ‘फोलिक एसिड’ दिइन्छ । यो बच्चा जन्मिनु भन्दा तीन महिनाअघिदेखि खान सुरु गरेर गर्भवती भएको तीन महिनासम्म खानुपर्छ । गर्भवती महिलालाई सुरुको तीन महिना ‘भिटामिन बी कम्प्लेक्स’ पनि दिइन्छ ।

फोलिक एसिडले बालबालिकामा ‘न्युरेटिक डिफेक्ट’ हुन नदिन महत्त्वपूर्ण भूमिका खेल्छ । बच्चाको टाउको, स्पाइनल कर्ड नबन्ने, कर्डको पछाडि ट्युमरजस्तो देखिने समस्या हुन दिंदैन ।

यसका साथै गर्भवतीलाई विभिन्न खालका भिटामिन पनि दिइन्छ । भिटामिनहरूको सन्तुलनले बच्चालाई विकलाङ्ग हुनबाट बचाउँछ । पहिलो तीन महिनापछि आइरन र क्याल्सियमको सप्लिमेन्ट पनि दिइन्छ । यी दुवै ९ महिनासम्मै दिइन्छ ।

जीवनशैली परिवर्तन          

गर्भवती हुनुअघि जीवनशैली सुधार गर्नु पनि उत्तिकै आवश्यक र महत्त्वपूर्ण हुन्छ । गर्भवती आमाबुवा दुवैले धुम्रपान मद्यपान गर्नु हुँदैन । किनकि आमाले धुम्रपान नगरे पनि बुवाले गरेको धुम्रपानको धुँवाले पनि आमा र बच्चा दुवैलाई असर गर्न सक्छ ।

बुबाले धुम्रपान मद्यपान छोड्न सक्दैनन् भने पनि आमाले त छोड्नै पर्छ किनकि गर्भवती महिलाले धुम्रपान मद्यपान गर्नाले बच्चामा खराबी देखिने सम्भावना हुन्छ ।

गर्भवती महिलाले कम्तीमा पनि ६ देखि ८ घण्टा राम्ररी निदाउनुपर्छ  । कुनै पनि प्रकारको तनाव लिनु हुँदैन । सकेसम्म हिल भएको जुत्ता चप्पल नलगाउने र भारी सामान उठाउनु हुँदैन । कुनै समस्या भए हेल्चेक्राइँ गरेर बस्नु हुँदैन, तुरुन्त अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ ।

लेखकको बारेमा
सुमित्रा लुइटेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?