+
+
अग्रपथ :

भँडुवा को ? रवि र ‘रविहरू’ कि कमरेड ओली र ‘ओलीहरू’ ?

झण्डै दुईतिहाइको वाम गठबन्धन तुहाएर इतिहासको महत्वपूर्ण कालखण्ड खेर फालेकाहरूलाई अब फेरि भोट किन दिनुपर्ने ? भोट माग्न कुनै नैतिक आधार चाहिंदैन ?

डम्बर खतिवडा डम्बर खतिवडा
२०७९ साउन २९ गते १०:११

एमाले अध्यक्ष, पूर्वप्रधानमन्त्री तथा विपक्षी दलका नेता खड्गप्रसाद शर्मा ओलीले कतै भनेको सुनें– ‘स्वतन्त्र उम्मेदवार र स्वतन्त्र पार्टी भँडुवा हुन् ।’ रवि लामिछाने र ‘रवि लामिछाने’ हरू भँडुवा हुन् ! बालेन र हर्कहरू दुई दिनको मनोरञ्जनकर्ता हुन् !

मनमा एकसाथ अनेक प्रश्न उठे । के भन्न खोज्या होला यो ? के सन्देश दिन खोज्या होला ? कस्तो विश्लेषण पद्धति होला यो ? कस्तो बुझाइ ? कतै अब एमालेले आफ्नो मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस र पाँच दलीय गठबन्धनको साटो स्वतन्त्र पार्टी र स्वतन्त्रहरूलाई ठान्न थालेको त हैन ? आफूलाई निकै बलियो सञ्जाल, संगठन र जनमत भएको भन्या पार्टी भित्रभित्रै आत्तिन थालेको त हैन ?

अन्यथा यस्ता भनाइको संगति कहाँ छ ? कुनै समाज, राज्य, अर्थतन्त्र र सभ्यताको दुर्दशामा दशकौं सत्ता चलाएकाहरू उत्तरदायी हुन्छन् कि कुनै नयाँ दल भर्खरै खोल्दै गरेका मान्छेहरू ? रवि लामिछानेहरूले नयाँ पार्टी खोलेको कारणले यो देशको यस्तो दुर्दशा भएको कि कमरेड ओली र ओलीहरूले ढंगले विगत करिब तीन दशकदेखि राज्य र राजनीतिक सञ्चालन गर्न नसकेर ?

अहँ, कमरेड ओलीको भनाइमा विसंगति, विरोधाभास र आत्मरति बाहेक केही देखिनँ ।

रवि लामिछानेको पार्टी कस्तो हो– अहिलेसम्म मलाई थाहा छैन । स्वतन्त्र पार्टीको विचार, सिद्धान्त र एजेण्डा के–के हुन्, त्यो पनि थाहा छैन । त्यो पार्टीको कुनै आधिकारिक दस्तावेज अहिलेसम्म पाएको, पढेको छैन । रवि लामिछानेको कुनै भाषण पूरै सुनेको छैन । यो पार्टीको विचार, सिद्धान्त र एजेण्डा मेरा व्यक्तिगत सोच र परिकल्पनासँग मिल्छन्, मिल्दैनन्, मैले समर्थन गर्नुपर्ने पार्टी हो कि विरोध, त्यो पनि थाहा छैन । यी सबै चिज समयक्रममा बुझ्दै जाउँला ।

रवि लामिछाने अहिले जे भन्दैछन्, त्यही विचार र अडानमा टिक्छन् कि कुनै दिन रवीन्द्र मिश्र झैं ‘मार्ग परिवर्तन’ गरी ‘विचारभन्दा माथि देश, देशभन्दा माथि नरेश’ भन्न थाल्ने हुन्, त्यो पनि थाहा छैन । अहिल्यै शंका गर्न मिलेन, त्यस्तै नहोला भन्न सकिन्न । राजनीतिमा लोकरिझ्याइँ (पपुलिज्म) को समस्या संसारभरि नै देखिएकै हो । बुझिएकै हो । ‘पपुलिज्म’ ले कसरी ‘डेमागग्’हरू जन्माउँछ र डेमागग्हरूले विस्तारै लोकतन्त्र मार्दै लान्छन् भन्ने पनि पढिएकै हो । पपुलिज्म कुनै दीर्घकालीन समाधान हैन भन्ने पनि बुझिएकै हो ।

यति हुँदाहुँदै पनि साँचो अर्थमा भँडुवा को ? रवि र ‘रविहरू’ कि ओली र ‘ओलीहरू’ ? दुई पैसे मनोरञ्जनकर्ता को ? हर्क र बालेनहरू कि ओली र ओलीहरूका मजाकहरू ? यो देश के हर्क, बालेन, रवि र रविहरूका कारणले तन्नमटाट भएको हो ? कि ओली र ओलीहरूका कारणले ? करिब तीन दशकदेखि यो देशको शासक को छ ? रवि र रविहरू कि ओली र ओलीहरू ?

सेक्युरिटी प्रेस प्रकरणमा ‘७० करोड हान्देकै हो, मौका परे करोड हैन, ७० अर्ब हानिन्छ’ भन्नेहरू ओली र ओलीहरूका धर्मपुत्र हुन् कि रवि र रविहरूका ? यी बालकोट रुँघेर बस्छन् कि रवि लामिछानेको घरको गेटमा पाले भएर उभिन्छन् ? यस्ता अभिव्यक्ति दिनेहरूलाई समाजमा सगौरव प्रस्तुत गर्ने दलको नैतिकस्तर के होला ? लोकतन्त्रको गुणस्तरलाई यस्ता मान्छेहरूले कहाँ पुर्‍याएका छन् ? सुशासन र आर्थिक अनुशासनलाई यस्ता अभिव्यक्तिले कति क्षति पुर्‍याए होलान् ?

के यो भँडुवागिरी हैन ? अनि भँडुुवा को ?

अर्थतन्त्र, शासन–प्रशासनको गुणस्तर र राज्यको स्थितिको नैतिक दायित्व र राजनीतिक जवाफदेहिता शासकहरूसँग हुन्छ कुुनै नयाँ पार्टी खोल्दै गरेको, केही नयाँ प्रयास गर्दै गरेको नागरिकसँग हैन । के कमरेड ओलीसँग यति सरल सत्य बुझ्ने, बुझाउने क्षमता पनि निख्रिंदै गएको हो ?

सबैलाई थाहा छ– कमरेड ओली सायद यो राज्यले अहिलेसम्म लगानी गरेको सबैभन्दा महँगो नागरिक हो । तथ्यांकहरूले भन्छन्– उनको स्वास्थ्य उपचार गर्न र उनको जीवन बचाउन मात्रै राज्यले १९ करोड लगानी गरेको छ । करिब तीन दशक यो वा त्यो तरिकाले राज्यको नजिक वा वरिपरि हुँदा उनले राज्यबाट के–कति सुविधा, तलबभत्ता लिए, त्यसको कुनै हिसाब हुने भएन ।

निजी स्वास्थ्य उपचारका लागि यति ठूलो रकम सायद यो राज्यको इतिहासमा कुनै शाह, राणा र पञ्च, श्री ५, श्री ३ ले पनि लिएका थिएनन् होला । थिए भने पनि त्यस्तो कुनै अभिलेख अहिलेसम्म पाइँदैन ।

रवि र रविहरूले यो राज्यबाट के लिएका छन् अहिलेसम्म ? कमरेड ओलीसँग कुनै प्रमाण छ रविहरूले राज्यकोषबाट उपचार खर्च लिएको ? कुनै घटना अभिलेखित छ कुनै मितिमा ? शक्तिका आडमा राज्यलाई निजीजस्तो बनाएर दुरुपयोग गर्नु भँडुवा हुनु कि सार्वजनिक कोषको एककञ्चो दुरुपयोग नगरी आफ्नै श्रमले बाँच्नु, उपचार गर्न नसके बरु शानले मर्नु भँडुवा हुनु हो ? भँडुवा को हो ? राज्य कोषलाई निजी कोष सरह ठानेर प्रयोग गर्नेहरू कि लुटतन्त्रका विरोधीहरू ?

कमरेड ओलीले भन्न सक्नुहोला– हिजो मैले जेल बसें, राज्यका लागि योगदान गरें, त्यही भएर सुविधा लिनु मेरो अधिकार हो ! के राज्य र समाजका लागि कुनै कालखण्डमा गरेको योगदान अर्को कुनै कालखण्डमा असुल उपर गर्नेका लागि हो ? त्यस्ता जेल बस्ने, राजनीतिक संघर्षका क्रममा मर्ने, मारिने यो देशमा हजारौं होलान् ! के तिनले त्यस्तो सुविधा राज्यबाट पाए ?

कमरेड ओलीले बसेको जेलभन्दा कमरेड मोहनचन्द्र अधिकारीले बसेको जेल, कष्ट र यातना धेरै थिएन ? लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीलाई माओवादीले दिएको र पाएको यातना कम थियो ? यी दुई अधिकारीले के लिए राज्यबाट ? यहाँ खै कहाँनेर समानताको सिद्धान्त, न्यायको सिद्धान्त क्रियाशील भयो ? लोकतान्त्रिक र पारदर्शी राज्यमा सेवा–सुविधा लिने कुनै मापदण्ड हुन्छ कि शक्तिको आडमा जे पनि गर्न मिल्छ ? के शहीद, घाइते, बेपत्ता परिवारले त्यस्तो सुविधा आएका छन् ? शरीरमा गोली लिएर बाँचेका घाइते योद्धाहरूको उपचार अहिलेसम्म राज्यले किन नगरेको ?

कुनै मापदण्ड र नैतिक परिबन्द विनै राज्यको कोषलाई शक्तिको आडमा निजीसरह दुरुपयोग गर्नेहरू भँडुवा हुन् कि त्यसका विरोध गर्नेहरू ?

कमरेड ओलीले बुझेको लोकतन्त्रमा कुनै नागरिकलाई नयाँ पार्टी खोल्ने र आफ्ना विचार समाजमा भन्ने अधिकार हुँदैन ? यदि हुन्छ भने त्यो कसरी भँडुवा हुनु हो ? अहिलेसम्म रविले गरेको जम्माजम्मी त्यति त हो । के पार्टी खोल्ने यो ओली र ओलीहरूको मात्रै अधिकार हो ? कि लोकतन्त्रको सार्वभौम चरित्र हो ? कि लोकतन्त्रको विश्वव्यापी मान्यता हो ?

कमरेड ओलीले भन्नुहोला कि लोकतन्त्र हामीले जेल बसेर ल्याएका हौं ? कमरेड ओली लोकतन्त्रका लागि जेल बस्नुभएको हो कि झापा विद्रोहमा मारिएका करिब एक दर्जन नागरिकको ज्यान मुद्दामा ? जतिखेर कमरेड ओली र ओलीहरू जेलमा थिए, त्यतिखेर उनी र उनीहरूको पार्टीले बहुदलीय लोकतन्त्रको विचार र सिद्धान्तलाई मान्थ्यो ? त्यो पार्टी ‘बहुदलीय जनवादी’ भइसकेको थियो कि ‘एकदलीय जनवादी’ नै थियो ? लोकतन्त्र ‘एकदलीय जनवादी’ हुन्छ ? रविले पार्टी खोलेको प्रतिको रिस त्यही एकदलीय जनवादी झोंक त हैन ?

यथार्थमा कमरेड ओली र ओलीहरू न त्यतिखेर लोकतन्त्रवादी थिए न लोकतन्त्रका लागि जेल बसेका थिए । त्यो जेल बसाइ लेनिनवादी, स्टालिनवादी, माओवादी एकदलीय अधिनायकवादी, नयाँ जनवादी सर्वहारा राज्य स्थापनाका लागि थियो, बहुदलीय लोकतन्त्रका लागि हैन । त्यसको भिन्नै राजनीतिक दर्शन, मिसन र उद्देश्य थियो, त्यो पञ्चायतको विरुद्धमा, राजतन्त्रको विरुद्धमा थियो होला तर बहुदलीय लोकतन्त्रका लागि थिएन ।

आफ्नो विचार र आन्दोलनको इतिहासप्रति आज आफैं लज्जाबोध गर्नुपर्नेहरू भँडुवाहरू हुन् कि कुनै नवयुवा उत्तरलोकतान्त्रिक, उत्तरगणतान्त्रिक युगमा कुनै नयाँ पार्टी बनाउने प्रयत्न गर्दैछ, जसको काँधमा इतिहासको कुनै कुडाकर्कट, कुनै ब्यागेज, कुनै वैचारिक पलायन, स्खलनको रेकर्ड छैन, त्यो भँडुवा हो ?

गणतन्त्रबारे ‘बयलगाडा सिद्धान्त’ प्रतिपादन गरेको भन्दै आफ्नै सहकर्मी र आन्दोलनका कमरेडहरूले बारम्बार गिज्याएको एउटा मजाकिलो पात्र भँडुवा हो कि गणतन्त्रको उपयोग गरेर देशका लागि केही नयाँ गर्छु भन्ने मान्छेहरू भँडुवा ?

कमरेड ओली र ओलीहरू बारम्बार ‘टेष्टेड’ र असफलसिद्ध भइसकेका पात्र र प्रवृत्ति हुन् । कम्तीमा रवि र रविहरू ‘टेष्टेड’ छैनन् । संभावनाको सानो झिल्को, आशाको सानो किरण छ त्यहाँ, जो ओली र ओलीहरूमा बिल्कुलै छैन ।

कताकति कमरेड ओली र ओलीहरूले भनेको सुन्छु– हामीले लडेर ल्याइदिएको लोकतन्त्रमा तिमेरु पार्टी खोल्ने ? वाह् ! क्या गज्जबको तर्कशास्त्र । कमरेडहरूले बुझ्न जरूरी छ– लोकतन्त्र न कसैलाई कसैको उपहार हो, न दया अनुकम्पा र निगाह । लोकतन्त्र एक विश्व भावना हो । लोकतन्त्र एक सार्वभौम, सर्वव्याप्त र सर्वकालिक मानवीय चाहना हो । लोकतन्त्र एक नैसर्गिक अधिकार हो । जब कसैले लोकतन्त्रमाथि निजी वा दलगत स्वामित्व जताउने प्रयत्न गर्दछ, बुझ्नुपर्दछ, ऊ लोकतन्त्रवादी हैन, वर्चस्ववादी मान्छे हो । लोकतन्त्रवादीले निजी तथा दलगत वर्चस्वको चाहना राख्दैन । जनताको इच्छा, चाहना, आकांक्षालाई ध्यान दिन्छ ।

के यो देश कांग्रेस–कम्युनिष्टहरूको बिर्ता हो, अरूले पार्टी नै खोल्न नपाइने ? पार्टी खोल्दै भँडुवा होइने ? भँडुवामा दर्ज हुनुपर्ने ? भर्खरै आफ्नो संगठन संरचना समेत नबनाएको, एउटा चुनावसम्म नलडेको ‘शिशु पार्टी’ सँग सात दशक लामो इतिहास भएको एउटा अर्को पार्टीलाई यत्रो डर, यत्रो इष्र्या किन ?

कमरेड ओली र ओलीहरू साँचो अर्थमा लोकतन्त्रवादी हुन् भने एकदलीय अधिनायकवादी साम्यवादी विचार परित्याग गरेका बहुदलीय जनवादी मान्छेहरू हुन् भने कुनै नयाँ र रचनात्मक प्रतिस्पर्धी मैदानमा आउँदा खुशी हुनै पर्ने हो । कुनै नयाँ दल गठन हुँदा कमरेड ओली र ओलीहरूको हृदय काँप्छ, मनमा जलन र निद्रामा ऐंठन हुन्छ भने बुझ्नुपर्छ– उनीहरू अझै राम्ररी लोकतन्त्रवादी भइसकेका छैनन् । दल खोल्ने, चलाउने र सत्तामा पुग्ने उनीहरूको मात्रै अधिकार हो, अरूको हैन भन्ने अधिनायकवादी सोच अझै उनीहरूको वैचारिकीमा गडेर बसेको छ ।

आज देशमा जे–जति बेथिति, अन्याय, अत्याचार, भद्रगोल र भ्रष्टाचार छ, त्यसको कारकतत्व को हो ? ओली र ओलीहरू कि रवि र रविहरू ?

के खेतमा हलो जोतिरहेको किसानले भ्रष्टाचार गर्छ ? के कारखानामा रिञ्च चलाइरहेको मजदुरले भ्रष्टाचार गर्छ ? टेलिभिजनमा समाचार पढिरहेको पत्रकारले भ्रष्टाचार गर्छ ? राज्य कोषमा कुनै पहुँच हुन्छ उनीहरूको ? जसको राज्यकोषमा पहुँच हुँदैन, उनीहरूबाट भ्रष्टाचार हुने संभावना पनि हुँदैन । अनि देश आज कसका कारणले संसारकै सर्वाधिक भ्रष्ट देशहरूको सूचीमा पर्दै आएको होला ?

नेता र कर्मचारीले भ्रष्टाचार नगर्ने, घुस नखाने, कमिसन नलिने हो भने अरू कसले भ्रष्टाचार गर्छ ? अरू कससँग आँट हुन्छ नाजायज दुई पैसा छुने ?

यथार्थमा व्यापारी पनि निमित्त पात्र मात्रै हुन् । आफ्नो काम, लगानी सुरक्षा र मुनाफाका लागि बाध्य भएर घुस खुवाउने हुन् । कमिसन दिने हुन् । नेता र कर्मचारीले विना घुस, विना कमिसन काम गर्दिन्छन्, राज्य ‘फियर’ छ भन्ने विश्वास भयो भने कुन व्यापारीले घुस खुवाउँछ ? कुन ठेकेदारले कमिसन दिन्छ ?

यती, ओम्नी र वाइडबडी काण्ड रच्नेहरू भँडुवा हुन् कि रवि र रविहरू ? करिब तीन दशकदेखि ‘करप्सन इन्डेक्स’ मा देशको स्थिति एककञ्चो सुधार गर्न नसक्नेहरू भँडुवा हैनन् ?

मजाक कसले गरिरहेको छ ? हर्क र बालेनहरूले कि कमरेड ओली र ओलीहरूले ? विना लाज अम्बाको पातको गार्गिल गरे कोरोना निको हुन्छ भन्नेहरू मजाकिया हैनन् ? चल्दै नचलेको पानीजहाजको टिकट बेच्नेहरू मजाकिया हैनन् ? चल्दै नचलेको रेलको स्टेशन कुश्मा बजारमा बनाउनेहरू मजाकिया हैनन् ? हुँदै नभएको अयोध्या ठोरीमा खोज्दै हिंड्नेहरू मजाकिया हैनन् ? चेपाङका घरबस्ती जलाएर, उठिबास लगाएर, भूमिहीन र सुकुम्बासीका लागि दशकौंमा ४ आना जग्गाको बन्दोबस्त गर्न नसक्ने, रातारात मन्दिरका लागि सयौं बिघा जग्गा खोज्न सक्नेहरू मजाकिया हैनन् ? गौशालाको गोबरग्याँस उद्घाटन गरेर यही हो घर–घरमा ग्याँस पाइप, अबदेखि काँधमा सिलिन्डर कसैले नबोक्नु भन्दा लज्जाबोध नगर्नेहरू मजाकिया हैनन् ?

तिनै बासी अनुहार तीन दशकदेखि निरन्तर हेर्दा र बेहोर्दा वाक्क, दिक्क, प्याक्क भइसकेका जनता र मतदातालाई थोरै भए पनि नयाँपनको अनुभूति र शीतलता दिनेहरू भँडुवा हुन् ? छनोटको अधिकार र ‘अप्सन’ वृद्धि र विस्तार गर्नेहरू भँडुवा हुन् ? राजनीतिक सिन्डिकेट र कार्टेल गर्नेहरू भँडुवा हुन् कि त्यसलाई तोड्न चाहनेहरू ?

दुई–दुई पटकको असंवैधानिक संसद विघटन ओली र ओलीहरूले गरेको हो कि रवि र रविहरूले ? दुई–दुई पटक असंवैधानिक संसद विघटन गर्दा लोकतन्त्र कहाँ पुग्यो ? संविधान र संविधानवाद कहाँ पुग्यो ? विधि र विधिको शासन कहाँ पुग्यो ? शक्तिपृथकीकरण, नियन्त्रण र सन्तुलनको सिद्धान्त कहाँ पुग्यो ? आफ्नो अहं, दम्भ, सत्तास्वार्थका लागि यी यस्ता अनेक कर्म, कुकर्म र हर्कत गर्न सक्नेहरू भँडुवा हुन् कि रविहरू ?

कमरेड ओली र ओलीहरूको ‘आधा–आधा प्रधानमन्त्री खाने’ आफ्नै कमरेड, पार्टी र कमिटीलाई लुकाएर गरिएको गोप्य सम्झौता रवि र रविहरूले लेखिदिएको थियो ? एकातिर त्यही आधा खान नपाएको, अर्कोतिर चित्त माखाको पित्तजस्तो बनाएर झण्डै दुईतिहाइको पतन कसले गराएको ? ओली र ओलीहरूले कि रवि र रविहरूले ? झण्डै दुईतिहाइको वाम गठबन्धन तुहाएर इतिहासको महत्वपूर्ण कालखण्ड खेर फालेकाहरूलाई अब फेरि भोट किन दिनुपर्ने ? भोट माग्न कुनै नैतिक आधार चाहिंदैन ?

रवि र रविहरूले भोलि के गर्छन् ? थाहा छैन । हुन सक्छ यी झन् बढी बिग्रिने छन् । हुन सक्छ देशका लागि कुनै राम्रो काम गर्दछन् । हुन सक्छ, काम गर्ने कुनै अवसर नै नपाई त्यो पार्टी र अभियान तुहिन सक्छ ।

तर, कमरेड ओली र ओलीहरू बारम्बार ‘टेष्टेड’ र असफलसिद्ध भइसकेका पात्र र प्रवृत्ति हुन् । कम्तीमा रवि र रविहरू ‘टेष्टेड’ छैनन् । संभावनाको सानो झिल्को, आशाको सानो किरण छ त्यहाँ, जो ओली र ओलीहरूमा बिल्कुलै छैन ।

कम्तीमा यति भिन्नताको ख्याल त राखेर बोल्नुपर्छ कि को भँडुवा हो को हैन ? को मजाकिया हो को हैन ?

लेखकको बारेमा
डम्बर खतिवडा

राष्ट्रिय राजनीतिमा सशक्त कलम चलाउने राजनीतिक विश्लेषक डम्बर खतिवडाको नियमित स्तम्भ 'अग्रपथ' हरेक आइतबार प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?