+
+

प्रभाकरको निष्कर्ष : ‘हार्डहिट’को चक्करमा नेपाली ब्याटरले ‘टेक्निक’ गुमाइरहेका छन्

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७९ साउन २९ गते २०:४३
पत्रकार सम्मेलनमा प्रभाकर । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

२९ साउन, काठमाडौं । प्रमुख प्रशिक्षकको जिम्मेवारी सम्हाल्न नेपाल आएको भोलिपल्ट आइतबार भारतीय पूर्व क्रिकेटर मनोज प्रभाकर त्रिवि क्रिकेट मैदान पुगे र नेपाली टोलीका ब्याट्सम्यान र बलरहरुको इण्डोर टेष्ट लिए । करिब ३ घण्टा खेलाडीहरुको कौशल हेरेका प्रभाकरले आफ्नो निष्कर्ष सुनाए, ‘हार्डहिटको चक्करमा नेपाली ब्याटरहरुले टेक्निक गुमाइरहेका छन् ।’

भारतका सफल क्रिकेटर प्रभाकरले एकदिवशीय मान्यताप्राप्त देशको प्रमुख प्रशिक्षकको जिम्मेवारी पाएको यो पहिलोपल्ट हो । नेपाल क्रिकेट संघ (क्यान) सामू ब्याटिङ सुधार गर्ने योजना पेश गरेर प्रमुख प्रशिक्षकको जिम्मेवारी लिएका उनले पहिलो दिन नै नेपाली ब्याटरहरुको परीक्षण गरेका थिए ।

‘मैले आजको पहिलो सेसनमा सबै ब्याटरको ब्याटिङ हेरें । त्यसपछि यो निष्कर्षमा पुगें कि उनीहरु आईपीएल र अरु टी–२० खेलहरु धेरै हेर्दा रहेछन्,’ सन् १९९० को दशकमा ब्याट र बलबाट भारतीय क्रिकेटमा राज गरेका प्रभाकरले भने, ‘उनीहरु हार्डहिटको प्रयास गरिरहेका थिए । त्यसो हुँदा उनीहरुले टेक्निक गुमाइरहेका थिए ।’

विवादास्पद अभिव्यक्तिका कारण चर्चामा आइरहने प्रभाकरले आईपीएलका कारण क्रिकेटको प्राविधिक गुणस्तरमा कमी आइरहेको बताए ।

आईपीएल र अरु टी–२० मा पावर गेम हुँदा टेक्निक कमजोर भएको उनको भनाइ छ । ‘मेरो विचारमा अहिलेको समयमा क्रिकेटको कमजोरी के हो भने सबैजना आईपीएल खेल्न चाहन्छन् । तर तपाईंले टेक्निक गुमाइरहनुभएको छ,’ भारतको प्रतिष्ठित घरेलु प्रतियोगिता रणजी ट्रफीमा उत्तर प्रदेश र दिल्ली टिमको प्रशिक्षक भइसकेका उनले भने, ‘तपाईंले एकदिवशीय र टेष्ट खेल्न चाहनुहुन्छ भने तपाईंको खेल त्यत्तिकै टेक्निकल हुनुपर्छ । त्यो स्तरमा क्रिकेट खेल्न तपाईंको टेक्निक सही हुनैपर्छ ।’  टेक्निक सही भयो भने सबै फम्र्याटका खेलमा प्रदर्शन गर्न सकिने भन्दै उनले केएल राहुल र बिराट कोहलीको नाम लिए ।

अबको २/३ महिनामा नेपाली टोलीमा पनि परिर्वतनको अनुभूति दिलाउने प्रशिक्षक प्रभाकरले प्रतिवद्धता जनाए ।

युवा टिमको प्रशंसा

साउन २३ गते नेपाल टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका प्रभाकरले नेपाली युवा टिमको प्रशंसा गरेका छन् ।

युवा खेलाडीहरुको बाहुल्य रहेको टिममा सुन्ने उत्सुकता र कार्यान्वयनको क्षमता उत्तिकै हुने भएकाले आगामी २–३ वर्षमा नेपाल टिमले ठूलो फड्को मार्ने उनको विश्वास छ ।

यूपी, दिल्ली र अफगानिस्तान टिमको सफलताको प्रमुख कारण युवा टिमको मिहिनेत बताउने प्रभाकरले नेपाल पनि सो सफलताको सन्निकट रहेको दाबी गरे । भने, ‘थोरै समयमा राम्रो नतिजा पाउन सक्ने टिम देखेको छु । नेपाल टिममा धेरै युवा खेलाडी छन् । उनीहरुलाई सिकाउन सजिलो हुन्छ । मैले खेलाडीसँग कुरा गरें । उनीहरुले जसरी मेरो कुरामा सहमती जनाइरहेका छन्, जसरी समर्थन गरिरहेका छन् त्यो निकै प्रभावकारी छ ।’

पत्रकार सम्मेलनमा प्रभाकर । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

नेपालको हाइअल्टिच्युड मौसमको फाइदा क्रिकेट टिमले लिनुपर्ने प्रभाकरको तर्क छ । भन्छन्, ‘मैले ८ वर्ष पहाडी क्षेत्रमा प्रशिक्षण गराएको छु । यहाँ गरिएको प्रशिक्षणले कम उचाइका क्षेत्रहरुमा राम्रो प्रदर्शन गर्न सहयोग मिल्छ । हामी उचाइमा छौं, हामीले यसको फाइदा लिनेछौं । हामीले नतिजा निकै छिटो ल्याउँछौं ।’

नेपाल क्रिकेट टिममा खेलाडीहरुबीचको असामान्य स्थितिबारे सोधिएको प्रश्नमा प्रभाकरले कूटनीतिक जवाफ दिए ।

एउटा टिमलाई परिवारका रुपमा चित्रण गरेका उनले परिवार समूह समूहमा विभाजन भयो भने त्यसको परिणाम कल्पनाभन्दा बाहिर जाने बताए । नेपाल क्रिकेटको भविष्यका लागि सफलताका लागि एकता जरुरी रहेको उनको भनाइ थियो । ‘एकताले मात्र हामीलाई सफता दिल्छ । यदि कसैले अमिल्दो कुरा गर्छ भने उसैलाई जिम्मेवारी दिनुपर्छ । उसलाई तिमीले खेल जित्नुपर्छ भनेर दबाव दिनुपर्छ । त्यस्तो बेलामा नतिजा प्रभावकारी हुनसक्छ,’ उनले भने ।

एक दिवशीय कायम राख्दै टेष्ट मान्यताको लक्ष्य

नेपालले सन् २०१८ मा पहिलोपल्ट एकदिवशीय मान्यता पाएको हो । चार वर्षका लागि पाएको मान्यता काम राख्नका लागि आईसीसी विश्वकप क्रिकेट लिग टूमा नेपालले राम्रो प्रदर्शन गर्नुपर्ने चुनौती छ ।

एकदिवशीय मान्यता पाएका सात एसोसिएट देशबीचको तीन वर्ष लामो प्रतियोगितामा नेपालले अहिलेसम्म खेलेका २० खेलमा ११ खेल हारेको छ । अब खेल्न बाँकी १६ मध्ये अधिकतम खेल जित्नु आफ्नो पहिलो र मुख्य लक्ष्य रहेको प्रभाकरले बताए ।

एकदिवशीय खेलमा राम्रो प्रदर्शन भएपछि टेष्ट मान्यताको लक्ष्यमा लाग्ने उनी बताउँछन् । उनी भन्छन्, ‘हामी टेष्ट खेल्न सक्छौं । त्यसका लागि पहिला एकदिवशीय खेलहरुमा आफूलाई प्रमाणित गर्नुपर्छ । हामी त्यो उपलब्धीको प्रतिक्षामा छौं ।’

पत्रकार सम्मेलनमा प्रभाकर । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

नेपालको प्रमुख प्रशिक्षक भएयताको पहिलो पत्रकार सम्मेलनमा प्रभाकरका कुरा सुन्दा उनी नेपालको ब्याटिङमा केन्द्रित हुनेछन् । नेपाली ब्याटरलाई टेक्निकसहितको हार्ट हिटिङमा पोख्त बनाउने उनको लक्ष्य हुनेछ ।

‘क्रिकेट समान्यतः आधारभूत कुराहरुबाट सुरु हुन्छ । यो ‘साइड अन गेम’ हो । एकरातमा परिवर्तन हुने कुरा होइन । मलाई २/३ महिना चाहिन्छ । त्यसपछि नेपाली टोलीमा परिवर्तन देख्न सक्नुुहुन्छ,’ प्रभाकरले भनेका छन् ।

सफल खेलाडी, प्रशिक्षकमा प्रमाणित हुन बाँकी

एक दशक भन्दा बढी समय भारतको राष्ट्रिय टिमका लागि खेलेका प्रभाकरले ३९ टेष्ट म्याच खेलेका छन् भने १३० एकदिवशीय अन्तर्राष्ट्रिय खेलेका छन् । प्रभाकर आफ्नो समयमा ओपनिङ बलिङ र ओपनिङ ब्याटिङ दुवै गर्न सक्ने खुवीका खेलाडी थिए ।

सन् १९८४ डिसेम्बरमा इंग्ल्याण्डविरुद्ध टेष्टमा डेब्यू गरेका प्रभाकरले १९९५ मा न्युजिल्याण्डविरुद्ध अन्तिम टेष्ट खेलेका थिए । यस्तै उनले १९८४ कै अप्रिलमा श्रीलंकाविरुद्ध एकदिवशीय अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए ।

१९९६ मा श्रीलंकाविरुद्ध नै उनले अन्तिम एकदिवशीय खेले । बलिङ अलराउण्डर रहेका प्रभाकरले ३९ टेष्टमा ९६ र १३० एकदिवशीयमा १५७ विकेट लिएका छन् । टेष्टमा उनको उच्च स्कोर १२० थियो । उनले टेष्टमा एक शतक र ९ अर्धशतकसहित एक हजार ६ सय रन बनाएका छन् ।

एकदिवशीयमा भने उनले एक हजार ८५८ रन बनाए । उनले एकदिवशीयको उच्च स्कोर १०६ थियो ।

१५४ फस्ट क्लास क्रिकेट खेलेका उनले ७ हजार भन्दा बढी रन बनाएका छन् भने ३८५ विकेट लिएका छन् ।

उनले सन् १९८७, १९९२ र १९९६ को एकदिवशीय विश्वकप खेलेका छन् । पुछारक्रममा ब्याटिङ गर्ने गाजियावाद उत्तरप्रदेशका प्रभाकरले कुनै खेलमा ओपनिङ समेत गरेका थिए ।

भारतका पूर्व अलराउण्डर प्रभाकर विभिन्न समयमा विवादमा तानिएका थिए । उनीमाथि खेल मिलेमतोको आरोपसमेत छ । सन् १९९९ मा भारतीय सञ्चार संस्था तेहल्काले स्टिङ अप्रेसन गर्दै उनीमाथि खेल मिलेमतोको आरोप लगाएको थियो । त्यसपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले उनलाई भारतीय टिमबाट खेल्न प्रतिबन्ध लगाएको थियो ।

यस्तै सन् २०११ मा रणजी ट्रफीका लागि दिल्लीको प्रशिक्षक रहेका उनले खेलाडी र छनोटकर्ताको आलोचना गर्दा प्रतियोगिता सुरु हुनु दुई दिनअघि बर्खास्त हुनु परेको थियो ।

उनी २००८ बलिङ प्रशिक्षक रहेका बेला दिल्लीले रणजी ट्रफी जितेको थियो । सन् २०१५ मा अफगानिस्तानको बलिङ प्रशिक्षक रहेका उनले २०१६ को टी–२० विश्वकपमा पनि प्रशिक्षण दिए । अफगानिस्तानको प्रशिक्षकबाट हटेको ७ वर्षपछि उनले नेपाली टिमलाई प्रशिक्षण दिने मौका पाएका हुन् ।

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?