+
+

एसईईको नतिजापछि पुनर्योगका लागि करिब ४ हजार निवेदन, ६९ जनाको ग्रेडवृद्धि

नुनुता राई नुनुता राई
२०७९ साउन ३० गते १९:१९

३० साउन, काठमाडौं । २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा साउन ११ मा सार्वजनिक भयो । नतिजा अनुसार समग्रमा ३.२ जीपीए प्राप्त गरेकी अनामिका गेलाललाई नतिजा चित्त बुझेन । अपेक्षा गरे अनुसार विज्ञान र अंग्रेजीमा नतिजा नआएपछि उनले यी दुई विषयको पुनर्योगको लागि निवेदन दिइन् ।

पुनर्योग पछि यी दुबै विषयको मात्रै जीपीए नबढेर समग्रमा नै बढ्यो । उनको समग्रमा ३.४ जीपीएमा परिणत भएको छ । भन्छिन् ‘यी दुबै विषयमा मैले मिहिनेत गरे अनुसार नतिजा नआएपछि रिटोटलिङ गराएकी हुँ । अहिले खुशी छु ।’

अर्का विद्यार्थी विनोद लामाको पनि गणित र नेपालीमा सोचे जस्तो नतिजा आएन । उनले पनि यी दुबै विषयमा पुनर्योगको लागि निवेदन दिए । दुबै विषयमा नतिजा परिवर्तन भएर आएको उनी बताउँछन् । यसअघि प्राप्त नतिजा अनुसार विनोदले गणितमा सी प्लस र नेपालीमा बी ग्रेड थियो । पुनर्योगपछि गणितमा बी प्लस र नेपालीमा ए आएपछि उनी ढुक्क भएका छन् । समग्रमा पनि ३.२३ जीपीए ल्याएको बताउँछन् । अहिले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा नियन्त्रण कार्यालयले अहिले निवेदन परेका परीक्षार्थीको पुनर्योग गर्ने काम धमाधम गरिरहेको छ । विनोद लामा र अनामिका गेलाल सहित तीन हजार ३ सय जनाले पुनर्योगको लागि निवेदन दिएका कार्यालयले जनाएको छ ।

पनिकाले साउन २७ गतेसम्म परीक्षार्थीले पुनर्योगको लागि निवेदन दिन सक्ने व्यवस्था गरेको थियो । जिल्लाहरुबाट पुनर्योगका लागि निवेदन दिने विद्यार्थीहरुको कुल विवरण नआइसकेकोले अझै बढ्ने परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ । करिब ४ हजार संख्यामा पुनर्योगको निवेदन पर्नसक्ने कार्यलयको भनाइ छ । कार्यालयको अनुसार पुनर्योगको निर्णय भएको ६७४ नतिजा मध्ये ६९ वटा उत्तरपुस्तिकाको नतिजा परिवर्तन भएको छ । बी ग्रेड ल्याउनेले ए ग्रेड प्राप्त गरेको सी ग्रेड ल्याएकाले ए ग्रेड ल्याएको पाइएको कार्यलयले जनाएको छ ।

पुनर्योगको क्रममा नतिजा अंक टिप्ने क्रममा गल्ति भएको भेटिएको कार्यालयले जनाएको छ । उत्तरपुस्तिकामा राखिएको अंक सार्दा तलमाथि अंक हुँदा ८० अंक आएकाको ० मात्रै टिपिएको अवस्था समेत भेटिएको छ । ‘अंक नआएको होइन तर कपीबाट स्लिपमा सार्दा ८० को ८ नटिपेर ० मात्रै टिपिएको पनि पाइयो’, परीक्षा नियन्त्रक अर्जुन रायमाझीले भने, ‘विद्यार्थीको लागि यसले गम्भीर भएपनि धेरै जनाले काम गर्दै जाँदा हुने मानवीय त्रुटि हो । यसले आगामी दिनको लागि पाठ सिकाएको छ ।’

पुनर्योगको क्रममा कतिपय विद्यार्थीहरुको अंक बढे पनि ग्रेड वृद्धि नभएको र विषयगत ग्रेड वृद्धि भए पनि समग्र जीपीए परिवर्तन नभएको परीक्षा नियत्रण कार्यालयले जनाएको छ । कार्यालयको अनुसार गणितमा ३०, विज्ञानमा १५, ऐच्छिक गणितमा ११ जनाको ग्रेड वृद्धि भएको छ । अ्रगेजी, नेपाली लगायतको नतिजा परिवर्तनको तथ्यांक भने यकिन हुन सकेको छैन ।

४–५ सय उत्तरपुस्तिकाको पनर्योगपछि निर्णय गर्ने तयारीमा रहेको कार्यालयले जानकारी दिएको छ । पुनर्योग गर्नको लागि परेको आवेदनले अहिलेका विद्यार्थीहरु सचेत र आत्मविश्वासी छन् भन्ने पुष्टि भएको नियन्त्रक रायमाझी बताउँछन् । भन्छन् ‘यो पटक पुनर्योगको लागि धेरै निवेदन परेको छ । यसले अहिलेका विद्यार्थी सचेत हुनुका साथै आत्मविश्वासी छन् भन्ने देखाउँछ । यसले शिक्षकहरुलाई पाठ मिलेको छ ।’

परीक्षा नियन्त्रण कार्यलयले भदौ ११ र १२ गते ग्रेडवृद्धि (पूरक) परीक्षाको समयतालिका तोकेको छ । त्यसैले सकेसम्म परीक्षा अगाडी नै निवेदन परे अनुसारका उत्तरपुस्तिकाहरुको पुनर्योग गरिसक्ने गरी प्रयास गर्ने नियन्त्रकले बताए । उनले भने, ‘प्रेसर हुने जत्ति अलमोस्ट भइसक्यो । अरु पनि छिटोगरी गर्ने प्रयास भइरहेको छ । कपी खोजेर गर्नुपर्ने भएकोले अलिकति समय लाग्छ । तर पूरक परीक्षाभन्दा अगाडी सक्ने कोशिस छ ।’ नतिजा प्रकाशित हुनबित्तिकै नतिजामा चित्त नबुझेका विद्यार्थीले तत्काल निवेदन दिइहालेकाहरुको उत्तरपुस्तिका प्राथमिकताका साथ पुनर्योग गरेको कार्यालयले जनाएको छ ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?