एक जना डाक्टरले मलाई के भन्नुहुन्थ्यो भने आजको समयमा त मान्छे बिरामी भएकोमा आश्चर्य छैन । मान्छे स्वस्थ कसरी भइरहेको छ भन्ने कुरामा पो आश्चर्य छ ।
किनकि जुन खानेकुरा हामी खान्छौं, त्यो स्वास्थ्यका नाममा खाइरहेका छौं । स्वस्थ रहनका लागि म फलफूल मात्रै खान्छु, सागसब्जी मात्रै खान्छु, दूध-दही मात्रै खान्छु भने पनि ती सबै चीज विषादीयुक्त छन् । यी खानेकुराले तपाईंलाई स्वस्थ बनाउन सक्दैन ।
उहाँले सही भन्नुभएको हो । मान्छे बिरामी भएकोमा आश्चर्य छैन । तपाईं हामी कसरी हिंडिरहेका छौं ? म कसरी कसरत गरिरहेको छु ? यस्ता विषादी चीज खाइरहेको छु । प्रदूषित हावा लिइरहेको छु । तै पनि हामी स्वस्थ छौं ।
हामी अधिकांश जति पनि कमाउछौं, त्यसको ९८-९९ प्रतिशत त्यसैमा खर्च गर्न कमाइरहेका हुन्छौं । लगाउनमा, खानमा, बनाउनमा, बनाएको चीज सजाउनमा, चढ्नमा, चढ्ने चीजमा हाल्नमा, त्यसलाई मेन्टेन गर्नमा ।
हामी जसरी आफ्नो पसिना र परिश्रम बेचेर कमाइरहेका छौं, त्यसमा अन्धाधुन्ध खर्च गरिरहेका छौं । त्यस्तो खर्च के कुरामा गरिरहेका छौं ? सावधान हुन जरुरी छ ।
हामी लहैलहैमा आइरहेका छौं कि बहकाउमा आइरहेका छौं । त्यो वस्तु हाम्रो साँच्चै आवश्यकता हो वा होइन, हामीले सोच्नुपर्छ । जुन वस्तु हामीले प्रयोग गरिरहेका छौं, त्यो वस्तु गुणस्तरीय छ वा छैन ? यस्ता कुरामा अत्यन्तै चनाखो र सचेत हुनु जरुरी छ ।
आजको दिनमा खतराको घण्टी नै बजिसकेको छ । तर हामी सचेत भएका छैनौं । हामीले आफ्नै पूर्खासँग दाज्यौं भने पनि हेर्नुस्, हामीले सेवन गर्ने हरेक खाद्यपदार्थमा रामभरोसामा छौं । हामीलाई न त्यो सामग्रीको स्रोत थाहा छ । न कहाँ बनेको, कहाँबाट आएको थाहा छ । तरकारी, मासुदेखि लिएर हामीले प्रयोग गर्ने प्याकेटका खानेकुराका बारेमा हामीलाई केही थाहा छैन । ती सामग्री खानयोग्य हुन् कि होइनन् । हामीलाई थाहा छैन । जबकि यस्ता खानेकुरा हाम्रो भान्सासम्म आइपुग्दा धेरैवटा हात फेरिसकेको हुन्छ ।
विगतको अवस्था फरक थियो ।
कसैलाई यो चामल कहाँबाट आएको हो भन्दा मेरो खेतमा उब्जेको भन्थे । साग कहाँबाट आएको हो भन्दा मेरो घर पछाडि सानो बारी छ त्यहींबाट ल्याएको भन्थे । मासु कहाँबाट आयो भन्दा खोरमा दुई-चार कुखुरा पालेको थिएँ आज काटेको भन्थे । दूध कहाँबाट आयो भन्दा घरमा भैंसी पालेको छ त्यहींबाट आएको हो भन्थे । सबै खानाको हामीलाई स्रोत थाहा हुन्थ्यो ।
चाहे हामी पहिला मोटो खस्रो नै किन नखाऔं, सबै खानाको स्रोत थाहा हुन्थ्यो । तर अहिले कहाँ त्यस्तो हुन्छ ?
हामीले खाने चिप्स, बिस्कुट उत्पादन कम्पनीले खर्च गर्ने विज्ञापनमा र बाहिरी प्याकेजिङमा भित्रको गुदी भन्दा बढी खर्च गरेका हुन्छन् । कहिलेकाहीं हामी यस्तो वस्तु किनिरहेका हुन्छौं, जसको मूल्य त्यसभित्र रहेको खानेकुरा भन्दा बढी हुन्छ । अर्थात् खोल एवं त्यसको प्याकेट महंगो हुन्छ, त्यसमा रहेको खानेकुरा भन्दा । प्याकेट भित्रको चिप्स त १५-२० वटा हुन्छ । तर प्याकेटको निकै धेरै पैसा पर्छ । बाहिरको प्याकेजिङ निकै झिल्के हुन्छ । हामी एउटा चिप्स खान २५-३० रुपैयाँ तिर्छौं, तर त्यसको ६०-७० प्रतिशत पैसा प्याकेजिङमा खर्च हुन्छ ।
हामी उपभोग गर्ने बिन्दुमा आइसकेका छौं । २१ औं शताब्दीको यो ठाउँमा पुग्दा हामी सबै उपभोक्ता भइसकेका छौं । तर अबको खुड्किला भनेको हामी उपभोक्ताले आफूले प्रयोग गर्ने वस्तुमा, खाद्यान्नमा कसरी सचेत हुनुपर्छ भन्ने हो । हरेक व्यक्ति आफैंमा एउटा शक्ति हो । हरेक व्यक्तिले निर्णय लिन सक्छ । व्यक्तिले निर्णय लिएपछि समाजले लिन्छ । समाजले लिएपछि राष्ट्रले लिन्छ र राष्ट्रले लिएपछि सरकार नीति ल्याउन बाध्य हुन्छ ।
हामी अहिले निकै परिवर्तनशील समाजमा आएका छौं । हाम्रो परिवर्तनको लामो इतिहास छैन । अहिलेको अवस्था कस्तो छ भने एक लाख रुपैयाँ दिएर मोबाइल ल्याइदिनुपर्यो भन्यो भने २०-२५ मिनेटमा ल्याइदिन्छन् । तर एक घण्टामा शुद्ध पिउनयोग्य स्रोतको एक लिटर पानी ल्याइदिनु भन्यो भने त्यो उपलब्ध हुँदैन । गाईभैंसीको शुद्ध दूध ल्याइदिनु भनियो भने पाउन सकिंदैन । हामी यस्तो परिस्थितिमा छौं ।
त्यसैले यी कुरामा हामी सतर्क हुनुपर्ने बेला भएको छ । आफ्नो स्वास्थ्यका लागि हरेक उपभोक्ता जागरुक र सचेत हुनुपर्ने अवस्था छ ।
(अभिनेता हमालले केही दिनअघि नेपाली उपभोक्ता संरक्षण महासंघको प्रथम राष्ट्रिय महाअधिवेशन तथा स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा राखेको विचारको सम्पादित अंश)
प्रतिक्रिया 4