+
+

नेपाली बैंकलाई पाठ सिकाउने पोखराको ‘एटीएम हाइस्ट’

एक वर्ष नबित्दै पोखरामा ८ वटा एटीएम फोड्ने प्रयास

विकास रोकामगर विकास रोकामगर
२०७९ भदौ ५ गते २०:०४
अनिष तामाङ ।

५ भदौ, पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीलाई साउन ४ गते बिहान २ बजे एउटा सूचना आयो, ‘पोखरा वडा नं २७ तालचोकस्थित एनआईसी एसिया बैंकको मेसिन फोड्ने प्रयास भइरहेको छ ।’ यो सूचना बैंकको प्रधान कार्यालयबाट आएको थियो ।

प्रहरी कार्यालयमा सूचना आएको ५ मिनेटमै प्रहरीको टोली त्यहाँ पुग्यो । त्यहाँ पुग्दा एटीएम फोड्ने प्रयास भएको देखियो । तर, अभियुक्त भेटिएनन् । अभियुक्त त्यहाँबाट फरार भए पनि प्रहरीले तत्काल सीसीटीभी फुटेज हेर्‍यो र हुलिया टिपोट गर्‍यो ।

प्रहरीले सोही दिन राति नै हुलियाको आधारमा शंकित व्यक्तिको खोजी गर्दै जाँदा सवा ३ बजेको आसपासमा ग १० प २९६३ नम्बरको बुलेट मोटरसाइकल र हेलमेट कोलेफाँटमा फेला पर्‍यो ।

त्यही दिन बिहान ६ बजे पोखराको अर्घौंचोकस्थित एनएमबि बैंकको एटीएम मेसिन फोडेर चोरी भएको जानकारी प्रहरीलाई आयो । अघिल्लो घटनाको ५ घण्टा नबित्दै फेरि अर्को एटीएम फोडिएको सूचना प्रहरीलाई आएको थियो ।

प्रहरी त्यहाँ पुगेर हेर्दा राति २ बजे एनआईसी बैंकको एटीएम फोड्ने प्रयासमात्रै भए पनि एनएमबिको भने फोडिएकोमात्रै थिएन, २ वटा क्यासकेटमा रहेको १४ लाख ७१ हजार रुपैयाँ चोरी भइसकेको थियो । सीसीटीभी फुटेज चेक गर्दा दुवै एटीएम बुथमा एउटै हुलियाको व्यक्ति संलग्न भएको पत्ता लगायो ।

‘त्यतिबेला बैंक (एनएमबि)ले पनि प्रहरीलाई सूचना नै ढिलो दियो । तालचोकको घटनाभन्दा पहिले नै चोरी भइसकेको भए पनि हामीलाई बिहानमात्रै थाहा भयो,’ जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी अजय केसीले भने, ‘ढिलो सूचना पाउँदा उल्टै प्रहरीको सुरक्षामाथि पनि धेरै प्रश्न उठ्यो । वास्तवमा त्यो हाम्रो गल्ती थिएन ।’

कालो कपडामा हेल्मेट लगाएर चोरी गरिरहेको सीसीटीभी फुटेज लिएर शंकित व्यक्तिको खोजी जारी गरे पनि प्रहरी नतिजामा पुग्न सकिरहेको थिएन । पछि खोजतालकै क्रममा उक्त बाइक धनी पोखरा वडा नं. ३० कै विजय गौतम रहेको पत्ता लागे पनि एटीएम फोडिएको रात नै आफ्नो मोटरसाइकल चोरी भएको उनले बताएका थिए । त्यसपछि झन् प्रहरीको टाउको दुखाइ बनेको थियो ।

प्रहरीले करिब एक महिना लगाएर आरोपीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वी नवलपरासीको देवचुली नगरपालिका ५, घर भई हाल पोखरा वडा नं. ३० डुँडाको मुख बस्ने २१ वर्षीय भेडे भनिने अनिष तामाङ छन् ।

तामाङलाई भदौ २ गते रुपन्देहीकोे बेलहिया नाकाबाट भारत जाने क्रममा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी अजय केसीले जानकारी दिए । प्रारम्भिक अनुसन्धानका क्रममा उनी कक्षा ९ मा अध्ययनरत रहे पनि आइटीमा राम्रो ज्ञान भएको भेटिएको उनले सुनाए ।

पक्राउ परेका तामाङले उक्त दिन साथीको कोठाबाट मादक पदार्थ सेवन गरी निस्किनेबेला बाइक चोरी गरेको र त्यसपछि एउटा बैंकको एटीएमबाट पैसा चोरी गरेको बयानका क्रममा बताएका छन् । ‘अर्को बैंकको एटीएम फोड्न खोज्दा नसकेपछि बाइक पनि छोडेर भागेको हुँ,’ तामाङको भनाइ उदृत गर्दै एसपी केसीले भने । उनलाई प्रहरीले सोमबार सार्वजनिक गरेको हो ।

तामाङले चोरी गरेको रकमबाट एउटा आइफोन र बाइक खरिद गरेको भेटिए पनि बाँकी रकम के गरे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीबाट प्रहरीले १९ हजार रुपैयाँमात्र बरामद गरेको छ । चोरी तथा डाँकासम्बन्धी कसुरमा तामाङलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थपरे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले पत्ता लगाएको बैंकको त्यो कमजोरी

तर, एटीएम फोड्ने प्रयास भएका अन्य घटना केलाउँदा प्रहरी एउटा निक्र्यौलमा पुग्यो, ‘नेपालका एटीएम मेसिन नै कमजोर तरिकाले ‘लक’ गरिएका छन् । सबै एटीएम असुरक्षित छन् ।’

जिल्ला प्रहरी कार्यालयका अनुसार अघिल्लो कात्तिकदेखि पोखरामा ८ वटा एटीएम मेसिन फोड्ने प्रयास भएका छन् । जसमध्ये वैशाखयताका मात्रै ४ वटा छन् । ८ वटा एटीएम मेसिन फोड्ने प्रयास हुँदा एउटामात्रै सफल भएका छन् । तर, पनि बढ्दो घटना प्रहरी र बैंकका लागि चुनौती बनेको थियो ।

लगातार बैंकका एटीएम चोरका निसाना पर्न थालेपछि कास्की प्रहरीले टिम नै गठन गरेर यसको अनुसन्धान अघि बढायो । जसको नाम दियो, ‘अपरेसन एटीएम हाइस्ट ।’

अनुसन्धान अधिकृत, आइटी विज्ञसहितको उक्त अपरेसन टोलीले अनुसन्धानका क्रममा पोखराको मात्रै नभएर नेपालभरिका सबै एटीएम बुथमा राखिएका एटीएम मेसिनमा भेण्डरकै कमजोरी देखिएको जिल्ला प्रहरी कार्यालयले केन्द्रलाई भेटिएका तथ्यसहितको ‘प्रिजेन्टेसन’ पठायो ।

कास्की प्रहरीले पत्ता लगाएको ती तथ्यकै आधारमा अहिले केन्द्रीय प्रहरी कार्यालयले सबै सरोकारवाला निकायलाई एटीएमको कमजोरी सुधार्न परिपत्र जारी गरेको छ ।

‘एटीएममा २ तहको लक हुँदो रहेछ । तर, बैंकहरुले बाहिरकोमात्रै लक गरेर भित्रको भल्ट नलगाउँदा रहेछन् । बाहिरको भन्दा भित्रको भल्ट सुरक्षित हुने भए पनि सबै बैंकले त्यसमा ध्यान नदिएको पाइयो,’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीले भने, ‘यसबारे केन्द्रलाई जानकारी दिएपछि परिपत्र नै जारी भएको छ । यो हाम्रो ठूलो उपलब्धि हो ।’

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?