+
+

मेरो नाम र कागजपत्रको दुरुपयोग गर्नेमाथि कानुनी प्रक्रियामा जान्छु : केकी अधिकारी

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ८ गते १३:५५

काठमाडौं । अभिनेत्री केकी अधिकारीले ‘तिम्रो नजर’ नामक फिल्म निर्माण गर्ने कार्यमा आफ्नो नाम र कागजपत्रको दुरुपयोग गरेको समाचारप्रति आपत्ति जनाएकी छन् । उनले उक्त शीर्षकको फिल्म निर्माण गर्ने कम्पनी भनिएको ‘ब्लु बर्ड एचडी’सँग आफूले काम गर्ने कुनै पनि सम्झौता नगरेको बताएकी छन् ।

बुधबार केही सञ्चारमाध्यममा नर्वेमा फिल्म ‘तिम्रो नजर’ छायांकनका लागि अभिनेत्री केकी अधिकारी र अभिनेता आर्यन सिग्देलले दिएको भिसा आवेदनमा नक्कली कागजपत्र पेश गरेको भन्ने समाचार प्रकाशित भएपछि केकीले सामाजिक सञ्जालमार्फत यसको खण्डन गरेकी हुन् ।

उनले यस्तो कार्यप्रति आफूलाई कुनै पूर्व जानकारी नभएको बताउँदै आफ्नो कागजपत्र र हस्ताक्षर दुरुपयोग गरेको पाइए कानुनी उपचारमा जाने समेत चेतावनी दिएकी छन् ।

उनले फेसबुकमा लेखेकी छन्, ‘यस किसिमको अवान्छित गतिविधिबारे कुनै पूर्व जानकारी थिएन । साथै मेरो व्यक्तिगत विवरण समेटिएको सरकारी कागजपत्र, हस्ताक्षर र नामको दुरुपयोग गरी गैरकानुनी क्रियाकलाप गरिएको रहेछ भने दोषीउपर कडा कारवाही गर्न सम्बन्धित निकायालाई निवेदन दिन चाहन्छु ।’

नर्वेमा फिल्म छायांकन गर्न भारतस्थित नर्वेजियन दूतावासमा पेश गरिएको कागजपत्रमा नेपाल पर्यटन बोर्डको लेटरप्याड र कार्यकारी प्रमुखको हस्ताक्षर नक्कली प्रयोग भएको खुलेको थियो ।

नर्वेजियन दूतावासले फिल्म छायांकनका लागि कलाकारसहितको भिसा आवेदन परेपछि बोर्डसँग फोनमार्फत जानकारी लिएको थियो । तर बोर्डले अनुमति नमागेको जानकारी गराएपछि नक्कली कागजपत्र पेश गरेको खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?