+
+

१ अर्ब बढीमा बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तयार, कार्यविधि नबन्दा सञ्चालनमा अन्योल

टोपराज शर्मा टोपराज शर्मा
२०७९ भदौ ८ गते १९:४४

८ भदौ, बुटवल । बुटवलमा काठमाडौं बाहिरको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माण पूरा भएको छ । बुटवल–१० स्थित बुटवल मण्डपको साढे ६ बिघा क्षेत्रफलमा एक हजार जना क्षमताको मुख्य हल र अन्य १२ वटा हल सहितको सम्मेलन केन्द्र बनेको हो ।

संघीय सरकारको शहरी विकास तथा भवन निर्माण विभागले १ अर्ब ११ करोडको लागतमा बनाएको सम्मेलन केन्द्रमा १३ वटा वातानुकूलित हल छन् ।

२०७१ साल पुसदेखि निर्माण सुरु गरिएको सम्मेलन केन्द्र दुई चरण गरेर सम्पन्न भएको हो । कोरोना (कोभिड–१९) महामारीका कारण र रुख कटानमा ढिलाइ हुँदा आयोजनाको दोस्रो चरणको काम २०७६ कार्तिकसम्म पूरा गर्ने गरी २०७४ सालमा सम्झौता भएको थियो ।

तोकिएको समयमा काम नगरेपछि २०७९ साल कात्तिकसम्म म्याद थप गरिएको थियो । थप भएको म्याद अगावै २०७९ असारमै निर्माण सम्पन्न भएको बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताए ।

आकाशबाट हेर्दा नेपालको झण्डा आकारमा तयार पारिएको सम्मेलन केन्द्रको मुख्य हल (अडिटोरियम हल) मा बाल्कोनी र भुँई तलामा गरी ८ सय ७२ वटा कुर्सी जडान गरिएको छ ।
यस्तै सम्मेलन केन्द्रमा ५० र ४२ सिट क्षमताका दुई वटा लेक्चर हल तथा ८० र ३०० जना क्षमताका सेमिनार हल छन् । यस्तै ७२ जनादेखि १२६ जना क्षमताका ६ वटा मिटिङ हल, तथा ३५० र ५८६ जना क्षमताका थप २ वटा हल छन् । सबै हलमा एक पटकमा २९ सय जना अटाउन सक्ने आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताए । सम्मेलन केन्द्रका १७ सय कुर्सी आवश्यकता अनुसार सार्न मिल्ने छन् । अपांगमैत्री सम्मेलन केन्द्रमा चार सयवटा चार पाङ्ग्रे र ४ सयवटा मोटरसाइकल राख्न मिल्ने गरी पार्किङ स्थल र हेलिप्याड समेत बनाइएको छ ।

सम्मेलन केन्द्रमा बाल उद्यान, क्यान्टिन, सर्भिस भवन, कर्मचारी आवास, वाटर फाउन्टेन, पानी पोखरी र प्रवेश हुने र बाहिरिने गरी ५ वटा वटा अलग अलग गेट बनेका छन् । जसमध्ये एउटा भीआईपी गेट छ । प्रत्येक गेटमा सुरक्षागार्ड घर र टिकट काउण्टर समेत बनाइएको छ ।

विद्युतका लागि ६ सय ३० केभीए क्षमताको ट्रान्सफर्मर र खानेपानीका लागि बोरिङ पनि छुट्टै बनाइएको छ । सम्मेलन केन्द्र प्रवेश गर्दा आकर्षक बनाउन केही भागमा दुबो लगाइएको छ भने सभाहल अगाडि पोखरी निर्माण गरिएको छ । जमिन मुनिको पानी रिचार्ज गर्न ८ वटा रिचार्ज पटि पनि बनाइएको छ ।

सम्मेलन केन्द्रसँगैको ६ बिघा जग्गामा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र समेत बन्दै छ । प्रदर्शनी केन्द्र र सम्मेलन केन्द्र दुवैलाई मिल्ने गरी पार्किङ स्थल र प्रवेशद्वार बनेका छन् । सम्मेलन केन्द्र बनेसँगै सानादेखि ठूला सममेलन र सेमिनारहरु गर्न ठाउँ अभावको समस्या हट्ने रुपन्देही ब्यापार संघका अध्यक्ष कृष्ण घिमिरेले बताए ।

मसिक खर्च ३ करोड बढी

निर्माण सम्पन्न भइसकेको सम्मेलन केन्द्र सञ्चालनको लागि कार्यविधि नबन्दा कहिलेदेखि सञ्चालन हुन्छ भन्ने अन्योलता छ ।

सम्मेलन केन्द्र रेखदेख र सरसफाइ, खपत नगरे पनि मासिक एक लाख बढी विद्युत् महसुल लगायतमा मासिक १४ लाख बढी खर्च हुने र सम्मेलन केन्द्र सञ्चालनमा आउँदा मासिक ३ करोड बढी खर्च आउने आयोजना प्रमुख पन्थीले बताए ।

निकै ठूलो खर्च रहेकाले दीगो सञ्चालन कसरी गर्न सकिन्छ भनेर उपयुक्त कार्यविधि बनाउने क्रममा रहेको उनले बताए । सकेसम्म निजी क्षेत्रलाई मात्रै नदिएर सार्वजनिक निजी साझेदारी मोडेलमा सञ्चालन गर्ने गरी संघ, प्रदेश र स्थानीय तहका सरकारबीच सञ्चालन मोडालिटीबारे छलफल भइरहेको आयोजना प्रमुख पन्थीले बताए ।

बुटवल प्रदेशको राजधानी हुने अनुमानका साथ सम्मेलन केन्द्र बनाइए पनि स्थायी राजधानी दाङको भालुुवाङ तोकिएकाले सम्मेलन केन्द्र सञ्चालनमा चुनौती हुुनसक्ने देखिएको छ ।

११ गते प्रधानमन्त्रीले उद्घाटन गर्ने

सम्मेलन केन्द्रको यही ११ भदौमा प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । आयोजना प्रमुख पन्थीले प्रधानमन्त्री देउवाबाट उद्घाटन गर्ने गरी तयारी भइरहेको बताए ।

नेकपा एमालेको बुटवलमा भएको आठौं महाधिवेशनले बुटवल मण्डपमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउन आवश्यक रहेको एजेण्डा पारित गरे अनुरुप आफूले बुटवलको ‘ड्रिम पोजेक्ट’का रुपमा यो योजना अघि बढाएको र आफ्नै पहलमा वजेट विनियोजन गरेको पुर्व अर्थमन्त्री समेत रहेका रुपन्देही–२ का प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले बताए ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?