+
+

भिजिट भिसामा खाडी मुलुक जान लागेका १९७ जना विमानस्थलबाट फर्काइए

नक्कली कागजातको आशंका

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ११ गते २१:५१

११ भदौ, काठमाडौं । नक्कली कागजातका आधारमा भिजिट भिसाका लागि खाडी मुलुक जाने प्रयास गरेको आशंका १९७ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले बुधबारदेखि शनिबारसम्म चलाएको अपरेशनका क्रममा उनीहरुलाई विमानस्थलबाट फर्काइएको हो ।

कार्यालयका प्रमुख डीआईजी श्यामलाल ज्ञवालीका अनुसार विभिन्न एयरलाइन्समार्फत भिजिट भिसामा जान लागेका व्यक्तिहरु शंकास्पद लागेपछि सोधपुछ गरिएकोे थियो । त्यसक्रममा विस्तृत अनुसन्धान आवश्यक देखिएपछि मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहल बुझाइएको ज्ञवालीले बताए ।

उनीहरुलाई विमानस्थलको प्रस्थान क्षेत्रमा चेकजाँच गर्दा हवाई अनुमतिका लागि आवश्यक कागजातहरु शंकास्पद देखिएको थियो । यसरी विमानस्थलबाट फर्काइएका मध्ये १०३ जना महिला र ९४ जना पुरुष छन् ।

भिजिट भिसामा खाडी मुलुक गएका नागरिकहरु अलपत्र पर्न थालेपछि गृह मन्त्रालयका सह–सचिव फणिन्द्रमणि पोखरेलको नेतृत्वमा कार्यदल बनाएर जाँचबुझ गरेको थियो । त्यसको सिफारिस अनुसार भिजिट भिसा सम्बन्धी मापदण्डलाई कडाइ गर्दै भिजिट भिसामा पठाउन सक्रिय व्यक्ति तथा संस्थाहरुको गतिविधिलाई निगरानीमा राख्नुपर्ने निष्कर्ष निकालेको थियो ।

भिजिट भिसामा आफन्तबाहेक जाँदा कम्तिमा १० लाख आय हुनुपर्ने पनि भनिएको थियो । त्यसको ५० प्रतिशत बैंकमा मौज्दात हुनुपर्ने भनिएको थियो । विदेशमा आफन्तले बोलाउँदा वा भिजिट भिसा प्रयोजनमा भट्न जाने विषयलाई श्रीमान श्रीमती, बाबुआमा, दाजुभाइ, सासुससुरा र छोराछोरीमा मात्र सीमित गरिएको थियो ।

नागरिकताबाट नाता खुल्नेको हकमा प्रमाणीकरण आवश्यक नपर्ने पनि भनिएको छ ।

नाता प्रमाणित आवश्यक पर्ने हकमा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणित भएको र त्यसको प्रति सम्बन्धित स्थानीय तहले अध्यागमन कार्यालयबाट हेर्नसक्ने गरी सूचना प्रणालीमा अपलोड गरेको हुनुपर्ने भनिएको थियो । तर यस्ता कागजातहरु नै कीर्ते गरेर भिजिट भिसामा पठाउने गरिएको आशंका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?