+
+

रोल्पामा बस्ला कांग्रेस-माओवादी पिरती ?

महेश न्यौपाने महेश न्यौपाने
२०७९ भदौ १५ गते २०:५४

१५ भदौ, रोल्पा । सशस्त्र द्वन्द्वको केन्द्र रोल्पामा नेपाली कांग्रेस र माओवादी सधै प्रतिद्वन्द्वी रहे । १० वर्ष लामो सशस्त्र द्वन्द्वकालमा राज्य पक्षबाट ७६२ र माओवादी पक्षबाट १६५ जनाको ज्यान गएको थियो । राज्य पक्षवाट मारिएका गरिएका अधिकांश माओवादी कार्यकर्ता तथा समर्थक थिए भने माओवादीवाट हत्या गरिएका अधिकांश कांग्रेस कार्यकर्ता ।

कांग्रेस नेतृत्वको पहलमा माओवादी शान्ति प्रक्रिया आयो, तर रोल्पामा दुई दलको सम्बन्ध उस्तै रहृयो । कतिसम्म भने दुवै दल एउटै सरकारमा रहेर चुनावी तालेमल गर्दा पनि रोल्पामा कांग्रेस र माओवादीको प्रतिद्वन्द्वीता कायमै रहृयो ।

३० वैशाखको स्थानीय चुनावमा कांग्रेस र माओवादीसहित सत्तारुढ दलले देशभर तालमेलको प्रयास गरे । तर रोल्पामा कांग्रेसले केही पालिकामा एमाले मिलेर माओवादीलाई हराउन खोज्यो भने माओवादी केन्द्रले केही पालिकामा एकीकृत समाजवादीको साथ लिएर कांग्रेस-एमालेको चुनौती सामना गर्‍यो ।

आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भने माओवादी कांग्रेस सम्बन्ध सुधार गर्न तयार देखिएका छन् । रोल्पामा पानी बाराबारको अवस्थामा रहेका कांग्रेस र माओवादीका रोल्पाली नेताहरुले सहकार्यको हात बढाउने छनक लिएका छन् ।

माओवादी केन्द्र, रोल्पाले स्थानीय तहस्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रम गरिरहेको छ भने नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान चलाइरहेको छ । उम्मेदवार सिफारिस गर्नुअघि दुवै दलका नेताहरु सिट बाँडफाँटका लाागि सम्वादमा पनि छन् । ‘सधै पानी बाराबारको अवस्थामा रहेका कांग्रेस र माओवादी, रोल्पा रुकुममा पनि मिले भन्ने सन्देश दिने गरी काम गरिरहेका छौं,’ कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनमगर भन्छन् ।

वडाध्यक्षको उम्मेदवारले पाएको मतका आधारमा हेर्दा माओवादी केन्द्रले ४० हजार ७९१ मत पाएको छ । कांग्रेसले २४ हजार ६६४, एमाले १५ हजार ३०१, राप्रपाले १२१८ र एकीकृत समाजवादीले ९५० मत प्राप्त गरेको छ ।\

कांग्रेसबाट प्रदेश सभापति पुन आफैं प्रतिनिधिसभा सदस्यको उम्मेदवारका आकांक्षी हुन् । २०७४ मा माओवादी केन्द्रबाट वर्षमान पुन निर्वाचित भएका थिए । कांग्रेस प्रदेश सभापति पुनका अनुसार माओवादी नेताहरूले उनलाई प्रदेशसभा रोज्न आग्रह गर्दै आएका छन् । उनले भने, ‘माओवादी केन्द्रका नेताहरुलाई अन्य निर्वाचन क्षेत्रमा गएर उम्मेदवार बन्न कांग्रेसलाई जत्ति अप्ठयारो छैन । त्यसैले रोल्पा कांग्रेसलाई छाडदिन आग्रह गरेको छु ।’

तर संगठन र जनमतका हिसाबले माओवादीको जनाधार भएका जिल्ला भएकाले गठबन्धन गर्दा प्रतिनिधिसभा छाड्नुपर्ने अवस्था आउनसक्छ भने उनले बुझेका छन् । भन्छन्, ‘कांग्रेसको पनि संगठन कमजोर संगठन छैन । प्रतिनिधिसभा माओवादीलाई दिने र प्रदेश सभा कांग्रेसले लिने गरी तालमेल हुनसक्छ ।’

माओवादी केन्द्रले भने यसबारे केही बोलेको छैन । वहालबाला सांसद वर्षमान पुन स्वभाविक दावेदार भए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी पनि आकांक्षी छन् ।

२०७४ सालको प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्र र नेकपा एमाले वामगठबन्धन बनाएर चुनाव लडेका थिए ।

वाम गठवन्धनका साझा उम्मेदवार पुनले कांग्रेसका अमरसिंह पुनलाई २० हजारभन्दा बढी मतान्तरले हराएका थिए । पुनले ४२ हजार ८४ मत प्राप्त गरेका थिए, जुन कुल मतको ६४.४५ प्रतिशत हो । कांग्रेसका अमरसिंह पुनले २० हजार ३३७ मत पाएका थिए । एकीकृत राप्रपा राष्ट्रवादीका रामबहादुर वली क्षेत्रीले एक हजार १९१ मत पाउँदा राष्ट्रिय जनमोर्चाका मेघनाथ विष्टले ६५६ मत पाएका थिए । निर्वाचनमा ८ जना उमेदवारले प्रतिस्पर्धा गरेका थिए ।

समानुपातिक तर्फ माओवादीले २७ हजार २२० मत प्राप्त गरेको थियो । कांग्रेसले १५ हजार ८४७ र एमालेले १० हजाार ५४५ मत प्राप्त गरेका थिए । राप्रपाले १८३३, राप्रपा प्रजातान्त्रिकले ६७५, राष्ट्रिय जनमोर्चाले ४३८, मालेले १०५९ र एकीकृत राप्रपा राष्ट्रवादीले ३३४ मत प्राप्त गरेका थिए ।

३० वैशाखको स्थानीय चुनावमा माओवादी केन्द्रले १० मध्ये ७ स्थानीय तहको अध्यक्ष र उपाध्यक्ष जितेको थियो । कांग्रेसले २ अध्यक्ष र ३ उपाध्यक्ष जित्दा नेकपा एमालेले १ अध्यक्ष जितेको थियो । ७२ वडामध्ये माओवादीले ४८, कांग्रेसले १४, एमालेले ८, एकीकृत समाजवादी र स्वतन्त्रले १/१ वडाध्यक्ष जितेका थिए ।

वडाध्यक्षको उम्मेदवारले पाएको मतका आधारमा हेर्दा माओवादी केन्द्रले ४० हजार ७९१ मत पाएको छ । कांग्रेसले २४ हजार ६६४, एमाले १५ हजार ३०१, राप्रपाले १२१८ र एकीकृत समाजवादीले ९५० मत प्राप्त गरेको छ ।

मुख्य प्रतिस्पर्धी कांग्रेस, माओवादीलाई सघाउने मनस्थितिमा पुगेपछि एमाले भने आसन्न निर्वाचनमा दुवै दलको मत तानेर आफ्नो भोट बढाउने रणनीतिमा जुटेको छ । दुवै पार्टीका असन्तुष्ट कार्यकर्ताको मत तान्न सक्दा विगतमा प्राप्त गरेकोभन्दा धेरै मत प्राप्त गर्ने एमाले रोल्पाको वुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?