+
+

जबरालाई मीन विश्वकर्माको प्रश्न : ललिता निवासको पेशी पटकपटक सारेर बार्गेनिङ गरेको होइन ?

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १६ गते १६:१४

१६ भदौ, काठमाडौं । बयानका लागि दोस्रो दिन महाअभियोग सिफारिस समितिमा उपस्थित भएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्माबीच ललिता निवासको मुद्दालाई लिएर रोचक सवाल जवाफ भएको छ ।

आफ्नो बचाउ गर्ने क्रममा जबराले ललिता निवास जग्गा प्रकरणमा फैसला गर्ने दिन तोकेपछि महाअभियोग दर्ता भएको बताएका थिए । बिहीबार पनि उनले महाअभियोग प्रस्तावको कुनै अर्थ नरहेको दाबी गरेपछि कांग्रेस सांसद विश्वकर्माले जबरामाथि प्रश्न उठाए ।

पटकपटक पेशी तोक्ने र हेर्न नमिल्ने भनेर सार्ने गरेर जबराले बार्गेनिङ गरेको उनको आरोप छ । जबराले भने त्यसको खण्डन गरेका छन् ।

यस्तो छ, कांग्रेस सचेतक विश्वकर्मा र निलम्बित प्रधानन्यायाधीश जबराबीच भएको सवाल–जवाफ :

मीन विश्वकर्मा : हिजो प्रधानन्यायाधीशज्यूले ललिता निवासको मुद्दा मैले फैसला गर्न लागेको थिएँ, त्यसो भएर मलाई महाअभियोग प्रस्ताव आएको हुनसक्छ भनेर जवाफ दिनु भएको छ । त्यससँग सम्बन्धित वादी दिप बस्नेत भएको मुद्दामा सुरुमा आफ्नै इजलासमा राख्नुभयो पुर्पक्ष खुलाउन । ०७७/११/७ मा हरिकृष्ण कार्कीको इजलास तोक्नुभयो र तपाईले हेर्न मिल्दैन, नाता पर्छ भनेर सारिदिनुभयो । दोस्रो पटक ०७७/१२/६ मा हरिकृष्ण कार्कीलाई तोक्नुभयो र हेर्न मिल्दैन भन्दै सार्नुभयो । १२/१३ मा प्रकाशमान सिंह राउतको इजलास तोक्नुभयो र तपाईंले पनि हेर्न मिल्दैन भनेर सार्नुभयो । अन्तिममा आफ्नो इजलासमा राख्नुभयो र राणाको जग्गा रहेछ, म पनि रणा भएकाले हेर्न मिल्दैन भन्नुभयो । यसरी लगातार बार्गेनिङ गरेको, लामो समयसम्म न्यायाधीशलाई अलमल्याएको र न्याय सम्पादनमा लापरबाही गरेको देखिन्छ । त्यसैले प्रश्न नम्बर ५ प्रत्यक्ष आकर्षित हुन्छ ।

तर आरोप चाहिँ के लगाइदिनुभयो भने ललिता निवासको फैसला गर्न लागेको थिए, त्यही कारण महाअभियोग लग्यो । आफूले इजलास तोकेर कार्की भएका कारण नहुने, राउत भएका कारण नहुने, राणा भएका कारण नहुने भनेर भरपुर लापरबाही गर्ने ? यत्रो मुद्दालाई अलपत्र छाड्नु न्यायसम्पादनको त्रुटि होइन र ?

जबरा: माधव नेपालको १५ गते पेशी तोकिएको थियो, त्यही हिसाबले महाअधियोग आयो भनेर मैले भन्ने खोजेको होइन । मैले भन्न खोजेको चाहिँ के भने उहाँको मुद्दा निर्णय सुनाउनेमा थियो । ७ गतेबाट अदालतमा अवरोध सुरु भयो र १५ गतेको मुद्दा हेर्न पाइएन ।

अर्को, दिप बस्नेतको कुरा छ, यो मैले पेशी तोक्ने हो, हटाउने होइन । हाम्रो व्यवस्था के छ भने जुन न्यायाधीशकोमा पेशी तोकिएको छ, त्यो न्यायाधीशले त्यो मुद्दा आफ्नो नाताभित्र वा आफ्नो सरोकारभित्र छ भने हेर्न मिल्दैन । त्यसैले हरिकृष्ण कार्कीज्यूकोमा पेश हुँदा यो मुद्दा मैले हेर्न मिल्दैन भनेर उहाँले गरेको आदेश हो, मैले होइन । प्रकाशमान सिंह राउतले पनि मेरो नाता छ भनेर हेर्न नमिल्ने आदेश पेश गर्नु भएको होला, मैले होइन ।

जुन मैले नै लम्ब्याएको भन्ने आरोप छ, त्यो होइन । तथ्यले पुष्टि गर्दैन । यो हुन सक्दैन । आरीको मुद्दा हप्ताको एक दिन शुक्रबार पेश हुन्छ, सबै थुनुवालाई सबैतिर बाडेर राख्ने सबै न्यायाधीशकहाँ हो, त्यो भन्दा अरु होइन ।

न्याय प्रशासनको जिम्मेवारी संविधानले प्रधानन्यायाधीशलाई दिएको छ । त्यही भएर गम्भीर प्रक्रियाको मुद्दाहरु सकभर प्रधानन्यायाधीशले हेर्‍यो भने नै दायित्व निर्वाह हुन्छ । दिप बस्नेतको ज्यूकोमा त्यो जग्गा राणाजीको पर्‍यो ।

मीन विश्वकर्मा : एकै व्यक्तिले तीन पटक हेर्न नमिल्ने गरी किन उसको पारिन्छ ?

जबरा: त्यो प्रधानन्यायाधीशलाई थाहा हुन्न । पेशी चढेर हरेक मुद्दामा कुन न्यायाधीशले आदेश गर्‍यो, गरेन भन्ने थाहा हुन्न ?

मीन विश्वकर्मा :  त्यसबेला गोला प्रथा सुरु भएको थियो ?

जबरा:  थिएन, थिएन ।

मीन विश्वकर्मा : गोलाप्रथा सुरु नभएपछि किन थाहा हुन्न ?

जबरा: थाहा हुँदैन । (हाँस्दै) हजारौं मुद्दा हुन्छन्, एक दिनमा (पेशी) चढ्दा मिनिमम पनि २००/३०० मुद्दा चढ्छन् ।

मीन विश्वकर्मा : पछि त तपाईकै पालामा गोलाप्रथा सुरु भयो । तर त्योभन्दा अगाडि त तोकेरै पठाउने हो । त्यसरी पठाउँदा त हरिकृष्ण कार्कीलाई दिप बस्न्यातको मुद्दा तीन पटक …

जबरा: त्यो पटक्कै होइन, हरिकृष्णकै भनेर कहिले पनि होइन । वरिष्ठताको हिसाबले तोक्दा बेञ्च उहाँको पर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?