+
+

अमेरिकाबाट ग्राण्डस्लाम सपना पछ्याउँदै नेपालका पूर्व नम्बर वान

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७९ भदौ २१ गते ९:१२

२१ भदौ, काठमाडौं । स्वदेशमा करिअरले उचाई लिँदैगर्दा विदेशिनु नेपालका पूर्व नम्बर एक टेनिस खेलाडी अभिषेक बास्तोलाका लागि बाध्यता बन्यो । नेपालमै बसेर व्यवसायिक टेनिसको अवसर नदेखेपछि सन् २०१६ मा १८ वर्षको उमेरमै अमेरिका पुगेका अभिषेक ग्राण्डस्लाम खेल्ने सपना पूरा गर्न मिहिनेत गरिरहेका छन् ।

टेनिसको सबैभन्दा ठूलो प्रतियोगिता हो- ग्राण्डस्लाम । अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन, विम्बल्डन र यूएस ओपन गरी वर्षमा चारवटा ग्राण्डस्लाम प्रतियोगिता हुन्छन् । यो प्रतियोगितामा सिधा छनोटका लागि टेनिसको विश्व वरीयता (एटीपी)को शीर्ष २०० भित्र पर्नुपर्छ । आर्थिक अभाव, भिषा समस्यालगायत थुप्रै चुनौतीका बीच अभिषेकले आफ्नो अन्तिम लक्ष्य पछ्याइरहेका छन् ।

‘ग्राण्डस्लाम मेरो अन्तिम लक्ष्य हो । एकैपल्ट त्यहाँ पुग्न सकिंदैन । त्यसका लागि विस्तारै अघि बढिरहेको छु, प्रतिस्पर्धा धेरै छ हरेस खाएको छैन,’ अमेरिकी टेनिस प्रणालीअन्तर्गत युनिभर्सिटी खेलका डिभिजन वान टेनिस खेलाडी अभिषेकले अनलाइनखबरको कुराकानीमा भने ।

पोखरा महेन्द्रपूलका २४ वर्षीय अभिषेक १५ वर्षको उमेरमै नेपाल नम्बर एक भएका हुन् । उनले तीन प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका छन् । सन् २०१४ को १७औं एसियाली खेलकुद र २०१८ को १८औं एसियाली खेलकुदमा नेपाली टिममा रहेका उनले सन् २०१६ मा भारतमा भएको १२औं दक्षिण एसियाली खेलकुद खेलेका छन् । १८औं एसियाली खेलकुदका लागि उनी अमेरिकाबाट फर्केर छनोट प्रतियोगिता जितेका हुन् । सन् २०१३ मा चीनमा भएको युथ एसियाली खेलकुदमा पनि अभिषेकले नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएका थिए ।

सानै उमेरमा पर्याप्त सफता बटुलेपछि उनी व्यावसायिक खेलाडी बन्ने लक्ष्यसहित अमेरिका पुगे । आएपछि सुरुको एकवर्ष एएसए कलेज मायमीमा अध्ययन गरेपछि सन् २०१७ देखि एक वर्ष युनिभर्सिटी अफ टेक्सास अर्लिङटनमा खेलाडी छात्रबृत्तिमै भर्ना भए । त्यहाँबाट पूर्ण छात्रबृत्तिमै सेन्ट मेरिज कलेज, सान फ्रान्सिस्को पुगेका अभिषेकले सोही कलेजको प्रतिनिधित्व गरी डिभिजन वान टेनिस सिरिज खेलेका हुन् । ‘ग्राजुएट सकिएपछि वरीयताप्राप्त प्रतियोगिताहरु खोजी गर्दै सहभागी भइरहेको छु,’ उनले थपे ।

पाँच वर्षमा ग्राण्डस्लाम खेल्ने लक्ष्य

टेनिस महंगो खेल हो । विदेशमा बसेर आफैं कमाउँदै व्यवसायिक खेलकुदमा अगाडि बढ्ने प्रयास आफैंमा चुनौतीपूर्ण हुन्छ । अभिषेकलाई पनि यस्तै भएको छ । विश्वविद्यालयमा अध्ययनका लागि छात्रवृत्ति पाए पनि खेलका आगि आवश्यक खर्च आफैंले जोहो गर्नुपर्नेछ ।

अहिले अभिषेशको दैनिकीमा टेनिसबाहेक केही छैन । प्रतियोगिता नभएको समयमा प्रशिक्षणको काम पनि गर्छन् । यसले उनको आर्थिक संकटलाई केही हदसम्म समाधान गर्नेछ । दिनमा चार घण्टा प्रशिक्षण, दुई घण्टा जिम, रिकभरी, योगामै समय बिताउँछन् ।

‘यहाँ सबैकुरा मैले आफैं गरिरहेको छु । प्रशिक्षक र फिजियो राख्न मेरो आर्थिक क्षमताले पुग्दैन । वर्षभरि टूर गर्नका लागि ५० देखि ७० हजार डलरसम्म खर्च हुन्छ’ अभिषेक भन्छन्, ‘अहिलेसम्म कुनै स्पोन्सर पाएको छैन । आफ्नै खर्च मिलाउन सहज होस भनेर पार्टटाइम प्रशिक्षण गरिरहेको छु ।’ कुनै प्रायोजन मिल्दा करिअरमा केन्द्रित हुन सहज हुने उनको चाहना छ ।

अभिषेक एशोसिएसन अफ टेनिस प्रोफेसनल्स (एटीपी)को वरीयतामा प्रवेश पाएका छैनन् । त्यसका लागि धेरै भन्दा धेरै वरीयताप्राप्त प्रतियोगिता खेल्नुपर्छ । युनिभर्सट टेनिस रेटिङ ढयूटीआर) सिरिजमा खेल्दा पनि वरीयतामा प्रवेश पाउन सजिलो हुन्छ । त्यसबाहेक आईटीएफ प्रो सर्किट एटीपीमा प्रवेश पाउने पहिलो खुट्किलो हो । अभिषेश भन्छन्, ‘आईटीएफ प्रो सर्किटमा वर्षभरि ३०० भन्दा बढी प्रतियोगिता आयोजना हुन्छन् । एकपछि अर्को प्रतियोगिता खेल्ने र अंकहरु जोड्दै जाँदा एटीपीको वरीयतामा पर्छ सहज हुन्छ ।’

नेपाली राहदानी बाहक भएको हुनाले विश्वभरका वरीयताप्राप्त प्रतियोगिता खेल्न अभिषेकले भिषा र समयको समस्या व्यहोरेका छन् । वरीयताप्राप्त प्रतियोगितामा आयोजकहरुले आफैंले खेलाडी छनोट गर्छन् । ‘अमेरिकाबाहिरको प्रतियोगिताका लागि आवेदन दिए पनि खेल्न पाउने निश्चितता हुँदैन । तर, त्यो देशको भिषाका लागि चाहिँ अगाडि नै आवेदन दिनुपर्छ । भिषा आए पनि प्रतियोगितामा खेल्न पाइएन भने खर्चमात्र हुन्छ,’ अभिषेकले भने । अमेरिकामै अभिकतम प्रतियोगितामा सहभागी भएर वरीयतामा अटाउने उनले लक्ष्य छ ।

अभिषेकले अवको पाँच वर्षमा ग्राण्डस्लाम खेल्ने अन्तिम लक्ष्य निर्धारण गरेका छन् । त्यसका लागि उनी सुरुवाती चरणमै छन् । तत्कालको लक्ष्य अंक बढुल्दै जाने हो । ‘२९/३० वर्षको उमेर भनेको टेनिस खेल करिअरमा सबैभन्दा राम्रो गर्न सक्ने समय हो । त्यतिबेलासम्म एटीपी वरीयतामा २०० भन्दा तल आउन सकेँ भने नेपालको पहिलो ग्राण्डस्लाम खेलाडी बन्नेछु,,’ अमेरिकाको क्यालिफोर्नियामा रहेका अभिषेकले भने, ‘त्यो मेरो अन्तिम लक्ष्य हो । त्यसैका लागि मार्ग बनाउँदैछु ।

नेपालका लागि खेल्न जुनसुकै बेला तयार

सन् २०१३ देखि पाँच वर्षको बीचमा चारवटा महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितामा अवसर पाएका अभिषेकबारे अहिले नेपाल टेनिस संघलाई खासै जानकारी छैन । संघका महासचिव मनोहर मुलले अभिषेकले अमेरिकाबाट व्यवसायिक टेनिस खेलिरहेको थाहा भए पनि उनको पछिल्लो अवस्थाबारे संघलाई जानकारी नभएको छ ।

तर, अभिषेक भने आफू नेपालबाट खेल्नका लागि जुनसुकै समयमा तयार रहेको बताएका छन् । ‘नेपालबाट खेल्ने मेरो सपना नै हो । आफ्नो क्षमता र स्तरबृद्धिका लागि अमेरिका आए पनि म नेपालकै प्रतिनिधित्व गर्न चाहन्छु । संघले चाहेको अवस्थामा जुनसुकै समयमा उपलब्ध हुनेछु,’ अभिषेकले भने ।

उनले एसियाली खेलकुददेखि ओलम्पिकसम्म खेल्ने लक्ष्य बोकेका छन् । अर्को वर्ष चीनमा हुने १९औं एसियाली खेलकुदका लागि खेलाडी छनोट भइसकेको छ । अभिषेक नेपाल टिममा छैनन् । उनले यसबारे अफूलाई थाहा नभएको बताएका छन् । अमेरिकामा बसेर व्यवसायिक टेनिसका लागि प्रयास गरिरहेको खेलाडीलाई नेपालबाट अन्तर्राष्ट्रिय प्रतिनिधित्व गराउँदा पदक सम्भावना बलियो हुनेछ ।

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?