+
+

झापा ५ मा ओलीलाई रामभरोसा

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा २८ हजार ८४२ मतान्तरले विजयी एमाले अध्यक्ष केपी शर्मा ओली यसपालि त्यही झापा ५ मा रक्षात्मक स्थितिमा छन् ।

बिनु सुवेदी बिनु सुवेदी
२०७९ भदौ २४ गते २१:२९
गत ३ भदौमा झापामा समर्थकमाझ केपी शर्मा ओली ।

२४ भदौ, दमक (झापा) । स्थानीय निर्वाचन–२०७९ मा वडा अध्यक्षहरुको मत परिणामअनुसार झापाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमाले एक्लैको ४१ हजार ६१९ मत छ ।

नेपाली कांग्रेसले २२ हजार २२, नेकपा माओवादी केन्द्रले १० हजार ७८८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ८ हजार ३५३ र नेकपा एकीकृत समाजवादीले १ हजार ९८८ मत पाएका थिए ।

अहिलेसम्मको तयारीअनुसार कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धन गरेर प्रतिनिधि सभाको चुनावी मैदानमा उत्रिनेछन् । वडाध्यक्षमा पाएको मत जोड्दा तीन दलको कुल मत ३४ हजार ७९८ छ । यति मात्रै हिसाबले सोझै बताउँछ– एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा ५ गठबन्धनका उम्मेदवारलाई हराउन कुनै मेहनत गर्नुपर्दैन ।

अझ काठमाडौंबाट हेर्दा देखिने राप्रपा–एमाले सम्बन्ध र अघिल्लो आम चुनावको तालमेलका आधारमा ओलीलाई राप्रपाको पनि मत आउँछ । र, उनले सहजै जित्छन् । तर क्षेत्र नं. ५ मा झापाको अरु क्षेत्रझैं राप्रपा एमालेसँग नजिक छैन । यही क्षेत्रको दमक नगरपालिकाको प्रमुख जित्दा राप्रपाका राम थापाले गठबन्धनको बलियो साथ पाएका थिए । उनी आसन्न चुनावमा गठबन्धनलाई धोका दिने पक्षमा छैनन् ।

राप्रपाले वडामा पाएको मत गठबन्धनमा जोड्ने हो भने एमालेको भन्दा १,५३२ बढी हुनेछ । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सबभन्दा बढी मतबाट विजयी भएका र यो चुनावमा एमालेले भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेका ओलीका लागि यो सुखद हिसाब होइन ।

यसलाई राम्ररी बुझेका ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग सम्वाद बाक्लो बनाएका छन्, जसलाई झापा-३ को चुनाव जित्न एमालेको उत्तिकै साथ चाहिन्छ । लिङ्देन पनि एमालेसँग सहकार्य गर्न तयार देखिएका छन् । तर व्यक्तिगत पकड भएका दमकका मेयर थापाले नचाहेसम्म झापा-५ मा राप्रपाको सबै भोट ओलीमा नजान सक्छ ।

मेयर थापालाई गठबन्धनको गुन

२०७४ कै प्रतिनिधिसभा निर्वाचनमा राप्रपाले कांग्रेससँग तालमेल गर्दा तत्कालीन महामन्त्री लिङ्देनले भने झापामा एमाले रोजेका थिए । राप्रपाले झापा-५ मा एमाले अध्यक्ष ओलीलाई समर्थन गरेको थियो भने एमालेले झापा- ३ मा लिङ्देनलाई समर्थन गरेको थियो ।

दमकका मेयर राम थापा

त्यो बेला ओलीभन्दा लिङ्देनलाई यो सहकार्य आवश्यक थियो । किनकी झापा ५ मा चुनाव जित्न ओलीका लागि वाम गठबन्धन काफी थियो, तर लोकप्रिय भोटसहित सांसद निर्वाचित हुन चाहेका ओलीले सहकार्यको हात बढाए । लिङ्देनले पनि झापा ३ मा पनि एमालेकै सहयोगमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरे ।

यो पटक परिस्थिति फेरियो । ०७४ मा वाम गठबन्धनमा रहेको माओवादी केन्द्रसँगै एमालेसँग फुटेर बनेको एकीकृत समाजवादी कांग्रेसतिर लाग्यो । सत्तारुढ पाँचदलीय गठबन्धनले अरु दलसँग सहकार्य नगर्ने निर्णय गरेपछि एमाले र राप्रपा फेरि नजिकिने अवस्था बन्यो ।

एमाले दमकको मेयरमा राप्रपाका राम थापालाई समर्थन गर्न पनि तयार भयो । तर शर्त राख्यो, आफ्नो निर्वाचन चिह्न सूर्यबाट लड्नुपर्ने । ‘मलाई त्यसो गर्नु नैतिक होइन भन्ने लाग्यो’ थापा भन्छन्, ‘हलो चिह्न छोड्न मन लागेन ।’ त्यसपछि उनले सत्तारुढ गठबन्धनसँग सम्वाद गरे ।

झापा ५ मा राप्रपा नेता राम थापाको लोकप्रियतालाई आफ्नो पोल्टामा पार्न अहिले एमाले र सत्ता गठबन्धनका नेताहरु बारम्बार उनीसित खुशामद गरिरहेका छन् । ठूला दलका ठूला नेताहरुको फोन कल र भेटघाट बढेको स्वयं थापाले बताए ।

सत्ता गठबन्धनमा दमक नगरपालिका माओवादी केन्द्रको भागमा परेको थियो । ओलीको निर्वाचन क्षेत्रमा एमालेलाई हराउन माओवादी गठबन्धनको निर्णय विपरीत राप्रपासँग तालमेल गर्न तयार भयो । ‘हामीले जित्नुभन्दा पनि एमालेको दम्भ तोड्नु बढी महत्वपूर्ण हो भन्ने महसुस भएकोले राप्रपालाई सहयोग गर्ने निर्णय भयो,’ नेकपा माओवादी केन्द्रका दमक सह–इन्चार्ज तीर्थराज बस्नेत भन्छन् ।

पार्टी नीति विपरीत सत्ता गठबन्धनसँग गठबन्धन गरेको भन्दै राप्रपा अध्यक्ष लिङ्देन, थापाको भोट माग्ने सभामा एकपटक पनि आएनन् । एमाले अध्यक्ष ओली पटक–पटक दमक आए, दमकको निर्वाचनलाई अन्तर्राष्ट्रिय स्तरबाट हेरिएको भन्दै भाषण गरे । तर पार्टीका उम्मेदवारलाई जिताउन सकेनन् । राप्रपाका राम थापा मेयर चुनिए ।

आफ्नै पार्टी अध्यक्षको असहयोग रहेको प्रतिस्पर्धामा कांग्रेस–माओवादीको साथ पाएर दमकको मेयर बनेका थापा आसन्न प्रतिनिधिसभा निर्वाचनमा निःशर्त सत्ता गठबन्धनको उम्मेदवारलाई सघाउन चाहन्छन् । उनका लागि यो कदम चाल्न सहज पनि छैन । ‘म राप्रपाको प्रदेश अध्यक्ष पनि हुँ । केन्द्रीय नीति अर्कै भयो र मैले गर्दा देशभर पार्टी पराजित हुने स्थिति आयो भने फरक पर्नसक्छ’, मेयर थापाले अनलाइनखबरसँग भने, ‘त्यसैले चुपचाप बसिरहेको छु ।’

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ झापा ५ मा राप्रपाले ९ हजार मत पाएको थियो । यो पार्टी झापाभरमै दमकमा बढी बलियो छ, यसको कारण राम थापा नै मानिन्छन् । थापाको लोकप्रियतालाई आफ्नो पोल्टामा पार्न अहिले एमाले र सत्ता गठबन्धनका नेताहरु बारम्बार उनीसित खुशामद गरिरहेका छन् । ठूला दलका ठूला नेताहरुको फोन कल र भेटघाट बढेको स्वयं थापाले बताए ।

२०३६ सालको जनमत संग्रहपछि ३९ सालमा भएको दमक नगरपञ्चायतको निर्वाचनमा थापाले वडा नम्बर १२ मा अध्यक्ष जितेका थिए । त्यसपछि लगातार १५ वर्षसम्म त्यही वडाका अध्यक्ष भए । त्यहाँ हालसम्म राप्रपाबाहेक अर्काे पार्टीले नजितेको उनी बताउँछन् । अहिले वडा नम्बर ७ रहेको त्यस क्षेत्रमा राप्रपाका भीम पौडेल अध्यक्ष छन् ।

खासमा थापा दमकको निर्वाचित प्रधानपञ्च या मेयर बन्ने आकांक्षा राख्थे । वडाध्यक्ष चलाउँदा चलाउँदै मुलुकमा बहुदल आयो । उनी २०५४ र ०७४ मा मेयरमा उठे । तर दुवै पटक दोस्रो भए । यसपालिको स्थानीय चुनावमा दलहरुबीच गठबन्धन भयो, एमाले एकातिर बाँकी अर्काेतिर भए ।

‘झापामा संगठन र संयन्त्रमा एमाले निकै बलियो छ’, थापा भन्छन्, ‘गठबन्धनले राप्रपाबिना एमालेलाई हराउन नसक्ने र मैले गठबन्धनबिना चुनाव नजित्ने अवस्थाले हामीलाई एक ठाउँमा ल्यायो । यो गठबन्धनलाई आउँदो पाँच वर्षसम्म लैजाने भद्र सहमति छ ।’

थापाको दोधार, अरुको दौडधुप

राम थापाले राप्रपा महाधिवेशनमा कमल थापा प्यानलबाट प्रदेश १ अध्यक्ष जितेका थिए । यो हिसाबले पनि राप्रपा अध्यक्ष लिङ्देनसँग उनको धेरै जम्दैन । झापा ३ मा लिङ्देनको जति प्रभाव छ, त्यस्तै प्रभाव झापा ५ मा थापाको छ । तर पार्टीले संस्थागत रुपमै एमालेसँग मिल्ने निर्णय गर्‍यो भने थापालाई दोहोरो संकट पर्छ ।

त्यो बेला उनी न पार्टी निर्णय काट्न सक्ने, न दमकमा आफूलाई सघाएको गठबन्धनप्रति कृतघ्न बन्नसक्ने अवस्थामा हुनेछन् । परिस्थितिले च्याप्दै लगेपछि उनले दुईमध्ये एउट बाटो रोज्नैपर्छ ।

उनीजस्तै उनको दल पनि अप्ठ्यारोमा छ । एक्लै लडेर राप्रपाले कुनै पनि क्षेत्रमा चुनाव जित्ने अवस्था छैन । कुनै न कुनै दलसँग तालमेल गरे देशभर ९ सिटसम्म जित्न सकिएला भन्ने राप्रपाको हिसाब छ । यसअनुसार एमालेसँग तालमेल उच्च प्राथमिकतामा छ ।

तर दमकका मेयर राम थापाको दोधारले झापा–५ को सम्भावित चुनावी परिणामलाई अगम्य बनाएको छ । अनिर्णयको दोबाटोमा रहेका थापाले हालसालै काठमाडौं पुगेरै एमाले अध्यक्ष ओलीलाई पनि भेटे । भेटमा ओलीले ‘मलाई सहयोग गर्नुपर्छ’ भन्ने भए । तर चुनावमा गठबन्धनले लगाएको गुन मात्र होइन, मेयर भएपछि एमाले जनप्रतिनिधिहरुले गरेको व्यवहारले पनि उनलाई भने सहयोग गर्न मन छैन ।

दमक नगरपालिकामा एमालेको बहुमत छ । त्यही आधारमा एमालेका वडा अध्यक्षहरुले आफूलाई अप्ठ्यारोमा पारिरहेको मेयर थापाको गुनासो छ । ‘एमालेका वडा अध्यक्षहरुले कतिसम्म गरेका छन् भने संवोधन गर्दा पनि नगर प्रमुख भन्दैनन्, कार्यालय प्रमुख रे’, मेयर थापाले अनलाइनखबरलाई भने, ‘नगरपालिकामा दिएको दुःख सम्झिँदा पनि एमालेसँग मिल्ने स्थिति छैन ।’

तर दमककै कारण मुलुकभर तालमेल नहुने स्थिति भयो भने चाहिँ सोच्नुपर्ने हुनसक्ने थापा बताउँछन् । ‘फोन र भेटघाटले हैरान पारिरहेको छ,’ थापाले भने, ‘एकातिर मोडिनै पर्ने स्थिति छ, तर म हतारिएको छैन ।’

‘आफ्नै पौरखमा जित्छौँ’

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा झापा ५ मा १ लाख ३७ हजार ५४१ मतदाता थिए । त्यसमध्ये ९३ हजार ४८ जनाले मतदान गरेकामा एमाले अध्यक्ष ओलीले ५७ हजार १३९ मत पाए । उनका प्रतिद्वन्द्वी खगेन्द्र पाण्डव अधिकारी (नेपाली कांग्रेस)ले २८ हजार २९७ मत पाएका थिए ।

गत वैशाखको स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरुले पाएको मतका आधारमा भने एमाले गठबन्धनभन्दा करिब ६ हजार मतले मात्र अगाडि रह्यो । यस आधारमा ओली झापा ५ मा रक्षात्मक अवस्थामा रहेको विश्लेषण छ ।

एमाले, झापा ५ का इन्चार्ज होमबहादुर थापा भने पार्टी अध्यक्ष ओलीको हकमा यस्तो विश्लेषण काम नलाग्ने बताउँछन् । ‘प्रधानमन्त्री हुँदा होस् या सांसद मात्र हुँदा, अध्यक्षज्यूले यो क्षेत्रमा गर्नुभएको काम र राष्ट्रिय छविका कारण उहाँ ०७४ कोभन्दा बढी मत ल्याएर विजयी हुनेमा हामी ढुक्क छौं,’ उनी भन्छन्, ‘त्यसका लागि हामीलाई कसैको साथ पनि आवश्यक पर्दैन ।’

बलियो छौं भन्दाभन्दै एमालेले धेरैभन्दा धेरै सार्वजनिक कार्यक्रम र घरदैलो गर्ने योजना बनाएको छ । केन्द्रीय सदस्य रोमनाथ ओली भन्छन्, ‘एक कार्यकर्ता बराबर दुई नयाँ मतदाता भन्ने योजनाअनुसार लागिपरेका छौं । अध्यक्षज्यूले थप बलियो मतसहित चुनाव जित्नुहुन्छ ।’

राप्रपाको विकल्प : संघमा ओली, प्रदेशमा गठबन्धन

स्थानीय निर्वाचनमा दमकको मेयरमा माओवादीले प्रदेश कोषाध्यक्ष गगन पुरीलाई अगाडि सारेको थियो । ०७४ मा पनि दमक नगरपालिका प्रमुखमा पराजित भएका पुरीले यसपालि राप्रपाका राम थापालाई सघाए । त्यतिखेर मेयर राप्रपा, उपमेयर कांग्रेस र प्रदेशसभा माओवादीलाई दिने सम्झौता भएको पुरी बताउँछन् ।

पुरीले भनेको आधारमा राप्रपाले प्रदेशमा माओवादीलाई समर्थन गरेर संघमा एमालेसँग तालमेल गर्न पनि सक्छ । राप्रपा, झापाका नेताहरु गठबन्धनसँगको सहमति कायम राख्दै पार्टीलाई बलियो बनाउन ओलीलाई संघमा र प्रदेशमा गठबन्धनका उम्मेदवारलाई सघाउने विकल्प रहेको बताउँछन् । यो विकल्पमा छलफल भने नभएको एक नेताले बताए ।

लेखकको बारेमा
बिनु सुवेदी

बिनु सुवेदी अनलाइनखबर डटकमका एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?