+
+

झापा ५ मा ओलीसँग लड्न चाहनेहरुका एजेण्डा के छन् ?

बिनु सुवेदी बिनु सुवेदी
२०७९ भदौ २६ गते २०:२५

२६ भदौ, दमक (झापा)। प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि झापा क्षेत्र नम्बर ५ बाट अध्यक्ष केपी शर्मा ओलीको नाम सर्वसम्मत सिफारिस गरेसँगै नेकपा एमालेले आफ्ना सुक्ष्म चुनावी गतिविधि सुरु गरिसकेको छ । वडा–वडाको कार्यविभाजन गरेर चुनावी भेटघाटलाई एमालेले तीव्रता दिएको छ ।

आफूले चुनाव जित्नेभन्दा पनि जुनसुकै कसरमा ओलीलाई निर्वाचनमा पराजित गर्नुपर्छ भन्ने ध्याउन्नमा लागेका सत्ता गठबन्धनका नेताहरु भने टिकट पाउने दौडमै छन् ।

काठमाडौंमा लगातारजसो भइरहेको सत्ता गठबन्धनको शीर्ष बैठकमा सिट भागबण्डामा सहमति जुटेको छैन । छलफलको गति हेर्दा तत्काल मिल्ने पनि देखिँदैन ।

त्यसको असर निर्वाचन क्षेत्रमा केन्द्रित भएर चुनाव गतिबिधि गर्न चाहने नेताहरुमा देखिएको छ । ‘उम्मेदवार तय नहुँदा अलिकति कठिन त भइरहेको छ, तर हामीले जो उठे पनि गठबन्धनकै उम्मेदवारलाई सघाउनुपर्छ भनेर चुनावी अभियान चलाएका छौं,’ माओवादी केन्द्रका दमक नगरपालिका सहइन्चार्ज तीर्थराज बस्नेतले भने, ‘यसपालि एमाले अध्यक्ष ओलीलाई रोक्नुपर्छ भन्नेमा राप्रपासहित गठबन्धनमा आबद्ध सबै दल एकमत छौं ।’ यद्यपि राप्रपाले प्रतिनिधिसभा चुनावमा कतापट्टी लाग्ने भनेर तय गरिसकेको छैन ।

गठबन्धनमा रहेका कांग्रेस र माओवादीको आ–आफ्नै दावी छ । यद्यपि हेभीवेट ओलीलाई पराजित गर्न सक्ने खालकै हेभीवेट भने दुबै पार्टीले उम्मेदवारमा सिफारिस गरेका छैनन् ।

माओवादी केन्द्रका दमक नगरपालिका सहइन्चार्ज तीर्थराज बस्नेत

माओवादी केन्द्रले एमाले अध्यक्ष ओलीविरुद्ध चुनाव लड्न सुरेन्द्र बस्नेत, रञ्जित तामाङ, गगन पुरी र रमेश गुरागाईंको नाम सिफारिस गरेको छ । माओवादीले २०६४ मा त्यतिखेरको क्षेत्र नम्बर ७ मा विश्वदीप लिङ्देन र ०७० कोे निर्वाचनमा गोपाल किरातीलाई उम्मेदवार बनाएको थियो । अहिले दुबै नेता माओवादी केन्द्रमा छैनन् । लिङ्देन नेपाली कांग्रेसबाट सिफारिसमा परेका छन् भने किराती नेकपा माओवादी पार्टीबाट राजनीतिक गतिविधि गरिरहेका छन् । अर्थात झापा ५ माओवादी केन्द्रले पायो भने ओलीसँग प्रतिस्पर्धा गर्ने उम्मेदवार युवा पंक्तिबाटै आउने हुन् ।

अहिले राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष रहेका सुरेन्द्र बस्नेत विद्यार्थी राजनीति गरेर आएका नेता हुन् । दमककै स्थानीय बासिन्दासमेत रहेका बस्नेतले टिकट पाए भने संसदीय राजनीतिमा उनको चुनावी प्रतिष्पर्धा पहिलो हुने छ । पहिलो संसदीय चुनाव लड्न तयार भएका केन्द्रीय सदस्य रञ्जित तामाङ पनि विद्यार्थी राजनीतिबाटै आएका हुन् । उनले आफूलाई झापा ५ मा केन्द्रित गरेका छन् । ‘विकासको नाममा झापा क्षेत्र नम्बर ५ मा धेरै अनियमितता भएको छ, अस्पताल चाहिने ठाउँमा भ्यू टावर ठड्याइएको छ,’ तामाङले भने, ‘हामीले हाम्रो क्षेत्रको सांसद परिवर्तन गर्नुपर्ने उचित समय यही हो ।’

उम्मेदवार सिफारिस भएका गगन पुरी माओवादीको प्रदेश १ का कोषाध्यक्ष हुन् । दमक क्षेत्रमा केन्द्रित राजनीति गर्दै गएका पुरी बेलाबेला विवादमा आइरहन्छन् । पुरीले झापा ५ का जनताले ओलीको विकल्प खोजिरहेको बताए । ‘यस क्षेत्रका जनताले चार चिज खोजेका छन् । पहिलो राजनीतिक रुपमा नेतृत्व गर्ने व्यक्ति, दोस्रो त्यो मान्छे पार्टीभित्र लोकप्रिय छ कि छैन, तेस्रो सामाजिक रुपमा सबैलाई आफ्नो ठानेर काम गर्न सक्छन् कि सक्दैनन् र चौथो नयाँ भिजन दिएर यो क्षेत्रलाई विकासको मोडेलबाट नयाँ भिजन दिन सक्ने मान्छे छन कि छैनन्,’ पुरीले भने, ‘यो सबै गुण भएका नेता अब हाम्रो पुस्तामा छ, उहाँहरुले रेष्ट गर्ने बेला भयो ।’

माओवादीका अर्का सम्भावित उम्मेदवार रमेश गुरागाईं झापामा बौद्धिक नेताका रुपमा चिनिन्छन् । यद्यपि गठबन्धनको भागबण्डामा झापा ५ माओवादीले पाए केन्द्रीय सदस्य रञ्जित तामाङको सम्भावना धेरै रहेको नेताहरु बताउँछन् ।

झापाको दमक बजार क्षेत्र । तस्वीर : चन्द्र बहादुर आले/अनलाइनखबर

यस्तै कांग्रेसले महेन्द्रकुमारी सुब्बा, मेदिनी सिटौला, खगेन्द्र पाण्डव अधिकारी, विश्वदीप लिङ्देन र पदम पौडेलको नाम सिफारिस गरेको छ । २०७४ को प्रतिनिधिसभा चुनाव अघिसम्म डाक्टर खगेन्द्र पाण्डव अधिकारीलाई स्थानीय स्तरमा चिनिँदैनथ्यो । अध्यापन गर्दागर्दै राजीनामा दिएर एमाले अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध चुनावी मैदानमा आएका अधिकारीले त्यसबेला २८ हजार २९७ मत पाएका थिए । त्यसयता झापा ५ मै केन्द्रित रहेका अधिकारी यसपालि पनि उम्मेदवार हुने दौडमा छन् ।

वामपन्थीको दबदबा रहेका बेलामा पनि चुनाव उठेको र पाँच वर्षमा आफूले जनतासँग भिजेर काम गरेकाले यसपटक आफू स्वाभाविक उम्मेदवार रहेको उनको दाबी छ । ‘सुख दुःखमा साथ दिएको पार्टीको नीति अनुसार काम गरेको छु । यसपटक जनताले एकदमै माया गरेका छन् । एमाले सरकारमा हुँदा पनि मैले उठाएका विषय जायज छन्,’ उनले भने, ‘यहाँको आवश्यकता मेडिकल कलेज बनाउने हो, तर उनीहरुले भ्यु टावर बनाएरै छोडे । भ्यु टावरका छेउमा धेरै अग्ला पहाड छन् । त्यो हामीलाई काम छैन, जनताको चाहना हाम्रै क्षेत्रका सांसद प्रधानमन्त्री भएर पनि पुरा भएन ।’ अधिकारी देउवा समूहबाट सिफारिसमा परेका हुन् ।

महेन्द्रकुमारी ०६४ को संविधानसभा निर्वाचनमा कांग्रेसबाट उम्मेदवार थिइन् भने विश्वदीप माओवादीबाट ।

त्यसबेला ओलीलाई हराएका लिङ्देन यसपालि पनि आफूले झापाली जनताको मत पाउने विश्वास गर्छन् । ‘यहाँका जनताले ओलीजीलाई पाँच वर्षका लागि जिताएर पठाएका हुन्, तर उहाँले संसद नै बिघटन गर्नुभयो, त्यसलाई हामीले चुनावी एजेण्डा बनाउँछौं,’ लिङ्देनले भने, ‘त्यसैले यसपालि पनि झापा ५ का जनताको मैले नै विश्वास जित्नेछु भन्ने विश्वास छ ।’ तर प्रतिनिधिसभाको टिकट पाउने गरी उनले आफ्नै पार्टी कांग्रेसको भने विश्वास जितिसकेका छैनन् । महामन्त्री विश्वप्रकाश शर्माको कोटाबाट जिल्ला सचिवका लागि उम्मेदवार भएका थिए, तर पराजित भए । झापा ५ मा पनि उनको क्रेज ०६४ को जस्तो छैन ।

त्यसैले स्थानीय नेताहरु सिफारिसमा परेकामध्ये अधिकारी वा मेदिनी सिटौलामध्ये एकलाई कांग्रेसले उम्मेदवार बनाउन सक्ने आकलन गर्छन् । उनी डा. शेखर कोइराला समूहबाट सिफारिसमा परेका हुन् । लामो समय काठमाडौं केन्द्रित विद्यार्थी राजनीति गरेका सिटौला भूगोलको राजनीति गर्न भनेरै दमक फर्किएका हुन् । सिटौला यसपालि आफूलाई पार्टीले न्याय गर्ने विश्वास गर्छन् । ‘मैले पार्टीभित्र लामो समय विताएँ, पार्टी निर्माणमा आफ्नो समय खर्च गरेँ पनि,’ सिटौलाले अनलाइनखबरसँग भने, ‘अब मलाई पार्टीले न्याय गर्ने बेला भएको छ, म उम्मेदवार हुँदा पार्टीको आन्तरिक समीकरण र स्थानीय जनताको सहयोग प्राप्त हुनेछ ।’

एमालेले भने अधुरा विकासका योजनालाई पुरा गर्न अध्यक्ष ओलीको आवश्यकता परेको बताउँछ । एमाले सरकारले गत वर्ष अध्यादेशमार्फत् ल्याएको बजेटमा अध्यक्ष ओलीको निर्वाचन क्षेत्रका लागि अत्याधिक योजना थिए । देउवा सरकारले बजेट ल्याउँदा धेरै योजना काटिदियो । ‘त्यसैले यस क्षेत्रको विकासका लागि पनि ओली नै आवश्यक पर्छ र ओलीले सरकारको नेतृत्व गर्दा सिलान्यास गरेका तर बजेट बिनियोजन नभएका कारण अलपत्र परेका योजना अघि बढाउन ओलीलाई भोट दिउँ भन्ने हाम्रो नारा हुनेछ, त्यो सत्य पनि हो,’ एमाले झापा जिल्ला अध्यक्ष दीपक कार्कीले भने ।

लेखकको बारेमा
बिनु सुवेदी

बिनु सुवेदी अनलाइनखबर डटकमका एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?