२६ भदौ, काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुनुअघिसम्म नेपालको प्रतिस्पर्धी भारत मात्रै मानिएको थियो ।
यसअघिका ५ वटै संस्करण जितेको भारत र ४ वटा फाइनल खेलेको नेपालसँगै अब बंगलादेश पनि उपाधिको दाबेदार देखिएको छ ।
सन् २०१६ को फाइनल खेलेको बंगलादेशले जारी प्रतियोगितामा समूह चरणमा खेलेका दुई वटा खेलको प्रदर्शनबाट उपाधिको होडमा आफू पनि रहेको प्रमाणित गरेको छ । बुधबार माल्दिभ्ससँगको खेल ३–० र शनिबार पाकिस्तानसँगको खेल ६–० ले जितेको बंगलादेशका खेलाडी गतिमा मात्र होइन, टेक्निक र टेक्टिकल रुपमा बलियो देखिए ।
समूह एमा आफूले खेलेका दुवै खेल जितेर भारत र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् । समूह चरणको आफ्नो अन्तिम खेलमा भोलि (सोमबार) श्रीलंकासँग ३ गोलभन्दा कम अन्तरले हारे पनि सेमिफाइनलमा पुग्ने नेपालले भारत वा बंगलादेश मध्ये एउटालाई प्रतिद्वन्द्वी पाउने छ । घरेलु मैदानबाट ट्रफी बाहिर जान नदिने लक्ष्यमा अघि बढ्न नेपालले सेमिफाइनलमा यी दुई मध्ये एउटा तगारो हटाउनु पर्ने छ ।
सेमिफाइनल यात्रा पक्का भएपछि अब बंगलादेशको नजर भने फाइनल र उपाधिमा छ । जारी साफका दुई खेलमा पाँच गोल गरिसकेकी बंगलादेशी कप्तान सबिना खातुनले पाकिस्तानसँगको फराकिलो जितले आत्मविश्वास बढाएको बताइन् । ‘पहिला हामी सेमिफाइनलका लागि खेलिरहेका थियौं । अब फाइनल र उपाधिका लागि मेहनत गनेछौं’, पाकिस्तानलाई ६–० ले हराउने क्रममा ह्याट्रिक गरेकी कप्तान सबिनाले भनिन् ।

त्यसअघि पहिलो खेलमा माल्दिभ्समाथि जित हात पारेपछि बंगलादेशी कप्तान सबिना र प्रशिक्षक गोलम रोब्बानी छोटोनले पत्रकार सम्मेलनमा आफूहरु जितका लागि पूरा तयारीका साथ आएको बताएका थिए ।
समूह चरणमा खेलेका माल्दिभ्स र पाकिस्तान दुवैलाई सुरुदेखि नै दबाब बनाएका बंगलादेशी खेलाडीले विपक्षीलाई थकाउने रणनीति लिएका थिए ।
शारीरिक र मानसिक रुपमा विपक्षी थकित भएपछि उनीहरुले लगातार आक्रमण गर्ने रणनीति अपनाएका थिए । माल्दिभ्सँगको खेलमा ८ मिनेट (३२–४० मिनेट) को बीचमा बंगलादेशले लगातार ३ गोल गरेको थियो ।
पाकिस्तानसँगको खेलमा तेश्रो मिनेटमा नै अग्रता लिएको बंगलादेशले ७ मिनेट भित्रमा (२८, ३१ र ३५ मिनेटमा ) ३ गोल थपेको थियो । त्यस्तै बंगलादेशले ५९ औं र ७७ औं मिनेटमा अरु दुई गोल थपेको थियो ।
साम्बाको जस्तै क्षमता भएकी सबिना
नेपाल महिला फुटबल टिमकी साबित्रा भण्डारी ‘साम्बा’ जसरी ‘गोल मेसिन’ भनेर दक्षिण एशियाली क्षेत्रमा चिनिइन्, ठिक त्यसैगरी बंगलादेशकी कप्तान सबिना खातुनले पनि आफूलाई प्रस्तुत गरेकी छिन् ।
मैदानमा टिमलाई कसरी बलियो बनाउने र कुन स्थानबाट बल निकालेर गोल गर्ने भन्ने रणनीति बनाउने र त्यसलाई कार्यान्वयन गर्ने क्षमता छ सबिनासँग । उनको यही क्षमता नै धेरै पटक बंगलादेशको बलियो पक्ष बनेको छ । उनले २०२१ मा बंगलादेशको महिला लिगमा उत्कृष्ट प्रदर्शन गरेकी हुन् । लिगमा १० खेलमा २५ गोल गरेकी उनले बसुन्धरा किङ्सबाट खेलेका कुल २५ खेलमा ६२ गोल गरेकी छिन् ।
बंगलादेशले २०२१ सेप्टेम्बरमा हङकङ महिला टिमसँग मैत्रीपूर्ण खेलेको थियो जसमा उनी एक्लैले ह्याट्रिक गरेकी थिइन् । उनले बंगलादेशका लागि खेलेका ४३ खेलमा २९ गोल गरेकी छिन् ।
अनुभवी प्रशिक्षक र लगानी
बंगलादेशका प्रशिक्षक गोलम रोब्बानी छोटोन बंगलादेशी महिला फुटबलका अग्रणी प्रशिक्षक हुन् । उनले उमेर समुहका टिमदेखि राष्ट्रिय टिमसम्मका महिलालार्ई प्रशिक्षण गर्दै आएका छन् । सन् २००९ देखि हालसम्म बंगलादेशी महिला फुटबल सम्हाली रहेका उनलाई कुन खेलाडी कस्तो ठाउँमा प्रयोग गर्ने भन्ने राम्रो जानकारी छ ।
उमेर समूहदेखि नै प्रशिक्षण दिएका उनलाई खेलाडीको क्षमता चिन्न पनि सहज भएको छ । २०१३ देखि यू–१४ र यू–१७ टिमको पनि जिम्मा लिएका उनले अहिले राष्ट्रिय टिममा भएका खेलाडीको क्षमता उमेर समूहको खेलमै थाहा पाइसकेका छन् ।

उनको खेलाडी छनोट र उत्कृष्ट रणनीति अहिले बंगलादेशको बलियो पक्ष हो । उनको प्रशिक्षणमा बंगलादेशी महिला फुटबल टिमले यू–१४, यू–१५, यू–१८ र यू–१९ को उपाधी जितेको छ । उमेर समुहमा निकै सफल प्रशिक्षक बनेका उनले सिनियरतर्फ भने टिमलाई उपाधि नै भने दिलाउन सकेका छैनन् । उनको नेतृत्वमा २०१६ मा बंगलादेशी महिला टिम साफ च्याम्पियनसिपमा उपविजेता भएको थियो ।
स्थायी प्रशिक्षक तथा उमेर समुहदेखि नै खेलाडी चिनेका छोटुङले बंगलादेशी महिला फुटबललाई निकै माथि उकासेका छन् ।
उनले जारी साफको दोस्रो खेलमा पाकिस्तानलाई ५–०को नतिजाले जित हात पारेपछि उनको टोलीको आत्मविश्वास बढेको बताए । उनले भने, ‘हाम्रो टोली अनुभवी छ । २०१५ मा नेपालमा खेलेर गएका अधिकाशं खेलाडी अहिले पनि टिममा छन् । जसले गर्दा कुन टिमसँग कहाँ कसरी खेल्ने उनीहरु राम्रोसँग बुझ्छन् ।’
बंगलादेशले सन् २०१० यता महिला फुटबलमा लगानी पनि गरेको छ । फरक फरक उमेर समूहका टिम, नियमित प्रशिक्षण र सही रणनीतिले नै बंगलादेशलाई साफको उपाधि दाबेदार बनाएको हो ।
                        
                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
प्रतिक्रिया 4