+
+
प्रतिवाद :

किन सधैं पीडितमाथि आक्षेप ?

दुर्गा कार्की दुर्गा कार्की
२०७९ भदौ २७ गते ८:४१

‘हामीले हाम्रा कथा भन्नुपर्छ जसले हामीमाथि भएका विभेदविरुद्धका अवरोध हटाउन मद्दत गर्छ’- मिसेल ओबामाले आफ्नो पुस्तक ‘विकमिङ’मा आधारित रहेर बनेको वृत्तचित्रमा भनेको कुरा हो, यो ।

प्रत्येक व्यक्तिसँग आफ्नो जीवनका तिता-मीठा कथा हुन्छन् । कसैका संघर्षमय र प्रेरणादायी कथाले धेरैको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सघाउँछ । यस्ता कथाबाट कसैले सहानुभूति पाउलान् तर जो पीडित छन्, अन्यायमा परेका छन् र यस्तो अन्यायविरुद्ध बोल्छन्, यसबाट उनीहरूले न्याय पाउन सक्छन् ।

आफूमाथि भएको ज्यादती विरुद्ध बोल्नु सर्भाइभर वा पीडितले न्यायका लागि उक्लेको पहिलो खुट्किलो हो । पीडितको यो पहिलो खुट्किलोपछि बाँकी माथि उकाल्ने र उसलाई न्याय दिलाउने काम राज्यको हो । राज्यले आरोपित वा अपराधीलाई सजायको दायरामा ल्याउनु मात्रै पीडितले न्याय पाएको भन्न मिल्दैन । जबसम्म समाजले उनीमाथि भएको घटनाको दोष उनैलाई दिन छोडेर आत्मसम्मानसहित उनको आफ्नै घर र समाजमा सम्मानपूर्वक रहन बस्न सक्ने वातावरण बन्दैन । यो वातावरण बनाउने काम हामी सबैको हो । यस्तो वातावरण तब बन्न सक्छ जब हामीले पीडितलाई नै दोषी देख्न छोड्छौं । ऊमाथि आक्षेप लगाउन र दोषारोपण गर्न बन्द गर्छौं ।

तर अहिले यो समाजमा यस्तो वातावरण बन्ने र बनाउने कुरा क्षितिजबाट परसम्म पनि देखिएको छैन । पीडितलाई लक्षित गरी सामाजिक सञ्जालमा सार्वजनिक भएका अभिव्यक्तिले समाज जति शिक्षित र सचेत हुँदैछ त्यति नै पश्चगामी, निरंकुश र जडवादी भएको भान हुन्छ ।

यही पश्चगामी सोचले पीडितले न्याय पाउन उक्लेको त्यो पहिलो खुट्किलो सगरमाथा जत्तिकै अग्लो र त्योभन्दा भीमकाय बन्दैछ । समाजले लगाएका आक्षेप र दोषारोपणको सगरमाथा चढ्दा चढ्दै वा चढ्न नसक्दा कति पीडितहरूले आफ्नो जीवन सिध्याए त्यसको कुनै लेखाजोखा छैन । कति नबोली आफूले आफैंलाई दोषी मानेर र कति बोलेर, लड्दालड्दै पनि राज्यको असहयोग र सहयोगी संयन्त्रको अभावमा थाकेर बसे । कति महिला आफूमाथि भइरहेको अन्याय विरुद्ध बोल्न नसकेर अवसादको जिन्दगी बाँचिरहेका छन् । यति हुँदाहुँदै पनि आँट गरेर आफूमाथि भएको अपराध विरुद्ध आफ्नो आवाज बुलन्द पारेका छन्, आवाज उठाएका छन् ती महिला र बालिकाहरूको साहस तारिफयोग्य छ ।

‘नाबालिग (१८ वर्ष मुनिका बालबालिका) सँग कुनै पनि अवस्थामा, कुनै पनि बहानामा राखिने यौनसम्बन्ध बलात्कार हो । वास्तवमा, नाबालिगसँग यौन सम्बन्ध नै हुँदैन मात्र बलात्कार हुन्छ । यत्ति सबैको मतिमा सधैंका लागि घुसोस् । साक्षरता दिवसको शुभकामना ।’

नेपाली समाज, महिला र बालिकाका लागि विषालु ग्याँसको च्याम्बर बन्दैछ । अघिपछि यो विषालु ग्याँस निष्क्रि य देखिए पनि जब कुनै नाबालिग किशोरीले आफूमाथिको बलात्कार वा अपराधविरुद्ध बोल्छिन्, न्यायका लागि आवाज उठाउँछिन् अनि यो विषालु ग्याँसको ज्वालामुखी विस्फोट हुन्छ । अझ आरोपित वा अपराधी कथित हाइप्रोफाइलवाला वा सेलिब्रेटी पर्‍यो भने ज्वालामुखी झन् भयंकर हुन्छ । लाग्छ उनीहरूको आफ्नै जीवनमा ९ रेक्टर स्केलको भूकम्प ल्याउँदैछ ।

कतै आफूले गरेका कर्तुतसँग डराएर आफ्नै जीवनमा ज्वालामुखी फुट्ने डरले हो कि उनीहरू अपराधीहरूप्रति सहानुभूति प्रकट गरेर समानुभूति महसुस गरिरहेका छन् । यस्तो भूकम्प सबैभन्दा पहिला समाजमा प्रतिष्ठित भनेर चिनिएका र समाजको ऐना भनिएका कलाकारहरूमा गएको देखिन्छ । त्यसैले उनीहरू पीडित बालिकाहरूलाई समेत गिरोह, पेशेवर र व्यवसायी देख्छन् र देशका ‘हिरो’ र ‘आइकन’ हरूलाई सिध्याउन षडयन्त्र गरेको भन्दै पीडक र आरोपीप्रति चिन्तित देखिन्छन् ।

देशका होनहार युवाहरू जसले देशको नाम विदेशमा लगेको भन्दै उनीहरूमाथि गम्भीर षडयन्त्र भइरहेकोमा ती बुद्धिजीवी चिन्तित छन् । कसैलाई उनीहरूको सम्पत्ति हत्याउन पीडितहरूले षडयन्त्र गरिरहेको लागेको छ ।

अनि केही तथाकथित बुद्धिजीवीलाई त करोडौंको आम्दानी गर्न एनजीओले यस्तो खेती गरिरहेको समेत लाग्दो रहेछ । अझ केहीले त देशका ती उदाउँदा वयस्क खेलाडीकोे उनकै शब्दमा ‘एक से एक सेलिब्रेटी युवतीसँग सम्बन्ध राख्ने हैसियत भए पनि थर्डक्लास सिनो सोहोर्न पुग्दा फसेको’ दाबी समेत गर्न भ्याएछन् । उनीहरू दाबीका साथ विभिन्न सञ्चारमाध्यममार्फत वा सामाजिक सञ्जालमा पीडित र उनको न्यायका लागि बोलिरहेका र खबरदारी गरिरहेकालाई मनलाग्दी र निकृष्ट आक्षेपहरू लगाइरहेका छन् । सायद यस्तो घटना आफूमाथि आइलाग्दैन र म त्यस्तो जोखिममा छैन भन्ने भ्रमले उनीहरूले पीडितलाई लागेपुगे जति आक्षेप लगाएर दोष थोपरिरहेका छन् ।

‘किन उही दिन बोलिनँ ? बलात्कार भइरहँदा किन चिच्याइनँ ? उसका लुगा च्यातिएकै छैन कसरी बलात्कार हुन्छ ? मन मिले चमत्कार, नमिले बलात्कार ! मन मिले मेला, नमिले झमेला यी र यस्ता अनेकौं प्रश्न र आक्षेप सर्भाइभरमाथि आएको यो पहिलो पटक हैन विगतमा पनि हामीले देखेको, सुनेको र पढेकै हो । यस्ता आक्षेप लगाउनेमा पुरुष मात्रै छैनन् महिला पनि उत्तिकै छन् । मानौं यहाँ उनीहरू र उनका सन्तान अति सुरक्षित छन् यस्ता घटना उनीहरूमाथि कहिल्यै हुँदैन ।

किन उनीहरूले पीडितलाई नै ऊमाथि भएको बलात्कार उसकै कारणले हो भनिरहेका छन् ? त्यस्तो व्यवहार वा घटनाकोे हकदार ऊ नै हो भन्दै ललकारिरहेका छन् ? किनकि उनीहरूलाई लाग्छ महिला बाहिर हिंड्न हुँदैन, हिंड्यो भने ऊमाथि हुने बलात्कार नै हो, महिला मानव हैन पुरुषलाई मनोरञ्जन दिने फगत एक साधन वा वस्तु हो । महिलाको शरीर महिलाको हैन पुरुषको सम्पत्ति हो । यसको नियन्त्रणकर्ता मात्र पुरुष हो ।

महिलालाई आफ्नै शरीरमाथि कुनै अधिकार छैन उसले चाहेको गर्न पाउँछ, यो उसको अधिकार हो । महिलाहरू उनीहरूलाई रमाइलो दिन जन्मेका हुन् । उनीहरूलाई लाग्दोरै’छ उसले बोलाएर आएपछि ती महिला वा नाबालिगले आफ्नो शरीर मलाई सुम्पिसकी अथवा उसले छोटो लुगा लगाएर मलाई अपील गरिरहेकी छ वा उसलाई मैले माया गर्छु उसलाई जे गरे पनि हुन्छ । त्यसैले महिलालाई बाटोमा, जंगलमा, भीडबाट तानेर, बोलाएर, सामाजिक सञ्जालमा, स्कुलमा, क्याम्पसमा जहाँ भेट्छौं, जुन हालतमा भेट्छौं बाँकी राख्न हुन्न सिध्याइहाल्न पर्छ । सायद निर्मला पन्त, भगीरथी भट्ट र रुमती दासहरूको बलात्कारपछि हत्या नभएको भए उनीहरूले पनि यस्तै आक्षेप सहनुपथ्र्यो ।

समाजमा मौलाएको यस्तो विषालु सोचले महिलालाई मानवका रूपमा स्वतन्त्रपूर्वक बाँच्न झन् झन् कठिन हुँदै गएको छ । बल्लतल्ल आफूमाथि भएका अन्याय र ज्यादतीविरुद्ध बोल्नुपर्छ भनेर बाहिर आइरहेका आवाजलाई दबाउन यो विषालु सोचका फणा चौतर्फी भएका छन् । फेरि पनि तिमीहरूको नियति त्यही थियो र हो भन्दै आवाज बन्द गर्न धम्की दिइरहेका छन् । यो विषालु सोचमाथि मलजल र प्रवर्द्धन यही पुरुष सत्ताले गरिरहेको छ । यहाँका बुद्धिजीवीले गरिरहेका छन् ।

मानव सभ्यता र प्रविधि विकासको उच्च विन्दुलाई ‘इन्जोय’ गरिरहेको यो २१औं शताब्दीको समाजले त्यही प्रविधिको प्रयोग (दुरुपयोग)गरेर आफूभित्रको अमानवीयताको असभ्य पर्दा उतारिरहेको छ । यो समयमा पनि उनीहरूले महिलालाई मानवको रूपमा व्यवहार गर्न सकिरहेका छैनन्, उसलाई वस्तु र साधनका रूपमा प्रयोग गर्न चाहन्छन् ।

महिलाहरू आफ्नै नियन्त्रणमा बसुन् भन्ने चाहना उनीहरूको छ । महिलाको स्वतन्त्रता र योग्यता उनीहरूका लागि ‘थ्रेट’ भएको छ र उसलाई लागेको छ यसकारण उसको पुरुषत्व र एकलौटी सत्ता डगमगाएको छ । त्यसैले महिलालाई नियन्त्रण गर्न, उसको यौनिकतामाथि फेरि पनि कब्जा जमाउन त्यो पुरुषत्व यसरी बेहोश भएर लागेको छ कि कोही बलात्कार गर्न र कोही तिनै बलात्कारीका पक्षमा वकालत गर्न लागिपरेका देखिन्छन् । त्यसैले ती ‘मोरलपुलिसहरू’ र समाजका ठेकेदार ठान्नेहरूमाथि खबरदारी गरेर हामीले पनि ठाउँको ठाउँ प्रश्न गर्न नछोडौं ।

यहाँ यति भनिरहँदा समाजमा सबै पुरुष खराब छन् वा सबै उस्तै हुन् भन्न पटक्कै खोजिएको छैन । त्यसैले अन्त्यमा अभियन्ता संजोग ठकुरीको यो भनाइ यहाँ उल्लेख गर्न चाहन्छु । र, उहाँ जस्तै सबै अभियन्ता जसले महिला वा नाबालिगमाथिको बलात्कारकाविरुद्ध र महिलाको अधिकारको पक्षमा आवाज उठाइरहनुभएको छ उहाँहरूप्रति नमन ।

‘नाबालिग (१८ वर्ष मुनिका बालबालिका) सँग कुनै पनि अवस्थामा, कुनै पनि बहानामा राखिने यौनसम्बन्ध बलात्कार हो । वास्तवमा, नाबालिगसँग यौन सम्बन्ध नै हुँदैन मात्र बलात्कार हुन्छ । यत्ति सबैको मतिमा सधैंका लागि घुसोस् । साक्षरता दिवसको शुभकामना ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?