+
+

१५ प्रतिशतले बढ्यो नेपालमा प्रत्यक्ष वैदेशिक लगानी

सबैभन्दा बढी जलविद्युतमा 

नेपालमा एक वर्षमा प्रत्यक्ष वैदेशिक लगानी झण्डै १५ प्रतिशतले वृद्धि भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २८ गते २०:४३

२८ भदौ, काठमाडौं । नेपालमा एक वर्षमा प्रत्यक्ष वैदेशिक लगानी १४.८ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले गरेको प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सर्वेक्षणले प्रत्यक्ष वैदेशिक लगानी २ खर्ब २७ अर्ब ९५ करोड कायम पुगेको जनाएको छ ।

कुल वैदेशिक लगानीमध्ये चुक्ता पूँजीको अंश ५३.९ प्रतिशत, सञ्चितिको ३१.६ प्रतिशत र कर्जाको अंश १४.५ प्रतिशत रहेको केन्द्रीय बैंकले जाएको छ । चुक्ता पूँजीको अंश १३.७ प्रतिशतले बढेकोले कुल प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि भएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।

सबैभन्दा बढी लगानी भारतबाट

२०७८ असार मसान्तसम्मको तथ्यांक अनुसार सबैभन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी भारतबाट आएको सर्वेक्षणमा उल्लेख छ । नेपालमा ५५ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये, भारतबाट सबैभन्दा बढी अर्थात् ७५ अर्ब ८१ करोड र त्यसपछि क्रमशः चीनबाट ३३ अर्ब, आयरल्याण्डबाट १६ अर्ब ४८ करोड, सिंगापुरबाट १५ अर्ब ४८ करोड र सेन्ट किट्स एण्ड नेभिसबाट १४ अर्ब ५१ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको आएको छ । तथ्यांक अनुसार कुल प्रत्यक्ष वैदेशिक लगानीमा भारतको हिस्सा ३३.३ प्रतिशत रहँदा चिनको हिसा १४.५ प्रतिशत रहेको छ ।

यस्तै अर्को दक्षिण एशियाली राष्ट्र बंगलादेश पनि नेपालमा प्रत्यक्ष वैदेशिक लगानी आउने शीर्ष १० देशभित्र रहेको छ । बंगलादेशबाट नेपालमा ६ अर्ब ३८ करोड ३५ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी आएको छ । जुन कुल प्रत्यक्ष वैदेशिक लगानीको २.८ प्रतिशत हो ।

वैदेशिक लगानी औद्योगिक क्षेत्र र बैंक, बीमामा केन्द्रित

नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६०.५ प्रतिशत औद्योगिक क्षेत्रमा र ३९.४ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ । औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत् क्षेत्रमा ३०.८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ । यसै गरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६.९ प्रतिशत सेवा क्षेत्र अन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूमा रहेको छ।

यस बाहेक शिक्षा, निर्माण, लगायतको क्षेत्रमा पनि प्रत्यक्ष वैदेशिक लगानी रहेपनि नगन्य मात्रामा मात्रै रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा बैदेशिक लगानीमा सञ्चालित उत्पादनमुलक कम्पनीको क्षमता उपयोग ६४.९ प्रतिशत रहेको उल्लेख छ । नाफाको दर करिब १४.७ प्रतिशत रहेको सर्वेक्षण प्रतिवदेनमा उल्लेख छ ।

सन् २०२१ मा दक्षिण एशियाली देशमा कुल ५१ अर्ब डलर वैदेशिक लगानी भित्रिंदा सबैभन्दा धेरै भारतमा ४४.७ अर्ब डलर प्रत्यक्ष वैदेशिक लगानी आएको छ । त्यस्तै बंगलादेशमा २ अर्ब ९० करोड डलर प्रत्यक्ष वैदेशिक लगानी आएको छ भने पाकिस्तानमा पनि २ अर्ब १० करोड डलर प्रत्यक्ष वैदेशिक लगानी आएको छ ।

यस्तै श्रीलंकामा ६० करोड डलर प्रत्यक्ष वैदेशिक लगानी प्राप्त हुँदा नेपालमा २० करोड डलर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ ।

प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्यांक संकलन गरी यस्तो लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सर्वेक्षण गरेको राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल १९७ वटा कम्पनीको नमुना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्यांक तथा अन्य विवरणको विश्लेषणका आधारमा ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७७/७८’ तयार पारिएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?