+
+

बिरामीलाई पहिले जसरी चिकित्सकले ‘मुख बार्नु’ भन्दैनन्, किन ?

मनिषा थापा मनिषा थापा
२०७९ असोज २ गते १७:३५

काठमाडौं । ‘चिल्लो, पिरो नखानु ।’ पहिले–पहिले कुनै समस्या लिएर अस्पताल पुगेका बिरामीलाई चिकित्सकले यसै भन्थे । बिरामीका लागि खाने भन्दा नखाने कुराको सूची लामो हुन्थ्यो ।

तर आजभोलि चिकित्सकहरुले खानेकुरामा कटौती गर्न छाडेका छन् । बरु बिरामीलाई रुचेको वा भरपेट खान सुझाव दिन्छन् । त्यति मात्र होइन, बिरामीको आवश्यकता अनुसार पोषणविद्लाई खानपानको तालिका नै तयार गर्न लगाइन्छ । कति अस्पतालमा पोषणविद् नै नियुक्त गरिएको हुन्छ ।

‘पहिले पहिले मुख बार्न लगाइन्थ्यो,’ जनरल फिजिसियन, ग्यास्ट्रोलोजिस्ट डा. अवशेष भण्डारी भन्छन्, ‘त्यसबेला जथाभावी खाएर रोग अरु बढ्छ भन्ने भय थियो । तर त्यसो गर्दा उनीहरुको शरीरमा पोषक तत्वको कमी हुने रहेछ ।’

बिरामी भएको अवस्थामा पोषणको कमी हुँदा त्यसले थप जोखिम निम्त्याउने उनको बुझाइ छ । ‘त्यसैले अहिले भरपेट खान सल्लाह दिइन्छ,’ उनी भन्छन्, ‘तर खाना स्वस्थ, ताजा र सन्तुलित हुनुपर्छ ।’

केही यस्ता खाना छन्, जो कतिपय रोगीका लागि उपयुक्त हुँदैन । जस्तो युरिक एसिड भएकालाई रातो मासु खान ठीक हुन्न । तर रातो मासु वा यस्तै केही खानेकुरा छाडेर बाँकी खानेकुरा पर्याप्त खान सकिन्छ ।

डा. भण्डारीका अनुसार पछिल्ला अध्ययनहरुले बिरामीलाई मुख बार्न लगाउने भन्दा पनि भरपुर पोषकतत्व दिनुपर्ने निचोड निकालेको छ । ‘मधुमेहका समस्या भएकाले भात खाँदै नखानु भन्नु उचित हुँदैन,’ डा. भण्डारी भन्छन्, ‘बरु क्यालोरी र कार्बोहाइड्रेडको मात्रा कम गर्न भन्छौं ।’

यसैगरी उच्च रक्तचापका समस्या भएकालाई चिल्लो कम गर्नु, नुनको मात्रा घटाउन भनिन्छ । ‘नुन र चिल्लो खानुहुन्न भन्दैनौं,’ उनी भन्छन्, ‘किनभने यी दुवै चिज शरीरका लागि अति जरुरी हुन्छ । त्यसैले उच्च रक्तचाप भएकाले पनि नुन र चिल्लो खानुपर्छ, तर मात्रा मिलाएर ।’

कोलेस्टेरोलको बिरामीलाई पनि नियन्त्रण गरेर खानपानका लागि सुझाव दिइन्छ । ‘ज्वरो, टाइफाइड, रुघाखोकीको समस्यामा जति रुच्छ, त्यति खानमा जोड दिनुपर्छ,’ उनी भन्छन्, ‘दीर्घकालीन मिर्गौला र कलेजोको रोग भएकालाई भने धेरै खाना बार्नुपर्ने हुन्छ ।’

स्वस्थ एवं तन्दुरुस्त रहन खाना छाड्ने भन्दा पनि भरपुर खाना खाने गर्नुपर्छ ।

के भन्छन् पोषणकर्मी ? 

स्वास्थ्य तथा पोषणकर्मी लील नेपाली भन्छन्, ‘बिरामी भएको अवस्थामा शरीरलाई बलियो बनाउनुपर्ने भएकाले बढी मात्रामा पोषकतत्व जरुरी हुन्छ । त्यसैले अहिले चिकित्सकले बिरामीलाई खानेकुरालाई प्राथमिकता दिने गरेका छन् ।’

पर्याप्त खानाको अभावमा शरीरले आवश्यक पोषक तत्व पाउँदैन । यसले गर्दा शरीर कमजोर हुन्छ । यस्तो अवस्थामा रोगले च्याप्न सक्छ । त्यसैलो रोगप्रतिरोधात्मक क्षमता बढाउन पनि भरपुर खानुपर्ने पोषणकर्मी नेपाली बताउँछन् । रोग अनुसार कतिपय खानेकुरा बार्नुपर्ने हुन्छ भने कतिपय खानेकुराको मात्रा बढाउनुपर्छ । कुन रोग हो त्यही अनुसार खानपानको सही तालिका तयार गर्न सकिने उनले बताए ।

हाम्रो शरीरलाई चिल्लो, पिरो, नुनिलो, अमिलो, गुलियो सबै तत्व चाहिने भएकाले ती सबैको सन्तुलन मिलाएर खानु उपयुक्त हुने उनको सुझाव छ । सामान्य दिनमा भन्दा बिरामी भएको अवस्थामा खानाको मात्रा बढाउनुपर्ने पोषणकर्मी नेपाली बताउँछन् । ‘थोरै थोरै तर धेरै पटक खानुपर्छ,’ नेपाली भन्छन् ।

कतिपय दीर्घ रोग लागेकाले थुप्रै खानपानमा कटौती गरिरहेका हुन्छन् । कसैले भात खान छाडेका हुन्छन् भने कसैले माछामासु । ‘हाम्रो शरीरलाई दिनभर काम गर्न धेरै क्यालोरी चाहिन्छ, जुन खानाबाटै प्राप्त हुने हो,’ पोषणकर्मी नेपाली भन्छन्, ‘तर हामी मधुमेह लाग्यो भने भात नै छाडिदिन्छौं । यसले शरीर झन् कमजोर हुन्छ ।’

कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन, खनिज तत्वहरु शरीरको वृद्धि विकाससँगै रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोगी हुने भएकाले यसको परिपूर्तिका लागि पुग्दो खाना खानुपर्ने उनले बताए ।

आहार नै औषधि

आयुर्वेदले आहार नै औषधि भनेको छ । अर्थात् शरीरलाई स्वस्थ, तन्दुरुस्त, फूर्तिलो राख्नका लागि खानपानले खास भूमिका खेल्छ । खानाले नै मान्छेलाई सम्भावित रोगको जोखिमबाट बचाउँछ र शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । यद्यपि यसमा खानाको प्रकृति, त्यसको मात्रा र समय तालिका महत्वपूर्ण हुने बताइन्छ ।

ताजा, सुपाच्य, सन्तुलित खानाले शरीरलाई जवान र निरोगी राख्छ । भूगोल, मौसम, समय अनुरुप सही खानपान छनोट गर्न सक्नुपर्छ ।

चिकित्सकहरु के भन्छन् भने आज जति पनि रोग छन् त्यसको मूल कारण खराब खानपान हो । चाहे तपाईं मधुमेहको कुरा गर्नुहोस् वा क्यान्सरको, थाइराइडको कुरा गर्नुहोस् वा हृदयरोगको, उच्च रक्तचापको कुरा गर्नुहोस् वा स्नायु रोगको । यी सबैको कारक अन्ततः खराब खानपानमा गएर जोडिन्छ ।

यसबाट प्रष्ट हुन्छ, खराब खानपानले शरीरलाई रोगी बनाउँछ भने सही, सन्तुलित, सुपाच्य खानाले शरीरलाई रोगमुक्त राख्छ ।

लेखकको बारेमा
मनिषा थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?