+
+

धरानमा गहना लुट्न वृद्धाको हत्या, २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ४ गते १७:२३

४ असोज, काठमाडौं । धरानकी ६४ वर्षकी पूर्णसरी राईको हत्या गहना लुट्ने उद्देश्यले भएको खुलेको छ । प्रहरीले उनको हत्यामा संलग्नको आरोपमा धनकुटाको साँगुरीगढी गाउँपालिका–८ ढुंगेका १८ वर्षका निखिल भन्ने नकुल राईलाई पक्राउ गरेको छ ।

उनले लुटेका सम्पत्ति लुकाउन सहयोग गरेको आरोपमा प्रहरीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ का २० वर्षका रञ्जितकुमार साहलाई पक्राउ गरेको सुनसरीका प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए । उनीहरुलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीले जिल्ला अदालतबाट अनुमति लिइसकेको छ ।

पक्राउ परेका नकुल लागू औषध प्रयोगकर्ता रहेको र उनले धरानमा यसअघि पनि सानोतिनो चोरी गरेको प्रहरीको भनाइ छ । नकुलले एक हप्ताअघि मृतकको घरमा आई उनको बारेमा बुझेर गएको र गहना लुट्ने उद्देश्यले नै हत्या गरेको अनुसन्धाबाट देखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए ।

गत भदौ २९ गते दिउँसो ४ बजे धरान उपमहानगरपालिका–२० कि पूर्णसरी राई आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी थिइन् । उनले लगाएका गहना, दुवै कानमा लगाएको कुण्डल लुटिएको अवस्थामा प्रहरीले शव फेला पारेको थियो ।

प्रहरीले तालिमप्राप्त कुकुर र विज्ञ अनुसन्धान टोलीको अनुसन्धानपछि घटनामा संलग्नको आरोपमा नकुललाई असोज २ गते विराटनगर महानगरपालिका– १६ रानीस्थित नेपाल भारत सिमानाबाट पक्राउ गरेको हो ।

अनुसन्धानका क्रममा उनले हत्या स्वीकार गरेको एसपी ढकालले जानकारी दिए । वृद्धाको हत्या गरेपछि शवलाई घरभित्र लगी गहना लुटेको र खुकुरीलाई जंगलमा फालेर सुनसरीको बराह क्षेत्रमा एक स्थानीयको साइकल चोरेर भारततर्फ भागेको नकुलले बयान दिएका छन् ।

मृतकले लगाएको ७.२७ ग्रामको गहना, चोरी गरेको साइकल प्रहरीले रञ्जितकुमार साहको घरबाट फेला पारेको थियो । त्यसपछि रञ्जितलाई पनि पक्राउ गरेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?