+
+

महानगरले गरेन फोहोरको वर्गीकरण, सूचनामै टर्‍यो योजना 

अमृत चिमरिया अमृत चिमरिया
२०७९ असोज १० गते २०:३६

१० असोज, काठमाडौं । स्रोतमै फोहोर वर्गीकरण गर्ने काठमाडौं महानगरपालिकाको योजना अलपत्र परेको छ । १ साउनदेखि स्रोतमै कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर मात्रै संकलन गर्ने घोषणा गरेको महानगरपालिका अहिले हात बाँधेर बसेको छ ।

सुुरुमा बञ्चरेडाँडामा स्थानीयले गरेको अवरोधका कारण योजना प्रभावित भएको महानगरको तर्क थियो । तर, अवस्थामा सामान्य भइसक्दा पनि महानगरले स्रोतमै फोहोर वर्गीकरण गरेर उठाउन चासो दिएको छैन ।

महानगरपालिकाको फोहोर छुट्याएर नराख्नेलाई ५०० रुपैयाँ जरिवाना गर्ने चेतावनी दिएको थियो । ‘फोहोर संकलनका क्रममा फोहोरको पृथकीकरण नगरेको पाइए हरेक पटक जरिवाना गरिने छ । फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले यस्तो निर्णय गरिएको हो,’  ९ असार जारी सूचनामा भनिएको थियो ।

महानगरले आइतबार र बुधबार नकुहिने फोहोर संकलन गर्ने तालिका बनाएको थियो । सोमबार र शुक्रबार कुहिने फोहोर संकलन गर्ने तालिका दिइएको थियो ।

सूचनाअनुसार धैरै महानगरबासीले फोहो छुट्याउन सुरु गरिसकेका थिए । तर, महानगरले तालिकाबमोजिक फोहोर नउठाएपछि अहिले फोहोर छुट्याउन सुरु गरेकाहरुले पनि मिसाएर फोहोर संकलन गर्न थालेका छन् ।

मेयर बालेन्द्र साह (बालेन) आफैं फोहोर वर्गीकरण गर्न आग्रह गर्दै सार्वजनिक र्‍याली र कार्यक्रमहरुमा सहभागी भएका थिए ।  मेयर बालेन सहित वडाध्यक्षहरुको टोलीले टोल-टोलमा गएर कुुहिने फोहोरबाट गड्यौले वा कम्पोष्ट मल बनाएर कौसी तरकारी वा करेसाबारीमा प्रयोग गर्न महानगरको अनुरोध गरेको थियो ।

तर, नियमित रुपमै फोहोर उठाउन सकस भएपछि महानगरले स्रोतमै फोहोर वर्गीकरण गराउने अभियानमा चासो दिएको छैन । अतिक्रममित संरचना हटाउन जोडबल गरिरहेको महानगरले फोहोर व्वस्थापनालाई उच्च प्राथमिकतामा राखेको बताएपनि फिल्डमा त्यसअनुरुपको पहलकदमी देखिएको छैन ।

अहिले नियमित रुपमा फोहोर उठेपनि स्रोतमा वर्गीकरण नभएकाले ‘मिश्रति फोहोर’ नै बञ्चरेडाँडामा पुगेको छ ।  ७ वटा वडाको केही स्थानमा मात्रै वर्गीकरण भएको फोहोर संकलन हुने गरेको काठमाडौं महानगरपालिकाको वातावारण विभागको दाबी छ ।

अब कम्पोष्टिङमा जान्छौं : महानगर

सडकमा थुप्रिएका फोहोरका कारण योजनाअनुसार वर्गीकरण गर्न नसकिएको काठमाडौं महानगरपालिकाको तर्क छ । महानगरको वातावारण तथा कृषि विभागकी उपनिर्देशक सरिता राईले लामो समयदेखि रोकिएको फोहोरले गर्दा तोकिएको मितिबाटै वर्गीकरणमा आधारित फोहोर व्यवस्थापन गर्न नसकिएको बताउँछिन् ।

‘हामीले स्रोतमै फोहोर वर्गीकरणको विषयलाई छोडेको छैनौं । सडकदेखि गल्लीसम्म फोहोरको डंगुर थियो, बल्लतल्ल उठेको छ,’ राईले भनिन् ‘केही वडामा अहिले पनि वर्गीकरण भइरहेकै छ । अब हामी छिट्टै कम्पोष्टिङमा जान्छौं ।’ फोहोर वर्गीकरण गर्न जनस्तरमा सचेततनाको पनि कमी देखिएको राई बताउँछिन् ।

महानगरपालिकाअनुसार अहिले सडकमा कतै पनि फोहोर थुपि्रएको छन् । महानगरका प्रवक्ता नविन मानन्धर काठमाडौंमा कतैपनि फोहोर जम्मा भएर नबसेको बताए ।

‘अहिले काठमाडौंको सडक, गल्ली  तथा चोक कतै पनि फोहोर जम्मा भएका छैनन् । दैनिक रुपमा फोहोर बञ्चरेडाँडा गइरहेकोले फोहोर उठेन भन्ने गुनासो आउन छोडेको छ । ‘

अब दशैंपछि कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउने तयारी भइरहेको मानन्धरको दाबी छ । मल बनाउनको लागि महानगरले योजना पनि बनाइरहेको भन्दै उनले चाडपर्वपछि कार्यान्वयन गर्ने उनले बताए ।

योजनाअनुसार फोहोर वर्गीकरण गर्न सोचेजति सहज नभएको मानन्धर बताउँछन् । ‘काठमाडौं महानगरपालिकाले मात्रै फोहोर वर्गीकरण गरेर हुँदैन, अरु स्थानीय तहले फोहोर मिसाएर बञ्चरेडाँडामा फाल्दा हामीले छुट्याएको अर्थ नै हुँदैन,’ उनले भने ।

मानन्धरका अनुसार अहिले दैनिक २ सय ५० गाडी फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा गइरहेको छ । बञ्चरेडाँडामा गएका सबै फोहोरहरुलाई दैनिक माटोले पुर्ने गरिएको छ । उनी कम्पोष्टिङमार्फत निकट भविष्यमै फोहोर वर्गीकरणमार्फत फोहोर व्यवस्थापन प्रभावकारी बनाइने दाबी गर्छन् ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?