+
+
दशैं :

हाम्रो गणतन्त्रले ‘बिरालो बाँधेर श्राद्ध’ गरिरहेको छ

बिरालो बाँधेर श्राद्धकै एक भाग हो– दशैंको टीका कार्यक्रम । आफूलाई भगवानको अवतार सम्झने राजा र जनप्रतिनिधि राष्ट्रपतिको कार्यशैली फरक नहुने गणतन्त्र कसरी जनताको शासन हुन सक्छ ?

केदार गौतम केदार गौतम
२०७९ असोज १९ गते ७:५८

एउटा घरमा बिरालो पालिएको थियो । श्राद्धको दिन बिरालाले जताततै छोएर दुःख दिन्थ्यो । त्यसैले त्यो व्यक्तिले श्राद्धको दिन बिरालोलाई थाममा बाँधेर राख्थ्यो ।

त्यो व्यक्तिको छोराले हरेक श्राद्धमा बाबुले बिरालो बाँधेको सानै उमेरदेखि देखेको थियो । तर किन बाँधेको भनेर कहिल्यै सोधीखोजी गरेन । छोरालाई लाग्यो– श्राद्ध गर्दा बिरालो बाँध्नैपर्ने रहेछ । बाबुको मृत्युपछि छोराले गाउँबाट खोजेर ल्याएर पनि हरेक श्राद्धमा बिरालो बाँध्न थाल्यो ।

यो कथा अधिकांश नेपालीलाई थाहा छ । त्यही भएर पनि होला हामी ‘बिरालो बाँधेर श्राद्ध’ गर्न खप्पिस छौं ।

हामीलाई कुनै कुराको वास्तविकता बुझ्न, सोच्नमा खासै रुचि हुँदैन । त्यो झन्झटमा फस्नु भन्दा खुरुखुरु अरूको नक्कल गर्नु हाम्रो खान्दानी विशेषता हो ।

अघिल्ला वर्षजस्तै यस वर्ष पनि राष्ट्रपति कार्यालयबाट एउटा फर्मान जारी भएको छ– राष्ट्रपतिको हातबाट दशैंको टीका ग्रहणका लागि ।

राजतन्त्रकालमा चलेको प्रथाको भद्दा नक्कल गणतन्त्रले गरिरहेको छ । हो ! यहाँ गणतन्त्रले पनि ‘बिरालो बाँधेर श्राद्ध’ गरिरहेको छ ।

राजतन्त्रकालमा राजा मालिक थिए, प्रजा दास । राजा भगवान विष्णुका अवतार थिए, प्रजा उनको भक्तिगान गाउने, उनीसँग याचना गर्ने भक्तजन ।

भगवानरूपी राजालाई खुसी पारेर वरदान स्वरूप अनेक कुरा प्राप्त गर्ने अभिलाषा भक्तजनका मनमा हुने नै भए ।

केदार गौतम

‘राजाले दिएको तेल खास्टोमा भए पनि थाप्नुपर्छ’ भन्ने उखान नेपाली समाजमा चलेकै छ ।

‘राजाले कृपा गरेर जे दिन्छन् त्यो जुनसुकै परिस्थितिमा पनि ग्रहण गर्नुपर्छ । जति दिन्छन् त्यसलाई आफ्नो भाग्य सम्झेर खुसी हुनुपर्छ’ यही मनोवृत्तिका साथ हुर्किएको समाज हो, यो ।

अलि पहिले त झन् जनताको करबाट भरिएको राज्यको ढुकुटी राजाको व्यक्तिगत सम्पत्ति बराबर थियो । त्यो ढुकुटीबाट राजा र उनका कारिन्दाले कृपाले जे–जति दिन्थे, त्यही नै थियो जनताले पाउने । सरकार पनि जनताको होइन राजाको हुन्थ्यो ।

सरकार मातहतका कर्मचारीहरू जनताले तिरेको करबाटै तलब भत्ता खान्थे तर आफूलाई राजाको नुन खाएका छौं भन्थे । उनीहरू सर्वसाधारण जनतामाथि हैकम जमाउँथे । राजाको भक्तिगान गाउँथे । माथिल्लो तहका व्यक्तिको चाकडी गर्थे ।

भगवानरूपी त्यो पदमा पुग्न उनीहरूले जन्मसिद्ध अधिकार पाएका थिए । उनीहरूले गरेका काममा प्रश्न उठाउने अधिकार कसैलाई थिएन । राजा नियम, कानुनभन्दा माथि थिए ।

१५ वर्ष अगाडि नेपालमा गणतन्त्र घोषणा भयो । राजाका ठाउँमा राष्ट्रपति आए । राष्ट्रपति कार्यपालिकाको सर्वाेच्च पद भए पनि राजाजस्तो जन्मसिद्ध पद होइन । जनताका प्रतिनिधिले चुनेका साधारण मान्छे त्यो पदमा पुग्ने हो ।

उनीहरू जनताका मालिक नभएर प्रतिनिधि मात्रै हुन् । तर गणतन्त्रले जनतालाई त्यो अनुभूति गर्न दिएको छैन । नारायणहिटीका राजा शीतलनिवास सरेको आभास गराएको छ ।

 

राजतन्त्रकालमा जहाँ राजा थिए त्यही ठाउँमा राष्ट्रपतिलाई राखिएको छ । अन्य तरिका उस्तै छ ।

पूरै बाटो बन्द गरेर हुने राष्ट्रपति सवारी होस् वा संसद्मा नीति कार्यक्रम पढ्न जाँदा हुने तामझाम । पर्व, जात्राहरूमा हुने दर्शन र सवारीमा पनि उही नक्कल छ । मतलब ‘बिरालो बाँधेर श्राद्ध’ ।

राजतन्त्रकाल त्यसो किन गरियो ? अहिले आवश्यक छ कि छैन ? गणतन्त्रले कहिल्यै समीक्षा गरेन । विष्णुको अवतार मानिएका राजा र जनप्रतिनिधि राष्ट्रपतिको व्यवहारमा के फरक हुनुपर्छ गणतन्त्रले कहिल्यै खोजेन ।

राजतन्त्रकालमा राजभक्ति देखाउन सरकारी कार्यालयका कोठा–कोठामा राजारानीका फोटा राख्ने चलन बस्यो । अहिले राजारानीका फोटा हटेर राष्ट्रपति, प्रधानमन्त्रीका फोटो झुण्डिएको देखिन्छ । के त्यो आवश्यक छ ?

गणतन्त्रको राष्ट्रपतिले ठूलो पदमा भएकै आधारमा आफूभन्दा मान्यजनलाई समेत दशैंको टीका लगाइदिने प्रथा कायम राख्नै पर्छ र ?

देशभर हजारौं कार्यालयका लाखौं कोठाहरूमा राष्ट्रपति, प्रधानमन्त्रीका फोटा झुण्ड्याउन करोडौं फजुल खर्च भइरहेको छ । गणतन्त्रका शासक, प्रशासकले त्यसको समीक्षा किन गर्दैनन् ?

बरु राजतन्त्र कालमा त एकपटक राजारानीका फोटा राखेपछि २०–३० वर्ष ढुक्कै हुन्थ्यो । अहिले त उस्तै परे एक वर्ष नपुग्दै बदल्नुपर्ने हुन्छ ।

सरकारी कर्मचारी, जनप्रतिनिधि सबैलाई राष्ट्रपतिको फोटालाई देउता थापेर मात्रै कुर्सीमा बस्नुपर्ने कानुनी बाध्यता छ र ? लोकतन्त्र यसरी व्यक्ति पुज्ने व्यवस्था हो र ?

यो राजतन्त्रकालको भद्दा नक्कल अनि बिरालो बाँधेर श्राद्ध गराई बाहेक अरू के हुन सक्छ ? ल आफूले काम गर्ने कोठा सजाउन मन लाग्यो रे, त्यहाँ आफ्ना पालिका, वडाभित्रका सांस्कृतिक सम्पदा पर्यटकीय ठाउँहरूको फोटो राख्न सकिंदैन ?

गणतन्त्रका लागि ज्यान गुमाउने शहीदको फोटो राख्न सकिंदैन ? शिक्षा, स्वास्थ्य, विज्ञान, पर्यटन, यातायात जस्ता मन्त्रालय मातहतका कार्यालयमा ती क्षेत्रसँग सम्बन्धित ऐतिहासिक फोटा राख्न सकिंदैन ? व्यक्तिकै राख्ने हो भने पनि त्यही क्षेत्रमा उच्च योगदान गरेका व्यक्तिहरूको फोटो राखे भैगो ।

तर हाम्रो गणतन्त्रले डेढ दशकसम्म पनि यी कुरामा ध्यान दिएको छैन । ‘बिरालो बाँधेर श्राद्ध’ गर्नमै रमाइलो मानिरहेको छ । बिरालो बाँधेर श्राद्धकै एक भाग हो– दशैंको टीका कार्यक्रम ।

राष्ट्रपति पद राजनीतिक हिसाबले मात्रै उच्च हो न कि ऊ उमेर, सामाजिक, सांस्कृतिक सबै कुरामा माथि हुन्छ । दशैंको टीका आफूभन्दा ठूला मान्यजनबाट लगाइन्छ । राजनीतिको ठूलो पदमा पुग्दैमा मान्छे सबैको मान्यजन भइहाल्छ ?

गणतन्त्रको राष्ट्रपतिले ठूलो पदमा भएकै आधारमा आफूभन्दा मान्यजनलाई समेत दशैंको टीका लगाइदिने प्रथा कायम राख्नै पर्छ र ?

उबेला बक्सिस् वा पदोन्नति पाउन उच्चपदस्थ कर्मचारी राजाको भक्ति र सेवाका लागि लालायित हुन्थे । प्रजाहरू राजाको हातबाट टीका लगाउन पाउँदा, उनको पाउ पर्न पाउँदा आफ्नो अहोभाग्य सम्झन्थे । के गणतन्त्रका शासकले पनि त्यही भक्ति र चाकडी चाहेका हुन् ?

आफूलाई भगवानको अवतार सम्झने राजा र जनप्रतिनिधि राष्ट्रपतिको कार्यशैली फरक नहुने गणतन्त्र कसरी जनताको शासन हुनसक्छ ? गणतन्त्रले कहिलेसम्म यसरी ‘बिरालो बाँधेर श्राद्ध’ गरिरहने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?