+
+

गाँजासँग सम्बन्धित सामान्य संघीय अपराधमा माफी दिने बाइडेनको घोषणा

उनको यो कदमले गाँजासम्बन्धि संघीय अपराधमा सजाय भोगिरहेका हजारौं अमेरिकीहरू लाभान्वित हुनेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २१ गते ७:५९

२१ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाँजासँग सम्बन्धित सामान्य संघीय अपराधमा माफी दिने घोषणा गरेका छन् ।

बाइडेनले बिहीबार एक भिडियो सन्देशमा देशको संघीय कारागारमा गाँजा सेवन र राख्ने आरोपमा थुनिएका सबै मानिसहरूलाई रिहा गर्ने घोषणा गरेका हुन् । यसअघि राष्ट्रपति चुनावको प्रचारप्रसारका क्रममा उनले उक्त निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उनको यो कदमले गाँजासम्बन्धि संघीय अपराधमा सजाय भोगिरहेका हजारौं अमेरिकीहरू लाभान्वित हुनेछन् ।

बाइडेनले गाँजा सेवन गरेको कसुरमा मात्रै कसैलाई जेल हाल्नु उचित नहुने बताए । ‘गाँजा राखेकै जेलमा परेर कैयौंको जीवन बर्बाद भएको छ,’ उनले भने, ‘गाँजा कब्जामा लिएको फौजदारी अभियोगका कारण मानिसले रोजगारी, घर र शिक्षाको अवसर पाउन सकेका छैनन् ।’

बाइडेनले आफ्नो नयाँ निर्णयले गाँजाको अवैध खरिदबिक्री, व्यापार र कम उमेरमा बिक्रीमा आवश्यक प्रतिबन्ध कायमै रहने बताएका छन् । उनले गाँजाप्रतिको गलत दृष्टिकोणका कारण धेरै जीवन बर्बाद भएकोले यो गल्ती सच्याउने समय आएको तर्क गरे ।

उनले गोरा र काला मानिसहरूले समान मात्रामा गाँजा प्रयोग गरे पनि काला मानिसलाई गोराहरू भन्दा बढी पक्राउ गरिने र सजायँ दिइने अभ्यासको पनि विरोध गरे ।

अमेरिकामा गाँजासम्बन्धि मुद्दा मतदाताको प्राथमिकतामा पर्दै गएको छ ।

डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिस र महान्यायाधिवक्ता मेरिक गारल्याण्डलाई संघीय कानुन अन्तर्गत गाँजा कसरी अनुसूचित गरिएको छ भनेर तत्काल समीक्षा गर्न जिम्मेवारी दिने बाइडेनले निर्णय गरेका छन् । अहिले अमेरिकामा गाँजालाई लागुऔषध हेरोइनकै श्रेणीमा वर्गीकरण गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?