+
+

माओवादीका यी नेता किन उठेनन् चुनाव ?

दिपेश शाही दिपेश शाही
२०७९ असोज २३ गते १७:३७

२३ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका ३ जना शक्तिशाली नेताहरूले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएनन् । उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव हरिबोल गजुरेल रसभामुख अग्निप्रसाद सापकोटा यो पटक प्रतिस्पर्धा नगर्ने भएका हुन् ।

तीनै जना नेताहरू २०६४ सालको पहिलो संविधानसभा निर्वाचनयता निरन्तर जित्दै आएका थिए । प्रमुख सत्तारुढ नेपाली कांग्रेसलगायत पाँच राजनीतिक दलको चुनावी गठबन्धनले यसपटकको जित ती नेताहरूका लागि पनि थप सहज हुनसक्थ्यो । तर, तीनै जना नेता यस पटकको चुनावी दौडबाट बाहिरिएका छन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखा युवाहरूलाई अवसर दिने पार्टी निर्णयमा सकरात्मक भएरै पार्टीको उपल्लो तहका नेताहरू चुनाव नलड्ने निष्कर्षमा पुगेको बताउँछन् ।

‘पार्टी महाधिवेशनको म्यान्डेड र नयाँ आइरहेको पुस्ताले अघि बढ्न खोजेपछि उहाँहरू छोड्न तयार हुनुभएको हो,’ सापकोटा भन्छन्, ‘पटकपटक अवसर पाइसकेको र अहिले त्यहाँको अवस्थामा आएको बदलावका कारण पनि कतिपय ठाउँमा अरू साथीहरूलाई अवसर दिँदा सकरात्मक सन्देश जाने भएकाले नेताहरू नउठ्ने कुरा भएको हो ।’

स्वास्थ्य अवस्था देखाएर बाहिरिए महरा

माओवादी केन्द्रका उपाध्यक्ष महरा रोल्पा र दाङ गरी तीनवटा क्षेत्रबाट सिफारिस भएका थिए । एउटा मात्रै चुनावी क्षेत्र भएको रोल्पामा वर्षमान पुन अनन्त चुनाव लड्दै आएकाले महरा रोल्पाबाट उम्मेदवारको टिकट लिने मनस्थितिमा थिएनन् ।

त्यसका अलवा उनले दाङका दुईवटा क्षेत्रबाट समेत सिफारिस गराएका थिए । काठमाडौंमा सत्ता गठबन्धनले चुनाव क्षेत्रका विषयमा सहमति नजुटाउँदै लामो समयदेखि दाङमा बसिरहेका महराले ०७४ सालमा एमालेको सहयोगमा आफूले चुनाव जितेको निर्वाचन क्षेत्र नम्बर २ बाट उठ्ने घोषणा मात्रै गरेका थिएनन्, चुनावी गतिविधि समेत अघि बढाइसकेका थिए ।

अन्तिम समयमा आएर उनले प्रत्यक्षबाट चुनाव नलड्ने निर्णय गरेपछि माओवादी नेता रेखा शर्मालाई पार्टीले चुनावी तयारी अघि बढाउन भनेको थियो । केही समय दाङमा बसेर चुनावी तयारी गरेका महरा एकाएक काठमाडौं आइपुगेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको सल्लाहमा उम्मेदवार नबन्ने भएसँगै उनलाई पार्टीले समानुपातिक सूचीमा राख्ने विषयमा छलफल चलेको थियो । तर, त्यस विषयमा उनी आफैं भने सुरूदेखि नै सकारात्मक नरहेको उनी निकट एक नेताले अनलाइनखबरलाई बताए ।

‘प्रत्यक्षबाट नै लड्ने भनेर जिल्ला आउनुभएको थियो । पछि आफ्नो स्वास्थ्य अवस्था र अध्यक्ष कमरेडसँगको सल्लाहमा चुनाव नलड्ने निष्कर्षमा पुगेपछि पार्टीको काम गर्छु, अरू साथीहरूलाई अघि बढाउनुपर्‍यो भन्नुभएको हो’, ती नेताले भने, ‘समानुपातिकमा बस्नुस् भनेर प्रस्ताव आउँदा पनि उहाँले त्यसो नगरौँ भन्नुभएको थियो । छलफल भएकै विषयमा पछि हल्ला भइहाल्यो । पार्टीको उच्च तहको नेता समानुपातिकमा बस्ने भनेपछि अलिकति आलोचना भयो ।’

महरा चुनाव नलड्ने मनस्थितिमा उनको स्वास्थ्य अवस्था र नयाँलाई अवसर दिनुपर्छ भन्ने पार्टी निर्णय मात्रै पूर्ण आधार भने होइनन् । स्थानीय माओवादी नेताहरूकै भनाइमा महराको अहिलेको लोकप्रियता यसअघिको जस्तो छैन । अघिल्लो संसदमा सभामुख बनेका महराको कार्यकाल सुखद रहेन ।

उनीमाथि उठेको नैतिक प्रश्न र पछिल्लो समय घटेको सक्रियताका कारण पनि उनी चुनावमा पराजित हुनसक्ने अवस्था थियो । त्यसैमा एमाले महासचिव शंकर पोखरेलसँग उनको प्रतिस्पर्धा पनि त्यति सहज थिएन । यी सबै घटनाक्रमलाई मध्यनजर गरेका महरा यसपटकको संसदीय प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।

पार्टीको निर्णय मान्न बाध्य गजुरेल

पार्टी उपमहासचिव गजुरेल पहिलो संविधानसभायता सिन्धुलीबाट निरन्तर चुनाव जित्दै आएका नेता हुन् । तर, यसपटक उनलाई पार्टी कमिटीले उम्मेदवारका लागि सिफारिस समेत गरेन । पार्टी केन्द्रले पनि उनलाई टिकट दिएन । पार्टीको यो निर्णयमा गजुरेल भने सन्तुष्ट छैनन् ।

अनलाइनबरसँगको कुराकानीमा उपमहासचिव गजुरेलले पार्टीले निर्णय गरिसकेपछि तत्काल कुनै प्रतिक्रिया जनाउने अवस्थामा नरहेको बताए । ‘पार्टीले निर्णय गरेको छ । निर्णय नै गरेपछि मान्नै प¥यो,’ उनले भने, ‘चुनावको मुखमा निर्णय चित्त नबुझे पनि अस्वीकार गर्नु भएन ।’ उनले यसपछि के गर्ने भन्ने विषयमा पार्टीका सबै तहमा सल्लाह गरेर अघि बढ्ने बताए ।

दुईवटा निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा सत्ता गठबन्धनको भागवण्डामा क्षेत्र नम्बर १ नेपाली कांग्रेस र २ माओवादीको भागमा परेको छ । गठबन्धनले निर्वाचन क्षेत्रको भागबण्डा टुंग्याउनु अगावै पार्टी कमिटीले गजुरेललाई दुवै क्षेत्रबाट सिफारिस गरेको थिएन ।

गजुरेललाई जिल्ला कमिटीले समानुपातिक पद्धतिका लागि सिफारिस गरेर पठाएपछि पार्टीले उनको नाम प्रारम्भिक सूचीमा राखेको थियो । जिल्ला कमिटीले जिल्ला इन्चार्ज राजन (लेखनाथ) दाहाललाई भने दुवै क्षेत्रबाट सिफारिस गरेको थियो । दाहालले यसअघिको निर्वाचनमा क्षेत्र नम्बर १ बाट प्रदेशसभा सदस्य जितेका थिए ।

गजुरेल सिन्धुलीबाट सिफारिसमा नपर्नु र टिकट नपाउँदा असन्तुष्ट भएर पनि मौन रहनुका पछाडि पछिल्लो समय दाहालको बढ्दो दबदबा नै मुख्य कारण रहेको नेताहरू बताउँछन् । सशस्त्र जनयुद्धका सुरुवातकालीन नेता गजुरेल अहिले पार्टी पदाधिकारी छन् भने अध्यक्ष प्रचण्डसँग निकट नेताहरू मध्ये गनिन्छन् ।

तर, स्थानीयस्तरमा दाहालले पछिल्लो समय आफ्नो पक्षमा यस्तो माहोल बनाएका छन् कि उपमहासचिव गजुरेललाई समानुपातिकका लागि पठाएर आफूलाई दुईवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारका लागि सिफारिस गराउन सफल भए । गजुरेल दुईवटै निर्वाचन क्षेत्रबाट सिफारिस समेत नभएपछि आफै पनि पछिल्लो समय खुलेर पार्टीसँग टिकटका लागि लबिङ गर्न सकिरहेका थिएनन् ।

आफ्नै भतिजाको दबावमा परेका सापकोटा

सभामुख सापकोटाले मनोनयन दर्ताको अघिल्लो दिन शनिबार मात्रै पत्रकार सम्मेलन गरेर आफू प्रतिनिधिसभाको चुनावमा उम्मेदवार नबन्ने घोषणा गरे । पत्रकार सम्मेलनमा सापकोटाले आफू चुनावी प्रतिस्पर्धामा भाग नलिनुका पछाडि युवाहरूले अवसर पाउन भन्ने उद्देश्य रहेको तर्क पेश गरेका थिए ।

‘मलाई चुनाव जित्न कुनै कठिनाइ थिएन । गठबन्धन पनि भएकाले चुनाव जित्ने निश्चित जस्तै थियो’, उनले भने, ‘तर युवाहरूकै लागि भनेर मैले यो पहलकदमी लिएको हुँ ।’

सिन्धुपाल्चोकबाट निरन्तर चुनाव जितेका सापकोटा पछिल्लो समय सभामुख हुँदा पनि जिल्लामा हुने सानातिना घटनामा चासो व्यक्त गरिरहन्थे । उनी प्राकृतिक विपत्तिमा होस् वा अन्य कुनै पनि प्रकारका स्थानीय गतिविधिमा उनको उल्लेखिय उपस्थिति हुन्थ्यो ।

पार्टीभित्र अध्यक्ष प्रचण्डसँग नजिकको सम्बन्धमा रहेका उनी पछिल्लो समय बाह्य सम्बन्ध विस्तारमा पनि उत्तिकै सक्रिय रहेका थिए । पार्टीभित्र छिमेकी शक्ति राष्ट्र चीनसँग निकट नेताहरूमध्ये सापकोटा पनि पर्दछन् ।

यतिबेला सापकोटाको चुनाव नलड्ने निर्णयलाई लिएर बाहिरबाट प्रशंसा भएपनि उनकै पार्टीभित्र भने केही नेताहरूले असन्तुष्टी व्यक्त गरेका छन् । उनले पार्टीको निर्णय भन्दा पनि आफ्नै भतिजाले सिर्जना गरेको दबावलाई झेल्न नसकेको आरोप उनीमाथि छ । कतिपय नेताहरूले त आफ्नै भतिजालाई टिकट दिएर आफू पछि हटेको आरोप समेत लगाएका छन् ।

‘उहाँले लोभ नगर्नु भएको हो कि भतिजालाई अघि सार्नु भएको भनेर झुक्याउनु भयो,’ सिन्धुपाल्चोक क्षेत्रकै माओवादीका एक नेताले भने, ‘जिल्लाभरि पार्टीका तमाम नेताहरू छन् । तर जहिल्यै उहाँले टिकट पाउने, उहाँले नपाएका उहाँका आफन्तले पाउने जस्तो भयो । अब त्यसैलाई युवा भनेर भन्ने त होला नि !’

उनले यसअघि निरन्तरन्त चुनाव जित्दै आएको सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट माधव सापकोटाले उम्मेदवारी दिएका छन् । माधव नाताले सापकोटाका भतिजा पर्छन् । माधव जिल्लामा राम्रै गरी चिनिएका नेता हुन् ।

चुनावको चर्चा सुरू भएदेखि नै उनले ‘आफूले टिकट पाउनुपर्ने’ भनेर सार्वजनिक रूपमै अभिव्यक्ति दिइरहेका थिए । पछिल्लो समय पटकपटक एउटै व्यक्तिले मात्रै सँधै अवसर पाएको भनेर समेत उनले प्रश्न उठाउने गरेका थिए । उनले २०७४ सालमा प्रदेश सभाको टिकट पाए पनि वाम गठबन्धनका कारण सिट छोड्नुपरेको थियो । अहिले उनी पार्टीको पोलिटब्यूरो सदस्य तथा जिल्ला इन्चार्जको भूमिकामा छन् ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?