+
+
सन्दर्भ– विश्व मानसिक स्वास्थ्य दिवस २०२२ :

हरेक ८ मा १ जनालाई मानसिक स्वास्थ्य समस्या

किशोर–किशोरी तथा युवाको मनको अलमल, अप्ठ्यारा एवं पीर, चिन्ता र तनावलाई सहानुभूतिपूर्वक सुन्ने संस्कारको विकास घरपरिवार, विद्यालय, कलेज, कार्यालय हुँदै समाजमा समेत गर्न जरूरी छ ।

रामलाल श्रेष्ठ रामलाल श्रेष्ठ
२०७९ असोज २४ गते १६:४४

२४ असोज, काठमाडौं । आज अक्टोबर १० । यो दिनलाई हरेक वर्ष विश्व मानसिक स्वास्थ्य दिवसको रूपमा मनाइने गरिन्छ । सधैं झैं यस वर्ष पनि विश्व स्वास्थ्य संगठनले तय गरेको ‘मेक मेन्टल हेल्थ एण्ड वेलबिइङ फर अल अ ग्लोबल प्रायोरिटी’ भन्ने नाराका साथ नेपाललगायत विश्वभरि नै यो दिवस साताव्यापी रूपमा विविध कार्यक्रम गरी मनाउन लागिएको छ ।

नेपालमा ‘हाम्रो राष्ट्रिय प्राथमिकता ः सबैका निम्ति मानसिक सुस्वास्थ्यको व्यवस्था’ भन्ने नाराका साथ संघ, प्रदेश र स्थानीय तहमा विविध कार्यक्रम गरी मनाउन लागिएको छ ।

विश्व स्वास्थ्य संगठनले जून २०२२ मा प्रकाशित गरेको तथ्यांक अनुसार विश्वमा हरेक ८ मा १ जनालाई मानसिक स्वास्थ्य समस्या हुने गरेको उल्लेख छ । विश्व स्वास्थ्य संगठनकै अनुसार आधाभन्दा बढी मानसिक स्वास्थ्य समस्या १४ वर्षभित्र सुरु हुन्छ र २४ वर्षको उमेरसम्म ७५ प्रतिशत देखिसकेको हुन्छ । १५ देखि २९ वर्ष उमेर समूहका व्यक्तिको मृत्युको दोस्रो कारण आत्महत्या पाइएको छ । ७५ प्रतिशत जस्तो आत्महत्याका घटना निम्न तथा मध्यम आयस्तर भएका देशमा हुने गरेको छ ।

राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०२० मा सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा १३ देखि १७ वर्षको उमेर समूहमा जनसंख्याको ५.२ प्रतिशत र सोभन्दा माथिका व्यक्तिहरूमा १० प्रतिशतमा कुनै न कुनै खालको मानसिक स्वास्थ्य समस्या रहेको जनाएको छ । आत्महत्याका घटनाको विश्लेषण गर्दा ८५ देखि ९० प्रतिशत जति घटना दिक्दारीपन, कडा खालको मानसिक असन्तुलन, चिन्ताजन्य समस्या लगायतका मानसिक स्वास्थ्य समस्याका कारण भएको यस क्षेत्रका विज्ञहरूले बताउने गरेका छन् ।

मानसिक स्वास्थ्यका प्रमुख कारण

क) जैविक कारण

मस्तिष्कको संक्रमण, मस्तिष्कमा गहिरो चोटपटक लागेमा, मस्तिष्कमा रक्त संचार कमि भएमा, अत्यधिक लागूपदार्थ, मादक पदार्थको दुव्र्यसनबाट मस्तिष्कमा हानि पुगेमा, शारीरिक रोग वा आघातले मस्तिष्कमा गहिरो असर पारेमा ।

ख) मनोवैज्ञानिक कारण

बाल्यकालमा मानसिक आघात (भावनात्मक, शारीरिक, यौन दुव्र्यवहार) अनुभव गरेमा, बाल्यकालमा आफूलाई अत्यन्त माया गर्ने वा जीवनको महत्वपूर्ण व्यक्ति गुमाएमा, बाल्यकालको बेवास्ता, उचित मायाममता तथा संरक्षण नपाएमा, एक्लोपन वा बेसहारा महसुस भएमा, तनाव, सामान्य अप्ठ्यारा तथा समस्या समाधान गर्ने सीपको कमि भएमा ।

ग) आर्थिक तथा सामाजिक कारण

घरेलु, शारीरिक तथा यौनजन्य हिंसा, गरिबी, बेरोजगारी, जीवन निर्वाह खर्च बढ्दै जानु, आप्रवासन, बालविवाह, सामाजिक विभेद, अपहेलना, पारिवारिक वातावरण, घरायासी झै–झगडा, तनावजन्य जीवन, परिवेश, महत्वाकांक्षामा वृद्धि, अरूको आर्थिक, सामाजिक लगायतका परिवेशसँग आफूलाई तुलना गर्ने परिपाटी, जलवायु परिवर्तनका असर आदि ।

घ) मानव सृजित तथा प्राकृतिक विपद

भूकम्प, बाढीपहिरो, राजनैतिक वा सशस्त्र द्वन्द्व, स्वास्थ्य महामारीका कारण धनजनको क्षति वा दुर्घटना भएमा ।

मनोवैज्ञानिक, आर्थिक, सामाजिक, जैविक, प्राकृतिक विपद् आदि तत्वका कारण व्यक्तिको मनका भावना, विचार वा सोचाइमा आउने विचलनका कारण व्यक्तिको भावनात्मक, संवेगात्मक, सामाजिक तथा व्यावहारिक परिवर्तन हुन्छ, जसलाई मानसिक स्वास्थ्य समस्या भनिन्छ । यस्तो समस्या भएको व्यक्तिको भावना, सोचाइ र व्यवहार सामान्य मान्छेको भन्दा फरक हुन सक्दछ ।

गरिबीको अवस्थामा रहेका व्यक्तिहरू, उपचार पाउनबाट वञ्चित तथा बेवारिसे बालबालिका, महिला (एकल, गर्भवती, सुत्केरी, घरेलु तथा लैङ्गिक हिंसाबाट प्रभावित), ज्येष्ठ नागरिक, लागूऔषध (मादक पदार्थसहित) दुव्र्यसनमा परेका व्यक्ति, अल्पसंख्यक समूहमा रहेका व्यक्ति, मानवअधिकार उल्लंघन तथा विभेदमा परेका व्यक्ति, कारागारमा सजाय भोगिरहेका व्यक्ति, द्वन्द्वबाट प्रभावित व्यक्ति तथा पूर्व लडाकु, प्राकृतिक विपदमा परेका व्यक्तिमा मानसिक स्वास्थ्य समस्याका जोखिम अन्य व्यक्तिको भन्दा बढी रहेको पाइएको छ ।

मानसिक स्वास्थ्य समस्याको कारणले व्यक्तिको दैनिक क्रियाकलाप, व्यवहार तथा सम्बन्धमा असर पुग्दछ । साथै यसका कारण मानसिक स्वास्थ्य समस्या भएको व्यक्तिको वैयक्तिक, पारिवारिक, सामाजिक, आर्थिक पक्षमा प्रत्यक्ष प्रभाव पर्दछ । शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्य एकआपसमा अन्तर्निहित सम्बन्ध राख्दछन् । मुटुरोग, मधुमेह, दमका बिरामीहरूलाई डिप्रेसन हुने सम्भावना २ देखि ३ गुणा बढी हुन्छ भने मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूमा मधुमेह, उच्च रक्तचाप, मुटुरोग सम्बन्धी समस्या, क्यान्सर जस्ता शारीरिक समस्याको सम्भावना प्रबल हुन्छ ।

मानसिक स्वास्थ्य समस्याको रोकथाम, समयमै निदान र उपचार सेवामा सबैको पहुँच नहुँदा उत्पादकत्वमा ह्रास आई परिवार, समाज तथा राज्यलाई ठूलो नोक्सानी परिरहेको हुन्छ ।

नेपालमा विगत केही वर्षदेखि मानसिक स्वास्थ्यको क्षेत्रमा केही सकारात्मक प्रयास सरकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय र शिक्षण संस्थाहरूबाट भइरहेको छ । यद्यपि यो प्रयास सम्पूर्ण जनताको मानसिक स्वास्थ्य कायम गर्न र त्यस्ता समस्या भएपछि आवश्यक पर्ने उपचारात्मक सेवा सर्वसुलभ, गुणस्तरीय र सबै जनताको पहुँचका लागि पर्याप्त छैन ।

जनस्वास्थ्य ऐन २०७५ र राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति र कार्ययोजना २०७७ ले निर्देशित गरे अनुसार यसको प्रवद्र्धन, रोकथाम र विस्तार र निरन्तरताको लागि मेडिकल डाक्टर र अन्य स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गरी हालको विद्यमान स्वास्थ्य सेवा प्रणालीमा मानसिक स्वास्थ्य सेवा एकीकृत गरी सहज, सर्वसुलभ, गुणस्तरीय र समान पहुँचका लागि संघीय, प्रदेश र स्थानीय सरकारले नेतृत्वदायी भूमिका खेल्न अत्यन्त जरूरी छ ।

स्वास्थ्यकर्मीहरूको तालिममार्फत सेवा प्रारम्भ गरिए पनि निरन्तरको सुपरभिजन र अनुगमन र औषधिको आपूर्ति नियमित नहुँदा मानसिक स्वास्थ्य सेवा त्यति प्रभावकारी हुनसकिरहेको छैन । त्यसैले मेडिकल डाक्टर र अन्य स्वास्थ्यकर्मीहरूलाई कम्तीमा पनि ३ देखि ४ पटकसम्म स्वास्थ्य संस्थामा नै गएर र अरू समयमा भर्चुअल माध्यमबाट क्लिनिकल सुपरभिजन (सुपरीवेक्षण) को आयोजना गरेर र औषधिको निरन्तर आपूर्ति गर्न सकियो भने स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवाले निरन्तरता पाउन सक्दछ । आम मानिस पनि स्वास्थ्य सेवाप्रति विश्वस्त भई नजिकैको स्वास्थ्य संस्थाबाट निरन्तर सेवा लिन्छन् ।

बालबालिका, किशोर–किशोरी तथा युवा–युवतीको मानसिक स्वास्थ्यको लागि विद्यालय वा कलेजमा मनोपरामर्श इकाइ स्थापना गर्नुपर्ने, जीवनोपयोगी सीपहरूको विकासमा जोड दिनुपर्ने, मानसिक रोग सम्बन्धी अन्धविश्वास र लगाइने लाञ्छना कम गर्न जनचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ ।

किशोर–किशोरी तथा युवाको मनको अलमल, अप्ठ्यारा एवं पीर, चिन्ता र तनावलाई सहानुभूतिपूर्वक सुन्ने संस्कारको विकास घरपरिवार, विद्यालय, कलेज, कार्यालय हुँदै समाजमा समेत गर्न जरूरी छ । यसो भयो भने उनीहरूको मानसिक स्वास्थ्यमा प्रवर्धन र रोकथाम गर्न सहयोग पुर्‍याउँदछ ।

मानसिक स्वास्थ्यको प्रवर्धन र त्यसको रोकथामको लागि जोडी समूहलगायत युवाको सीप, क्षमता अभिवृद्धि गरी परिचालन गर्न सकियो भने समग्र युवा जनसंख्या र मानसिक स्वास्थ्य समस्याको जोखिममा रहेका अन्य व्यक्तिलाई पनि यसमा योगदान पुर्‍याउन सकिन्छ ।

मानसिक स्वास्थ्यको प्रवद्र्धन र सुस्वास्थ्यको लागि व्यक्ति, परिवारका सदस्य, समाज, राजनैतिक नेतृत्व, सबै तहका सरकारमा बस्ने अधिकारी, नीतिनिर्माता, स्वास्थ्यकर्मी, सेवा प्रदायक, समाजसेवी, मिडियाकर्मी, यस क्षेत्रका विज्ञलगायत सबैको अत्यन्त महत्वपूर्ण भूमिका र जिम्मेवारी रहेको छ ।

मानसिक स्वास्थ्य कायम गर्नको लागि हामी सबैको सोचाइ, व्यवहार, कार्य, सम्बन्ध, नीतिनियममा परिवर्तन गरिनु आवश्यक छ । घरपरिवारका सदस्य, साथी, छिमेकी, अफिसका साथी, समूहका साथीसँग मिठो बोल्ने, राम्रो व्यवहार गर्ने, असल सम्बन्ध राख्ने र अप्ठ्यारोमा सहयोग गर्नेलगायत सोचाइ र व्यवहारमा परिवर्तन गर्न सकियो भने हामी सबैको मानसिक स्वास्थ्यको प्रवर्धन गर्न सक्दछौं ।

घरपरिवारमा पनि हरेक दिन बेलुकी खाना खाइसकेपछि श्रीमान्, श्रीमती, छोराछोरी र अन्य सदस्यसँग बसेर दिनभरि गरेका कामको बारेमा एकअर्कालाई जानकारी गराउनुपर्छ । एकले गरेको राम्रो काम अन्य सदस्यहरूले प्रशंसा गर्नुपर्छ । काम गर्ने सिलसिलामा केही समस्या वा तनाव भएको भए परिवारका सदस्यसमक्ष जानकारी गराउने र सहयोग लिनुपर्छ ।

भोलिको कामको विषयमा पनि छलफल गरियो भने त्यसले परिवारका सदस्यहरूबीच विश्वासिलो सम्बन्ध बनाउन सहयोग पुग्छ । परिवारका कुनै सदस्यलाई अप्ठ्यारो वा कुनै पीडा भएको छ वा कुनै सहयोगको खाँचो छ भने सहयोग गर्ने बानीको विकास हुन्छ । यसबाट समग्ररूपले मानसिक स्वास्थ्यको प्रवर्धनमा उल्लेखनीय भूमिका खेल्दछ ।

नेपालको संविधानले प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हकका साथै आधारभूत स्वास्थ्य सेवालाई मौलिक हकको रूपमा व्यवस्था गरी संवैधानिक मान्यता दिइसकेको अहिलेको अवस्थामा तीनै तहका सरकार, विश्व स्वास्थ्य संगठनलगायत अन्य विकासे साझेदार संघ–संस्थाले मानसिक स्वास्थ्य विना स्वास्थ्य सम्भव छैन भन्ने सत्यतालाई हृदयंगम गर्दै विकासको रणनीतिक लक्ष्य हासिल गर्नको लागि स्वास्थ्य, शिक्षालगायत अन्य विकासमा काममा मानसिक स्वास्थ्यलाई पनि एकीकृत गराएर लैजान जरूरी छ ।

सबैका निम्ति मानसिक स्वास्थ्यको व्यवस्थाका लागि यसलाई राष्ट्रिय प्राथमिकतामा पार्न र सोही अनुसार रणनीति, कार्यनीति, योजना बनाई र बजेट तर्जुमा गरी प्रभावकारी कार्यान्वयनमा सरकारलगायत सम्बद्ध सबै पक्षले जोड दिनुपर्ने आवश्यकता रहेको छ । यसो भएमा मात्र यस वर्ष विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा नेपालले तय गरेका नारा ‘हाम्रो राष्ट्रिय प्राथमिकता– सबैका निम्ति मानसिक सुस्वास्थ्यको व्यवस्था’ले सार्थकता पाउँछ ।

हामी सबै मानसिक रूपले स्वस्थ रहन, जीवनका सानातिना समस्या वा तनावलाई व्यवस्थापन गर्न, आफ्नो क्षमताको पहिचान गर्न र आफूलाई उत्पादनशील काममा लगाउन सक्दछौं । यस्तो अभ्यासले परिवार, समाज र राष्ट्रको लागि योगदान गर्न सक्ने स्वस्थ, योग्य, क्षमतावान र असल नागरिक बन्न सक्दछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?