+
+

कीर्तिमानी दुर्गाको माग : सीधै खेल्न दिनुस्, नेपाललाई स्वर्ण जिताउँछु

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ असोज ३१ गते १८:४५

३१ असोज, काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत ३ हजार मिटरको स्टिपल चेसमा पुरुषतर्फ दुर्गाबहादुर बुढाले कर्णाली प्रदेशलाई पहिलो स्वर्ण दिलाए ।

तर बिहान पोखरा रंगशालाको ट्रयाकमा खेल सुरु गर्नुअघिसम्म पनि दुर्गाले प्रतियोगितामा भाग लिन पाउने कि नपाउने अन्योल थियो ।  कारण आइतबार बेलुका उनीविरुद्ध गण्डकी प्रदेश, एपीएफ, त्रिभुवन आर्मी र नेपाल पुलिसले संयुक्त रुपमा उजुरी दर्ता गराएका थिए ।

दुर्गा भारतीय सेनामा कार्यरत छन् । उनले स्टिपल चेसमा भारतको राष्ट्रिय च्याम्पियनसिपदेखि भारतका लागि एसियन च्याम्पियनसिपसम्म खेलिसकेका छन् । भारतको प्रतिनिधित्व गरेर खेल्ने खेलाडी नेपालको राष्ट्रिय टिममा खेल्न उपलब्ध नहुने भएकाले उनलाई राष्ट्रिय खेलकुद पनि खेलाउन नहुने माग गरिएको थियो ।

उनले भाग लिँदा सीमित साधन स्रोतबाट तयारी गरेर राष्ट्रिय खेलकुदमा आफ्नो क्षमता प्रदर्शन गर्ने खेलाडीलाई हतोत्साहित पार्ने उजुरीकर्ताको माग थियो ।

‘मित्र राष्ट्र भारतबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व जनाउँदै आएको र गत ८औं राष्ट्रिय खेलकुदमा नेपालगञ्जमा समेत कर्णाली प्रदेशबाट सहभागी भई पदक जितेको र १३औं सागमा राष्ट्रिय टोलीको तयारीको सिलसिलामा भारतबाट प्रतिनिधित्व गर्दै खेल्ने हुँदा नेपालबाट सहभागी भएर खेल्न नसक्ने जनाएर राष्ट्रको प्रतिनिधित्व गर्न सक्नुभएन’, नवौं राष्ट्रिय खेलकुदको प्राविधिक उपसमितिलाई बुझाएको निवेदनमा लेखिएको छ ।

उनीमाथिको उजुरीका कारण सोमबार बिहान प्रतियोगिता सुरु हुन ढिलाइसमेत भयो । तर उनलाई पोखरा रंगशालाको ट्रयाकमा दौडिनबाट त्यो उजुरीले रोक्न सकेन ।

प्राविधिक उपसमितिले विदेशी टिमबाट सहभागिता जनाउनेलाई राष्ट्रिय खेलकुदमा सहभागिता गराउने वा नगराउने सम्बन्धमा प्रतियोगिताको निर्देशिकामा केही उल्लेख नभएको भन्दै दुर्गालाई सहभागिताका लागि अनुमति दिन भन्दै एथ्लेटिक्स प्रतियोगिता सञ्चालन उपसमितिलाई पत्र पठायो ।

खेलमा सहभागी हुन पाएपछि दुर्गाले उजुरीको जवाफ कीर्तिमानी स्वर्ण जित्दै दिए । उनले राजेन्द्र भण्डारीको नाममा रहेको कीर्तिमान तोड्दै नयाँ राष्ट्रिय कीर्तिमान पनि बनाए । ३३ वर्षीय दुर्गाले निर्धारित दूरी ८ मिनेट ५५.१९ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । यसअघि भण्डारीले सन् २००४ मा पाकिस्तानको इस्लामावादमा भएको दक्षिण एसियाली खेलकुद प्रतियोगितामा ८ मिनेट ५७.३० सेकेण्डमा दूरी पूरा गरेर कीर्तिमान बनाएका थिए ।

दुर्गाले २०७५-७६ मा लुम्बिनी प्रदेशमा भएको आठौं राष्ट्रिय खेलकुदमा पनि कर्णालीका लागि एक स्वर्ण र दुई रजत पदक जितेका थिए ।

सोमबार पोखरामा समेत विजेता बनेपछि दुर्गाले स्वर्ण पदक जित्छु भन्नेमा पहिल्यै विश्वस्त रहेको बताए । ‘मलाई स्वर्ण जित्छु भन्ने पहिलै थाहा थियो, पोखराको ट्रयाक राम्रो छ, मैले यहाँ आएर अभ्यास गरेको थिएँ,  यहाँको फास्ट ट्रयाक छ’ उनले भने ।

उनले आफू नेपाली भएको र नेपाली नागरिकता भएकाले नेपालको राष्ट्रिय खेलकुद खेलाउन अनावश्यक विवाद निकालिएको उनको गुनासो छ ।

‘सीधै खेल्न दिनुस् नेपालका लागि गोल्ड जित्छु’

पोखरामा पदक जितेपछि पत्रकारले उनलाई साग खेल्न किन नआएको भनेर सोधेका थिए । त्यसको जवाफमा उनले रोजीरोटीका कारण आउन नसकेको बताए ।

‘म त्यहाँ कमाउन गएको मान्छे, उहाँहरुले २ वर्ष क्लोज क्याम्प बस्नपर्छ भन्नुभयो’, उनले भने, ‘म २ वर्ष क्लोज क्याम्प बस्दिन, सिधै खेल्न दिनुस्, नेपालका लागि गोल्ड हान्दिन्छु भनेको थिएँ, क्लोज क्याम्प बस्दा मेरो बालबच्चा कसले पाल्दिन्छ ?’

दक्षिण एसियाली खेलकुद सागमा नेपालको चुनौती भारत रहेको भन्दै उनले भने, ‘भारतबाट को भन्दा मै हो, मलाई खेल्न दिनुस् भनेको थिएँ, तर पछि केही कुरा भएन र मैले भारतबाट पनि खेलिन र यताबाट खेलिन ।’

प्रशिक्षक हरि रोकायाका अनुसार जतिबेला नेपालले सागको तयारी भइरहेको थियो त्यतिबेला दुर्गाले स्वीट्जरल्याण्डमा अभ्यास गर्ने र पोर्चुगलमा खेल्ने अवसर पाएका थिए । ‘मैले नै उसलाई यहाँ नआइज अर्को खेलाडीले अवसर पाउँछ, तँ स्वीट्जरल्याण्ड जा भनेको थिएँ,’ दुर्गाका प्रशिक्षक रोकायाले भने, ‘स्वीट्जरल्याण्डमा क्लोज क्याम्प गरेर उसले त्यतिबेला पोर्चुगलमा ४४ किलोमिटर दौडमा भाग लिएको थियो ।’

दुर्गाले नेपालबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सिधै खेल्न दिन आग्रह पनि गरे । ‘मलाई खेल्न दिनुस्, भारतबाट एनओसी (नो अब्जेक्सन लेटर) ल्याएर मैले नेपालका लागि पनि खेल्न पाउँछु,’ उनले भने ‘एनओसी ल्याउने र नेपालबाट खेल्ने र गोल्ड हान्ने जिम्मा मेरो ।’

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?