+
+

‘मुलुकमा युवाले उद्यम गर्न सक्छन् भन्ने विश्वासको संकट छ’

युवासँग देशलाई बदल्ने उद्यमी सोच र क्षमता छ । तर उनीहरुसँग लगानी गर्ने पैसा छैन । राज्यको नीतिगत सहयोग पनि छैन ।

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ कात्तिक १ गते १४:१०

काठमाडौं । ११ वर्ष अघि सोल्टी होटलमा नेपाल युवा उद्यमी मञ्चको एउटा कार्यक्रम आयोजना भएको थियो । सो कार्यक्रममा सहभागी हुन आएका एकजना साथीसँग होटलको पार्किङमा रितेश लामिछानेको भेट भयो । पार्किङमा भेटिएका साथीले रितेशलाई भित्र हलमा चलिरहेको कार्यक्रमबारे बताए र उपयोगी हुने भन्दै सहभागीताका लागि आग्रह गरे । रितेश उक्त कार्यक्रममा सहभागी भए । ट्रान्सपोर्ट व्यवसायमा राम्रो सफलता कायम गरिरहेका बुबाले भनेका र कार्यक्रममा उनले सिकेके कुरा मेल खाएपछि रितेश मञ्चसँग आर्कषित भए ।

हाल करिब ८ सय संक्रिय युवा उद्यमीहरुका साझा संस्थामा पार्किङबाट छिरेका रितेश गत २२ असारमा मञ्चको केन्द्रीय च्याप्टरको अध्यक्षमा चुनिए । नेपालबाट हस्तकलाका वस्तु निर्यातको काम गर्ने लामिछाने परिवारको व्यावसायिक विरासत ६० वर्षको छ । स्काइरोड क्यारियर्स र स्काइलाइन ट्रान्सपोर्ट मार्फत बुबाले सुरुगरेको व्यावसायिक कम्पनी अहिले रितेशले हाँकिरहेका छन् ।

भारततर्फको निर्यातमा आधारित ट्रान्सपोर्ट कम्पनीहरुको साझा संस्था नेपाल क्यारियर एसोसिएसनका अध्यक्ष समेत रहेका उनी उद्योग वाणिज्य महासंघ अन्तर्गतको कमोडिटी एसोसिएसनको कार्यकारी समिति सदस्य समेत छन् ।

नेपालमा युवा उद्यमशीलताको अवस्था, सम्भावना र राज्यको भूमिकाबारे अनलाइनखबरले लामिछानेसँग कुराकानी गरेको छ । प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः

नेपालमा युवा उद्यमशीलताको अवस्था कस्तो छ ?

नेपालका युवाहरु स्वदेशमै केही गरौं भन्ने हुटहुटीमा छन् । स्वदेशमै स्वरोजगार बन्ने कुरा देश तथा आफ्नो हितका लागि महत्वपूर्ण छ भन्ने कुरा उनीहरुले बुझेका छन् । फरक-फरक क्षेत्र, भूगोल र शहरमा कतै आफ्नै बलबुँता र केही पारिवारिक सहयोगका कारण युवाहरु उद्यममा लागेका छन् । नवप्रर्वतनमा लागेका छन् ।

उद्यमको कुन-कुन क्षेत्रमा युवाको चासो देखिन्छ ?

पछिल्लो समय युवामा पारिवारिक व्यवसायको निरन्तरता, प्रविधिमा आधारित सेवा उद्योग, कृषि र पौराणिक संस्कृतिलाई आधुनिकतासँग जोडेर नयाँ नयाँ काम गर्नका लागि उत्प्रेरित छन् ।

नेपालमै केही गर्न पाए, आफू पनि विदेश जानु नपर्ने र केहीलाई विदेशजानबाट रोक्न आफ्नै भूमिका भइदिए हुन्थ्यो भन्ने सोच नयाँ युवा उद्यमीहरुमा पाएको छु । सबै भन्दा धेरै युवाको चासो र लगानीको क्षेत्र सूचना प्रविधिमा आधारित उद्यममा छ । यसले नेपालमा थप सम्भावनाको ढोका उघारीरहेको छ ।

युवालाई उद्यमी बन्न सजिलो छ ?

सूचना प्रविधिको युग भएका कारण युवाहरु पहिले भन्दा राम्रोसँग उद्यम सुरु गर्न सक्ने अवस्थामा छन् । त्यसैले सजिलैसँग युवा उद्यम सुरुवात गर्छन् । तर, टिकाउ छैनन् । नयाँ सोच र योजना स्थापित भएनन् भने सुरुवातले मात्रै अर्थतन्त्रको योगदानमा खासै अर्थ राख्दैन ।

भन्नाले कतै ग्याप छ ?

अवश्य, तपाईं या म कोही पनि युवा अहिले आफ्नो नयाँ सोच र आइडिया भएकै भरमा फाइनान्स सुविधा पाउने अवस्था छैन । जसका कारण लगानी गरेर युवा उद्यमी बन्न सक्ने वातावरण यहाँ छैन । युवालाई लगानी गर्ने भेन्चर क्यपिटल सुविधा र राज्यको नीति नहुँदा नयाँ-नयाँ सोचले फैलिने मौका पाएको छैन । समग्रमा भन्दा युवासँग यो देशलाई बदल्ने उद्यमी सोच र क्षमता छ । तर उनीहरुसँग लगानी गर्ने पैसा छैन । राज्यको नीतिगत सहयोग पनि छैन ।

तर, सरकारले त बजेटबाटै नवप्रबर्द्धन कार्यक्रम घोषणा गरेको छ ? युवा लक्षित रोजगारी, लगानीको नीतिगत व्यवस्थाका विषयहरु पनि समावेश छन् । यस्तो नीतिले युवालाई सहयोग पुग्दैन ?

राज्यले घोषणा गरेको कुरा सत्य हो । यै वर्षको बेजटमा पनि यस्ता कार्यक्रम आएका छन् । तर, जति सुन्नलाई नीतिहरु लोकप्रिय छन्, व्यवहारिक रुपमा नीतिहरु छैनन् । यसका लागि छुट्ट्याइएको बजेट अत्यन्तै न्यून छ । उद्यमका लागि युवालाई प्रशासनिक र व्यवहारिक झन्झट भोगिसाध्यै छैन ।

हामीले अहिले मेडइन नेपाल जस्ता अभियानहरु चलाइरहेका छौं । सरकारले पनि यसबारे बजेटमा बोलेको छ । तर, यो पर्याप्त छैन । यस्तै सरकारले कृषिमा सस्तो ब्याजमा ऋण सुविधा उपलब्ध गराएको छ । त्यो ऋण पाउन एउटा युवालाई यति झन्झट थोपरिन्छ कि ऊ त्यो प्रक्रियाकै कारण भाग्नु पर्ने अवस्था आउँछ ।

त्यसो भए युवा उद्यममा लाग्ने उचित बेला होइन वा छैन ?

यसलाई फरक पाटोबाट हेरिनु पर्छ । अहिले सरकारले ढुकुटीमा विदेशी मुद्राको सञ्चिति कमजोर रहेको भन्दै आयात प्रतिबन्धका कदमहरु चालिरहेको छ । यदी हामी हाम्रा उपभोगका आधारभूत वस्तुहरुको उत्पादन नेपालमै गर्न सक्ने अवस्थाका हुन्थ्यौं भने अहिले जस्तो अवस्थामा राज्यलाई कति धेरै फाइदा हुने थियो ।

देशको अर्थतन्त्रले अर्को मोडलिने थियो । यही बेला राज्यले युवालाई उत्पादनमा लगाउने बेला थियो । तर, विडम्बना यस्तो नीतिगत सहयोग छैन । अहिले अर्थतन्त्रमा देखिएको समस्या नभई अवसर हो भनेर राज्यले युवामा लगानी गर्नुपर्ने थियो । त्यो अभाव हामीले झेलेका हौं ।

सीमित स्रोत र साधनका बाबजुत पनि तपाईंहरुले युवालाई प्रेरणा दिइरहनु भएको छ । यो कति सहज छ ?

हामी देशका ७ वटै प्रदेशमा छरिएका ११ वटा फरक फरक च्याप्टरमा रहेको करिब ८ सय युवा उद्यमीहरुको संस्था हो । यो संस्था अहिले १९ वर्षको भयो । हामीले युवा उद्यमीहरुको उद्यमको योजनालाई साकार बनाउन काम गर्छौं । उद्यम गर्न चाहनेलाई बाटो देखाउने हाम्रो काम हो ।

लगानीको बाटो देखाउने, लगानीलाई बजारसँग जोड्ने, उद्योगीलाई ठूला उद्योगीसँग जोड्ने र उनीहरुलाई अर्थतन्त्रको हिस्सेदारको रुपमा उनीहरुलाई बचाउने काम गर्छौं । कहिले मेलाका, रुपमा कहिले अवार्डका रुपमा त कहिले डिनर र लन्च मिटिङहरुमा पनि लगानीकर्तालाई राम्रा अभ्यास र अनुभविहरुसँग जोड्ने काम युवा उद्यमी मञ्चले गर्छ ।

नेसनल डिलरसीप कन्फ्रेन्स, इन्टरपेयनरहरुको वर्ल्डकप जस्ता कार्यहरुबाट हामीले युवाहरुलाई सिकाउने काम गरिरहेका छौं । सहज पक्कै छैन तर हामीले काम गरिरहेका छौं । सफल नै छौं । यसलाई राज्य, निजी क्षेत्र नवउद्यमी बीच जोड्न अझै प्रयास बाँकी छ ।

तपाईं नेतृत्वमा आएपछि मञ्चले गर्न खोजेको नयाँ अभियानका रुपमा लैजान चाहेका कामहरु के–के हुन् ?

हाम्रो कार्यकाल एक वर्षको हुन्छ । यसमा मैले यसपटक मुख्यतः तीन वटा कुराहरुलाई मञ्चको प्राथमिकतामा राखेर अघि बढ्न चाहेको छु । यसका लागि आवश्यक कामहरु पनि गर्दै आइरहेको छु ।

युवालाई जिम्मेवारी, नीतिगत व्यवस्थाको सहजीकरण र उनीहरुलाई काम गरेर अर्थतन्त्र चलाउन सक्ने बनाउनु पर्छ भन्ने मान्यतामा ग्याप छ । यसले मुलुकको हित गर्दैन ।

पहिलो प्राथमिकता, उद्यम गर्ने वातावरणका लागि युवालाई मनौवैज्ञानिक रुपमा तयार गर्ने ।

दोस्रो प्राथमिकता, उनीहरुको उद्यमलाई बजारसँग जोड्ने । त्यो भनेको आर्थिक व्यवस्थापनदेखि वस्तुको बजार व्यवस्थापनसम्म ।

र तेस्रो प्राथमिकता, सरकार, निजी क्षेत्रको अहिलेको नेतृत्वदायी पुस्ता र नव उद्यमीलाई एउटै समन्वय र सहकार्यमा राखेर यस क्षेत्रलाई अघि बढाउने । यसो गर्न सकियो भने यो देशका युवा उद्यमशील हुन सक्छन् ।

भन्नाले अहिलेको नेतृत्वदायी निजी क्षेत्र र युवा पुस्ताबीच पनि खाडल छ ?

हामी मुलुकको भावी निजी क्षेत्रको नेतृत्व गर्ने सशक्त पुस्ताको रुपमा उदाउँदै गरेको युवाहरु हौं । यो बोलेको मात्रै होइन हाम्रो सदस्यहरु उनीहरुले गरेको काम हेरौं । नेपालमा मात्रै नभई हामीले अन्तर्राष्ट्रिय रुपमा नै स्थापित हुनेगरी काम गरेका छौं ।

तर, अझै पनि पुरानो पुस्तामा हामीलाई स्वीकार्न सक्ने क्षमता विकास भएको देखिदैंन । यो भनेको राज्यदेखि निजी क्षेत्रसम्म कै समस्या हो । परम्परागत रुपमा जे छ त्यसैलाई ठिक छ भन्ने मान्यता हाम्रो सरकार, निजी क्षेत्रको भयो । युवालाई जिम्मेवारी, नीतिगत व्यवस्थाको सहजीकरण र उनीहरुलाई काम गरेर अर्थतन्त्र चलाउन सक्ने बनाउनु पर्छ भन्ने मान्यतामा ग्याप छ । यसले मुलुकको हित गर्दैन ।

युवा उद्यमी मञ्चमा युवा उद्यमी बन्न चाहनेहरु कसरी जोडिन सक्छन् ?

हामी सदस्यता बढाउनका लागि संख्या थपेर मात्रै काम गर्दैनौं । सिक्न र जान्न चाहने र केही गर्न सुरु गरेका युवा हामीसँग जोडिनु सक्नुहुन्छ । उद्यम थालेको, उद्यमीले आधिकारिकता पाएको र उत्पादित भएको कुरा कम्तीमा कुनै पनि प्लेटफर्मममा देखाउन सक्ने अवस्थामा भएका साथीहरुकै यो मञ्च हो । हामी उहाँहरुलाई थप उडान भर्ने ज्ञान, लगानी, अनुभवको आदान प्रदान र उत्पादनको बजारका लागि हामीले काम गर्छौं ।

युवाले नयाँ थाल्नै पर्ने उद्यमको अभियान कुन क्षेत्रमा छ ?

पछिल्लो समय हामीले भोगेका आर्थिक समस्या भनेको ढुकुटीमा विदेशी मुद्राको कमजोर सञ्चिति हो । यसका लागि हामीलाई वैधानिक ढंगबाट विदेशी मुद्रा आर्जन गर्नुपर्छ । त्यसका लागि सबै भन्दा उपयुक्त भनेको पर्यटन र स्वदेशमै उत्पादन बढाउनु हो । हामीले पर्यटन प्रबर्द्धन हुनेगरी केही अभियानहरु गरेका छौं । त्यो भनेको पर्यटकीय क्षेत्रको उजागर हो । यसका लागि हामीले र्‍याली र पथ प्रदर्शनका कामहरु गरिरहेका छौं । यसमा अझै धेरै काम गर्नु पर्नेछ । नेपालबारे चिनाउन र त्यसको फाइदा लिन बाँकी छ ।

निकट भविष्यमै काठमाडौं च्याप्टरले स्टार्टअप अवार्ड गर्दैछ ? यो कस्तो प्रकारको कार्यक्रम हो ?

मञ्चको काठमाडौं च्याप्टरले स्टार्टअप अवार्ड गर्दैछ । अहिले यसमा सहभागितका लागि आवेदनको काम भइरहेको छ । नोभेम्बर ६ मा यसको आयोजना हुँदैछ । उत्कृष्ट १५ मध्येबाट तीन जना स्टार्टअपलाई हामीलाई पुरस्कार दिने छौं । यसको उद्देश्य भनेकै नयाँ नयाँ उद्यमी सृजनालाई उजागर गर्ने हो । उनीहरुलाई बजार र लगानीकर्तासँग जोड्ने हो । नयाँ सृजना मर्न र हराउन नपाओस् भनेर हामीले काम गरेका हौं ।

यो विस्तारै हाम्रो प्रदेश च्याप्टरहरुमा पनि सञ्चालन हुनेछन् । प्रदेश र जिल्लाहरुको नयाँ नयाँ उद्यमी सोचहरुलाई हामी स्थापित गर्न चाहन्छौं । नेपाललाई आत्मनिर्भर युवाले उठाएको अर्थतन्त्रको रुपमा विकास गर्न चाहन्छौं ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?