+
+

तारालाई २५ वर्षदेखि राष्ट्रिय खेलकुदमा लगातार स्वर्ण, ‘सन्यास’ सुन्नै मन लाग्दैन

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७९ कात्तिक १ गते २०:४६
तारादेवी पुन । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

१ कात्तिक, पोखरा । ‘कहिलेसम्म खेल्ने हो ? अब त सन्यास लिने बेला भएन र ?’

परिवारबाट सुरुदेखि नै साथ नपाएकी नेपालकी ‘स्ट्रगेष्ट वुमन’लाई साथीभाइ र गुरुहरुलेसमेत यो प्रश्न सोधेर हैरान पार्ने गरेका थिए ।

ती सबैलाई कडा जवाफ फर्काउँदै नवौं राष्ट्रिय खेलकुदमा उनै ‘स्ट्रगेष्ट वुमन’ तारादेवीले भारोत्तोलमा तीन वटा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितिन् ।

कीर्तिमानी प्रदर्शनपछि पत्रकारले उनलाई त्यही प्रश्न सोधे, ‘तपाईंले खेल छाड्ने मनस्थिति बनाउनुभएको छ ?’

मौसम र पानीका कारण सुकेको स्वरमा ताराले मुस्कुराउँदै जवाफ दिइन्, ‘हिजोआज मैले सबैभन्दा धेरै सुन्नुपरेको प्रश्न नै यही हो । तर, म सबैसँग भन्न चाहन्छु मेरो शरीरले जहिलेसम्म साथ दिन्छ, म त्यो दिनसम्म खेल्नेछु । म भारोत्तोलनबाहेक केहि सोच्न सक्दिन ।’

लगातार आइरहने सन्यासका प्रश्नर्ले खेलमा अझै राम्रो गर्न हौसला मिलेको ताराको दावी छ । करिअरको उत्तराद्र्धतिर कीर्तिमानी प्रदर्शन यसैको उदाहरण हो । ‘जसले पनि कहिले छाड्ने हो भन्छन्, यसले मलाई त उल्टो असर पो परेको छ । झन् उर्जा मिलेको महशुस गरेकी छु,’ अनलाइनखबरसँगको कुराकानीमा तारा भन्छिन् ।

४० वर्षको उमेरमा फलाम उचाल्ने खेलबाट पाएको यो सफलता उनको करिअरकै लागि पनि विशेष छ । तत्कालीन मध्यपश्चिममा भएको चौथो राष्ट्रिय खेलकुदयता लगातार स्वर्ण जित्ने एक्ली खेलाडी बनेकी छन्– तारा । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ की उनी घरेलु प्रदेशमा यो सफलता पाउनुलाई गर्व ठान्छिन् ।

८१ केजी तौलसमूहबाट प्रतिस्पर्धा गरेकी ताराले स्न्याचमा ७० र क्लिन एण्ड जर्कमा १०२ केजी भार वहन गरिन् । यो दुवै राष्ट्रिय कीर्तिमान हो । कुलमा १७२ केजी पनि नयाँ कीर्तिमान भयो । सन् २०१९ मा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुदमा लक्ष्मी वन विष्टले राखेको कीर्तिमान नेपाल पुलिसकी ताराले आफ्नो नाममा सारेकी हुन् ।

तारा १०० केजीभन्दा माथि भार उठाउने पहिलो नेपाली महिला खेलाडीसमेत हुन् । सन् २०१८ को एसियाली खेलकुदमा ७६ केजी तौलसमूहमा प्रतिस्पर्धा गरेकी ताराले क्लिन एण्ड जर्कमा १०१ केजी भार वहन गरेकी थिइन् । यसपल्ट उनले एक केजी सुधार गरी १०२ केजी उचालिन् ।

‘यसपल्ट तयारी राम्रो गरेकी थिएँ । क्लिन एण्ड जर्कमा त राम्रै गर्न सकेँ तर स्न्याचको विग्रियो । सामान्य प्रशिक्षणमै पनि मैले ७६ केजीसम्म उचालिरहेकी थिएँ,’ कीर्तिमान बने पनि प्रदर्शन चित्तबुझ्नो नभएकोमा तारालाई दुःख लागेको छ ।

महिलाको तौलसमूह नभएर पुरुषको तौलसमूहमा खेलेर भारोत्तोलन सुरु गरेकी तारा हरेक प्रतिस्पर्धामा विपक्षीको कमजोरी खोतलेर तयारी गर्ने भन्दा आफ्नो नराम्रो पक्ष सुधार गर्न व्यस्त हुने गरेको बताउँछिन् । ‘मेरो समूहमा कुन खेलाडी कस्तो छ भनेर हिसाव गरेर तयारी गर्नुभन्दा म हरेकपल्ट आफ्नै कमजोरी कम गर्ने गरी तयारी गरिरहेको हुन्छु,’ उनले भनिन्, ‘नयाँ बहिनीहरु क्षमतावान छन् । प्रतिस्पर्धा बढेको छ ।’

साढे दुई दशकमा ६ वटा राष्ट्रिय खेलकुद, शतप्रतिशत प्रदर्शन

चौथो राष्ट्रिय खेलकुदमा पश्चिमाञ्चलको भलिबल टिमबाट प्रतियोगिता खेल्न सुर्खेत पुगेकी उनी सर्वोत्कृष्ट लिफ्टरको उपाधिसहित स्वर्ण विजेता बनेर फर्किन् ।

सर्वोत्कृष्ट खेलाडीले लगत्तै नेपालमै भएको आठौं दक्षिण एसियाली खेलकुद सागमा राष्ट्रिय टिममा अवसर नपाएपछि भलिबलप्रति उनको मन मर्न थाल्यो ।

२०५८ सालदेखि उनले भारोत्तोलन प्रशिक्षण थालेकी हुन् । ‘मेरो जिउडाल र ताकत देखेपछि तेक्वान्दोकी ओलम्पियन प्रमिला थापाले मलाई भारोत्तोलन खेल्न सुझाव दिनुभएको हो,’ ताराले आफ्नो सुरुवाती दिन सम्झिन्, ‘हेरौं न त कस्तो हुँदो रहेछ भारोत्तोलन भनेर फलाम उचाल्न थालेको आज २१ वर्ष बितेछ ।’

लिफ्टर पोजिसनबाट राष्ट्रिय खेलकुदमा पहिलो स्वर्ण जितेको १० वर्षपछि आयोजित पाँचौं राष्ट्रिय खेलकुदमा पनि उनी ‘लिफ्टर’ भूमिकामा च्याम्पियन बनिन्– फलाम लिफ्टर । २०६८ मा सुदूरपश्तिम, २०७३ पूर्वाञ्चल र २०७६ मा तत्कालीन प्रदेश ५ मा आयोजित राष्ट्रिय खेलकुदमा आफ्नो तौलसमूहमा उनले स्वर्ण जितिरहिन् ।

राष्ट्रिय प्रतियोगितामा उनी त्यसयता कहिल्यै दोस्रो भएकी छैनन् । दुईवटा दक्षिण एसियाली र एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरेकी छन् ।

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?