+
+
विचार :

हाल डेंगु जस्ता प्रकोप हाम्रा वशमा छैनन्

हरेक प्रकोपले के सन्देश दिंदैछ भने हामी जति प्राकृतिक विनाश र धर्तीलाई अति दोहन गर्छौं त्यति नै हाम्रा कोठाचोटामा रहेका डेंगु, कोभिड जस्ता भाइरस आक्रोशित हुँदै मानवजातिको संहार गर्न बारबार प्रकट भइरहनेछन्।

कोमल भट्टराई कोमल भट्टराई
२०७९ कात्तिक ३ गते १०:१५

उस (रियो) लाई यो थाहा थियो– तर शहरमा खुशियाली मनाउनेहरुलाई थाहा छैन शायद पुस्तकहरु पढेका भए थाहा पाउन सक्थे। प्लेगको कीटाणु न मर्छ, न सधैं हराउँछ। त्यो वर्षौंसम्म फर्निचर तथा कपडा राख्ने आलमारीमा सुतेर बसेको हुन्छ। त्यो सुत्ने कोठामा, राखनधरन गर्ने चोटामा, बाक्सामा, किताब राख्ने तासीमा मौका ढुकेर बसेको हुन्छ। र, जब त्यो त्यहाँबाट उठ्नेछ, त्यसले मानवको विनाश गर्न र चेत फर्काउन मुसाहरुमा जोस भर्दै मानवले खुशी मनाइरहेको शहरमा मृत्यु पठाउनेछ।

–अल्वेयर कामु, प्लेग नामक उपन्यासको अन्तिम अनुच्छेद

हामीहरु कोभिड–१९ लाई पराजित गर्‍यौं भनेर खुशियाली मनाइरहेका थियौं। त्यसैबेला हाम्रो ‘चेत फर्काउन’ शहरमा लामखुट्टे दिउँसै टोक्न आइपुगेको छ। लामखुट्टेले राति टोक्छ हामीलाई थाहा थियो– त्यसबाट हामी बच्न झुल टाँगेर सुत्थ्यौं, भगाउने धुप बाल्थ्यौं। साँझ र झिसमिसे बिहान त्यसलाई घरभित्र पस्न नदिन झ्यालढोका थुन्न सक्थ्यौं।

यसपटकको लामखुट्टेले दिउँसै टोक्यो– घरभित्र मात्र होइन, घरबाहिर समेत। घरबाहिरको कुरा पर्‍यो— सखारै कारखाना जाँदै गर्दा टोक्यो कि, गोधूलिमा कार्यालयबाट फर्कंदा टोक्यो कि? क्यै थाहा पाइएन। थाहा पाइएको भए पनि घरबाहिर हामी झुल टाङ्न सक्दैनथ्यौं– भगाउने धुप––तेल धुवाउन सक्दैनथ्यौं। हामीलाई थाहा नै छ– हाम्रा कारखाना, कार्यालय र बाटाहरु कस्ता छन्। ती सबै लामखुट्टेका आरामगृह जस्ता छन्।

डेंगु हाम्रा लागि नयाँ स्वास्थ्य महामारी जस्तो लाग्छ। जबकि यो विगत ५० वर्ष यता ३० गुणाले विस्तार भइरहेको विश्व स्वास्थ्य संघले भन्छ। विश्वका सय वटा देशमा बर्सेनि स्थानीय महामारीका रुपमा प्रकट भइरहेको छ। बर्सेनि ५ देखि १० करोडसम्म यसका बिरामी हुँदारहेछन्, करिब विश्वका आधा जनसंख्या यसको खतरामा रहेछन्। यो जानकारी पनि विश्व स्वास्थ्य संघलाई थाहा छ। तर त्यसले डेंगुको खतरामा परेका हामीलाई उद्धार गर्न किन चाहेन या सकेन? प्रश्न यहाँनेर छ।

डेंगुलाई विश्व स्वास्थ्य सेवा प्रणालीले यति तिरस्कृत गरेको छ कि यसलाई नेग्लेक्टेड ट्रोपिकल डिजिज (एनटीडीएस) दर्जा दिइएको छ। यसकारण नेपालको सरकारले यसबारे ध्यान दिएन भनेर प्रश्न गर्नु बेकार हो। र, काठमाडौं उपत्यकाका महानगरपालिका र नगरपालिकालाई प्रश्न गर्नु मूर्खता हो।

डेंगु र पोथी लामखुट्टे
सन् १६३५ मा फ्रान्स अधीनस्थ मार्टिक्व र गुवाडेलपमा देखिएको डेंगु भनी शंका गरिएको प्रकोप भारतको मद्रासमा १७८० मा पहिलो पटक देखिएको थियो। यसलाई नेपालमा सन् २००४ मा एक जापानीले भारतबाट चितवन भित्र्याए र

त्यसको दुई वर्षपछि चितवनमा ३२ जना स्वास्थ्य संस्थामा दर्ता भएका थिए। अब यो पूरै देशभर विस्तार हुने क्रममा छ।

डेंगु ज्वरो डेंगु भाइरसले गर्ने संक्रमण हो। अरु भाइरसलाई ओसारपसार गर्ने काम ऐड्स प्रजातिकी पोथी लामखुट्टेले गर्छ।

ऐड्स प्रजातिकी पोथी लामखुट्टेले डेंगुका भाइरसहरु मात्र बोक्ने गर्दैन यसले अरु भाइरसहरु पनि बोक्ने गर्छ। ती हुन्– येलो फिभर भाइरस, जिका भाइरस, चिकागुना भाइरस। यो लामखुट्टेले फाइलेरियाको परजीवी पनि ओसारपसार गर्छ।
अरु प्रजातिका जस्तै एनोफिलिज र क्यूलेक्स प्रजातिका पोथी लामखुट्टेहरुले अरु रोगका कीटाणु र परजीवीहरु ओसारपसार गर्छन्।

कोमल भट्टराई

एनोफिलिज प्रजातिका पोथी लामखुट्टेले औलोको परजीवी सार्ने कुरा हामीलाई थाहा नै छ– यसले फाइलेरियाको परजीवी पनि सार्छ।

क्यूलेक्स् प्रजातिका पोथी लामखुट्टेले जापानिज इन्सेफ्लाइटिस तथा वेस्ट नाइल ज्वरोको भाइरस र फाइलेरियाको परजीवी सार्छ।

नेपालमा यी तीनै थरीका लामखुट्टेहरु पाइन्छन्। यी तीन थरीका लामखुट्टेको टोकाइबाट हुने संक्रमण–ज्वरो स्थानीय वा देशव्यापी प्रकोप बेलाबेलामा भइरहेका पनि छन्। कहिले कुनको प्रकोप हुन्छ कहिले कुनको। हालका दिनमा डेंगु फैलाउने भाइरसहरु जागेका छन् भने आगामी दिनमा औलो वा अरु संक्रमण गराउने भाइरस वा परजीवी जाग्लान्। त्यसैले हाम्रा लागि लामखुट्टे शत्रुकीट भएको छ।

लामखुट्टे मार्ने योजनाको सुरुवाती कथा
लामखुट्टे नियन्त्रण गर्ने कार्यक्रम वा अभियान विश्वले १९४० मा र नेपालले १९५४ देखि गर्दै आएको छ। डीडीटी छर्कने अभियान सन् १९६० बाट नेपालमा धुमधामका साथ सुरु भएको थियो तर डीडीटीको प्रयोगले मित्रजीवहरुको सत्यानाश र प्रदूषण हुने कुराले त्यसका विरुद्ध पश्चिमा वातावरणवादीहरु डीडीटी बन्देज गर्न अभियान चलाइरहेका थिए।

नेपालमा लामखुट्टे विनाश गर्ने योजनाको सुरुवाती कालको कथा रोचक छ। सन् १९४० को दशकमा किन बर्न नामक एक गोरा विद्युत् विभागको इन्चार्ज थिए। उनको सुझाव अनुसार देवघाट/नारायणघाटमा नारायणी नदीबाट विद्युत् निकाल्ने योजना भएको थियो। तर समस्या के पर्‍यो भने त्यो क्षेत्र पूरै जङ्गलले ढाकिएको र औलो प्रकोप हुने स्थान थियो। त्यस्तो स्थानमा गएर विद्युत् विभागका कर्मचारी बस्न सक्ने अवस्था थिएन। त्यसैले औलो महामारी चल्ने महिनामा औलो नियन्त्रण र बचावटका क्रियाकलाप गर्न डा. बि.आर. वैद्यको नेतृत्वमा अध्ययन टोली पठायो।

त्यो अध्ययन टोलीको अध्ययनबाट सिफारिस भएमा औलो नियन्त्रणका क्रियाकलापहरुका साथै विद्युत् परियोजना पूरा गर्न कर्मचारीको समूह पठाइने तय भएको थियो। त्यसपछि डा. वैद्यको नेतृत्वमा ११ जना सेना जवान, ४ वटा हात्ती तथा माहुते र तिनका पछुवा गरी ३५ जनाको टोली हेटौंडा पुग्यो। तिनीहरुको समूहले जम्मा १९१ वटा घरमा डीडीटी छर्के। समूहका ३२ जनाले झुल ओढे। कर्मचारी बस्ने ७–९ वटा घरमा दिनहुँ डीडीटी छर्कियो। हेटौंडा, पोखरिया, रातमाटे, सानोगाउँ र अमलेखगञ्ज निवासीहरुलाई हप्ताहप्ता दिनमा पलुड्रिन चक्की बचावटको मात्रामा खुवाइयो। यो नै नेपालमा लामखुट्टे र औलो नियन्त्रणका क्रियाकलापको सुरुवाती हो। (हिस्ट्री अफ मलेरिया एन्ड मलेरिया कन्ट्रोल प्रोजेक्ट इन नेपाल डा. रणकृष्ण जंग)।

यसले औलो नियन्त्रणका क्रियाकलापको सुरुवात गरे पनि देवघाट/नारायणघाटको विद्युत् परियोजना सुरु नै भएन (विस्तृत जानकारीको लागि त्यसबखतको नेपाल हेर्नुहोस्।)

औलो उन्मूलन योजना र यसको विफलता
विद्युत् परियोजना त्यसै लोप भए पनि औलो नियन्त्रण परियोजना चालु नै भयो। बरु अब नियन्त्रण होइन– उन्मूलन गर्ने उद्घोषका साथ ४ डिसम्बर १९५८ मा नेपाल औलो उन्मूलन संघ नै स्थापना भयो। यसले ८ देखि १२ वर्षमा औलो उन्मूलन गर्ने घोषणा गर्‍यो। त्यसका लागि सेनाले प्रयोग गर्ने आदेशार्थी वाक्य जस्तै फौजी अभियान चलाउने भयो जसअनुसार औलो उन्मूलन परियोजनालाई ४ चरणमा विभाजित गरियो— १. तयारी अवस्था २. आक्रमण अवस्था ३. रेखदेख अवस्था र ४. प्रतिरक्षा अवस्था ।

सामान्य स्वास्थ्य सेवाको अधिकांश बजेट यो भर्टिकल प्रोग्रामले चुस्नुसम्म चुस्यो। अझ ६० को दशकमा यस्तै बजेट चुस्ने परिवार नियोजन ल्याइयो। तर क्रमशः लामखुट्टेले डीडीटी पचाइदिए र परजीवीले क्लोरोक्विन र क्विनाइन औषधिहरु। कीटनाशक छर्दा माटो तथा पानी प्रदूषित भए भने उपयोगी कीराहरु सखाप भए। रेखदेख अवस्था पुग्दा नै महामारीको प्रकोप नियन्त्रणमा आउने लक्ष्य राखिएको भए पनि त्यस्तो हुन सकेन।

अन्तत: १२ वर्षभित्र उन्मूलनको त के कुरा प्रतिरक्षा अवस्थामा नपुग्दै यो भर्टिकल कार्यक्रमलाई सन् १९९० मा आधारभूत स्वास्थ्य सेवाभित्र विलयन गरियो। त्यसपछि सुटुक्क अर्को नाम औलो न्यूनीकरण पहलमा देखा पर्‍यो।

औलो न्यूनीकरण पहल र डेंगु
औलो न्यूनीकरण पहल भनेको औलो न्यूनीकरण गर्दै सन् २०२५ सम्ममा औलो मुक्त गर्ने र त्यसको प्रमाणपत्र विश्व स्वास्थ्य संघबाट लिने पहल हो। यसका लागि तीन वटा कार्यहरु गरिन्छन्:
१. कीटाणुनाशक टिकाउ झुल वितरण
२. वासस्थान खोज्दै कीटनाशक छर्ने र
३. आर्टेमिसिनिन सहितको औषधि उपचार।

औलोको विरुद्ध आर्टेमिसिनिन सहितको औषधि उपचार छ तर डेंगु संक्रमण निको पार्ने औषधि छैन। यसर्थ डेंगुको नियन्त्रणका लागि गर्न सकिने भनेको झुलको प्रयोग र कीटनाशक स्प्रे गर्नु हो। यसैकारण हाल डेंगु प्रकोपको बेलामा केही अभियन्ताहरु लामखुट्टेको ‘वासस्थान खोजौं र नष्ट गरौं’ नारा लगाइरहेका देखिन्छन्। यो नारा विज्ञानसम्मत छ तर यो नारा धर्तीमा लागू हुन नसक्ने अनेकन् कारण छन्– ती हुन्:

१. लामखुट्टेको स्वभाव र शक्ति अपराजित छ
लामखुट्टेको पोथीलाई अण्डा पार्न मानिस वा स्तनधारी प्राणीको रगत चाहिन्छ। यसका अण्डा लार्भा र प्युपाको वासस्थान पानी हो। वयस्क लामखुट्टेहरु झाडी झारमा बस्छन्। वयस्क लामखुट्टेको औसत उडान गति १.६ देखि २.४ किलोमिटर प्रति घण्टा हुन्छ तर ती चाँडै आफ्ना वासस्थानमा पुनः जम्मा हुन्छन्। औलो संक्रमण गराउने लामखुट्टेहरु झिसमिसे बिहान वा सन्ध्याकालीन समयमा र डेंगु लगाउनेहरु घाम लागेको दुई घण्टापछिदेखि सन्ध्याकालसम्म सक्रिय हुन्छन्।

अब के गर्नेको उत्तर मानव जातिको पृथ्वी र अन्य जीवजन्तुमाथिको क्रूर आक्रमण र दोहनसँगै खोज्नुपर्ने हुन्छ। नत्र ती अल्वेयर कामुले भने झैं ‘मौका ढुकेर बसेका छन् र, जब ती त्यहाँबाट उठ्नेछन्, तिनीहरुले मानवको विनाश गर्न र चेत फर्काउन मुसाहरुमा जोस भर्दै मानवले खुशी मनाइरहेको शहरमा मृत्यु पठाउनेछन्।’

यसबेला यसले प्राणीहरुबाट सास फेर्दा निस्केको कार्बनडाइअक्साइडलाई ७५ मिटर टाढासम्मको बास्ना थाहा पाउँछ र रगत चुस्न आउँछ। चुस्नेबेला रगत जमेर तिन्का सूँड रगतमा नटाँसियोस् भनेर रगत जम्न नदिने एक प्रकारको र्‍याल छोड्छन् यसैबेला भाइरस तथा परजीवीहरु मानिसको रगतप्रवाहमा पस्छन्।

२. झुल र धुपको घरबाहिर काम छैन
लामखुट्टेको टोकाइबाट बच्न झुल सुत्ने ओछ्यानमा टाङ्ने र धुप वा केमिकल बाल्ने गरिन्छ। तर मान्छेहरुको जिन्दगानी सुतेर मात्र र घरभित्र मात्र बसेर चल्दैन। घरबाहिर निस्कनुपर्छ। खेतबारी जानुपर्छ। पहरा फुटाउनुपर्छ। बाटो सम्याउनुपर्छ। वयस्क लामखुट्टे त्यस्तै स्थान या झार र झाडीमा बसेका हुन्छन्। झार, झाडी र पहरामा न त झुल काम लाग्छ न त धुप र मस्क्विटो रिपेल्याण्ट।

३. रसायन र स्प्रेले हावामा उड्ने लामखुट्टेलाई भेट्टाउँदैन
शत्रुकीटलाई रसायन छरेर वा स्प्रे गरेर मार्ने गरिन्छ तर घरभित्र र आँगनमा मात्र। रसायन स्प्रे करिब ०.१ प्रतिशत मात्र मार्नुपर्ने शत्रुकीटकहाँ पुग्छ भन्ने अमेरिकाको कर्नेल यूनिभर्सिटीका प्रोफेसर कीटशास्त्री स्व. डेभिड पिमेन्टेलको अध्ययनको निष्कर्ष छ। उनले त लामखुट्टे जस्ता उड्ने कीटहरुकहाँ करिब ०.०००१ प्रतिशत भन्दा कम पुग्छ भनेका छन्।

नेपालमा लामखुट्टे मार्न घर र सामूहिक बसोवास हुने स्थानमा यस्ता रसायन छर्न लागेको करिब ७० वर्ष भइसकेको छ। ती रसायनमध्ये डीडीटी लगायत कतिलाई लामखुट्टेले पचाइसकेका छन्। हाल छरिने गरिएको पाराथाइरोइड रसायनलाई पनि। खासगरी डेंगुको लामखुट्टेले पचाइसकेको अनुसन्धानकर्ता हितोषी कवाडा, डा. शिव कुमार राई र साथीहरुको अध्ययनको निष्कर्ष छ।

स्प्रे सामान्यतया दिउँसो गरिन्छ। घरभित्र अँध्यारा कोठाचोटामा र घरबाहिर झार तथा पोथ्रापोथ्रीमा। तर उड्ने कीटहरु जब रसायन स्प्रे गर्न थालिन्छ बसेका स्थानबाट उडिहाल्छन्। रसायनले कति मार्न सक्छ भन्ने कुरा स्व पिमेन्टेलको निष्कर्षबाट थाहा भइहालेको छ। त्यसमाथि यसले गर्ने क्षतिका बारे यति जाने हुन्छ– रसायन पानीमा परे त्यहाँका मित्रकीट सोत्तर हुन्छन्, ओसिलो स्थानमा बसेका मित्रकीटहरु मरेमा ती खाएर चराचुरुङ्गी नाश हुन्छन्।

४. लामखुट्टे भन्दा बाहिर पनि रहन्छन् डेंगुका भाइरस
पब मेड र अन्यको संयुक्तमा गरिएको अध्ययनले चमेरा (१०.१%), गैरमानव प्रजातिहरु (२७.३%), चराहरु(११%), भैसीका प्रजातिहरु (४.१%), कुकुरहरु (१.६%), घोडाहरु (५.१%), सुँगुरहरु (३४.१%), मुसाहरु (३.५%), कङ्गारुका प्रजातिहरु (१३%), तथा अन्य साना प्राणीहरु (७.३%), डेंगुबाट संक्रमित भएका पाइए। यसका लागि ३ हजार ८१८ वटा अनुसन्धान लेख छानिएका थिए र ५६ वटाको पुनरावलोकन गरिएको थियो। यसमा १६ हजार ३३३ वटा प्राणीको पीसीआर गरिएको थियो। यस अध्ययनले डेंगु भाइरसलाई प्राणीहरुले कति आश्रय दिन सक्छन् त्यसबारे थप खोज गर्न सुझाव दिएको छ तर चमेरा चाहिं संक्रमणबाट बढी आक्रान्त हुने बताएको छ। जे होस्– यी सबै प्राणीहरुमा डेंगु भाइरस चुपचाप बसेको छ– कुनै पनि बेला यसले लामखुट्टेलाई सुर्‍याउँदै मानवजातिमाथि आक्रमण गर्नेछ।

अब के गर्ने?
करिब ७० वर्ष भयो लामखुट्टे मार्न सकिएन बरु तराईका लामखुट्टेहरु हिमाली भागमा बसाइँ सरे। औलो ज्वरोको नयाँ औषधि आए र उपचार भइरह्यो। तर डेंगुको औषधि नै भएन। औलोको लामखुट्टेले राति टोक्थ्यो त्यसलाई झुल र धुपले रोक्न सक्थ्यो। तर डेंगुले दिउँसै टोक्दा झुल र धुप दुवै काम लागेनन्। यसरी डेंगुको संक्रमणलाई मेडिकल र ननमेडिकल दुवै तरिकाले नियन्त्रण गर्न सक्ने देखिएन। अब के गर्ने? यसको उत्तर हालको विज्ञानसँग छैन, र कुनै पनि महामारीलाई जीवमेडिकल दृष्टिबाट मात्र नियन्त्रण गर्न सकिंदैन।

यसर्थ हामीले सामाजिक विज्ञानको दृष्टिबाट यस्ता प्रकोपहरु रोक्ने उपाय खोज्नुपर्छ। हरेक प्रकोपले के सन्देश दिंदैछ भने हामी जति प्राकृतिक विनाश र धर्तीलाई अति दोहन गर्छौं त्यति नै हाम्रा कोठाचोटामा रहेका डेंगु, कोभिड जस्ता भाइरस आक्रोशित हुँदै मानवजातिको संहार गर्न बारबार प्रकट भइरहनेछन्। त्यसैले अब के गर्नेको उत्तर मानव जातिको पृथ्वी र अन्य जीवजन्तुमाथिको क्रूर आक्रमण र दोहनसँगै खोज्नुपर्ने हुन्छ। नत्र ती अल्वेयर कामुले भने झैं ‘मौका ढुकेर बसेका छन् र, जब ती त्यहाँबाट उठ्नेछन्, तिनीहरुले मानवको विनाश गर्न र चेत फर्काउन मुसाहरुमा जोस भर्दै मानवले खुशी मनाइरहेको शहरमा मृत्यु पठाउनेछन्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?