
५ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले शुक्रबार बेलुका सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा निर्वाचन शिक्षासम्बन्धी एक भिडियो अपलोड गर्यो । तर शनिबार विहान १० नबज्दै उक्त भिडियो हटायो । सुर, ताल नमिलेको, गायक गायिकाको स्वर राम्रो नभएको, समावेशी चरित्रको नभएको भन्दै सामाजिक सञ्जालमा टिप्पणी पनि भएको थियो ।
भिडियो हटाएपछि निर्वाचन आयोगले सामाजिक सजालमार्फत नै प्रष्टीकरण दिँदै परिमार्जनका लागि उक्त सामग्री हटाएको बतायो । ‘सामाजिक सञ्जाल प्रयोगकर्ताले दिनुभएको सुझावलाई सम्मान गर्दै यसअगाडि पोस्ट भएको निर्वाचन शिक्षासम्बन्धी भिडियो सामग्री परिमार्जनका लागि हटाएका छौं’ आयोगले शनिबार दिउँसो सामाजिक सञ्जालमा राखेको सूचनामा भनिएको छ ।
निर्वाचन आयोग स्रोतका अनुसार भिडियो सामग्री उत्पादनमा निर्वाचन आयुक्त नै संलग्न भएकाले उक्त विषय सार्वजनिक हुने डरले हटाइएको हो । निर्वाचन शिक्षाको कार्यक्रम सञ्चालनका लागि संस्था छनौट गर्ने भूमिकामा रहेकी निर्वाचन आयुक्त जानकी तुलाधरलेसमेत उक्त भिडियोमा आवाज दिएको स्रोतको दावी छ ।
रेडियो कार्यक्रम प्रस्तोता हेम सुवेदी र आकृति घिमिरेको स्वरमा रेकर्ड गरिएको र पछि भिडियो समेत बनाइएको निर्वाचन प्रवद्र्धन गीत आयोगले सार्वजनिक गरेको थियो । तर यो गीतमा आयुक्त तुलाधरको समेत स्वर समावेश भएको आयोग स्रोत बताउँछ ।
यो विषयमा प्रश्न उठेपछि शनिबार निर्वाचन आयोगमा आकस्मिक बैठक बसेको थियो । ‘बुझ्दै जाँदा त्यो गीतमा हाम्रै आयुक्त जानकी तुलाधरले समेत स्वर दिनुभएको रहेछ’ निर्वाचन आयोग स्रोतले भन्यो, ‘उहाँले नै आयोगको प्रवद्र्धनात्मक कामका लागि सुवेदी (हेम सुवेदी) जीलाई काम दिनुभएको रहेछ, पछि त्यो गीत त रेकर्ड गर्छु भन्न थाल्नुभएछ । कसले हुदैन भन्ने ?’
आयुक्त तुलाधर मतदाता शिक्षा केन्द्रीय संयोजन समितिकी संयोजक समेत हुन् । ‘मतदाता शिक्षा सम्बन्धी जति पनि निर्णय हुन्छ, उहाँको नेतृत्वमा हुन्छ’, आयोग स्रोतले भन्यो, ‘कार्यक्रम प्रस्तोता हेम सुवेदीलाई भिडियो बनाउने जिम्मेवारी दिने काम पनि उहाँको नेतृत्वमा भएको हो । आफ्नै नेतृत्वमा संस्था छनोट गरी फेरि आफैं त्यही संस्थामा गएर खुद्रे काम गर्नु अनुचित हो ।’
निर्वाचन आयोगको निर्वाचन प्रचारप्रसार सामग्रीको अनुगमन र संस्था छनोटको मूल्यांकनका लागि एउटा आन्तरिक संयन्त्र समेत छ । उक्त संयन्त्रमा समेत संस्था छनोटको प्रक्रियामाथि प्रश्न उठेको थियो । तर आयुक्त तुलाधरकै रुचीमा संस्था छनोट भएको र त्यो संस्थामा आयुक्तले समेत गीत रेकर्ड गर्ने योजना बनेको थाहा पाए पनि कर्मचारीहरु मौन बसेका थिए । आयोग स्रोतले भन्यो, ‘आयुक्तले नै छनौट गरेको संस्थामाथि अरुले प्रश्न उठाउने कुरै भएन ।’
शनिबार आयोगमा बसेको आकस्मिक बैठकमा के आधारमा संस्था छनोट भएको भन्ने प्रश्न उठेपछि केही कर्मचारीले आयुक्त तुलाधरको चाहना अनुसारको कम्पनी छनोट गरिएको जवाफ दिएका थिए ।
आयोग स्रोतले भन्यो, ‘भिडियोमा उहाँले स्वर दिने विषय पनि हामीलाई चित्त बुझेको थिएन, तर उहाँले नै रुची देखाएपछि हामीले बोल्ने कुरा भएन भनेर सम्बन्धित कर्मचारीहरुले जवाफ दिए ।’
विगतका निर्वाचनमा मतदाता शिक्षा सामग्री निर्माण गर्दा ख्यातीप्राप्त कलाकार वा सार्वजनिक व्यक्तित्वलाई अघि सार्ने प्रचलन थियो । सर्वसाधारणलाई निर्वाचन र मतदानप्रति उत्साहित बनाउने उद्देश्य यस्ता प्रचार सामग्रीको हुन्थ्यो ।
आयोगकै पदाधिकारीले स्वार्थपूर्वक संस्था छनोट गर्ने, चिनजानको व्यक्तिलाई काम दिने गर्न थालेपछि निर्वाचन शिक्षा कार्यक्रम विवादमा समेत परेको थियो । ३० वैशाखको स्थानीय निर्वाचनका क्रममा आयोगले निर्वाचन शिक्षा कार्यक्रमलाई धेरै जोड दिएको थिएन । तर ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भने आयोगले निर्वाचन शिक्षाका नाममा ठूलो रकम खर्च गर्न लागेको आयोग स्रोत बताउँछ ।
शनिबार आयोगमा बसेको छलफलमा मतदाता शिक्षा सामग्री बनाउँदा राष्ट्रिय स्तरमा ख्यातीप्राप्त कलाकारलाई सहभागी गराउनुपर्ने विषय उठेको थियो । आयोग स्रोतले भन्यो, ‘प्रचार सामग्री बनाउने नाममा स्रोत साधनको दुरुपयोग भएपछि चर्चित व्यक्ति बाहेकलाई यस्तो काम दिन नहुने भनी प्रश्न उठेको थियो ।’
यस विषयमा प्रतिक्रिया लिन निर्वाचन आयुक्त जानकी कुमारी तुलाधरलाई पटकपटक सम्पर्क गर्यौं । उनले यसबारेमा प्रतिक्रिया दिन पठाइएको एसएमएसको समेत जवाफ आएन ।
प्रतिक्रिया 4