+
+
अग्रपथ :

के मानिस कसै न कसैको ‘वर्चस्व’ भोग्न अभिशप्त छ ? ‘वि-वर्चस्व’ सम्भव छैन ?

राजाले संविधान मिच्थे, अब राष्ट्रपतिले संविधान मिच्छन्, त्यो कुनै उपाय हैन । यी त वर्चस्वको विरुद्ध प्रति-वर्चस्व मात्र हुन्, वि-वर्चस्व हैन । वि-वर्चस्व बेकार हुँदै हैन, बरु समस्याको एक मात्र समाधान र उपाय हो ।

डम्बर खतिवडा डम्बर खतिवडा
२०७९ कात्तिक ६ गते १०:२४

केही दिनअघि एउटा ट्वीट गरेको थिएँ- ‘राणा, शाह, पञ्च नेपालका वर्चस्व (हेजेमोनी) थिए । कांग्रेस-कम्युनिस्ट त्यसका प्रति-वर्चस्व (काउन्टर-हेजेमोनी) । वैकल्पिक राजनीति भनेको चाहिं दुवैको विरुद्ध वि-वर्चस्व (डि-हेजेमोनी) को विचार र आन्दोलन हो । सबै प्रकारका वर्चस्व अन्त्य गर्ने मिसन ।’

बौद्धिक व्यक्तित्व मानिने नेकपा (एकीकृत समाजवादी) का एक नेता डा. विजय पौडेलले टिप्पणी गरेछन्- ‘वर्गीय समाजमा वर्चस्व नहुने कुरै छैन, विना वर्चस्वको राजनीति गर्छु भन्नु बेकारको कुरा हो । वर्गीय चेतनाभन्दा बाहिरका कुरा बेकार हुन् । वर्गीय समाजमा वर्चस्व नहुने कुरा असम्भव छ ।’

हुन त पौडेलजीको यो कुनै नयाँ तर्क हैन । संसारभरिकै मार्क्सवादी तर्कप्रणाली भित्रको एक आम तर्क हो । मार्क्सवादले भन्छ- ‘वर्ग’ मानव समाजको आधार हो । ‘वर्ग-संघर्ष’ समाज विकासको प्रेरक तत्व । इतिहासको सार वर्ग-संघर्ष हो । अन्य कुरा आधेय, उपरी संरचना हुुन् ।

यो तर्क पद्धतिले वर्गभन्दा बाहिर, आर्थिक संघर्षभन्दा बाहिर सृष्टिको नियम, प्रकृतिको चरित्र र मानव स्वभावलाई अन्तरक्रियान्वित गर्दैन ।

यदि यो तर्क प्रणाली सत्य हो भने- केही गम्भीर दार्शनिक प्रश्न सबैका सामु खडा हुन्छन्, के मानिस कसै न कसैको वर्चस्व भोग्न अभिशप्त छ ? के सृष्टि र प्रकृतिको नियममा वर्चस्व र प्रति-वर्चस्व मात्रै छन्, के वि-वर्चस्वको भाव र प्रवर्गको कुनै अस्तित्व छैन ?

यदि छैन भने क्रान्ति किन र केका लागि ? न्याय, स्वतन्त्रता र समानताको नारा किन र केका लागि ? मोक्ष वा निर्वाणको अवधारणा किन र कसरी बन्यो ? मुक्ति असम्भव छ भने भ्रमको खेती किन ? किन हामी मुक्तिको लागि लड्न आहृवान गर्छौं ? मुक्तिको सपना देखाउँदै हिंड्छौं ?

कुनै बेला मित्र गोपाल देवान अविराम क्रान्तिको उपनाममा कविता लेख्थे । २०४५ सालतिर उनले एउटा छोटो कविता लेखेका थिए । ठ्याक्कै त सम्झिन्न, तर भाव सम्झिन्छु, जो यस्तो थियो ।

एउटा भोको मान्छेसामु

तिमी एउटी सुन्दरी र एक थाल भात पस्क

उसले के रोज्छ ?

सुन्दरी कि भात ?

अब भन मान्छे के खोज्छ ?

फ्रायड कि मार्क्स ?

कुनै खास वैचारिक सम्प्रदायलाई ठीक हो भनेर पुष्टि गर्न हामी यस्ता अनेक प्रभावशाली तर्क निर्माण गर्दछौं, जसले सत्यभन्दा बढी भ्रान्ति सृजना गर्दछ ।

जस्तो कि यो कवितामा कविले फ्रायड र मार्क्सलाई वर्चस्व र प्रति-वर्चस्वका रूपमा स्थापित गर्न प्रयास गरेका छन् । कविको उद्देश्य सिग्मन्ड फ्रायडको मानव जीवनको मुख्य प्रेरकतत्व ‘यौन-प्रेम’ लाई मान्ने वैचारिकीलाई चुनौती दिंदै ‘भात’ लाई मुख्य प्रेरकतत्व मान्ने मार्क्सेली वैचारिकीको प्रति-वर्चस्वलाई स्थापित गर्नु हो । यो कवितामा भात मार्क्सेली आर्थिक आधार, वर्ग र वर्ग संघर्षको प्रतीक हो भनेर बुझ्न गाह्रो छैन ।

कवितामा भोको मान्छेले सुन्दरीको साटो भात रोज्छ भन्ने स्वाभाविक अर्थ बन्छ । तर, के यो तर्क प्रणालीले मानव जीवनको मुख्य प्रेरक तत्व ‘यौन-प्रेम’ को साटो ‘वर्ग’ नै हो भन्ने तर्कलाई सत्य सावित गर्न सक्दछ ? बिल्कुलै सक्दैन ।

एक सरल तर्कबाट हेरौं- के यौन-प्रेम विना मान्छे जन्मिन्छ ? यदि यौन-प्रेम छैन भने मान्छे नै जन्मिंदैन भने भात कसका लागि किन चाहियो ? भात जन्मिने वा जन्मिएका मान्छेको भौतिक आवश्यकता हो । ‘सुन्दरी’ एक आधारभूत प्राकृतिक अस्तित्व हो । सुन्दरी/सुन्दरहरू छन् भने ‘भात’ चाहिन्छ ? नभए भात कसले किन पकाउँछ ? कसलाई किन चाहिन्छ ?

यथार्थमा पौडेलजीको ‘वर्ग’ कवि मित्र अविराम क्रान्तिको ‘भात’ जस्तै हो । त्यसले कुनै सत्यको अन्वेषण वा स्थापना गर्दैन बरु भ्रान्तिको विस्तारीकरण मात्र गर्दछ ।

कुनै वाद, विचारधारा, दर्शन वा दार्शनिकले सत्यको सिर्जना वा स्थापना गर्दैन, त्यसको अन्वेषण वा अनुसन्धान मात्र गर्दछ । सत्य आफैं अस्तित्वमा हुन्छ । सत्य स्वयं सृष्टि र प्रकृति हो । मान्छे समग्र सृष्टि वा प्रकृतिको एक प्राणी, एक सानो अंश मात्र हो । सृष्टिका सत्यहरू प्रकृतिबाट खोजेर मानव ज्ञानको क्षेत्रभित्र ल्याउनु दर्शन र विचारधाराको काम हो । तसर्थ संसारका कुनै पनि वाद, विचारधारा, दर्शन र दार्शनिक पद्धतिहरू सत्य हैनन्, ती सत्यका अंश मात्र हुन् । सत्य त स्वयं सृष्टि हो, प्रकृति हो ।

वि-वर्चस्वको आकांक्षा नै आजको पुस्ताको लोकतान्त्रिक आकांक्षा हो । यदि कसैले वि-वर्चस्वको अस्तित्व नै हुँदैन, बेकार हो भन्छ भने बुझ्नुपर्दछ, ऊ अरू कसैले खाएकोमा चिन्तित छ, त्यसबाट खोसेर आफू मात्र खान चाहन्छ । ‘ए’ को ठाउँमा ‘बी’ ले खान थाल्यो, कुनै समाधान हैन

समकालीन ज्ञान विज्ञानले मानव समाज आर्थिक आधार र अन्य उपरी संरचनाहरूको सम्बन्धमा बनेको छ भन्ने कुरा अस्वीकार गर्दछ । सृष्टिका सबै अस्तित्व ‘आधार’ र ‘उपरी संरचना’ को प्रवर्गीय सम्बन्धमा टिकेका छन् भन्ने बुझाइ आफैंमा एक भ्रम हो ।

जस्तो कि- घर पृथ्वीमा छ । घरको आधार जमिन भयो । जमिनमा जग बनाइन्छ तर धर्ती वा पृथ्वीको आधार चाहिं के हो त ? के धर्मशास्त्रहरूमा भनेझैं पृथ्वीलाई माछा वा कछुवाले बोकेका छन् भनेर मान्न सकिन्छ ? बिल्कुल सकिन्न ।

धर्ती त ग्रह हो, पिण्ड हो, स्पेशमा छ । कसैले बोकेको छैन । ग्रहहरूको गुरुत्वाकर्षण सन्तुलनले पिण्डहरू स्पेशमा आफैं छन् ।

आजको दार्शनिक ज्ञानको सार आधार वा अधिरचना सम्बन्ध हैन । अस्तित्वहरूको व्यतिकरण हो । व्यतिकरण बीचको गतिशील सन्तुलन हो । ग्रहहरू कुनै आधार वा अधिरचना हैनन् । ती परस्पर र गतिशील हुन् । तिनीहरू बीच सन्तुलन छ- गतिशील सन्तुलन । जुन दिन कुनै कारणले यो सन्तुलन भत्किन्छ, अस्तित्वको रूप वा आकार पनि नयाँ ढंगले बन्छ । नयाँ प्रकारले पुनः सन्तुलित हुन्छ ।

यस बुझाइमा मानव समाजको कुनै एक मुख्य प्रेरक हुँदैन । इतिहास भनेको ‘वर्ग-संघर्ष’ पनि हो तर वर्ग-संघर्ष मात्र हैन । यो धर्म-संघर्ष, प्रकृतिसँगको संघर्ष, सभ्यता संघर्ष, लैङ्गिक संघर्ष, ज्ञान संघर्ष, शक्ति संघर्ष सबै संघर्षको समष्टि वा गतिशील सन्तुलन हो ।

मानौं कि सृष्टिमा वर्चस्व र प्रति-वर्चस्व मात्रै छन्, वि-वर्चस्वको कुनै अस्तित्व छैन, त्यसो भए कुनै एउटा शासकलाई हटाएर अर्को शासक किन स्थापित गर्ने ? जसबाट भए पनि शोषित नै हुनु हो ? जसबाट भए पनि शासित नै हुन हो ? राणा, शाह, पञ्चले गरेको विभेद, कुशासन, भ्रष्टाचार र बेथिति नराम्रो, कांग्रेस-कम्युनिस्टहरूले गरेको कुशासन, भ्रष्टाचार र बेथिति राम्रो भन्न मिल्छ ? कि विभेद, कुशासन, भ्रष्टाचार र बेथिति जसले गरे पनि नराम्रो नै हो ? राणा, शाह, पञ्चले देशलाई शताब्दीऔं गरिबी, बेरोजगारी र अल्प-विकासमा राखे, त्यो नराम्रो, कांग्रेस-कम्युनिस्टले कायम राखेको गरिबी, बेरोजगारी र अल्पविकास चाहिं राम्रो भन्न मिल्छ ? सायद मिल्दैन ।

त्यसो हो भने सृष्टिमा वि-वर्चस्व -डि-हेजेमोनी)को अस्तित्व छ । त्यो बेकारको कुरा हैन, संभव कुरा हो । सत्य हो । मानिस कुनै न कुनै प्रकारको वर्चस्व भोग्न अभिशप्त प्राणी हैन । कहिले राणा, शाह र पञ्चहरूको अत्याचार, कहिले त्यसको साटो कांग्रेस-कम्युनिस्टहरूको बेथिति र भ्रष्टाचार यही नै नेपाली जनताको जीवनको अन्तिम सार, सत्य वा नियति हैन ।

स्वयं मार्क्सवादले वि-वर्चस्वको अस्तित्व स्वीकार गर्दछ । कुनै दिन ‘साम्यवाद’ आउँछ भन्ने स्वीकार गर्दछ । कुनै दिन, वर्गविहीन, राज्यविहीन, मुनाफाविहीन, शोषणविहीन समाज बन्छ भन्ने मान्दछ । त्यस्तो समाजको कल्पना गर्न मान्छेलाई प्रेरित गर्दछ ।

यी मान्यताहरू अस्तित्ववाचक मापदण्डमा संपरीक्षित छन्/छैनन् भिन्नै कुरा हो । तर, वि-वर्चस्व प्रक्रियाप्रतिका अभिमुखीकरण हुन् भन्न सकिन्छ ।

समकालीन विश्व चेतनाको साम्यवादसँगको विमति वि-वर्चस्व प्रक्रियाप्रतिको विमति हैन, त्यसको मार्क्सवादी-लेनिनवादी-स्टालिनवादी-माओवादी तरिका वा उपागमप्रतिको विमति हो ।

सर्वहारा वर्ग, भेनगार्ड पार्टी, त्यसका रूपमा कम्युनिस्ट पार्टी, जनवादी केन्द्रीयताका नाममा त्यसभित्रको शक्ति केन्द्रीकरण, नेतृत्व केन्द्रीकरण, गुटतन्त्र र निरंकुशताको उदय, सर्वहारा क्रान्ति र एकदलीय अधिनायकवादी व्यवस्थाको स्थापना, लालफित्ताशाही, नवीन वर्गको उदय आदि प्रतिको विमति हो ।

सन् १८४८ यता स्थापना गर्न खोजिएका मान्यता र सन् १९१७ पछिको अभ्यासले ल्याएका दुःखद परिणामप्रतिको विमति हो ।

वि-वर्चस्वको अर्थ सबै प्रकारका प्राधिकार, संस्था र मान्यताको अन्त्य हैन । त्यस्तो सोचलाई त अनार्की, अराजकतावाद भनिन्छ । वैकल्पिक राजनीतिले कल्पना गरेको वि-वर्चस्व अनार्की हैन । व्यतिकरण र गतिशील सन्तुलनमा आधारित राज्य, राजनीतिक प्रणाली, समाज व्यवस्था, अर्थतन्त्र र मानवीय आचरणको मान्यता हो ।

मानव जीवनमा ७ तत्वहरूको निरन्तर व्यतिकरण हुन्छ । ती कुनै आधार वा अधिरचना हैनन् । प्रधान वा गौण हैनन् । ती सबै बराबर जीवनमूल्य भएका तत्वहरू हुन् ।

मान्छेको व्यक्तिसत्ता उसको सार्वभौमसत्ता हो । यही तत्वले स्वतन्त्रता, समानता, न्याय र आत्मसम्मानको भाव पैदा गर्दछ । मुक्तिको अर्थ त्यही हो कि हरेक व्यक्तिले स्वतन्त्रता, समानता, न्याय र आत्मसम्मान प्राप्त गर्नुपर्दछ ।

मान्छेको दोस्रो सत्ता परिवारसत्ता हो । यो सत्ता ‘यौन-प्रेम’ मा आधारित छ । तेस्रो सत्ता समुदायसत्ता हो । यो ‘पहिचान’ मा आधारित छ । चौथो सत्ता ज्ञान सत्ता हो । पाँचौं सत्ता धन सत्ता हो । छैटौं संगठन सत्ता हो । र अन्तिम सातौं सत्ता अहंसत्ता, परमसत्ता हो ।

यी कुनै आधार हैनन्, कुनै आधेय हैनन् । कुनै प्रमुख हैनन्, कुनै गौण हैनन् ।

यीमध्ये कुनै एक चिजलाई हटायो भने मान्छे, राज्य, समाज र अर्थतन्त्र असन्तुलित हुन्छ । व्यतिकरण प्रक्रिया अवरुद्ध हुन्छ । गतिशील सन्तुलन कायम हुन सक्दैन । गति विनाको सन्तुलनले जडता ल्याउँछ । सन्तुलन विनाको गतिले दुर्घटना निम्त्याउँछ ।

वि-वर्चस्वको प्रक्रियामा उपरोक्त तत्वहरूको व्यतिकरण र गतिशील सन्तुलन अनिवार्य हुन्छ । मार्क्सवादीहरूले नबुझेको कारण यही थियो । साम्यवादी सत्ताहरूको असफलता र पतनको कारण पनि यही थियो ।

साम्यवादीहरूले मात्रै हैन, उदारवादी, नवउदारवादी वा पूँजीवादीहरूले नबुझेको कुरा पनि यही हो ।

एउटा सानो उदाहरण- कसैले एक्लै खाँदैछ, त्यो वर्चस्व हो । कसैले भन्छ कि मैले पनि खान पाउनुपर्छ, त्यसले किन एक्लै खाँदैछ, त्यो प्रति-वर्चस्व हो । तेस्रोले भन्छ- तिमी दुईले मात्रै किन, सबैले खान पाउनुपर्छ, त्यो वि-वर्चस्व हो ।

अर्को राजनीतिक उदाहरणमा हेरौं ।

राजा थियो- त्यो वर्चस्व हो । राजाको ठाउँमा राष्ट्रपति आयो तर सबै काम, आचरण र व्यवहार ठीक त्यसरी नै गर्छ, जसरी राजाले गथ्र्यो, त्यो वर्चस्व हो ।

राजाको ठाउँमा राष्ट्रपति आयो, उसका काम, व्यवहार र आचरणले राजाको झल्को दिंदैनन्, उसले फरक शैली र तरिकाबाट काम गर्दछ । फरक व्यवहार र आचरण गर्दछ, त्यो वि-वर्चस्व हो ।

वि-वर्चस्वको आकांक्षा नै आजको पुस्ताको लोकतान्त्रिक आकांक्षा हो । यदि कसैले वि-वर्चस्वको अस्तित्व नै हुँदैन, बेकार हो भन्छ भने बुझ्नुपर्दछ, ऊ अरू कसैले खाएकोमा चिन्तित छ, त्यसबाट खोसेर आफू मात्र खान चाहन्छ । ‘ए’ को ठाउँमा ‘बी’ ले खान थाल्यो, कुनै समाधान हैन ।

राजाले संविधान मिच्थे, अब राष्ट्रपतिले संविधान मिच्छन्, त्यो कुनै उपाय हैन । यी त वर्चस्वको विरुद्ध प्रति-वर्चस्व मात्र हुन्, वि-वर्चस्व हैन । वि-वर्चस्व बेकार हुँदै हैन, बरु समस्याको एक मात्र समाधान र उपाय हो ।

संघीयताको बारेमा पनि ठीक यही सिद्धान्त लागू हुन्छ- कुनै खास जाति वा भाषिक, सांस्कृतिक समुदायको वर्चस्वलाई तोडेर अर्को कुनै जाति वा भाषिक सांस्कृतिक समुदायको वर्चस्व स्थापित गर्नु संघवाद हैन ।

बरु सबै जाति, भाषा, धर्म, संस्कृति र समुदायको वर्चस्वलाई समाप्त गरी सबैको बराबर हैसियत स्थापित गर्नु वि-वर्चस्व हो ।

मानिस कसै न कसैको वर्चस्व भोग्न बाध्य वा अभिशप्त प्राणी हैन । वि-वर्चस्व सम्भव मात्र हैन, अपरिहार्य आवश्यकता हो । राजनीतिको ‘वि-वर्चस्व’ विना लोकतान्त्रिक राज्यप्रतिका अपेक्षा पूरा हुन सम्भव नै छैन ।

लेखकको बारेमा
डम्बर खतिवडा

राष्ट्रिय राजनीतिमा सशक्त कलम चलाउने राजनीतिक विश्लेषक डम्बर खतिवडाको नियमित स्तम्भ 'अग्रपथ' हरेक आइतबार प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?