+
+

खगेन्द्र संग्रौलालाई बन्दुक पड्काउन सिकाउने ती खगेन्द्र

गुरुङले गाउँमा दुःख पाएका केटा जम्मा पारेर क्रान्तिमा लैजान हौस्याए । तर संग्रौलालाई चस्का पसेछ: यी कस्ता औतारी हुन्, दरबारका लागि पनि काम गर्छन्, क्रान्तिका लागि पनि ।

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ७ गते १४:२४

७ कात्तिक, काठमाडौं । एकातिर क्रान्तिको मखमली सपना, अर्कातिर मन परेकी तरुनीको चक्कर । खगेन्द्र संग्रौला यिनै दुई लफडाको अक्करमा अड्केका थिए । केटीको घरमा अब बिहे गर्ने दबाब सुरु भयो । उनी केटीबाट यसै व्यहोराको चिठी पाएर शब्दकोषको अप्ठेरो शब्द भइबसेका थिएः किंकर्तव्यविमूढ ।

उज्ज्वल प्रसाई लिखित किताब ‘एक बागी : खगेन्द्र संग्रौलाको साधना र संघर्ष’ मा बकिएअनुसार ‘बिनु’ को प्रेममा घायल भएर हेडमास्टर खगेन्द्र संग्रौला लमजुङ खुदीको स्कुलमा पढाउँदै थिए । खुदी गाउँमा पढाउँदैगर्दा तिनको काम रहेछ– दिउँसो सरकारी पाठ्यक्रम पढाउनु, साँझ सरकारको विरोध गर्नु । गणतन्त्रकै सरकारलाई लखेट्न नछाड्ने लेखक संग्रौलाले पञ्चायतलाई झन् कसो गरे होलान् ?

तर प्रेममा परेको मानिसमा धेरथोर नरमपना छिपेकै हुन्छ । संग्रौला पनि नरमकरम मानिस नै थिए, अर्का खगेन्द्र नभेट्दासम्म ।

ती मानिसको नाम हो, खगेन्द्रजंग गुरुङ, जो राजसभा स्थायी समिति सदस्य बने । दुईपल्ट सहायक मन्त्री भइसकेका थिए । गाउँबाट काठमाडौं आउजाउ गर्दा एउटा लाठेलाई राइफल बोकाउँथे । राजा महेन्द्रसँग राम्रै हिमचिम रहेको दाबी गर्थे । पछि दरबारसँग केमा कुरो मिलेन, उनी समातिए ।

त्यसभन्दा अघि उनले गुरुङहरूको तमु दस्ता बनाएका थिए । त्यसले मातृका प्रसाद कोइराला प्रधानमन्त्री छँदा बेलाको रक्षा दलसँग मुकाबिला नै गरेको थियो । यस्तो जंगी पृष्ठभूमि थियो गुरुङको ।

खगेन्द्र संग्रौलाको दृष्टिमा अर्का खगेन्द्र अर्थात् खगेन्द्रजंग गुरुङको जीवनमा संगति मिलेको थिएन । प्रसाईकृत ‘एक बागी : खगेन्द्र संग्रौलाको साधना र संघर्ष’ पुस्तकमा लेखिए अनुसार गुरुङ एकातिर पञ्चायती दरबारको पैरवी गर्थे, अर्कातिर विद्रोहबाट समाजमा आमूल परिवर्तन ल्याउने कुराको । उसो त पुस्तक पढ्दा स्वयं संग्रौलाकै जीवन पनि के के नमिलेजस्तै देखिन्छ । सरकारी जागिर खाएर जीवन चलाउनु छ । सरकार ढाल्न मिनेट–मिनेट लाग्नु छ । माओ त्सेतुङका रेडबुकका शिक्षा प्रचार गर्नु छ । मन परेकी मायालुको सम्झना मनैमा राखेर हिँड्नु छ ।

चित्तको यही क्षुधा शान्त पार्न गुरुङकहाँ गइराख्थेछन् संग्रौला । उनी त्यहाँ गइराख्ने कारण थिए : किताबहरू । घरमा टन्नै राखिएका किताब पढ्ने लोभले संग्रौला जाँदारहेछन् ।

अब गुरुङले क्रान्तिका कुरा मात्रै गर्न छुट दिएनन् । खुद क्रान्ति गर्न उक्साए । उनीसँग बन्दुक थियो ।

प्रसाईंले पुस्तकमा लेखेका छन्: ‘हात्ती आमाले गाउँलेले भनेका कुरा संग्रौलालाई सुनाइन्– यी तीन खगेन्द्र भएर गाउँ पूरै बर्बाद बनाउने भए । यिनीहरू मान्छेलाई उचालेर यहाँ खैलाबैला मच्चाउन खोज्दैछन् ।’ तेस्रा खगेन्द्र र हात्तीआमाबारे छुट्टै सप्रसंग व्याख्या आवश्यक पर्छ ।

हुँदाहुँदा अब त क्रान्ति हुने नै भयो । क्रान्ति आखिर भोजभतेर त होइन ।

उज्ज्वल प्रसाई आगामी आइतबार सार्वजनिक हुन लागेको आफ्नो पुस्तकमा लेख्छन्: ‘रैथाने खगेन्द्रले बाहिरिया खगेन्द्रलाई क्रान्ति गर्नका लागि बन्दुक पड्काउन सिक्नैपर्छ भनेर खोलाको एकान्तर बगरमा लिएर गए । क्रान्तिका कुरामात्रै गर्न केही अप्ठेरो थिएन । रेडबुक बाँड्न पनि कसैले रोक्दैनथ्यो । गरिब किसानलाई एकफेट भएर लड्ने सपना देखाउनु पनि उति गाह्रो काम थिएन । तर, गुरुङ खगेन्द्र बन्दुक बोकेर बगरतिर हिँडेपछि संग्रौला खगेन्द्रको मनमा चिसो पस्यो ।’

पुस्तकका अनुसार संग्रौलालाई पटक पटक थर्कमान बनाउने गरी गुरुङले ठुइँठुइँ बन्दुक पड्काए । बगरमा उनले बन्दुक समाउने, निसाना ताक्ने, घोडी तान्ने तरिका सिकाए । आफैंले पड्काएर देखाए । अनि उसैगरी पड्काउन लगाए । संग्रौला आत्तिएको देखेपछि गुरुङले आफ्नै श्रीमतीलाई समेत बन्दुक पड्काउन सिकाएको सुनाएर उक्साएछन् । अनि माओको उक्ति सम्झाएर सैद्धान्तिक लेप लगाएछन्: राज्यसत्ता बन्दुकको नालबाट जन्मिन्छ ।

श्रीमती सम्झे पनि, माओ सम्झे पनि, या भनुँ खगेन्द्रकी प्रेमिका बिनु नै सम्झे पनि बन्दुक अब निर्विकल्प हुने भयो । भाग्ने कुनै ठाउँ भएन ।

डरसरी भएर पसिनाले ल्याफ्फै भिजेछन् संग्रौला । यसोउसो पड्काइहेरे । खोलापारि जंगलतिरका चरा उड्ने गरी त्यो पड्कियो ।

त्यो दिन त्यसै बित्यो । खगेन्द्रहरु आ-आफ्ना घर गए ।

गुरुङले गाउँमा दुःख पाएका केटा जम्मा पारेर क्रान्तिमा लैजान हौस्याए । तर संग्रौलालाई चस्का पसेछ: यी कस्ता औतारी हुन्, दरबारका लागि पनि काम गर्छन्, क्रान्तिका लागि पनि ।

बन्दुक पड्काउन फेरि बगरमा जाउँ भनी गुरुङले हौस्याउँदा हेडमास्टर संग्रौलाले ‘जाने, गर्ने, आँ, उँ’ भन्दै टारटुर पार्न थालेछन् । त्यसपछि गुरुङले साथीभाइबीच भनेछन्, ‘क्रान्तिका गफ गर्ने, तर काम गरेर देखाउँ भन्दा पछि हट्ने । त्यो संग्रौलो काम लाग्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?