+
+

औलो, डेंगु र कालाज्वर हिमालतिर फैलँदै

जलवायु परिवर्तनका कारण तराईको कीटजन्य औलो (मलेरिया), डेंगु, कालाज्वरलगायत रोगहरू गर्मी ठाउँबाट पहाड एवं हिमालतिर सरिरहेका छन् । यसले यी रोग नियन्त्रणमा चुनौती थपिएको छ ।

डा. चुमन लाल दास, प्रमुख, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा डा. चुमन लाल दास, प्रमुख, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा
२०७९ कात्तिक ११ गते १८:२२

पछिल्लो समय कीटजन्य रोगहरू फैलिरहेका छन् । अहिले डेंगु, मलेरिया, हात्तीपाइले, कालाज्वर, चिकनगुनिया, डेंगु, स्क्रब टाइफसलगायतका कीटजन्य रोग बढी रिपोर्टिङ हुने गरेका छन् । त्यसमध्ये कालाज्वर, मलेरिया, हात्तीपाइले रोगहरू निवारणको चरणमा छन् । मलेरिया रोग निवारण गर्न एक किसिमको रणनीतिक कार्यक्रम चलाइरहेका हुन्छौं, त्यसको ठीक विपरित यी रोगहरू हिमालका जिल्ला वा वर्षौंसम्म नदेखिएका जिल्लामा पुनः दोहोरिरहेका छन् ।

केही वर्ष अगाडिसम्म सीमित ठाउँमा देखिंदै आइरहेको मलेरियाको संक्रमण फरक ठाउँमा पनि देखिनुमा दुई मुख्य कारण मान्न सकिन्छ । पहिलो आयातित भएर, दोस्रो स्थानीय केस वर्षौंपछि पनि देखिएर । अघिल्ला वर्ष नदेखिएका जिल्लामा यस वर्ष धेरै जिल्लामा मलेरियाको केस देखिएको छ ।

कीटजन्य रोग फैलिनुको कारण जलवायु परिवर्तन मुख्य हो । जलवायु परिवर्तनले मानव स्वास्थ्यमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रभाव पार्ने गर्छ । जलवायु परिवर्तन भनेको तापक्रम बढ्दै जानु, अस्वाभाविक रूपले वर्षा हुनु र बाढी आउनु, शीतलहर जस्ता प्राकृतिक परिवर्तन हुनु हो ।

यो परिस्थितिमा कालाज्वरलाई हेर्दा यो तराईबाट पहाड र पूर्वबाट पश्चिम फैलिएको छ । हात्तीपाइले रोगलाई सन् २०३० सम्ममा निवारण गर्ने लक्ष्य लिएका छौं । अहिले जिल्लामा फैलिरहेको हात्तीपाइले रोग निवारण गर्नका लागि पनि अझै वर्षौं लाग्ने भएकाले ठूलो चुनौती छ । अहिलेसम्म कपिलवस्तु, मोरङ, झापा हात्तीपाइलेबाट प्रभावित छन् ।

हात्तीपाइले रोग निवारण गर्न नसक्नुमा नागरिकहरूले औषधि सेवन गर्न नमान्नु हो । त्यसैगरी, मलेरिया आयातित बढ्नु हाम्रो लागि चुनौती हो । अहिले कालाज्वर बढी बालबालिकामा देखिन थालेको छ । अध्ययन, अनुसन्धान नभएको हुनाले यही नै कारणले भएको हो भन्न सकिने अवस्था छैन । यसका लागि थप अध्ययन, अनुसन्धान हुन जरूरी छ

कीटजन्य रोग डेंगु अपेक्षा नगरेको हिसाबले फैलिरहेको छ । डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेपछि हुने हुन्छ । सामान्यतः एडिस एजेप्टाई शहरी बस्तीमा बस्ने गर्छ । पहिले एडिस एल्वौपेक्टस झाडी तथा जंगलमा पाइन्थ्यो । तर, यो प्रजातिको लामखुट्टेको बसोबास क्षेत्रमा परिवर्तन आएको छ ।

हामीले हालसालै काठमाडौं, ललितपुर र दाङमा केही नमुनामा अध्ययन गरेका थियौं । त्यस अध्ययनमा एडिस एल्वौपेक्टसका प्रजाति प्रशस्त मात्रामा भेटिएको छ । काठमाडौं उपत्यकामा एडिस एल्वौपेक्टसका प्रजाति पाइन्छ भन्ने अनुमान गरेका थिएनौं । तर, उपत्यकाका जिल्लामा प्रशस्त मात्रामा यो प्रजाति भेटियो ।

यसले डेंगुको जीवाणुमा केही परिवर्तन आइरहेको देख्न सकिन्छ । त्यसैगरी, पहिलेदेखि नै फाट्टफुट्ट देखिने यो रोग वर्षात् शुरू भएदेखि यस वर्ष प्रकोपकै रूपमा देखियो । कालाज्वर, मलेरिया, स्क्रब टाइफस तथा डेंगुलाई हिमाली क्षेत्र जानुको कारण ‘भेक्टर’को व्यवहार परिवर्तन हुनु हो ।

त्यसैगरी, जापानिज इन्सेफ्लाइटिस पनि चितवन, हेटौंडा, नवलपरासीतिर फैलिरहेको छ । कीटजन्य रोगहरू तराईबाट हिमाल चढ्ने मात्रै होइन, निवारण भइसकेको जिल्लामा पनि पुनः संक्रमण देखिनु हाम्रो लागि चुनौती हो । उदाहरणकै लागि कपिलवस्तुमा हात्तीपाइलेको औषधि खुवाएको हामीले झण्डै दुई दशक पुग्न लागिसकेको छ । तर यहाँ यो अझै फैलँदो क्रममा छ ।

तराईको कीटजन्य औलो (मलेरिया), डेंगु, कालाज्वर लगायतका रोग जलवायु परिवर्तनका कारण गर्मी ठाउँबाट पहाड एवं हिमालतिर सरिरहेका छन् । यसले गर्दा रोग नियन्त्रणमा चुनौती थपिएको छ । पहाडी र हिमाली क्षेत्रमा पनि ‘भेक्टर डिजिज’ का लागि वातावरण बन्न थालेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा सबै ‘भेक्टर’को सँगै हुने गरी सर्भिलेन्स गर्ने तयारीमा छ । अहिलेका लागि सर्भिलेन्स गर्न पनि कीटरोग विशेषज्ञको सरकारी दरबन्दी नहुँदा चुनौती देखा परेको हो । कुन-कुन ‘भेक्टर’ कुन क्षेत्रमा सर्भिलेन्स भएपछि प्रष्ट पार्न सकिन्छ । यद्यपि, हामीले केही भेक्टर समय-समयमा सर्भिलेन्स गर्दै आएका छौं ।

जलवायु परिवर्तनदेखि अन्य कारणले गर्दा उच्च भूभागमा तापक्रम बढिरहेको छ भने वषर्ाको दरमा समेत परिवर्तन भइरहेको छ । जसका कारण यस वर्ष डेंगुले सबै जिल्ला प्रभावित बनायो । डेंगु फैलिनुको मुख्य कारण फोहोरमैलाको उचित व्यवस्थापन नहुनु, गाडीका टायरहरू जथाभावी फालिनु, घरमा गमलाको प्रयोग बढिरहँदा लामखुट्टेले कति फुल पारेको छ र कसरी रोकथाम गर्ने भन्ने ज्ञानको अभाव हुनु, गमलाको पानी बारम्बार परिवर्तन गर्नुपर्छ भने ज्ञानको अभाव हुनुलगायतले समस्या भइरहेको छ ।

यसलाई कम गर्ने भनेको लामखुट्टेले जहाँ फुल पार्छ, त्यसलाई नष्ट गर्ने नै हो । त्यसका लागि स्थानीय सरकार, नगरपालिका र व्यक्ति आफैं सजग भएर घर-घरबाट सरसफाइ तथा ‘खोज तथा नष्ट गर अभियान’ सुरु गर्नु आवश्यक छ । अनुसन्धानले देखाएका सबै ठाउँमा यस्ता कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ ।

हाम्रो समाजमा अझै पनि गलत बुझाइहरू कायमै छन् । सुत्ने बेलामा झुल प्रयोग गरेमा सुरक्षित भइहालिन्छ भन्ने सोच छ । डेंगु सार्ने लामखुट्टेले दिउँसोको समयमा टोक्ने गर्छ । तर, दिउँसो मानिसले त्यति ध्यान दिएको हुँदैन ।

पहिलेको अनुसन्धानले देखाएको छ कि, डेंगुबारे धेरै मानिसले सुनेका छन् । तर कसरी त्यसबाट बच्ने भन्नेबारे थाहा छैन । यो जानकारी सबैमा पुर्‍याउनु आवश्यक छ । अहिलेसम्म हामीले केस देखिएपछि मात्रै सर्भिलेन्स गरेका छौं । तर, यसमा अनुसन्धानमै केन्दि्रत भएर सर्भिलेन्स गर्नुपर्ने आवश्यकता छ ।

हात्तीपाइले रोग निवारण गर्न नसक्नुमा नागरिकहरूले औषधि सेवन गर्न नमान्नु हो । त्यसैगरी, मलेरिया आयातित बढ्नु हाम्रो लागि चुनौती हो । अहिले कालाज्वर बढी बालबालिकामा देखिन थालेको छ । अध्ययन, अनुसन्धान नभएको हुनाले यही नै कारणले भएको हो भन्न सकिने अवस्था छैन । यसका लागि थप अध्ययन, अनुसन्धान हुन जरूरी छ ।

(इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. दाससँग अनलाइनखबरकर्मी पुष्प चौलागाईंले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?