+
+

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिममाथि गण्डकीको प्रभावशाली विजय

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १४ गते १७:०१

१४ कात्तिक, काठमाडौं । कप्तान विपिन खत्रीले उत्कृष्ठ बलिङसहित ४ विकेट लिँदा प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेटमा गण्डकी प्रदेशले सुदूरपश्चिममाथि ६९ रनको जित दर्ता गरेको छ ।

गण्डकीले दिएको २०९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ३२.४ ओभरमा १३६ रनमै अलआउट भयो । दोस्रो इनिङको सुरुमा खुट्टामा बल लागेर मैदान बाहिरिएका उनी उपचारपछि मैदान फर्किएर उत्कृष्ट बलिङ गरेका हुन् । विपिनले १० ओभमार ४३ रन खर्चेर ४ विकेट लिए । सुवास भण्डारी र अविशेक बस्नेतले २–२ तथा अमृत गुरुङ र कमल परियारले १–१ विकेट लिए ।

सुदूरपश्चिमका लागि मिलन बोहोराले सर्वाधिक ५१ रन बनाए । उनले ६४ बलमा ३ चौका र १ छक्का प्रहार गरे । ओपनर ब्याटर राजु रिजाल १ रनमा क्याच भए । अर्का ओपनर गजेन्द्र बोहोराले ३५ रन बनाए । वसन्त कार्कीले १० रन बनाए भने अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको गण्डकीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २०८ रन बनाएको हो ।

गण्डकीका लागि ओपनर अर्जुन कुमालले सर्वाधिक ६३ रन बनाए । उनले १०५ बलमा १० चौका प्रहार गरे । अर्का ओपनर समिर कंडेलले २६ रन बनाए । उनले ७१ बलमा ४ चौका प्रहार गरे । तेस्रो क्रमका ब्याटर विधान श्रेष्ठ र अभिषेक बस्नेतले समान २५–२५ रन बनाए । सन्दीप क्षेत्रीले १९ रन र कमल परियार १३ रनमा अविजित रहे । सुदुपश्चिमका लागि कैलाश अयर, नारयण जोशी र शेर मल्लले समान २–२ विकेट लिए ।

तस्वीरः विकास श्रेष्ठ/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?