+
+
सर्लाही १ :

‘बागी’लाई ठूला तीन दलको सद्‍भाव

चौधरीलाई सत्ता गठबन्धनको समर्थन छ भने साहलाई एमालेको । तर यो समर्थन औपचारिकतामा सिमित हुने देखिन्छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेकै नेता कार्यकर्ताको सद्भाव स्वतन्त्र उम्मेदवार मानबहादुर खड्कातिर देखिएको छ ।

एसपी गौरब एसपी गौरब
२०७९ कात्तिक १६ गते २०:१०

१६ कात्तिक, सर्लाही । नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठ सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उठ्ने तयारीमा थिए । पार्टीमा संस्थापन समूहमा रहेका उनी पूर्व सांसद र स्थानीय तहको निर्वाचनमा पार्टीलाई जिताएका कारण टिकट पाउनेमा ढक्क जस्तै थिए । तर अन्तिम समयमा सत्ता गठबन्धनमा आएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई यो क्षेत्र छाडेपछि निराश बनेका उनी चुनावी अभियानमा कहीँ कतै देखिएका छैनन् ।

कांग्रेसमा श्रेष्ठ जस्तै नेकपा एमालेका मानबहादुर खड्का प्रतिनिधिसभा चुनाव लड्ने तयारीमा थिए । लालबन्दी नगरपालिकाका पूर्व मेयर समेत रहेका उनले एमालेबाट टिकट पाएनन्, एमालेले अन्तिम समयमा जनता समाजवादी पार्टी (जसपा)सँग तालमेल गरेर यो क्षेत्र उसैलाई छाडिदियो ।

लोसपाबाट पूर्व प्रहरी रामप्रकाश चौधरी र जसपाबाट पूर्व सांसद प्रमोद साह चुनावी मैदानमा छन् ।

चौधरीलाई सत्ता गठबन्धनको समर्थन छ भने साहलाई एमालेको । तर यो समर्थन औपचारिकतामा सिमित हुने देखिन्छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेकै नेता कार्यकर्ताको सद्भाव स्वतन्त्र उम्मेदवार मानबहादुर खड्कातिर देखिएको छ । एमालेबाट विद्रोह गरेर उम्मेदवारी दिएका खड्का भन्छन्, ‘नेताको गठबन्धन त उनीहरुकै छ, जनतामा चाहिँ सद्भाव पाएको छु ।’

स्रोतकाअनुसार प्रतिनिधिसभाको सिट बाँडफाँटप्रति असन्तुष्ट कांग्रेस, एमाले र माओवादीका नेता कार्यकर्ताले पूर्व सांसद शम्भुलाललाई स्वतन्त्र उम्मेदवार बन्न आग्रह गरेका थिए । उनले दोस्रो संविधानसभा निर्वाचन २०७० मा कांग्रेसबाट टिकट नपाएपछि माओवादी प्रवेश गरेर चुनाव जितेका थिए । २०७४ को निर्वाचनअघि फेरि कांग्रेस फर्किएका उनले चुनाव जित्न सकेनन् । फेरि पार्टी छाड्दा राम्रो नदेखिने भन्दै उनी स्वतन्त्र उम्मेदवार बन्न तयार भएनन् ।

त्यसपछि एमालेका मानबहादुर उम्मेदवार बन्न तयार भए । उनको समूहबाट प्रदेशसभातर्फ (१) मा रामचन्द्र कुशवाह र (२) मा राजन श्रेष्ठ उम्मेदवार छन् । कुशवाह माओवादी केन्द्रका आधिकारिक उम्मेदवार हुन् ।

सत्ता गठबन्धनमा प्रदेशसभाको यो क्षेत्रमा मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएअनुसार लोसपाबाट उपेन्द्र महतो र माओवादीबाट कुशवाह उम्मेदवार छन् । कुशवाहसँग सहकार्य गरेपछि प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार खड्काले कांग्रेस, एमाले र माओवादीकै सद्भाव पाएका छन् ।

जबकी यो क्षेत्रमा कांग्रेस, एमाले र माओवादी केन्द्र नै ठूला दल हुन् । यो क्षेत्रमा लालबन्दी नगरपालिका, चन्द्रनगर गाउँपालिकाका साथै ईश्वरपुर नगरपालिकाको १ देखि १४ वडा, कविलासी नगरपालिकाको १,२ र ७ नम्बर वडा र हरिपुर नगरपालिकाको २ देखि ९ गरी ४९ वटा वडा पर्छ ।

३० वैशाखको स्थानीय चुनावमा कांग्रेस एक्लैले १९ वटा वडा जितेको छ । एमाले र माओवादीले ११÷११ वटा वडा जित्दा एकीकृत समाजवादीले ३ वटा जितेको छ । लोसपाले दुई र जसपाले एक र स्वतन्त्रले दुई वटा वडा जितेका छन् ।

वडाध्यक्षका उम्मेदवारहरुले पाएको मत हेर्दा कांग्रेसको २५ हजार ८३२ मत देखिन्छ भने एमालेको १७ हजार ८१९ र माओवादी केन्द्रको १५ हजार ९९५ । जबकी सत्ता गठबन्धनबाट प्रतिनिधिसभाको सिट पाएको लोसपाको ६ हजार ४६६ र एमाले गठबन्धनबाट सिट पाएको जसपाको ४ हजार ९१७ ।

गठबन्धनबाट प्रतिनिधिसभाको सिट पाए पनि प्रमुख दलका कार्यकर्ताको मनसँग मत जित्ने भने दुबै उम्मेदवारलाई कठिन देखिएको छ । खड्काको पक्षमा देखिएका कांग्रेसका एक नेता भन्छन्, ‘एउटा र दुईटा वडा जितेको दललाई उम्मेदवार बनाएका छन् । त्यसको परिणाम ४ मंसिरमा देख्नेछन् ।’

तर साह आफूलाई एमालेको र चौधरी आफूलाई सत्ता गठबन्धनको साथ रहेको भन्दै आफैंले चुनाव जित्नेमा ढुक्क रहेको बताउँछन् । ‘यसअघिको चुनावमा जसपाबाटै एक्लै लड्दा पनि जितेको हुँ,’ साह भन्छन्, ‘यो पटक त एमालेको पनि साथ छ, त्यस कारण म जित्छु नै ।’

चौधरी पनि मतदाताले नयाँ अनुहार हेर्ने चाहना राखेकाले आफूले नै चुनाव जित्ने दाबी गर्छन्, ‘पाँच दलीय गठबन्धनको उम्मेदवार हुँ, जित्ने संभावना होइन, चुनाव जितिसकें,’ उनले भने ‘घोषणा गर्न मात्र बाँकी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?