+
+

‘दलहरूले स्वास्थ्य भनेकै अस्पताल बनाउनु भन्ने बुझेका छन्’

हरेक पालिकास्तरको अस्पतालले सामान्य रोगको उपचार दिन हो । त्यहाँ, विशेषज्ञ सेवा हुनैसक्दैन । ‘मेडिकल अफिसर’ बस्ने ठाउँमा जटिल स्वास्थ्य सेवा दिन्छु भन्नु बेकारको कुरा हो । दलहरूले स्वास्थ्य भनेकै अस्पताल भवन हो भनेर बुझेका छन् ।

डा. रिता थापा डा. रिता थापा
२०७९ कात्तिक १८ गते १९:१९

नेपालका राजनीतिक दलहरूले स्वास्थ्य क्षेत्रको राम्रोसँग अध्ययन नै नगरी घोषणापत्र तयार गरेका छन् । सबै दलले बुझेको स्वास्थ्य भनेको अस्पताल भवन हो भन्ने जसरी एजेण्डा पेश भएका छन् । आधारभूत स्वास्थ्य सेवामा मुख्य तीनवटा कुरा समावेश हुन्छन् । जसमा स्वास्थ्य प्रवर्धन, रोगको निरोधात्मक सेवा र रोगका उपचारात्मक विषय ।

दलहरूले घोषणापत्रमा आधारभूत स्वास्थ्य सेवा दिन्छौं भनेर वाचा गर्ने तर, अस्पताल बनाउने पाटोलाई मात्रै जोड दिएको पाइन्छ । प्रत्येक वडामा औषधालयसहितको सामुदायिक क्लिनिक स्थापना तथा स्तरोन्नति गरिने दलको घोषणापत्रमा उल्लेख गरिएको छ । हाम्रो स्वास्थ्यको आधार, वस्तुस्थिति के छ भनेर घोषणापत्र तयार गर्नुपथ्र्यो, त्यसो हुन सकेन ।

जनस्वास्थ्यले नै धेरैभन्दा धेरै मानिसको स्वास्थ्यमा परिवर्तन ल्याउन सक्छ । सन् १९७५ मा नेपाल सरकारको एकीकृत सामुदायिक स्वास्थ्य सेवा विकास योजनाको काम गर्दा यहाँ केही थिएन । समस्याहरू धेरै थिए । मातृमृत्यु दर त कहालीलाग्दो थियो । तत्कालीन समयमा प्रतिलाख १८०० आमाको मृत्यु हुन्थ्यो ।

तर एकीकृत सामुदायिक स्वास्थ्य सेवा विकास योजनाअन्तर्गत विभिन्न अवधारणाले जिल्ला जनस्वास्थ्य कार्यालय, प्रत्येक गाउँमा एक स्वास्थ्य कार्यकर्ता, एक स्वास्थ्य चौकी र प्रत्येक वडामा एक महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई देशव्यापी विस्तार गर्‍यो।

उनीहरू मलेरिया, परिवार नियोजन तथा मातृ शिशु, दादुरा उन्मूलन, क्षयरोग, कुष्ठरोगको क्षेत्रमा काम गर्थे । आधारभूत स्वास्थ्य सेवा कार्यक्रमलाई समुदायस्तरसम्म पुर्याउन महिला स्वास्थ्य स्वयंसेविकाको अवधारणा विकास भएको थियो ।

उनीहरूका लागि सम्बन्धित हेल्थपोष्टले प्रत्येक महिना एकदिने रिफ्रेसर तालिमको व्यवस्था गरेको थियो । गाउँघरका स्वास्थ्य समस्याबारे उनीहरूले रिपोर्ट ल्याउँथे । तालिम लिन्थे । नयाँ प्रविधिबारे समुदायमा जानकारी दिन्थे । उनीहरूले स्वास्थ्य क्षेत्रको जगको रूपमा काम गरेकाले स्वास्थ्य क्षेत्रमा चामत्कारिक परिवर्तन भयो ।

अहिले दलहरूले अस्पताल निर्माणमा मात्रै जोड दिएका छन् । अस्पतालले मात्रै स्वास्थ्य प्रवर्धन, रोगको निरोधात्मक सेवा अगाडि बढाउन सक्दैन । पोलियो उल्मूलन, मलेरिया नियन्त्रणलगायतका कुराहरू अस्पतालले भएका होइनन् । त्यसबेला अस्पताल थिएन । वडास्तरमा आमा समूह, महिला स्वास्थ्य स्वयंसेविकालाई हेल्थपोष्टसँग जोडिएको थियो ।

यसरी गाउँघरका स्वास्थ्य समस्याबारे उनीहरूले रिपोर्ट ल्याउँथे । त्यसको आधारमा जिल्ला जनस्वास्थ्य, अञ्चल हुँदै स्वास्थ्य मन्त्रालयसम्म पुग्थ्यो । यसलाई सामुदायिक स्वास्थ्य प्रणाली भनिन्छ । जब घरदैलोसँग जोडिएको स्वास्थ्य प्रणाली बनाउँछौं तब मात्रै हरेक महिलालाई सुरक्षित मातृत्व, प्रजनन् सेवा, बाल स्वास्थ्य, खोप जस्ता कुरालाई अगाडि बढाउन सकिन्छ । तर, त्यो स्वास्थ्य प्रणाली भत्काइयो । आधारभूत सेवा दिन एकीकृत सामुदायिक स्वास्थ्य सेवाको आवश्यकता हुन्छ ।

केही दिन अगाडि अछाम जिल्लामा सुत्केरी हुँदा धेरै युवतीको मृत्यु भएको समाचार पढेकी थिएँ । जबकि, त्यो ठाउँमा ६५ वटा बर्थिङ सेन्टर छन् । त्यहाँका २० प्रतिशत महिला मात्रै बर्थिङ सेन्टर गएर डेलिभरी हुने गरेका छन् । अरू, मानिस किन गएनन् ? किनभने घरदैलोसँग जोडिएको स्वास्थ्य प्रणाली भएको भए ‘रिफर सिस्टम’ हुन्थ्यो ।

नागरिकका स–साना समस्या हल गर्न घरदैलोसम्म जोडिएको एकीकृत सामुदायिक स्वास्थ्य सेवा प्रणाली सञ्चालन गर्नुपर्छ । दलहरूले अधिकांश विषयवस्तु लामो समयदेखि उठान गरेका छन् । जुन, हामीले ऐन, कानुनमा ल्याइसकेका छौं ।

उदाहरणका लागि हेर्दा, नेपाली कांग्रेसले स्वास्थ्य बीमाको दायरालाई १० लाख बनाउने घोषणा गरेको छ । जबकि हाम्रो अध्ययनले बीमा कार्यक्रममा नवीकरण नगर्ने ३८ प्रतिशतभन्दा बढी देखाएको छ । यस्तो अवस्थामा सबै नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध के–को आधारमा भनेका हुन् !

त्यस्तै, नसर्ने रोगले मृत्युको ७१ प्रतिशत ओगटेको छ । त्यो पनि युवावर्गको बढी मृत्यु हुन्छ । दैनिक रूपमा ३७१ जनाको नसर्ने रोगका कारण मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार नसर्ने रोगको जोखिमलाई ८० प्रतिशतले घटाउन सक्छौं । चुरोट, सूर्तीजन्य पदार्थ, पत्रु खाना, शारीरिक निष्क्रियता, मानसिक तनावलाई नियन्त्रण गर्दा ८० प्रतिशत नसर्ने रोग घट्छ ।

यस्ता कुरालाई सरकारले नीतिमा हाल्न सक्नुपर्‍यो । नसर्ने रोग जोखिम घटाउन विद्यालयका नवयुवाबाट सुरु गर्न सकिन्छ । अहिले शतप्रतिशत जस्तै बालबालिका विद्यालय जान्छन् । यो जनस्वास्थ्यको सुधारको लागि अवसर हो । नेपालले देखाएको तथ्यांकलाई नीतिगत रूपमा हाल्दिनुपर्छ ।

आजभोलि हामी घरको भान्छामा खान छोडिसकेका छौं । बाहिर पकाएको खान्छौं, जुन पत्रु खाना हो । पैसाले हामी नसर्ने रोग किनिरहेका छौं । सरकारले यस्ता नसर्ने रोगको रोकथाम तथा नियन्त्रण गर्न नसक्नुमा व्यापारीकरण कारण हो । मेडिकल शिक्षा र स्वास्थ्यमा व्यापारीकरण भएको छ ।

हरेक पालिकास्तरको अस्पताललाई आधारभूत अस्पताल बनाउनु स्वास्थ्य प्रवर्धन, रोगको निरोधात्मक सेवा र सामान्य रोगका उपचार सेवा दिन हो । त्यहाँ, विशेषज्ञ सेवा हुनसक्दैन । मेडिकल अफिसर बस्ने ठाउँमा जटिल स्वास्थ्य सेवा दिन्छु भन्नु बेकारको कुरा हो ।

यी घोषणापत्र राजनैतिक नारामा मात्रै सीमित छन् । विगतमा भएका स्वास्थ्य क्षेत्रका कामबाट आशाजनक अवस्था छैन । आधारभूत स्वास्थ्य सेवा प्रणाली बनाउन नसक्दा डेंगुले पनि मानिसको मृत्यु भएको छ । नसर्ने रोगका कारण दैनिक सयौं मानिसको मृत्यु हुँदै आएको छ । यस कारण राजनैतिक दलले विगतमा गरेको कामबाट विश्वास गर्ने केही आधार देखिंदैन ।

(जनस्वास्थ्यविद् डा.थापासँग अनलाइनखबरकर्मी पुष्प चौलागाईंले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?