+
+
तनहुँ-१ :

गोविन्दराज जोशीको उम्मेदवारीले रामचन्द्र पौडेललाई सहज

अघिल्लो चुनावमा जोशीका कारण हारेका पौडेल यसपटक भने जोशीका कारण जित्ने रणनीतिमा छन् । अघिल्लो चुनावमा जोशीको उम्मेदवारी खारेज गराउनुलाई पौडेलले आफ्नो गल्ती मानेका छन् । त्यसैले यसपटक गल्ती नदोहोर्‍याउने बताउँदै आएका पौडेलले जोशीकै कारण आफ्नो जित सहज हुने हिसाब किताब आफ्ना निकटवर्तीहरुलाई सुनाएका छन् ।

अमृत सुवेदी अमृत सुवेदी
२०७९ कात्तिक २४ गते २०:१४

२४ कात्तिक, काठमाडौं । संसदीय निर्वाचनमा तनहुँबाट जितेर पटक पटक मन्त्री र सभामुखसमेत भइसकेका रामचन्द्र पौडेल एक पटक प्रधानमन्त्री हुन लालयित छन् । एक पटक प्रधानमन्त्री हुन्छु भनेर रामचन्द्र अन्तिम पटक तनहुँ–१ मा भोट मागिरहेका छन् । ‘जनताले मलाई देशकै नेतृत्वमा एक पटक पुर्‍याउन खोजिरहेका छन् । म कार्यकारी पदमा रहेर काम गर्न पनि चाहन्छु,’ पौडेल भन्छन् ।

तनहुँमा कांग्रेस नेता पौडेल र कांग्रेसकै पूर्वसहमहामन्त्री गोविन्दराज जोशी ‘जानी दुश्मन’ हुन् । अघिल्लो चुनावमा उम्मेदवार भएर पनि पौडेल समूहकै उजुरी परेपछि जोशीको उम्मेदवारी खारेज भएको थियो । भ्रष्टाचार मुद्दा खेपिरहेका जोशीलाई रामचन्द्रकै कारण आफ्नो राजनीतिक जीवन सकिएको लागेको छ ।

रामचन्द्रका कारण आफ्नो उम्मेदवारी खारेज भएपछि जोशीले २०७४ सालको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठलाई सहयोग गरेका थिए ।

अघिल्लो चुनावताका जोशीले दमौलीमा श्रेष्ठलाई भोट मागेको किस्साको अहिले पनि चर्चा हुने गरेको छ । ‘म कांग्रेस हुँ तर यसपटक चुनाव चिह्न सूर्य हुनेछ’, उम्मेदवारी खारेजीपछि जोशीले भनेका थिए ।

अघिल्लो चुनावपछि अन्तर्घात गरेको भन्दै १० साउन २०७६ मा नेपाली कांग्रेसको अनुशासन समितिले पार्टी सदस्यसमेत नरहने गरी ५ वर्षका लागि जोशीलाई कारबाही गरेको थियो । त्यो कारबाही फुकुवासमेत नभएपछि जोशी यसपटक रामचन्द्रसँगै बदला लिन चुनावी मैदानमा छन् । सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको साथ पाएका पौडेलसँगको प्रतिस्पर्धामा एमालेका एकबहादुर गुरुङ उम्मेदवार छन् ।

अघिल्लो चुनावमा जोशीका कारण हारेका पौडेल यसपटक भने जोशीका कारण जित्ने रणनीतिमा छन् । अघिल्लो चुनावमा जोशीको उम्मेदवारी खारेज गराउनुलाई पौडेलले आफ्नो गल्ती मानेका छन् । त्यसैले यसपटक गल्ती नदोहोर्‍याउने बताउँदै आएका पौडेलले जोशीकै कारण आफ्नो जित सहज हुने हिसाब किताब आफ्ना निकटवर्तीहरुलाई सुनाएका छन् ।

जोशीको उम्मेदवारी कायमै रहँदा उनले पाउने मत एमालेका उम्मेदवारलाई जानबाट रोकिने पौडेलको विश्लेषण छ । २०७४ मा जोशीको उम्मेदवारी खारेज हुँदा आफूविरुद्ध ‘एन्टी मुभमेन्ट’ नै चलेको पौडेलले बताएका छन् ।

‘अघिल्लो निर्वाचनमा जोशीको उम्मेदवारी कायम हुन दिनुपर्ने रहेछ । तर, उजुरी परेपछि खारेजी भयो । उनको समूहको भनिएको मत सबै किसान श्रेष्ठलाई गयो’, पौडेलले अनलाइनखबरसँग कुराकानी गर्दै भने । अदालतमा जोशीको मुद्दा २०७४ कै हैसियतमा भए पनि यसपालि उनको उम्मेदवारीविरुद्ध उजुरी नपरेपछि कायमै रहेको छ ।

कांग्रेसका कतिपय कार्यकर्ता भने पौडेलको जितमा यसपटक पनि जोशी नै अवरोध हुन् । तर पौडेलले नै यो कुरा मानेका छैनन् ।

एकतिर ५ दलीय गठबन्धन छ भने अर्कोतिर एमाले फुटेर कमजोर पनि भएकाले यसपटक आफूले जित्ने उनको दाबी छ । ‘अघिल्लो चुनावमा एमाले र माओवादी मिलेको थियो । तर, अहिले कांग्रेस, माओवादी, एकीकृत समाजवादीको गठबन्धन छ’, नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले भने, ‘तनहुँ–१ माओवादीको समेत राम्रो जनमत छ । आँबुखैरेनी गाउँपालिकामा माओवादीले जितेको छ । बन्दीपुर र भानु नगरपालिका पनि माओवादीको जनाधार छ ।’

जति मत जोशी समूहले कांग्रेसको काट्छ, त्योभन्दा धेरै मत माओवादीबाट पौडेललाई आउने खनालको दाबी छ । तनहुँ–१ बाट १० हजार मत माओवादीबाट कांग्रेसमा आउने र कांग्रेसको मत जोशीले काटे पनि पौडेलले जित्ने खनालले बताए । ‘जोशीको उम्मेदवारी रहनु नै पौडेलले जित्नु हो भनेर जो कोहीले भनिरहेका छन्’, खनालले भने ।

जोशी गृहमन्त्री बन्दा तनहुँका थुप्रैलाई सेना, प्रहरी र शिक्षा मन्त्री भएको बेला शिक्षकको जागिर लगाइदिएको चर्चा अहिले पनि हुन्छ । जोशीको समूहमा नखुलेका कांग्रेसमा रहिरहेकाहरुको पनि भोट काट्ने आकलन गरिन्छ ।

गएको स्थानीय निर्वाचनमा जोशीका छोरा दीपकराज जोशीले नेकपा एमालेसँग तालमेल गरेर व्यास नगरपालिकाको मेयरमा लडेका थिए । नेपाली कांग्रेसका बैकुण्ठ न्यौपानेसँग २५२ मतान्तरले जोशी पराजित भए । न्यौपानेले १२ हजार ७८ र जोशीले ११ हजार ८२६ मत पाए । एमालेबाट उपमेयरको उम्मेदवार बनेकी बसुन्धारा घर्तीले भन्दा जोशीले एक हजार ७८४ मत बढी पाए । भानु नगरपालिकामा पनि जोशी समूहको प्रभाव राम्रो छ ।

एमाले छाडेर एकीकृत समाजवादीमा लागेका श्रेष्ठ अन्तिम पटक चुनाव जितेर मर्ने चाहना व्यक्त गरेका पौडेललाई ठाउँ खाली गराउँदै बारा–४ मा पुगेका छन् ।

श्रेष्ठको साथ त मिलेको छ नै गठबन्धनको मतभारले पनि उत्साह थपेको छ पौडेललाई । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा गठबन्धनमा आबद्ध दलका उम्मेदवारले वडामा पाएको मतपरिणाम हेर्दा पौडेल झन्डै दोब्बरले अगाडि छन् ।

तनहुँ–१ मा देवघाट, आँबुखैरेनी र बन्दीपुर गाउँपालिका, भानु नगरपालिका र व्यासका १२ वटा पर्छन् । यो क्षेत्रको ४२ वडामा गत स्थानीय निर्वाचनमा एमालेभन्दा कांग्रेस एक्लै पनि १२ हजार बढी मतले अगाडि छ ।

एमालेका वडाध्यक्षका उम्मेदवारले २० हजार ८७९ मत पाएका थिए । कांग्रेसले ३३ हजार १०६ मत प्राप्त गर्दा गठबन्धनमा आबद्ध दल नेकपा माओवादीले ८ हजार १२४ र एकीकृत समाजवादीले ८९२ मत ल्याएको थियो ।

यी तीन दलले पाएको मत ४३ हजार ७५२ छ । वडामा सत्तागठबन्धन र एमालेबीचको मतान्तर झन्डै २३ हजार बढी छ । राप्रपाका उम्मेदवारले एक हजार ६३० र स्वतन्त्र उम्मेदवारले तीन हजार ९९२ मत पाएका थिए ।

स्थानीय तहमा कांग्रेसले पाएको मतमात्रै पौडेलको पोल्टामा पर्ने हो भने उनको सहजै जित हुने देखिन्छ । तर, पौडेल ढुक्क भएर बस्ने भने अवस्था छैन । २०७४ सालमा पनि अंकगणितीय हिसाबमा उनी जित नजिक थिए नै ।

यस्तै, नेपाली कांग्रेसका महासमिति सदस्य पूर्णबहादुर गुरुङले हालै कांग्रेस परित्याग गर्दै एमालेमा प्रवेश गरेर तनहुँ १ (ख) को उम्मेदवार बनेका छन् । उनले पनि कांग्र्रेस विशेष गरी आदिवासी जनजाति समुदायको भोट काट्ने सम्भावना बलियो छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?