+
+

चितवनमा सत्ता गठबन्धनको सभास्थलमा कडा चेकजाँच

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २६ गते १३:३२

२६ कात्तिक, चितवन । सत्तारुढ गठबन्धनले शनिबार चितवनको भरतपुरमा आमसभा गर्दैछ ।

जिल्ला प्रहरी कार्यालय चितवन अगाडि रहेको गेष्ट हाउस चौरमा गर्ने आमसभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका उपाध्यक्ष केशवलाल श्रेष्ठ लगायत नेताहरु चितवन आएका छन् ।

माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारीका अनुसार प्रधानमन्त्री देउवासहितका नेता पत्नी विगोगमा परेका कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङको घर भरतपुर महानगरपालिका-७ मा कृष्णपुरमा पुगेका छन् ।

त्यहाँबाट फर्किएपछि नेताहरु सिधै सभास्थल आउने संयोजक अधिकारीले बताए । सभास्थलमा विभिन्न ठाउँबाट सत्तारुढ गठबन्धनमा रहेका दलका नेता कार्यकर्ताहरु आउने क्रम सुरु भएको छ । सभास्थल छिर्न कडा सुरक्षा जाँच गरिएको छ । सुरक्षा जाँच गर्ने गेट नै तयार गरेर भित्र प्रवेश गर्नेहरुको खानतलासी गरिएको छ ।

चितवन प्रहरी प्रमुख एसपी नवराज अधिकारीले प्रधानमन्त्री नै आउने कार्यक्रम भएकोले सुरक्षा जाँच कडा  पारिएको बताए । उनले कार्यक्रमको सुरक्षामा कुनै कमी हुन नदिन यसो गरिएको बताए ।

विकास कोइराला पक्षले प्रदर्शन गर्ने 

कांग्रेस केन्द्रीय सभापति आउने कार्यक्रममा कांग्रेस चितवनका पूर्व सभापति विकास कोइरालामाथिको कारवाही फुकुवा गर्न माग गर्दै प्रदर्शनको तयारी भएको छ । भरतपुरको वरेन्द्र क्याम्पस गेट र त्रिचोकमा जम्मा गएर कोइराला पक्षले आमसभा स्थलमा कोइरालामाथिको कारवाही फुकुवा गर्न माग गर्ने तयारी गरेका छन् ।

२०७० सालको निर्वाचनमा तत्कालिन पार्टी सभापति सुशील कोइरालाका विरुद्धमा तत्कालिन चितवन-४ बाट विकासले बागी उम्मेदवारी दिएपछि कांग्रेसले कारबाही गरेको थियो । उनीमाथिको कारबाही हालसम्म फुकुवा भएको छैन ।

कोइरालालाई न्यायको माग गर्दै केन्द्रीय सभापतिलाई ध्यानाकर्षण गराउन स्वतःस्फुर्त रुपमा भेला हुन भनिएको नेपाली कांग्रेस चितवनका पूर्व सह–सचिव राजन कार्कीले बताए । कोइरालाले विहान फेसवुक लाइभ गर्दै कार्यक्रम बिथोल्ने नभई आफ्ना समस्याहरु मात्रै बताउन कार्यकर्ताले तयारी गरेको जानकारी गराएका थिए ।

केहीदिन अगाडि कोइरालाले नारायणगढमा चियापान तथा भेटघाट कार्यक्रम राखेपछि कांग्रेस चितवन भित्र विवाद बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?