+
+

जीवनराम श्रेष्ठ : उपत्यकामा समाजवादीको साखसँग जोडिएको उम्मेदवारी

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ कात्तिक २७ गते ७:२०

२०२२ मंसिरमा जन्मिएका जीवनराम श्रेष्ठ २०४२ सालमा तत्कालीन नेकपा (माले) को वडा कमिटी सचिव भए । २०४७ मा माले र नेकपा (मार्क्सवादी) मिलेर बनेको नेकपा (एमाले) को नगर कमिटी सदस्य भए ।

नगरबाट जिल्ला कमिटी सदस्य बनेलगत्तै २०४९ सालको स्थानीय निकाय चुनावमा श्रेष्ठ काठमाडौं महानगरपालिका १५ नम्बर वडाको अध्यक्षमा निर्वाचित भए । त्यो बेलादेखि उनले पार्टीबाट कुनै न कुनै सार्वजनिक जिम्मेवारी वा लाभको पद पाउँदै आएका छन् । यसबीचमा युवा संघको अध्यक्ष, राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव (दुई कार्यकाल) र नेपाल ओलम्पिक कमिटीको महासचिव (दुई कार्यकाल) भएका उनी आफूलाई समाजसेवी भन्न रुचाउँछन् ।

काठमाडौं महानगरपालिका-१५ का स्थायी बासिन्दा भएको नाताले श्रेष्ठ एमालेका स्थानीय नेता पनि हुन् । यसपटक उनी आफ् नो वडा समेटिएको काठमाडौं निर्वाचन क्षेत्र नं. ८ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् ।

नेकपा (एमाले) फुटेर बनेको नेकपा (एकीकृत समाजवादी)का नेता श्रेष्ठ हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री छन् । एमालेमा रहँदा पनि मनग्गे अवसर पाएका नेतामा पर्ने उनी २०७० को दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका नवीन्द्रराज जोशीसँग पराजित भएका थिए ।

एमाले-माओवादी केन्द्र गठबन्धन भएको २०७४ को निर्वाचनमा भने उनै जोशीलाई पराजित गर्दै उनी प्रतिनिधिसभा सदस्यमा विजयी भए । यसपटक उनी कांग्रेस नेतृत्वको सत्ता गठबन्धनबाट साझा उम्मेदवार छन् । एमालेबाट शिवसुन्दर राजवैद्य उनका प्रतिस्पर्धी छन् ।

करिब दुईतिहाइ संसदीय बहुमतको प्रधानमन्त्री भएको बेला केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछिको विवादले नेकपा (एमाले) फुटेर बनेको नेकपा (एकीकृत समाजवादी)ले काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये सत्ता गठबन्धनको भागबण्डामा एउटा मात्र पाएको छ ।

काठमाडौं-८ मा उनी पराजित भए संघीय संसदमा देशको राजधानी शहरबाट एकीकृत समाजवादीको प्रतिनिधित्व हुँदैन । यसकारण श्रेष्ठले आफ्नो जितलाई पार्टीकै अस्तित्वसँग जोडेर प्रचारप्रसार गरिरहेका छन् ।

गत स्थानीय चुनावमा वडाअध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा यो क्षेत्रमा एकीकृत समाजवादी तेस्रो दल हो । सत्ता गठबन्धन भएकोले समाजवादीका उम्मेदवार श्रेष्ठलाई पहिलो दल नेपाली कांग्रेसको साथ छ ।

यो क्षेत्रमा कांग्रेसले १० हजार ८७२, एमालेले ९ हजार २५३, एकीकृत समाजवादीले ५ हजार १४२, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३ हजार १६०, स्वतन्त्रले एक हजार ३७, नेकपा (माओवादी केन्द्र)ले १८९ मत पाएका छन् ।

आगामी ४ मंसिरमा हुने निर्वाचनमा गठबन्धनको भावनाअनुसार कांग्रेसको शतप्रतिशत पाउने र एमालेकै पनि मत तानेर विजयी बन्ने माथापच्चीमा छन् । र, त्यहीअनुसार प्रचार अभियान चलाएका छन् ।

कांग्रेसका मतदाताको मन जित्न उनले पहिलेका प्रतिद्वन्द्वी स्वर्गीय नवीन्द्रराज जोशीकी पत्नी सपना राजभण्डारीलाई लिएर चुनावी अभियान चलाएका छन् ।

राजभण्डारी पनि कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यमा समानुपातिकतर्फको सूचीमा छिन् ।

संविधान र लोकतन्त्र जोगाउनुपर्ने बाध्यताले वाम-लोकतान्त्रिक गठबन्धन बनेको कुरा मतदाताले बुझेको र गठबन्धनको जित निश्चितप्रायः भएको श्रेष्ठको दाबी छ । ‘गठबन्धनका दलहरूले स्थानीय चुनावमा पाएको मतका आधारमा पनि म पहिलो हुने निश्चितै छ’ उनले अनलाइनखबरसँग भने, ‘दोस्रो हुनेसँग राम्रै मतान्तर रहला ।’

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?