+
+

नयाँ पर्यटकीय गन्तव्य बन्दै शिवपुरी धाप

अच्युत पुरी अच्युत पुरी
२०७९ कात्तिक २७ गते १८:१५

२७ कात्तिक, काठमाडौं । लामो हाइकिङ होस् वा जोखिमपूर्ण ड्राइभिङ, सबैको एउटै लक्ष्य आकाश चुम्ने डाँडामा विशाल पोखरी । शनिबार पंक्तिकारसँगै ७ जनाको टोली शिवपुरीस्थित विशाल तालको भ्रमणको लक्ष्यसहित जोरपाटीमा भेला भयौं । हामी उत्सुक थियौं, काठमाडौंको उचाइमा रहेको मानव निर्मित सुन्दर तालको भ्रमण र अवलोकनका लागि ।

हाम्रो यात्रा सोझियो, त्यतै । धापबारे सबैजना अनभिज्ञ थियौं । सल्लाह गर्‍यौं, सुन्दरीजल पुगौं, त्यहाँ रहेको नेपाली सेना र शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको चेकपोष्टबाट जानकारी लिऔं, अनि जाऔं ।’ जोरपाटीबाट सुन्दरीजल पुग्यौं । निकुञ्जले प्रतिव्यक्ति १ सय र प्रतिसवारी (दुई पाङ्ग्रे) १५० रुपैयाँको टिकट काट्यो । नेपाली सेनाका जवानले चेकजाँच गरे र अगाडि बढ्ने अनुमति दिए ।

उक्त चेकपोष्टमा राखिएको सूचना पार्टी अनुसार सुन्दरीजल–चिसापानीको दुरी २६ किलोमिटर हो । धापसम्मको दुरी भने सूचना पार्टीमा उल्लेख थिएन । चेकपोष्टमा खटिएका एक सैनिक जवानले भने, ‘चिसापानी नपुग्दै धाप आउँछ ।’ यात्रुसँग शूल्क लिएर पनि व्यवस्थापन नगरिएको जोखिमपूर्ण बाटो हुँदै हाम्रो यात्रा सुन्दरीजलबाट अगाडि बढ्यो । करिब दुई किलोमिटर अगाडि बढिसकेपछि चिसापानी जाने दुई वटा बाटो भेटिए । एक स्थानीयलाई सोध्यौं, कुन बाटो जाँदा ठिक होला ? उनले सुझाव दिए, ‘छोटो जाने भए बायाँतर्फबाट उकालो लाग्नुहोस्, दायाँबाट चिसापानी जाने भए दोब्बर लामो पर्छ ।’

दुवै रुटतर्फको बाटोका लागि हामी सबै अनभिज्ञ थियौं । छोटो पर्ने लोभले रोज्यौं वाँयातर्फको उकालो । यो क्षेत्र काठमाडौंको गोकर्णेश्वर नगरपालिका पर्छ । करिब २ किलोमिटर उकालो पुगेपछि बस्ती सकियो । साथमा ढलान गरेको सडक पनि सकियो । अब सुरु भयो गोरेटो । दुई पाङ्ग्रे सवारी साधन चलाउन भने पर्याप्त थियो । निरन्तर उकालो र कतै सम्म परेको ठाउँ । बाटोभर हाइकिङमा हिँडेका युवाहरुको संख्या पर्याप्त थियो । तर, सवारीको चाप कम थियो ।

ढुंगा छापिए पनि सवारी चलाउन जोखिमपूर्ण यो बाटो पैदलयात्रुका लागि उपयुक्त रहेछ । सोहीकारण यो तल्लो रुटभन्दा आधा कम पर्ने रहेछ । कच्ची र जोखिमपूर्ण बाटोमा सवारी चलाउन बानी नपरेकाहरुलाई भने यो रुट सवारी साधनमा जान उपयुक्त छैन । उनीहरुले लामो रुटबाटै चिसापानीको गन्तब्यमा लाग्दा उपयुक्त हुने निष्कर्ष हामीले पनि निकाल्यौं । १२ बजे जोरपाटीबाट यात्रा थालेका हामी करिब साढे २ बजे धापमा पुग्यौं । जुनसुकै रुटबाट अगाडि बढ्दा पनि अलमल हुने अन्य बाटो नभएका कारण सुन्दरीजलबाट सुरु भएको यात्रा भने सिधै धाप हुँदै चिसापानीसम्म पुग्छ । पैदल यात्रु समेत झुक्किने गरी अन्य रुट नभएका कारण यात्रामा अलमल भने हुँदैन ।

ओहो कत्रो ठूलो ताल !

धाप पुग्दा सबैको मुखबाट निस्कने शब्द हो, ओहो कत्रो ठूलो ताल ? काठमाडौंको डाँडामा पानी जम्मा भएको विशाल ताललाई ‘मिनी फेवाताल’को समेत संज्ञा दिइएको छ । २४ मिटरसम्म अग्लो बाँध बाँधिएको छ धापमा वर्षाको पानी संकलन गरिएको छ ।

धापमा बाँधिएको तालमा वार्षिक ८ लाख ५० हजार घनमिटरसम्म पानी संकलन गर्ने क्षमता राखिएको छ । यो बाँध बागमती सुधार आयोजनाले बाँधेको हो ।

धापमा जम्मा भएको पानी नागमती नदी हुँदै बागमतीमा पुग्छ । यो पानी हिउँदयाममा बागमती नदीमा बगाउने उद्देश्यले धाप बनाइएको हो ।

यसरी बनाएको धाप अहिले भने आन्तरिक पर्यटकबीच आकर्षक गन्तव्य बन्न थालेको छ । हामी धापमा पुग्दा सयौं युवा तस्वीर लिन र घुमफिरमा व्यस्त भेटिए । धापमा जम्मा भएको हिउँदयाममा पर्ने ठूला चाडपर्वलाई लक्षित गरी बागमतीमा छाड्ने योजना छ ।

पानी र खानेकुरा बोक्नुहोस्

यो निकुञ्ज क्षेत्र भित्र पर्ने भएका कारण यात्राका दौरान बाटोमा पानीसमेत किन्न पाइने पसल भने छैन । सोहीकारण धापसम्म जाने क्रममा खानेकुरा र पानी भने बोक्नु पर्छ । निकुञ्ज भित्र फोहोर फाल्न, जलाउन तथा मदिरा समेत सेवन गर्न निषेध गरिएको छ ।

चिसापानीमा पुगेर मिठो खाजा

शिवपुरी धापबाट ४ किलोमिटरको दुरीमा सिन्धुपाल्चोक र नुवाकोटको सिमाना हैबुङ÷चिसापानी पुगिन्छ । त्यहाँ भने स्तरीय होटेल तथा रिसोर्टहरु छन् । स्थानीयले तपाईंको इच्छा अनुसार परिकार बनाएर खुवाउँछन् । धाप जाँदा त्यहाँबाट केही समय निकालेर चिसापानीसम्म पुगेर फर्कदाँ यात्रा रोमाञ्चक हुन्छ । किनकी यहाँबाट हिमश्रृङखलासहित सिन्धुपाल्चोक, नुवाकोट र काभ्रेका गाउँहरु नियाल्न सकिन्छ । हैबुङमा भ्यू टावरसमेत बनाइएको छ ।

धापबाट चिसापानी निस्कँदा नेपाली सेनाले प्रवेशद्वारमा काटेको टिकट पुनः चेक गर्छ । सोहीकारण प्रवेशद्वारमा काटेको टिकट यात्राभर साथमा राख्न भने नबिर्सनु होला ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?