+
+

नयाँ र गैरदलीय मतदाता तान्ने ओलीको चाहनामा रवि र ‘स्वतन्त्र’ बाधक

शुक्रबार मध्यरात एलओडी पुगेर दुईवटा चुनावी र्‍याप गीत विमोचन गर्नुको कारण पनि स्वतन्त्रहरुबाट युवाको ध्यान तान्नु नै थियो ।यसअघिका चुनावमा एमालेले लोकलयमा आधारित चुनावी गीत बनाउने गरेको थियो । यसपटक चाहिँ शहरी र मध्यम परिवारका युवाहरुले रात्रीकालीन मनोरञ्जन गर्ने एलओडी पुगेर ओलीले आफू युवाको पक्षमा रहेको सन्देश दिन खोजे ।

सइन्द्र राई सइन्द्र राई
२०७९ कात्तिक २८ गते २१:२५
शुक्रबार राति ठमेलको एलओडी क्लबमा एमाले अध्यक्ष केपी शर्मा ओली ।

२८ कात्तिक, काठमाडौं । चुनाव प्रचारप्रसारका क्रममा २५ कात्तिकमा धरान पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र उम्मेदवार मनोज मेन्याङ्बोविरुद्ध आक्रामक अभिव्यक्ति दिए ।

जनता समाजवादी पार्टी (जसपा) लाई सुनसरी–१ छोड्ने एमाले नेतृत्वको निर्णयप्रति असन्तुष्टि जनाउँदै उम्मेदवारी दिएर खरायो चिह्न पाएका मेन्याङ्बोलाई मत नदिन समेत ओलीले आह्वान गरे ।

‘यस्तो अभियानको भ्रममा पर्नु हुँदैन, अहिले साथीहरू कोही भ्रममा नपर्नु होला, नेकपा एमाले एउटा अनुशासित पार्टी हो, राजनीतिक पार्टी हो’, ओलीको निर्देशन थियो ।

जसपाका अशोक राईलाई मत माग्ने क्रममा ओलीले धरानका जनताको निर्णय क्षमतामाथि नै प्रश्न उठाए । ‘म केही भन्दिनँ अब, छान्ने बेला आँखा देख्नुभएन, अहिले भनेर हुन्छ’, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई मत दिएकोप्रति ओलीले कटाक्ष गरे ।

तत्कालै लौरो चिह्न मतदान गरेर भएको गल्ती आगामी चुनावबाट सच्याउने अवसर आएको विकल्प सुनाए । ‘धन्न मंसिर ४ आइहाल्यो । त्यसकारण धेरै आत्तिनुपर्दैन’ धरानकै विकासको जिम्मा लिँदै ओलीले भने, ‘धरानको विकास मेरो जिम्मा भयो ।’

धरानमा आयोजित एमालेको कार्यक्रममा ओली ।

त्यस दिन सार्वजनिक मञ्चबाटै ओलीले दिएको अभिव्यक्तिविरुद्ध मेयर साम्पाङले सामाजिक सञ्जालमा आक्रोशयुक्त खण्डन गरिरहेका छन् । तीन दशकदेखि शासनसत्तामा रहेका ओलीले अहिले धरानको विकास गर्छु भनेर फेरि जनता ढाँट्न खोजेको उनको आरोप छ ।

एमालेका कतिपय नेताहरु भने त्यो सभाबाट ओलीले अनावश्यक अभिव्यक्ति दिएको बताउँछन् । मुलुककै नेतृत्व गर्ने दलका अध्यक्षले स्वतन्त्र जितेका मेयरविरुद्ध बोलिरहनु आवश्यक नभएको उनीहरुको तर्क छ । तर नौ महिनायता एमाले नेताहरुको अभिव्यक्ति सम्झने हो भने अध्यक्ष ओलीले मेन्याङ्बो र साम्पाङविरुद्ध आक्रोशपूर्ण अभिव्यक्ति दिनुको पछाडि महत्वपूर्ण अर्थ लुकेको छ ।

स्थानीय चुनावको मिति घोषणा भएलगत्तैबाट एमाले अध्यक्ष ओली, महासचिव शंकर पोखरेल लगायतका नेताले मुलुकमा अब दुई ध्रुवबीच चुनावी प्रतिस्पर्धा हुने बताउने गरेका छन् । त्यो ध्रुवीकरणमा एउटा समूहको नेतृत्व एमाले र अर्को समूहको नेतृत्व कांग्रेसले गर्ने उनीहरुको सार्वजनिक दाबी छ ।

हुन त, राजनीतिक ध्रुवीकरण २०७४ बाटै सुरु भएको हो । त्यो चुनावमा वाम शक्तिहरुको नेतृत्व एमाले र लोकतान्त्रिक शक्तिहरुको नेतृत्व कांग्रेसले गरेको थियो । नतिजा वाम गठबन्धनको पक्षमा आयो । तर त्यो वाम शक्ति ५ पुस २०७७ मा छिन्नभिन्न हुन पुग्यो । प्रधानमन्त्रीको हैसियतमा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तीन टुक्रामा विभाजित भयो ।

काठमाडौंको मेयरमा बालेन शाह र धरानको मेयरमा हर्क साम्पाङले जितेपछि यो प्रवृत्ति अरुतिर फैलिने सम्भावनाकै कारण, ओली स्वतन्त्र उम्मेदवारप्रति खनिन पुगेको अनुमान लगाउन सकिन्छ ।

एमालेबाट अलग भएको नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी २९ असार २०७८ देखि नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा छ । उनीहरुले गत स्थानीय चुनावमा पनि कांग्रेस नेतृत्वकै गठबन्धनबाट भाग लिए ।

अर्थात् एमाले नेताहरुले ध्रुवीकरणबारे सार्वजनिक प्रस्ताव गर्नुको अर्थ कांग्रेसविरुद्ध वामशक्ति होइन । गत चैतको एमाले बैठकमा घनश्याम भूसालले वाम तालमेलको प्रस्ताव लैजादा सिंधै अस्वीकार गरेर ओलीले प्रष्ट सन्देश दिएका थिए ।

अहिले पनि ओलीको कुरा प्रष्ट छ, वाम जनमत आफूतिर तानेर माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सिध्याउने । ‘कांग्रेसको पछि लाग्ने दलहरु त कम्युनिष्ट नै भएन नि ! कम्युनिष्ट मतदाताको निर्विकल्प शक्ति एमाले हो’, प्रचार विभाग उपप्रमुख विष्णु रिजाल भन्छन् । यसको अर्थ कम्युनिष्ट मत तान्नकै निम्ति एमाले नेताहरुले राजनीतिक ध्रुवीकरणको कार्ड फाल्दै आएका छन् ।

तर सत्ता र विपक्षीबीच हुने अनुमान गरिएको चुनावी प्रतिस्पर्धामा अर्को शक्ति उदाए– स्वतन्त्र । काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले मेयर जिते । ४१ महिना प्रधानमन्त्री हुँदा धरहरा, रानीपोखरी पुनर्निर्माण जस्ता काम गरेकाले जनताबीच आफू लोकप्रिय रहेको ओलीको दाबी विपरीत बालेनले जितेका थिए । एमालेको एकछत्र चल्ने धरानमा समेत स्वतन्त्र उम्मेदवार साम्पाङले मेयरको चुनाव जिते । यो प्रवृत्ति अरुतिर फैलिने सम्भावनाकै कारण, ओली स्वतन्त्र उम्मेदवारप्रति खनिन पुगेको अनुमान लगाउन सकिन्छ ।

अझ मेयर साम्पाङको प्रस्तावअनुसार, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धरानबाट विरुवा रोपेर फर्किँदा ओलीमा आक्रोश देखिनुले पनि स्वतन्त्रप्रतिको आक्रोश बुझ्न सकिन्छ । घण्टी चिह्न लिएर चुनावी दौडमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेप्रति ओलीको चर्को आक्रोश छँदैछ ।

‘नेपालमा यस्तो हावा चलाइदिएको छ कि पार्टी चाहिँदैन । देश चलाउन जहाँ पनि पार्टी चाहिन्छ, यहाँ चाहिँ फेद न टुप्पोका’, अधिकांश ठाउँमा ओलीले भन्ने गरेका छन् ।

एमाले चाहना : कांग्रेससँगै प्रतिस्पर्धा

एमाले नेताहरुको अभिव्यक्ति सुन्दा पनि आगामी चुनावको प्रतिस्पर्धी शक्ति कांग्रेस बनोस् भन्ने चाहना देखिन्छ । यदि त्यस्तो बहस हुने वातावरण बनेमा स्वतन्त्रप्रति माहोल नबन्ने आँकलन एमाले नेताहरुले गरेका छन् । कांग्रेस र एमालेबीच प्रतिस्पर्धा रहेको सन्देश दिन नै ओलीले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग ‘लाइभ डिबेट’को सार्वजनिक प्रस्ताव गरेका थिए ।

कम बोल्ने स्वभावका देउवासँग ओलीले यस्तो प्रस्ताव गरेर कांग्रेस र एमालेबीच चुनावी प्रतिस्पर्धा हुने सन्देश दिन खोजेका थिए । प्रतिकुल प्रश्न गर्नेहरुसँग मञ्चबाटै रिसाउने र आक्रोश पोख्ने गरिरहेका ओलीले सार्वजनिक बहसको प्रस्ताव गर्नुले पनि चुनावी माहोल बदल्न चाहेको प्रष्ट हुन्छ ।

कांग्रेससँग चुनावी प्रतिस्पर्धाको वातावरण बन्दा त्यसको लाभ आफ्नो दलले पाउने एमाले नेताहरुको बुझाइ छ । स्थानीय चुनावकै बेला एमालेले समकालीन नेताहरूमध्ये केपी ओलीको आकर्षण धेरै भएको निष्कर्ष निकालेको थियो ।

त्यस आधारमा, ७० प्रतिशत स्थानीय तह जित्ने एमालेको दाबी थियो । अहिले पनि देउवा, प्रचण्ड र माधवकुमार नेपाल भन्दा केपी ओलीको आकर्षण धेरै भएको भनेरै प्रधानमन्त्रीका रुपमा उनलाई अगाडि सारेको छ ।

यदि कांग्रेस र एमालेबीच चुनावी प्रतिस्पर्धाको सन्देश मतदातासम्म लैजान सके, गैरदलीय र नयाँ मतदाता तान्न सकिने बुझाइ एमाले नेताहरुमा छ । त्यस्तो चुनावी माहोल बनेमा माओवादी केन्द्र र एकीकृत समाजवादीतर्फ जानसक्ने मत पाउने बुझाइकै कारण ओलीले लगातार द्वीपक्षीय प्रतिस्पर्धाको वकालत गरिरहेका छन् ।

चुनावी अभियानको सुरुवातका दिन दार्चुलामा भाषण गर्दै एमाले अध्यक्ष ओली ।

१८ कात्तिकमा दार्चुलाबाट प्रचारप्रसार अभियान थाल्दै ओलीले राष्ट्रियताको एजेण्डामा देउवालाई लल्कार्नुको अर्थ पनि चुनावलाई दुई पक्षीय बनाउनु नै रहेको देखिन्छ । गुमेको भूमि आफूले मात्रै फिर्ता ल्याउन सक्ने दाबी गरेर भारतविरोधी मत तान्ने प्रयाससँगै ओलीले देउवालाई यो विषयमा बोल्न उत्प्रेरित समेत गरे । नभन्दै, प्रचण्डलाई साथमा लिएर दार्चुला पुगेका देउवाले ओलीविरुद्ध काउण्टर भाषण गरे ।

यी दृष्य, तथ्य र घटनाक्रमका आधारमा रहेर हेर्दा स्वतन्त्र उम्मेदवारतर्फ मतदातामा देखिएको रुझान बदल्नकै निम्ति ओलीले प्रयत्न गरिरहेका छन् । निकट विगतको चुनावी नतिजा, नजीर र प्रसारप्रसारमा देखिएको माहोलबाट पनि त्यो पुष्टि हुन्छ । गएको स्थानीय चुनावमा पाएको मतकै आधारमा हेर्ने हो भने एमाले गठबन्धन रक्षात्मक छ भने सत्ता गठबन्धन उत्साहित छ ।

तर नयाँ र गैरदलीय मतदातालाई तान्न सके सत्ता गठबन्धनलाई हराएर बहुमतकै सरकार बनाउन सकिने एमाले नेताहरुको हिसाब छ । गएको स्थानीय चुनावपछि देशमा दुई लाख ५४ हजार ८४७ मतदाता थपिएका छन् । स्थानीय चुनावमा १ करोड ७७ लाख ३३ हजार ७२३ थिए । त्यो संख्या बढेर १ करोड ७९ लाख ८८ हजार ५७० पुगेको छ ।

२०७४ को चुनावसँग तुलना गर्दा त, यसपटक २५ लाख भन्दा बढी मतदाता थपिएका छन् । २०७४ मा १ करोड ५४ लाख २७ हजार ७३१ मतदाता थिए । त्यसबेला १ करोड ५ लाख ८७ हजार ५२१ मत खसेकोमा ९५ लाख ४४ हजार ७४४ मत सदर भएको थियो ।

थपिएका नयाँसँगै गैरदलीय मतदातासँग परिस्थिति हेरेर बदलिने गुण हुने भएकाले ओलीले स्वतन्त्र उम्मेदवारलाई ओझेलमा पार्ने प्रयास गरिरहेका छन् ।

शुक्रबार मध्यरात एलओडी पुगेर दुईवटा चुनावी र्‍याप गीत विमोचन गर्नुको कारण पनि स्वतन्त्रहरुबाट युवाको ध्यान तान्नु नै थियो । यसअघिका चुनावमा एमालेले लोकलयमा आधारित चुनावी गीत बनाउने गरेको थियो । यसपटक चाहिँ शहरी र मध्यम परिवारका युवाहरुले रात्रीकालीन मनोरञ्जन गर्ने एलओडी पुगेर ओलीले आफू युवाको पक्षमा रहेको सन्देश दिन खोजे ।

तर स्थानीय चुनावको नतिजाबाट हौसिएका रवि लामिछाने घण्टी चिह्न लिएर देश दौडाहामा निस्किएका छन् भने हाम्रो नेपाली पार्टीको लौरो अभियान पनि आक्रामक छ । दलहरुबाट असन्तुष्ट भएर बागी उम्मेदवारी दिएकाहरुमा समेत आकर्षण देखिनुलाई एमालेले चुनौतीका रुपमा हेरेको देखिन्छ ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?