+

सुत्केरीमा दूध आएन भने के गर्ने ?

२०७९ कात्तिक  ३० गते १४:१४ २०७९ कात्तिक ३० गते १४:१४
सुत्केरीमा दूध आएन भने के गर्ने ?

सर्वव्यापी भनाइ नै छ, ‘शिशुको लागि आमाको दूध अमृत समान हुन्छ ।’ अतः नवजात शिशुका लागि जब अन्य भोजन हुँदैन, आमाको दूध नै उनीहरुका लागि सम्पूर्ण आहार हुन्छ । तर सुत्केरी भइसकेपछि आमाको दूध आएन भने ?

यससँगै अर्को कुरा पनि यहाँ जोडिन आइपुग्छ, स्तनपान गराउनु शिशुका लागि मात्र होइन आमाका लागि पनि लाभदायक हुन्छ ।

सुत्केरी हुँदा दूध नआउने समस्या

सामान्य प्रसूति अर्थात् नर्मल डेलिभरी गरेका भन्दा शल्यक्रियाबाट अर्थात् सिजेरियनबाट शिशु जन्माउँदा आमामा दूध नआउने समस्या हुनसक्छ । हुन त यस्तो समस्या सामान्य प्रसूति भएका आमामा पनि आउन सक्छ ।

के कारण दूध आउँदैन ?

दूध नआउने कुनै एउटा मात्र होइन विभिन्न कारण छन् । बच्चा जन्मिने बित्तिकै आमाको दूध चुस्दा ‘ओक्सिटोक्सीन’ भन्ने हर्मोन चलायमान हुन्छ । त्यो सँगै दूध आउने हर्मोन पनि रिलिज हुन्छ ।

दूधको प्रवाह खासगरी शिशु जन्मेको तेस्रो दिनदेखि हुन्छ । त्यसैले पहिले दोस्रो दिन दूध कम आउने समस्या हुन सक्छ । पहिलो पटक आमा बनेका महिलालाई राम्रोसँग दूध खुवाउने तरिका नजान्दा दूध आउँदैन ।

डेलिभरी हुने बित्तिकै बच्चालाई आमाको दूध चुसाइएन भने पनि ढिलो दूध आउने तथा दूध नआउने हुन सक्छ । दूध आउनको लागि मुन्टामा साना साना प्वाल हुन्छन्, त्यो प्वाल टालियो भने पनि दूध नआउने हुन्छ ।

आमालाई दैनिक दूध उत्पादन गर्न सामान्य अवस्थामा भन्दा थप झोल पदार्थ, थप तागतिला खानेकुरा लगायत अन्य पौष्टिक खानेकुरा आवश्यक हुन्छ । गर्भावस्था तथा सुत्केरी भएको बेला खानपानमा ध्यान दिइएन र सुत्केरीले पोषिलो आहार पाएन भने पनि दूध नआउने समस्या देखिन्छ ।

स्तनपानका अप्ठ्यारा

कसैकसैमा दूध बन्ने हर्मोनको नै कमी भएर पनि दूध नआउने समस्या हुन्छ । कसैमा भने ‘इन्भरटेट’ मुन्टा भित्र पसेको जस्तो हुन्छ, त्यस्तो मुन्टा भित्र पसेको वा सानो हुने हुँदा पनि दूध नआउने र दूध खुवाउन गाह्रो हुने समस्या हुन्छ । मुन्टा र त्यस वरपर घाउ भएको अवस्थामा पनि स्तनपान गर्न समस्या हुन्छ ।

स्तनपान नगराउँदा शिशु र आमालाई समस्या

शिशुलाई आमाको दूध खुवाउन पाइएन भने आमा र बच्चा दुवैलाई समस्या हुन सक्छ । आमाको दूधमा बच्चाको लागि चाहिने सम्पूर्ण पोषकतत्त्व हुन्छ । जसले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

यदि बच्चाले आमाको दूध खान पाएन भने उसको रोगसँग लड्ने क्षमता कम हुन्छ । शिशुलाई आमाको दूध खुवाउन पाइएन भने आमालाई पनि दूध गान्निने समस्या तथा स्तन क्यान्सरको समेत जोखिम हुन सक्छ ।

बच्चाले दूध खान नपाए 

यदि सुत्केरी अवस्थामा दूध आएन भने त्यसले दीर्घकालमा खासै ठूलो असर त गर्दैन । तर आमाको दूधमा ‘इम्युनोग्लोबुलिन’ हुन्छ, जसले रोगसँग लड्ने क्षमता बढाउँछ । जसले आमाको दूध खान पाएका छैनन् उनीहरूको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । बच्चाको शारीरिक तथा मानसिक विकास पनि राम्ररी हुन पाउँदैन ।

आमाले बच्चालाई दूध खुवाउँदा उनीहरूको सम्बन्ध पनि भावनात्मक रूपमा गहिरो हुन्छ ।

विकल्प

दूध नआउने विभिन्न कारण हुने भएकाले अस्पताल गएर दूध नआउने समस्याको उपचार गर्नुपर्छ । दूध नआएको अवस्थामा अहिले काठमाडौं उपत्यकामा हुनेहरुका लागि विकल्पको रूपमा अहिले प्रसूतिगृहमा मिल्क बैंक सञ्चालनमा ल्याएको छ । त्यहाँबाट दूध लिएर पनि बच्चालाई दूध दिन सकिन्छ ।

दूध आउनका लागि के गर्ने ?

सन्तुलित तथा पोषणयुक्त खानाको अभावले दूध नआएको हो भने खानपानमा ध्यान दिनुपर्छ । ज्वानोको झोल र जेरी जस्ता खानेकुराले दूध बढाउन मद्दत गर्छ । त्यसैले सुत्केरी अवस्थामा यस्ता झोलिलो र गुलियो खानेकुरा खानुपर्छ ।

गर्भवती अवस्थादेखि नै आफ्नो स्तनको केयर गर्ने, त्यसको सरसफाइमा ध्यान दिनुुपर्छ । यदि सरसफाइको कमीले दूध आउने प्वाल टालिएको छ भने त्यसको सरसफाइ गर्नुपर्छ । बच्चालाई दूध खुवाइरहनुपर्ने भएकोले कसैको ब्रा नलगाउने बानी हुन्छ, त्यसले पनि समस्या निम्ताउन सक्छ । त्यसैले स्तनलाई राम्ररी सपोर्ट गर्ने खालको ब्रा लगाउनुपर्छ ।

मुन्टा सानो भएर दूध नआएको हो भने सुईको माध्यमबाट त्यसलाई बाहिर निकाल्न सकिन्छ । बच्चाले दूध तान्न सकिरहेको छैन भने ब्रेस्ट पम्पको सहायताबाट दूध निकालेर बच्चालाई खुवाउन सकिन्छ ।

मेरो त दूध नै आएन भनेर बट्टाको दूध खुवाउनुभन्दा पनि के कारणले दूध आएन त्यो पत्ता लगाएर चिकित्सकको सल्लाहअनुसार उपचार गरे दूध आउन सक्छ ।

(डा. स्वति शर्मा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् । उनी काठमाडौंस्थित ग्रीनसिटी अस्पतालमा कार्यरत छिन् ।)

सुमित्रा लुइटेलसँगको कुराकानीमा आधारित

डा. स्वस्ति शर्मा स्तनपान
लेखक
डा. स्वस्ति शर्मा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय