+

यौन दुर्बलताले दम्पतीबीच आशंका र असमझदारी

२०७९ कात्तिक  ३० गते १८:०५ २०७९ कात्तिक ३० गते १८:०५
यौन दुर्बलताले दम्पतीबीच आशंका र असमझदारी

नेपाली दम्पतीको यौन जीवनमा देखा परेको मूल समस्या यौन दुर्बलता अर्थात् यौन चाहना नहुनु हो । साथै पुरुषहरूमा शीघ्र स्खलनको समस्या देखिन्छ भने महिलामा सेतो पानी बग्ने समस्या देखा पर्छ ।

जब यौनको बारेमा दम्पतीबीच कुराकानी हुँदैन तब असमझदारी बढ्न थाल्छ । यदि श्रीमान् वा श्रीमतीलाई यौन दुर्बलता भयो र उसले आफ्नो समस्या पार्टनरलाई बताएन भने समस्या अरु बढ्दै जान्छ ।

किन उसले मसँग सम्पर्क राख्न चाहेन, उसको अरुसँग पो सम्बन्ध छ कि भनेर श्रीमान् श्रीमतीले शंका गर्न थाल्छन् । यसरी शंका गरिरहँदा उनीहरू बीच यौन जीवन राम्रो हुँदैन र असमझदारी बढ्ने गरेको पाइन्छ ।

शीघ्र स्खलनको समस्या

महिला र पुरुष दुवै एउटै समयमा चरम आनन्दमा पुग्नु पर्ने ठाउँमा महिला चरम उत्कर्षमा नपुग्दै पुरुष स्खलित भए भने त्यसलाई शीघ्र स्खलन भनिन्छ । समयको हिसाबमा ठ्याक्कै यति समयमा स्खलन भयो भने त्यो शीघ्र स्खलन हो भन्ने त छैन । तर तीन मिनेट भन्दा छिटो स्खलन भयो भने त्यसलाई शीघ्र स्खलन भनिन्छ ।

लामो समयको ग्यापपछि सम्पर्क भएको छ, धेरै उत्तेजित भएको अवस्था छ र यौन सम्पर्कको समयमा मनमा अन्य कुरा खेल्यो भने पनि शीघ्र स्खलन हुन्छ ।

अतृप्त यौन

शीघ्र स्खलनले गर्दा दम्पतीले यौनको पूर्ण सुखभोग गर्न पाइरहेका छैनन् भन्ने सुनिन्छ । तर यो कुरालाई लिएर हीनताबोध गर्ने, आफ्नो पार्टनरको समस्या नसुन्ने गर्छन् । यसले झन् यौनको सुख पाउँदैनन् । यौनको समयलाई कसरी बढाउने भन्ने कुरामा पनि उनीहरू छलफल गर्दैनन् ।

सुखमय यौनका लागि

शीघ्र स्खलनलाई रोक्न आसन परिवर्तन गर्ने, पूर्वक्रीडाको समयलाई बढाउने, यौनको बेला ध्यान अन्यत्र केन्द्रित नगरी पार्टनरतिर ध्यान दिन सकियो भने शीघ्र स्खलनलाई रोक्न सकिन्छ । यदि यी उपाय अपनाउँदा पनि शीघ्र स्खलन भयो हर्मनको गडबडीले गर्दा पो यस्तो भएको हो भनेर पत्ता लगाउन अस्पताल जानुपर्छ र चिकित्सकको सल्लाहअनुसार उपचार गर्नुपर्छ ।

यौनमा शरीरको उपस्थिति 

यौनाङ्गको आकारलाई लिएर पनि दम्पतीबीच असन्तुष्टि बढेको पाइन्छ । तर यौनाङ्गको आकारको कारणले नै दम्पतीको यौन जीवनमा केही असर गर्ने भने होइन । आकारले त्यति ठूलो महत्त्व राख्दैन ।

बच्चा जन्माएपछि महिलाले मेरो योनी ठूलो भयो भनेर चिन्ता गर्छन् । केही पुरुषले यौनाङ्गको आकार सानो भयो भनेर चिन्ता लिन्छन् ।  यो चिन्ताले चाहिं असन्तुष्टि बढाउँछ । खासमा शारीरिक कुराले यौनमा धेरै महत्त्व राख्दैन । शारीरिक कुरामा ध्यान नै दिनुपर्दैन भन्ने पनि होइन । तर मान्छेले शारीरिक कुरालाई चाहिने भन्दा बढी महत्त्व दिएको पाइन्छ ।

यौनकै कारण दाम्पत्य कलह

यौन जीवन सुखमय नहुँदा दम्पतीबीच झै-झगडा हुने हुन्छ । यौन जीवन सुखमय नभएकै कारण केहीमा डिप्रेसनको समस्या समेत देखिन सक्छ । मनमुटाव बढ्दै जाँदा सम्बन्धविच्छेद समेत हुन सक्छ ।

एकअर्कासँग यौनको विषयमा खुलेर कुरा नगर्दा शंका उत्पन्न हुने पनि देखिन्छ । त्यसैले यौन जीवनलाई सुखमय बनाउनु छ भने दम्पतीले यौनको विषयमा खुलेर एकअर्कासँग कुरा गर्नुपर्छ । यसो गर्दा धेरै समस्या हल हुन्छ ।

(डा. बद्रीप्रसाद भट्टराई यौन तथा प्रजननरोग विशेषज्ञ हुन् । उनी ओम धवन्तरी आयुर्वेद अस्पताल प्रालिमा कार्यरत छन् ।) 

सुमित्रा लुइटेलसँगको कुराकानीमा आधारित

नेपाली दम्पती यौन दुर्बलता
लेखक
डा. बद्रीप्रसाद भट्टराई
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय