+
+

समयले खोजेको परिवर्तन नै मेरो जितको आधार हो : तोसिमा

मेरो जितको आधार र आत्मविश्वास हामी सबैले खोजेको परिवर्तन हो । हरेक वर्ग, क्षेत्र, दल र दलभित्रकै मान्छेले पनि परिवर्तन खोजिरहेका छन् । त्यही परिवर्तनको खोज हो मेरो उम्मेदवारी र मेरो जितको आधार पनि त्यही हो । मान्छेहरु हामीले कहिले सही नेतृत्व पाउने, कहिले सही उम्मेदवार पाउने भने प्रश्न गरिरहेका छन् । त्यही प्रश्नको जवाफ हो मेरो उम्मेदवारी र, मेरो जितको आधार पनि ।

सागर चन्द सागर चन्द
२०७९ मंसिर १ गते १४:१५

१ मंसिर, काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारी खारेजी गर्ने निर्णय गरेपछि ललितपुर- ३ कि राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की चर्चामा आइन् ।

सर्वोच्च अदालतको आदेशमा उम्मेदवारी कायम भएपछि उनी चुनाव प्रचार प्रसारमा निकै सक्रिय भइन् ।नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकी कार्की पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यचिकित्सकका रुपमा कार्यरत थिइन् ।

चिकित्सा पेशा छाडेर चुनावी मैदानमा आएकी डा. कार्कीसंग अनलाइनखबरकर्मी सागर चन्दले गरेको कुराकानी ।

चुनावी मैदानमा होमिएर राजनीतिमा छिर्नुभयो कस्तो अनुभव हुँदैछ ?

राम्रो अनुभव रह्यो, आफैंलाई ऊर्जावान महसुस गरिरहेकी छु । राजनीतिमा छिर्ने सही निर्णय गरेछु जस्तो लागेको छ । निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि सर्वोच्च अदालत पुगेर उम्मेदवारी फिर्ता नलिएको भए मैले ललितपुर–३ प्रति अन्याय गर्ने रहेछु ।

अहिले घरघर पुग्दा मतदाताको न्यानो माया र स्वागत पाइरहेकी छु । मान्छेहरुले ममाथि जुन आश राखेका छन्, भावुक हुँदै मलाई शुभकामना दिन्छन्, सम्झाउँछन् । आँखाभरि आँसु पारेर मतदाताहरु पहिलेका नेताजस्तै नझुक्याउनुहोला, जितेपछि पनि फर्केर आउनुहोला भन्छन् । यी सबै देख्दा मैले राजनीतिमा आउने सही निर्णय गरेछु जस्तो लागिरहेछ । खासमा मान्छेहरुले युवा, सक्षम र राम्रा मान्छे राजनीतिमा आइदिउन् भन्ने अपेक्षा गरेका रहेछन् ।

राजनीतिमा युवा भनेको उमेर मात्र कि विचार पनि हो ?

युवा भनेको परिवतर्नकारी सिद्धान्त वा विचार हो, उमेर मात्र होइन । आज हामीले जसलाई वृद्ध वा पुरानो पुस्ता भनिरहेका छौं, उहाँहरुले पनि युवाकालदेखि नै राजनीतिमा लागेर संघर्ष गर्नुभएको हो । उहाँहरुले व्यवस्था परिवर्तन गर्न संघर्ष गर्नुभयो ।

उहाँहरुको समयले व्यवस्था परिवर्तनको माग गरेको थियो । तर, आजको समयले अवस्था परिवर्तन खोजेको छ । अवस्था परिवतर्नको जिम्मेवारी आजको पुस्तालाई नै दिनुपर्छ । व्यवस्था परिवर्तन गरेकोमा उहाँलाई धन्यवाद भन्दै अब अवस्था परिवर्तनको जिम्मेवारी हामी लिन्छौं ।

ललितपुर–३ मा सत्तारुढ गठबन्धनमा रहेका दल र नेकपा एमालेजस्ता बलिया संगठन भएका दलका उम्मेदवार छन् । ती दलका उममेदवारलाई हराएर संसद छिर्न तपाईले अपेक्षा गरेको जस्तो सजिलो छ त ?

उहाँहरु दुईजना मात्र होइन प्रतिस्पर्धामा अरु पनि थुप्रै उम्मेदवार हुनुहुन्छ । सबैले आ–आफ्नो ठाउँबाट प्रयास गरिरहनुभएको छ । म स्वस्थ प्रतिस्पर्धामा विश्वास गर्छु । म कुन हिसाबले सक्षम छु, र मलाई किन भोट दिनुपर्छ भनेर मतदातालाई भनिरहेकी छु ।

म कुनै दल वा व्यक्तिलाई हराउन नभई ललितपुर–३ का जनतालाई जिताउन चुनावी मैदानमा छु । ललितपुर–३ का जनताको शीर ठाडो पार्न, यहाँका जनताको जितका लागि चुनावी प्रतिस्पर्धामा छु । त्यसैले ललितपुर–३ का जनताले आफैंलाई हराएर अरु कसैलाई संसदमा पठाउँछन् जस्तो मलाई लाग्दैन ।

तपाईंको जितको आधार के हो ?

मेरो जितको आधार र आत्मविश्वास हामी सबैले खोजेको परिवर्तन हो । हरेक वर्ग, क्षेत्र, दल र दलभित्रकै मान्छेले पनि परिवर्तन खोजिरहेका छन् । त्यही परिवर्तनको खोज हो मेरो उम्मेदवारी र मेरो जितको आधार पनि त्यही हो । मान्छेहरु हामीले कहिले सही नेतृत्व पाउने, कहिले सही उम्मेदवार पाउने भने प्रश्न गरिरहेका छन् । त्यही प्रश्नको जवाफ हो मेरो उम्मेदवारी र, मेरो जितको आधार पनि ।

निर्वाचन आयोगले तपाईंको उम्मेदवारी खारेज गरिदिएपछि सर्वोच्च अदालत पुग्नुभयो र अदालतको आदेशमा तपाईंको उम्मेदवारी कायम भयो । आयोगकै कारण तपाईंको उम्मेदवारीको प्रचार भयो भन्ने टिप्पणी सुनिन्छ नि ?

एक हिसाबले त यो सत्य नै हो । मेरोविरुद्ध उजुरी हाल्ने व्यक्ति र निर्वाचन आयोगलाई मैले धन्यवाद नै भन्नुपर्छ । आयोगले मेरो उम्मेदवारी खारेजी गर्ने निर्णय गरेर मैले पनि नसक्ने प्रचार गरिदियो ।

तर, यसको अर्को पाटो के हो भने मलाई चुनावी मैदानबाटै हटाउन खोजिएको थियो । साम दाम दण्ड भेद सबै प्रयोग गरेर मलाई चुनावी प्रतिस्पर्धाबाटै बाहिर फाल्न खोजिएको थियो । तर, मैले हार मानिन् र फेरि चुनावी मैदानमा फर्किए ।

यो सब भइरहँदा निष्पक्ष हुनुपर्ने निर्वाचन आयोगबाट भने मैले मेरो हकमा निष्पक्षता महसुस गरिन । चुनावी मैदानबाट हटाउने त्यो षड्यन्त्रले मेरो प्रचार भने राम्रै भयो ।

चिकित्सा जस्तो थितिको पेशा छाडेर किन राजनीतिमा आउनुभयो ?

मेरो पेशा थितिको थियो तर, राजनीति भने वेथितिको भयो । राजनीतिको वेथितिले मेरो पेशालाई पनि वेथितिको बनायो । म रहर, इच्छाले राजनीतिमा आएकी होइन । स्वास्थ्य क्षेत्रमा वेथिति देखेपछि त्यसलाई ठीक पार्न बाध्य भएर राजनीतिमा आएकी हुँ । राजनीति गर्ने मेरो कुनै रहर थिए, यो राजनीतिको वेथितिले बाध्य भएर मलाई राजनीतिमा पुर्‍यायो ।

किन ?

राजनीति बाहिर बसेर राजनीतिलाई गाली गर्ने, सराप्ने काम मात्र हुने भयो । राजनीति फोहोर र विकृत भयो भनेर आक्रोश मात्र पोखियो । राजनीतिमा वेथिति भयो भनेर सामाजिक सञ्जालका भित्तामा आक्रोश पोख्ने काम भयो । तर, अब त्यो वेथिति, फोहोर सफा गर्नुपर्‍यो भनेर बाध्य भएर म राजनीतिमा आएँ ।

समयमै उपचार गर्‍यो भने क्यान्सर पनि निको हुन्छ भन्ने मैले बुझेकी छु । त्यसैले राजनीतिको क्यान्सर ठीक गर्ने यो नै ठीक समय हो भनेर म राजनीतिमा आएँ । राजनीतिमा पलाएको यो वेथितिको ट्युमर अहिले उखालिएन भने क्यान्सरको रुप लिन्छ भन्ने डर लागेपछि म राजनीतिमा आएकी हुँ ।

चुनाव जित्नुभयो भने के गर्नुहुन्छ ?

सबैभन्दा पहिला त म सबै मतदातालाई धन्यवाद भन्छु । अनि उहाँहरुसंगै बसेर समस्या, गुनासा र माग सुन्छु । त्यसपछि विज्ञको टोली बनाएर उहाँहरुका समस्या समाधानतर्फ लाग्छु । मेरो क्षेत्रका मुद्धा, समस्या समाधानमा जोडतोडका साथ उठाउँछु ।

गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच, वैज्ञानिक स्वास्थ्य विमाभित्र सबै नेपालीलाई समेट्ने, महिला सशसक्तिकरण, स्वरोजगारजस्ता विषय मेरो प्राथमिकतामा पर्छन् । ललितपुर–३ मा खानेपानी, सडकको समस्या, यहाँका सांस्कृतिक सम्पदाको विशेष पहिचान, लघुवित्त, स्थानीय रोजगारी जस्ता विषयमा प्रदेश सरकार र स्थानीय तहसंग मिलेर काम गर्छु ।

हार्नुभयो भने राजनीतिमै रहनुहुन्छ कि चिकित्सा पेशामा फर्किनुहुन्छ ?

मैले हार देखेकै छैन । मेरो उम्मेदवारी नै आफैंमा परिवर्तनको विगुल हो र जित हो । मैले अहिले ललितपुर–३ का हरेक घरबाट, हरेक मान्छेबाट पाइरहेको समर्थनले मेरो जित देखाउँछ ।

राम्रो कामको सुरुवातमा जित हार भन्ने हुँदैन । तर, कथंकदाचित मैले सोचेजस्तो परिणाम आएन भने पनि म राजनीतिमा नै रहन्छु । अहिले मैले उठाएका मुद्धा लिएर जनतामाझ गइरहन्छु । ललितपुर–३ का विभिन्न स्वास्थ्य संस्थामा म मेरो पेशाको काम पनि गर्छु । मेरो मिसन, भिजन पूरा गर्न म ललितपुर– ३ मा हरेक क्षेत्रबाट लाग्छु ।

चुनावमा जसले जे भनेपनि संसदमा पुगेपछि दलको ह्वीपले सांसदलाई बाँध्छ । त्यो ह्वीपको बन्धक बन्नबाट कसरी उम्किनुहोला ?

दलको ह्वीप लाग्ने विषय ठीक छैन, यसले सांसदलाई बन्धक बनाउँछ । सांसदलाई दलको ह्वीप लगायो भने उसले चाहेका काम, योजना पूरा गर्न पाउँदैन । मतदातासमक्ष गरेका वाचा पूरा गर्न सक्दैन । सांसद भनेको दलको कारिन्दा होइन मतदाताको प्रतिनिधित्व गर्ने व्यक्ति हो । त्यसैले सांसदलाई दलको मात्र कारिन्दा बनाउने यो प्रथा ठीक छैन । कम्तीमा हाम्रो हकमा यो परिवर्तन हुन्छ ।

नेपालको अभ्यासमा राजनीतिक दल वा नेता बन्न लामो प्रक्रियाबाट गुज्रनुपर्छ । यस अगाडि पनि केही वैकल्पिक शक्ति आएका थिए, तर अहिले हराएका छन् । तपाईहरु पनि त्यस्तै हुने त होइन ?

दल वा नेता बन्न लामो प्रक्रिया पार गर्नैपर्छ । कुनै रुखले फल दिनु अगाडि त्यसको बीउ त रोप्नुपर्छ । अहिले हामी त्यस्तै बीउ हौं । वैकल्पिक धारमा उदाएका दल वा नेता भर्खरै विजारोपण भएका छन् । यिनले इतिहास बनाउनै बाँकी छ । अहिलेका ठूला पार्टी पनि यसरी नै सानो विजारोपणबाट यहाँसम्म पुगेका हुन् ।

तर, हिजो र आजको समय र बुझाइमा केही फरक छ । हिजोको राजनीतिक चेतना र आजको राजनीतिक चेतनामा अन्तर छ । त्यसैले हिजोको तुलनामा आज दल र नेता छिटो बन्न सक्छन् ।

यसो भनिरहँदा आजको भोलि ठूलो दल वा नेता बनिन्छ भन्ने होइन, ‘रोम वाज नट बिल्ड इन डे’ भन्या जस्तै समय लाग्छ । इतिहास बनाउन पनि कसैले न कसैले त सुरुवात गर्नुपर्छ । यो सुरुवात हो ।

लेखकको बारेमा
सागर चन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?