+
+
अन्तर्वार्ता :

स्वतन्त्रको धरातलै छैन, मेरो जित निश्चित छ : पम्फा भुसाल

दिपेश शाही दिपेश शाही
२०७९ मंसिर १ गते १४:१५

२०७४ सालको संसदीय निर्वाचनमा ललितपुर क्षेत्र नम्बर ३ बाट विजयी माओवादी नेतृ पम्फा भुसाल अहिले पनि सोही क्षेत्रबाट उम्मेदवार बनेकी छिन् ।

शहरी मतदाताको मनोविज्ञान, ललितपुर नगरका समसामयिक सवालहरू माथि भुसालको दृष्टिकोणका सम्बन्धमा अनलाइनखबरकर्मी दिपेश शाहीले गरेको कुराकानी :

प्रचारप्रसारको समय आजदेखि सकिंदैछ, आफ्नो निर्वाचन क्षेत्रको माहोल कस्तो पाउनुभएको छ ?

यो निर्वाचन बढी उम्मेदवार केन्द्रित छ । आफ्ना एजेण्डाहरू राख्ने र जनतालाई स्पष्ट पार्ने काम गरिरहेकी छु । अवसर हो । मेरो निर्वाचन क्षेत्र ठूलो भएकाले समय कम भएको अनुभूत भइरहेको छ । अहिले निर्वाचन आयोगले आचारसंहितामार्फत सीमाहरू तोकेको छ ।

सबैको घरदैलोमा पुगेर पर्याप्त छलफल गर्न नपाए पनि अधिकांश मतदातासम्म पुग्ने कोसिस गरेकी छु । भेला, बैठक, टोल सुधार समिति, महिला समूह, युवा क्लबहरूसँग छलफल र अन्तरक्रिया गरेर उहाँहरूका आवश्यकता सुन्ने र अभिमत लिने काम गरें ।

प्रचारको मूल पाटो भनेको घरदैलो हो । सकेसम्म सबै वडाहरूमा पुग्ने कोसिस गरेकी छु । गठबन्धनका तर्फबाट बनाएको घोषणापत्र र स्थानीय आवश्यकतालाई मध्यनजर गरेर तयार पारेका प्रतिबद्धताहरू पनि मतदातासम्म पुर्‍याउने काम भयो । साथै, सामाजिक सञ्जाल र अन्य माध्यमबाट प्रचारको काम करिब सकियो ।

यो सबै सकिंदै गर्दा आम नागरिकमा उत्साह पाएकी छु । मैले यसअघि जस्तो माया पाएकी थिएँ त्यो यसपटक दोब्बर देखियो । यो क्षेत्रको प्रतिनिधि हुँदा र सरकारमा मन्त्री हुँदा मैले आफूले सकेको काम गरेकी छु । त्यसको लागि पनि मैले धेरै ठाउँबाट प्रशंसा र माया पाएँ । माहोल असाध्यै राम्रो छ । चुनावमा सफल हुन्छु भन्नेमा ढुक्क छु ।

ललितपुर-३ मा तपाईं २०६४ सालदेखि चुनाव लड्दै आउनुभएको क्षेत्र हो । १५ वर्षभन्दा बढी समय बित्दै गर्दा नागरिकको जीवनस्तरमा कति परिवर्तन आएको पाउनुभएको छ ?

एउटा जीवनकालमा १५ वर्ष भनेको लामो समय हो । तर, यो क्षेत्रसँग मेरो त्योभन्दा पनि लामो समयदेखिको सम्बन्ध छ । म यही क्षेत्रमा हुर्के–बढेको मान्छे । साइकल चढेर पढ्न जानेदेखि राजनीतिक संगठन बनाउँदा समेत मैले यहाँका समस्या र सुविधालाई नजिकबाट नियालेकी छु । मुलुकमा भएको राजनीतिक परिवर्तनसँगै धेरै कुरामा परिवर्तन आएको छ । मेरो क्षेत्रमा ग्रामीण बस्तीदेखि सुविधासम्पन्न टोल समेत छन् ।

त्यो परिवर्तनको असर यहाँ पनि देखिएको छ । भौतिक पूर्वाधारहरू बनेका छन् । विज्ञान र प्रविधिको विकाससँगै नयाँ खालका जटिलताहरू पनि थपिंदै जान्छन् । विकास निर्माणका कामहरू तीव्र रूपले सम्पन्न हुँदै गर्दा नयाँ खालका आवश्यकतामा पनि बढोत्तरी भइरहेको महसुस गरेकी छु ।

साथै, यही क्षेत्रमा एउटा त्यस्तो अवस्था पनि छ जुन राजनीतिक परिवर्तनसँगै अहिले त्यसमा बदलाव आएको देखिन्छ । जस्तो कि पहिले हामीले यहाँ संगठन बनाउँदा वा सार्वजनिक महत्वका विषयमा आवाज उठाउँदा महिलाहरू भन्दा पुरुषहरू मात्रै सहभागी भएको देखिन्थ्यो । अहिले घरदैलोको क्रममा पनि मैले देखें, महिला दिदीबहिनीहरूको राजनीतिमा बाक्लो उपस्थिति देखिन्छ । यो भनेको समाज र उनीहरूका परिवार तथा व्यक्तिमा आएको परिवर्तन हो ।

यसका साथै, बढ्दो शहरीकरणका कारण खानेपानी, ढल व्यवस्थापन लगायत समस्या पनि छन् । मेरो यसअघिको कार्यकालमा नै धेरै स्थानमा खानेपानी र ढल व्यवस्थापनका लागि पहल गरेकी छु । अब त्यतिले मात्रै पुग्दैन, नयाँ ढंगले यसको व्यवस्थापनको उपाय खोज्नुपर्छ भन्ने लागेको छ ।

त्यसैले अब यो क्षेत्रलाई मैले दुई तवरले हेरेकी छु । एउटा सम्पन्न मानिसहरूको बसोबास र उनीहरूको आवश्यकता । दोस्रो, यहाँको रैथाने कला, संस्कृति र सम्पदाले सम्पन्न समुदायको बसोबास र आवश्यकता । सम्पन्न मानिसहरूलाई अब गुणस्तरीय जीवनका लागि आवश्यक साधनहरूको खाँचो पर्न थालेको छ ।

त्यसका लागि मैले पहल के गर्न सक्छु भनेर मेरो प्रतिबद्धता सार्वजनिक गरेकी छु । साथै, अर्को यहाँ वर्षौंदेखि बसोबास गर्ने समुदायको कला, संस्कृतिलगायत सम्पदाको रक्षा र विकास निर्माणका लागि छुटेका कामहरूलाई अघि बढाउने तथा सम्पन्न गर्ने मेरो योजना छ । त्यो मैले सार्वजनिक रूपमै भन्दै र गर्दै आएकी छु ।

लामो समयदेखि यही क्षेत्रबाट चुनाव लडिरहेको भए पनि तपाईंलाई आगन्तुक उम्मेदवार भन्ने आरोप पनि लाग्छ नि ?

यहाँका जनताले त्यस्तो भनेको कहिल्यै सुनेकी छैन । कोही व्यक्तिले भन्छ भने त्यो उसैको कुरा हो । म यहाँ बसोबास गर्न थालेको ४४ वर्ष पुगिसक्यो । म यहीं हुर्कें, पढें, बढें । यहींबाट राजनीतिक आन्दोलनमा लागें । संसद र सरकारमा हुँदा पनि यही क्षेत्रको विकासका लागि पहलकदमी लिएँ । यो सबैलाई जानकारी भएकै कुरा हो ।

त्यसैले मैले प्रत्यक्ष चुनाव लड्दा २०६४ सालमा पहिलोपटक यही क्षेत्रबाट जितेकी हुँ । २०७४ को चुनावमा पनि जनताले माया गरे, अब अहिले पनि त्यो झन् मुखर भएको देखेकी छु । व्यक्तिगत हिसाबले कसले के भन्छ भन्नेभन्दा पनि यहाँका आम जनताले के भन्छन् भन्ने कुरा मुख्य हो । मेरो जीवनको महत्वपूर्ण समय नै यहाँ बितेको छ भने म कसरी आगन्तुक हुन्छु र ?

चुनावी राजनीतिका कुरा गरौं । कांग्रेस र एकीकृत समाजवादीसँग वाम लोकतान्त्रिक गठबन्धन बनाएर निर्वाचनमा जानुभएको छ । स्थानीय तहमा कांग्रेसले माओवादीको भोट लिएर आफ्नो मत ‘ट्रान्सफर’ गरेन भन्ने खालको विश्लेषण सुनिन्छ । यो पटक के हुन्छ ?

हामीले त्यस्तो सोचेका छैनौं । गठबन्धनको भोट सहमतिअनुसार इमानदारीपूर्वक खस्छ भन्ने हाम्रो अपेक्षा छ । किनकि, यो समयको आवश्यकताले, देशको आवश्यकताले र जनताको आवश्यकताले बनेको गठबन्धन हो ।

प्रतिगमन र प्रतिक्रान्तिकारी प्रवृत्तिलाई पराजित गर्नका निम्ति बनेको गठबन्धन हो । गठबन्धनको औचित्य, आवश्यकता र मर्मलाई सबै पार्टीले बुझेका छन् । नेपाली कांग्रेसका साथीहरूले पनि जिम्मेवार भएर बुझ्नुभएको छ । त्यसैले सक्रिय ढंगले लाग्नु पनि भएको छ ।

तपाईंको निर्वाचन क्षेत्रमा गठबन्धनको मुख्य दल नेपाली कांग्रेसभित्रै समस्या देखिन्थ्यो । यसै क्षेत्रबाट २०७० सालमा तपाईं नहुँदा निर्वाचन जितेका मदनबहादुर अमात्य पनि असन्तुष्ट हुनुहुन्थ्यो । गठबन्धनबाट तपाईंले टिकट पाएपछि अहिलेसम्म आउँदा त्यस्ता अन्तरविरोधको अवस्था के छ ?

हो, अमात्यजी असन्तुष्ट हुनुहुन्थ्यो । तर अहिले होइन, सुरुमा हो । र त्यो पनि मसँग होइन, आफ्नै पार्टीसँग हो । लामो समय राजनीति गरेपछि सबैका इच्छा र आकांक्षा हुन्छन् । त्यसैले कहिलेकाहीं आफूले भनेको विषयमा कुरा नमिलेजस्तो हुँदा असन्तुष्ट हुनु पनि स्वाभाविक हो । तर अहिले उहाँले पूर्ण सहयोग गरिरहनुभएको छ ।

उहाँको पार्टीले त उहाँलाई चितवनमा खटाएको भन्ने सुनेकी छु । तर यहाँ हुँदा घरदैलो गर्नेदेखि सार्वजनिक कार्यक्रमहरू गर्ने ठाउँसम्म मसँगै हुनुहुन्छ । उहाँ त हुनुहुन्छ नै, उहाँबाहेक कांग्रेस र गठबन्धन दलका सबै साथीहरूले चुनावी अभियानमा एकदमै हार्दिकतापूर्वक सहयोग गरिरहनुभएको छ ।

त्यो मैले मेरो घरदैलो कार्यक्रममा पनि महसुस गरें । सार्वजनिक कार्यक्रममा पनि देखें । गठबन्धनका साथीहरूले मलाई गरेको त्यो सहयोग असाध्यै स्वागतयोग्य छ । पार्टीभित्र सकरात्मक खालका अन्तरविरोध भए भने ती हल हुन्छन् । मेरो क्षेत्रमा सायद त्यही भएर पनि होला अहिले समस्या छ भन्नुपर्ने केही देखिएको छैन । सबैको सहयोग पाएकी छु ।

शहरी क्षेत्रहरू, विशेषगरी राजधानीमा माओवादीको जनमत ओरालो लाग्दै गएको देखिन्छ । पहिलो संविधानसभा चुनावमा उपत्यकामा १५ मध्ये ७ वटा सिट जितेको माओवादी दोस्रो संविधानसभा चुनावमा शून्य र अघिल्लो चुनावमा आउँदा एक सिटमा खुम्चियो । यसपटक कस्तो नतिजा आउने देख्नुभएको छ ?

दलीय व्यवस्थाको निर्वाचन पद्धतिमा हार–जित भन्ने भइरहन्छ । त्यसमा हाम्रा पनि केही कमजोरी रहे होलान्, कतिपय हाम्रा विषयलाई हामीले बुझाउन नसकेको पनि होला । तर माओवादीप्रति पूरै विश्वास हटिसक्यो, सकि नै सक्यो भन्ने कुरा साँचो होइन ।

मैले २०६४ पछि २०७० को चुनावमा सहभागिता जनाइनँ । तर २०७४ मा उठ्दा जनताले माया गर्नुभएको सत्य हो नि ! पहिलो हुने निर्वाचन प्रणालीमा केही मतको अन्तरका कारण पनि नतिजामा फरक पर्न सक्छ । तर फेरि सधैं त्यस्तो हुँदैन ।

यसपटक गठबन्धनबाट उठेका अधिकांश सिटमा हाम्रो जित हुन्छ । गठबन्धन कसरी र कुन आवश्यकताले बनेको हो भन्ने दलहरू र मतदाताले पनि बुझेका छन् । शहरी क्षेत्रमा झन् सचेत मतदाता हुन्छन् । त्यसैले गठबन्धन र त्यसभित्रका सबै दललाई जित दिलाउँछन् ।

मेरो व्यक्तिगत हिसाबले कुरा गर्ने हो भने त त्यो झनै राम्रो अवस्था छ । म त जितिन्छ भन्नेमा निर्धक्क छु । सिंगो माओवादीको मात्रै कुरा गर्ने हो भने शहरी क्षेत्रमा पनि यसपटक २०७४ सालको भन्दा निकै राम्रो नतिजा आउने देखिन्छ । समग्रमा गठबन्धनले राम्रो मत ल्याएर जित्छ ।

तर अहिले त स्वतन्त्र र नयाँ दलहरूमा संगठित भएर युवाहरूको उम्मेदवारी परेको छ । यसको प्रभाव कस्तो हुन्छ भन्ने लागेको छ ?

चुनावमा उठ्न पाइन्छ । हामी र हाम्रा अग्रजहरूले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा जसले पनि मैदानमा हिंड्न, डुल्न, खेल्न र उठ्न पाउँछ । अहिलेको संविधानले त्यही अधिकार सुनिश्चित गरेको छ । त्यसैले कोही पनि व्यक्ति वा दल चुनावमा प्रतिस्पर्धा गर्न सक्छन् ।

तर हाम्रो देशको राजनीतिक व्यवस्था दलीय प्रणाली हो भन्ने कसैले बिर्सनुहुँदैन । राजनीतिक दलका प्रतिनिधि जनतामा जाने र अनुमोदित भएर आउने यो व्यवस्थाले कल्पना गरेको कुरा हो । त्यसपछि बहुमतको सरकार र अल्पमतको प्रतिपक्ष भनेर संविधानमा नै उल्लेख छ ।

सरकार बनाउनका लागि १३८ सिट ल्याउनुपर्छ । भएन भने संसदमा त्यो मत जुटाउनुपर्छ । साथै, कुनै अमूक दलले १३८ भन्दा बढी सिट ल्यायो भने पनि मन्त्री बनाउने २५ जना मात्रै हो । त्यसैले रहर गरेर स्वतन्त्र वा समूहगत हिसाबले जो पनि उठ्नसक्छ । तर निर्णायक चाहिं कहिल्यै पनि हुन सक्दैन ।

त्यसोभए दलहरूका लागि स्वतन्त्र उम्मेदवार चुनौती होइनन् ?

कोही उम्मेदवारका हकमा केही स्थानमा हुनसक्छन् । एउटा पक्षको भोट काटेर सन्तुलनमा अलि तल–माथि गर्न सक्छन् । तर आफैं १३८ सिट ल्याउने अनि सरकार बनाउने स्थितिमा कोही स्वतन्त्र पुग्ने हाम्रो नेपालमा धरातल बनेको छैन ।

हाम्रोमा दलीय राजनीति यति बलियो छ कि जनताको घरदैलोसम्म पार्टीका संरचना छन् । सबै राजनीतिक दलका केन्द्र, प्रदेश, जिल्ला, पालिका, वडा, इकाइसम्म पनि संरचना भएको देशमा र पार्टी प्रणाली भएका कारणले जनताले पनि पार्टी हेरेर मत दिन्छन् । कुन पार्टीले जित्छ अनि कसले सरकार बनाउँछ भन्ने सम्भावना हेरेर जनताले भोट दिन्छन् ।

तपाईंकै निर्वाचन क्षेत्रमा ७ जना स्वतन्त्र उम्मेदवार छन् । त्यसैमा पनि धेरै युवा छन् भने कतिपयको त चर्चा पनि राम्रै भइरहेको छ । यसले तपाईंलाई कति असर गर्छ ?

अघि नै भनें, मेरो हकमा कुनै चिजले असर गर्दैन । म यसअघि सांसद भएका दुई कार्यकाल हेरेर जनताले मत दिनुहुन्छ । म त यहाँ काम गरेर, गर्न सक्ने मान्छे भनेर जनताका आँखामा ‘टेस्टेड’ छु । केही गर्दै नगरेका मान्छेलाई के हेरेर जनताले मत दिने ?

हिजो राजनीतिक परिवर्तनको आन्दोलनमा होस् वा राजनीतिक लगानीको हिसाबले उहाँहरूको कुनै भूमिका छैन । ‘अहिले मैले गर्छु, म उठेको छु, मैले भोट पाएँ भने म मन्त्री हुन्छु’ भन्दै हिंड्ने व्यक्तिलाई जनताले चिनेका छन् ।

यहाँका मतदाताले आफ्नो जनप्रतिनिधि सरकारमा पुगेपछि आफ्ना एजेण्डाहरू पनि त्यो सरकारको कार्ययोजनामा पर्छन् भन्ने कुरा बडो राम्रोसँग बुझेका छन् । त्यसैले एउटा व्यक्ति असाध्यै राम्रो पनि हुनसक्छ । तर एउटा व्यक्तिले केही पनि गर्न सक्दैन ।

तपाईं यही क्षेत्रबाट दुईपटक सांसद भइसक्नुभएको छ । अहिले तेस्रोपटक मत माग्दै गर्दा तपाईंले मतदातालाई विगतमा गरेका के काम देखाउँदै हुनुहुन्छ र भविष्यका लागि के एजेन्डा प्रस्तुत गर्नुभएको छ ?

मतदातासँग मेरो सहज उपलब्धता र स्थानीयसँगको सम्बन्ध नै मेरो पहिलो जनाधार हो । मेरो निर्वाचन क्षेत्रका कुनै त्यस्ता टोल र गल्लीहरू छैनन् जहाँ म उपलब्ध हुन्न । जहाँका मान्छेहरू सजिलै मसँग आउन सक्दैनन् । मन्त्री हुँदा होस् वा नहुँदा, सांसद हुँदा होस् वा नहुँदा म यहाँका नागरिकका सुख र दुःखमा सधैं सँगै उभिएकी छु ।

खोकनामा स्थानीयको जग्गा अधिग्रहण गरेर फास्ट ट्र्याक बनाउने कुरामा होस् चाहे कर्मनासादेखि बाँडेगाउँसम्मको १४ किलोमिटर सडक विस्तारमा म यहाँका स्थानीयसँग उभिएकी छु । स्थानीयसँग उभिंदा विकास विरोधी भनेर भाष्य बनाउने गरिएको छ ।

तर पुस्तौंदेखि दुई आनामा घर बनाएर बसेको परिवारको उचित व्यवस्थापन र संस्कृतिको संरक्षण नगरिकन गरिने विकासले नागरिकलाई खुसी बनाउँदैन । नागरिकलाई खुसी नबनाइकन लादिएको विकास त विनाश हो । विकास गरौं, सडक विस्तार गरौं तर स्थानीयको समस्यालाई पनि सुनौं भन्ने मेरो कुरा हुन्छ ।

फास्ट ट्र्याक निर्माणको ‘जेरो प्वाइन्ट’ का विषयमा पनि म स्थानीयसँग उभिएँ । आफूले विकल्पसहित स्थानीयसँग मिलेर सरकारसँग सहमति गरे पनि पछिल्लो समय एमाले नेतृत्वको सरकारमा ईश्वर पोखरेल रक्षामन्त्री भएपछि त्यो उल्लंघन भयो ।

मैले अहिले जेरो प्वाइन्ट बनाउने भनेको ठाउँभन्दा ४ किलोमिटर पर त्यसलाई सार्ने र त्यहाँका बासिन्दाको चासोलाई सम्बोधन गर्नुपर्छ भनेर निरन्तर आन्दोलन नै गरें । २०६३ सालदेखि आन्दोलन गरेपछि २०७३ सालमा सेनासँगै सहमतिसमेत भएको थियो । तर पछि ईश्वर पोखरेलजी रक्षामन्त्री भएपछि त्यो भाँडियो । अहिले पनि त्यहाँ समस्या भइरहेको छ ।

ललितपुर सांस्कृतिक सम्पदाहरूले भरिपूर्ण शहर हो । समुदाय केन्द्रित गुठी निर्माणको लागि कुनै कसुर बाँकी नराखी सबै नेवार समुदायलाई यो परम्परा जोगाउन मिहिनेत गरेकी छु । मेरै पहलमा पहिलोपटक यसको संरक्षणका लागि ठूलो मात्रामा बजेट छुट्याइयो । गुठीहरू जोगाउन थप के गर्नुपर्छ भनेर समेत मैले चासो राखिरहेकी छु ।

मेरै निर्वाचन क्षेत्रभित्र पर्ने ठेचो, ठैव, हरिसिद्धि, सुनाकोठी, धापाखेलका गुठी र नखिपोटको गोर्खा संग्रहालय निर्माणका लागि सहयोग जुटाउने काम भयो । त्यस्तै खस आर्य परम्परा जोगाउनका लागि टोलटोलमा किरियापुत्री भवनदेखि सामुदायिक भवन निर्माण गर्नका लागि समेत काम गरें । धापाखेल, नागदह, मखुण्डोल, कुसुन्ती र महानगरभित्रकै भेल्पा क्षेत्रमा यस्ता भवन निर्माणका लागि काम भएको स्थानीयले देखेका र बुझेका छन् ।

अब के गर्ने भन्ने सवालमा मैले अघि पनि भनें यहाँको स्थानीय आवश्यकताका आधारमा काम गर्ने भनेकी छु । पहिल्यैदेखि बसोबास गरिरहेका निम्न र मध्यम वर्गीय मान्छेका आवश्यकता र पछि बसाइँ सरेर आउने सम्भ्रान्त वर्गका आवश्यकताहरू फरक–फरक हुन्छन् । मैले सबैलाई समेट्ने गरी शहरी जीवनको आवश्यकतालाई सम्बोधन गर्न आफूले पहल गरिरहेकी छु र थप गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छु ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?